वैदेशिक रोजगारका सबै काम ठप्प, भिसा आएका श्रमिक पनि जान नपाउने
annapurnapost.com · Mon Aug 17 03:12:28 GMT 2026

काठमाडौं : वैदेशिक रोजगार व्यवसायमा संलग्न देशैभरका कार्यालयहरू आजै (सोमबार)बाट अनिश्चितकालका लागि बन्द हँुदैछन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै सोमबारदेखि देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिराबहादुर डाँगीले एक विज्ञप्ति निकाल्दै सोमबारबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा ठप्प पारिने बताएका छन्। भिसा आएर विदेश उड्न ठिक्क परेका श्रमिकलाई समेत सोमबारबाट विदेश पठाइने छैन।
विभिन्न १५ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको वैदेशिक रोजगार व्यवसायी संघले माग पूरा नभएपछि सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी सबै सेवा ठप्प पार्ने घोषणा गरेको थियो। संघले यसअघि नै श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको छ। संघले म्यानपावर कार्यालयमात्रै रोक्ने नभएर मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रियासमेत पूर्ण रूपमा रोक्ने जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)