इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
aarthiknews.com

काठमाडौं । इन्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने हजारौं मानिस विस्थापित भएका छन्। रोयटर्सका अनुसार भूकम्पका कारण सडकहरू अवरुद्ध भएका छन् । साथै, विभिन्न स्थानमा पहिरो खसेको छ र ठूलो भौतिक क्षति पुगेको छ। उपस्वास्थ्यमन्त्री बेन्जामिन पाउलुस अक्टाभियानसले आइतबार जानकारी दिँदै ३६ जना गम्भीर घाइते र ७७ जना सामान्य घाइते भएको बताएका छन्।
भूकम्पपछि हालसम्म ३४१ वटा परकम्पन महसुस गरिएको छ। सन् २०२२ मा पश्चिम जाभामा सयौं मानिसको ज्यान जाने भूकम्पपछि यो इन्डोनेसियाको सबैभन्दा घातक भूकम्प बनेको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का अनुसार सिक्का क्षेत्रमा मात्रै ३,३०० भन्दा बढी मानिसले आफैं सुरक्षित स्थानतर्फ पलायन गरेका छन् वा अस्थायी आश्रयस्थलमा बसेका छन्। समग्रमा करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)