पूर्वी जापानमा भारी वर्षा: नौ जनाको मृत्यु, हजारभन्दा बढी घर डुबानमा
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । पूर्वी जापानमा केही दिनयता परेको अभूतपूर्व भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भारी वर्षाका कारण एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने जनजीवन अस्तव्यस्त बन्दै सडक तथा रेल सेवा पनि नराम्ररी प्रभावित भएका छन्।
बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले विभिन्न स्थानमा पहिरोको जोखिम बढाएको छ र कैयौँ क्षेत्रमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको छ। मौसमविद्हरूले विशेष गरी चिबा प्रिफेक्चरलाई लक्षित गर्दै पहिलोपटक उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए। चिबास्थित मौसम मापन केन्द्रले २४ घण्टाको अवधिमा ३० सेन्टिमिटर (करिब १२ इन्च) वर्षा रेकर्ड गरेको छ। भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतया पूरै अगस्ट महिनामा पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी पानी परिसकेको थियो। यो विगत ६० वर्षयताकै अगस्ट महिनाको सबैभन्दा ठूलो वर्षा भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)