तरलता व्यवस्थापनको दबाबमा बैंकहरु, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो
aarthiknews.com

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ । २० वाणिज्य बैंकमध्ये पाँच बैंकले साउनको तुलनामा ब्याजदर घटाएका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् । भदौमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा सीमित भएको छ । साउनमा यस्तो दर ४.१६७५ प्रतिशत थियो । अर्थात् एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतविन्दुले घटेको हो ।
संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ । साउनमा औसत ३.११६ प्रतिशत रहेको संस्थागत निक्षेपको अधिकतम दर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ । यसले बैंकहरूबीच निक्षेप तान्नभन्दा उपलब्ध स्रोतको लागत कम गर्ने प्रतिस्पर्धा बढेको संकेत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)