इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको आरोप
emountaintv.com · Mon Aug 17 04:29:50 GMT 2026
काठमाडौँ ।
दक्षिण लेबनानका विभिन्न क्षेत्रमा शनिवार भएका दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । लेबनानी राष्ट्रपति जोसेफ आउनले यस आक्रमणले हाल जारी वार्ता प्रक्रियामा बाधा पु¥याउने स्पष्ट सन्देश दिएको बताउनुभएको छ । लेबनानी सञ्चारमाध्यम ‘अल–जदिद टेलिभिजन’काअनुसार नबातिह जिल्लाको ‘देर अल जाहरानी’ सहरमा रहेको एक दुई तले भवनलाई लक्षित गरी गरिएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद फकिहका अनुसार उक्त विस्फोटका कारण घरहरूमा ठूलो क्षति पुगेको छ । त्यसैगरी, नबातिह जिल्लाकै ‘अन्सार’ सहरमा भएको अर्को इजरायली हवाई हमलामा सात जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मारिनेहरूमा तीन बालबालिका र दुई महिला रहेका छन् । स्थानीय बासिन्दा अब्बास खलिलकाअनुसार बिहान सबेरै ४ः३० बजे हवाई जहाजको आवाजसँगै ठूलो विस्फोट भएको थियो, जसमा एकै परिवारका सदस्यहरूले ज्यान गुमाएका छन् । नबातिह र आसपासका गाउँहरूमा इजरायलले हवाई हमला र भारी गोलाबारी तिब्र पारेपछि सयौँ स्थानीय बासिन्दाहरू असुरक्षाका कारण दक्षिणी शहर सिदोनतर्फ पलायन भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)