इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
arthasansar.com · Sun Aug 16 06:50:31 GMT 2026

इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले भग्नावशेष र पहिरोमा पुरिएका मानिसको खोजी तीव्र बनाएका छन् । भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन निकायका अनुसार मङ्गराई क्षेत्रमा २४ र पूर्वी मङ्गराईमा १७ जनाको मृत्यु भएको छ । सिक्का, न्गाडा र एन्डे क्षेत्रमा पनि मानवीय क्षति भएको जनाइएको छ ।
फ्लोरेस टापुका ६ क्षेत्रमा भूकम्पपछि गएको पहिरोमा मानिस पुरिएको आशङ्कामा उद्धारकर्ताले खोजी गरिरहेका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार सात दशमलव सात म्याग्निच्युडको भूकम्प पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट उत्तर–उत्तरपश्चिमतर्फ ६८ किलोमिटर टाढा केन्द्रबिन्दु भएर गएको थियो । भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)