ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु
barnanmedia.com · Mon Aug 17 06:39:49 GMT 2026

ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधिहरु, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ । यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरुको व्यवस्थापन गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भन्नुभयो“प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पु¥याउने गरि कार्यसञ्चालन प्रणालीको सुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोग समेत गर्दछन् । ” प्रमुख महर्जनले सिटिनेटको सदस्यका रुपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिनुभयो । “कार्यविधि निर्माण गरेर यो सेवा सुरूआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँनयाँ काम गरिरहेका छौँ ।” महानगरप्रमुख महर्जनले भन्नुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो कार्यको आज शुभारम्भ गर्नुहुँदै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)