'मुटुको समस्याले २२ वर्षमै झन्डै ज्यान लियो': लक्षण चिनिराख्न महिलाहरूलाई यी खेलाडीको सुझाव
"म आफूलाई लगभग अजेय ठान्थेँ.... तर अचानक स्पोर्ट्स हलको बीचमा ढल्न पुगेँ र के भयो भन्ने कसैलाई राम्ररी थाहा थिएन।"
हृदयाघातको उक्त घटनाले केट्लिन लरेन्सको जीवन अचानक बदलियो। उनी त्यतिखेर २२ वर्षकी थिइन् र 'एलीट लेभल'को नेटबल खेल्दै थिइन्।
स्वस्थ र तन्दरुस्त देखिने यी महिलाले आफूलाई मुटुसम्बन्धी समस्या होला भनेर कहिल्यै सोचेकी पनि थिइनन्।
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
दिनमा दुई पटक दाँत माझ्नु किन सधैँ राम्रो होइन?
हृदयरोग एक आम समस्या हो र यो विश्वव्यापी रूपमा महिला तथा पुरुष दुवैको मृत्युको प्रमुख कारण बन्ने गरेको छ। तर महिलाहरूले आफू जोखिममा रहेको हुन सक्ने प्राय: महसुस नगर्ने गरेको विशेषज्ञहरू बताउँछन्।
केट्लिनका अनुसार सन् २०२३ को अक्टोबरको जुन दिन उनी बेहोस भएकी थिइन्, त्यो दिन जीवनभरका निम्ति महत्त्वपूर्ण हुने छ। उनलाई नेटबल म्याचको तयारी गरिरहेकोबारे केही सम्झना छैन, हल्का वाकवाकी लागेजस्तो भएको मात्रै याद छ।
"त्यसपछि मलाई थाहा भएको भनेको मेरा सामुन्ने एक स्वास्थ्यकर्मी थिए," लन्डनमा बस्ने २४ वर्षकी केट्लिनले भनिन्।
बेहोस भएर लडेपछि उनी छ मिनेटका निम्ति अचेत रहिन्। "मलाई के भएको थियो भन्ने उनीहरूलाई वास्तवमै थाहा थिएन," उनले भनिन्।
'करोडपति' बिरामीका समस्याबारे सुनेपछि यी थेरपिस्टले खुसीबारे जे सिके
यी आश्चर्यजनक खानेकुरा जसले राम्रो निद्रा लगाउँछन्
अस्पतालमा गरिएका जाँचहरूबाट मुटुको चालको अनियमितताबारे पत्ता लाग्यो र त्यसको निगरानीका निम्ति उनको शरीरमा एउटा सानो 'लूप रेकर्डर' राखियो। त्यसपछि उनी पुन: बिस्तारै बिस्तारै खेलकुदमा सरिक हुन थालिन्।
तर गत वर्षको अगस्टमा एउटा निकै गर्मी सप्ताहान्तमा नेटबल म्याच सकिँदै गर्दा उनलाई अस्पतालबाट फोन आयो। चिकित्सकहरूका अनुसार उनको मुटुको चाल चिन्ताजनक स्थितिमा थियो।
उनको शरीरमा जडान गरिएको रेकर्डरले गम्भीर किसिमको 'अरिथ्मिआ' अर्थात् मुटुको असामान्य चाल दर्शाएको थियो। एघार सेकेन्डका निम्ति उनको मुटु प्रतिमिनेट २९४ पटकको दरले धड्किएको थियो। उक्त दर उनको उमेरको मानिसमा व्यायामका क्रममा हुन सक्ने १००-१७० को स्तरभन्दा निकै माथि थियो।
चिकित्सकहरूले उनलाई बताएअनुसार यस्तो अवस्थामा उनको ज्यानै जान समेत सक्थ्यो।
उनमा 'अरिथ्मोजेनिक कार्डियोमाइओपथी' भनिने दुर्लभ किसिमको मुटुसम्बन्धी समस्या भएको पत्ता लाग्यो। त्यो भनेको मांसपेशीका तन्तुका कोषहरू अपेक्षित रूपमा विकसित नहुने स्थिति हो।
आफ्नो परिवारमा यो समस्या पहिल्यैदेखि रहेको केट्लिनलाई थाहै थिएन। चिकित्सकहरूले उनले पुन: एलीट नेटबल खेल्न नमिल्ने पनि बताए।
"त्यो मेरा निम्ति सबैभन्दा दु:खद कुरा थियो," उनी भन्छिन्।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
अल्जाइमर्स निको पार्न सकिन्छ कि भनेर जाँच्न गरिएको मस्तिष्कको शल्यक्रिया
'बूढा पुरुषको रोग होइन'
वर्ल्ड हार्ट फेडेरेशन (डब्ल्यूएचएफ) का अनुसार महिलाहरूको हृदयरोगको निदान तथा उपचार प्राय: कमै हुन्छ। बिरामी र चिकित्सक दुवैमा रहेको गलत धारणा तथा जागरुकताको अभावले यस्तो हुने गरेको डब्ल्यूएचएफले जनाएको छ।
"हामी दिनहुँ त्यस्ता महिलाहरू भेट्छौँ जसलाई आफूलाई हृदयसम्बन्धी समस्या भएबारे पत्तै हुँदैन," डब्ल्यूएचएफकी चीफ अपरेटिङ अफिसर बोरयाह्ना पर्भन भन्छिन्।
हृदयाघातका लक्षणहरू प्राय: अन्तर्निहित रोगको सङ्केत हुन सक्छन् र पुरुषका तुलनामा महिलामा त्यसबारे पत्तो पाउन कठिन हुन सक्छ।
हृदयाघातको आमलक्षण भनेको छातीको दुखाइ हो, जुन महिलामा सधैँ स्पष्टसँग देखा पर्दैन।
त्यसको साटो उक्त दुखाइ काँध, घाँटी, बङ्गारा, पाखुरा, पेट र पिठ्युँसम्म फैलिएको हुन सक्छ।
महिलाहरूले स्पष्ट कारणबिनाको चिन्ता, वाकवाकी, रिङ्गटा, श्वास फेर्नमा कठिनाइ, मुटु ढुकढुक हुने वा चिसोपनाको अनुभव समेत गर्न सक्छन्। यस्ता लक्षणहरू देखिनुअघि बिना कुनै कारण थकाइ लागिराख्ने पनि हुन सक्छ।
बुढेसकालको स्वास्थ्य सुधार्न ३० वर्ष कटेपछि यसो गर्न सकिन्छ
के श्याम्पूले बिग्रिएको कपाल बनाउन सक्छ? कपालबारे चार भ्रम र यथार्थ
स्वास्थ्यकर्मीहरू समेत लक्षण पहिचान गर्न चुक्न सक्छन्। आफूले त्यस्ता अनगिन्ती उदाहरण देखेको पर्भन बताउँछिन्। उनले २७ वर्षकी एक सुत्केरीको उदाहरण दिइन् जसमा देखिएका लक्षणहरूलाई गलत रूपमा 'पोस्टपार्टम डिप्रेशन' भनिएको थियो।
"लक्षण देखिए पनि महिलाहरू अस्पताल जाने सम्भावना कम हुन्छ," उनी भन्छिन्, "पुरुषको तुलनामा उनीहरूले तत्काल र पर्याप्त उपचार प्राप्त गर्ने सम्भावना कम हुन्छ अनि अस्पताल पुगेपछि समेत बाँच्ने सम्भावना कम हुन्छ।"
डब्ल्यूएचएफका अनुसार महिलाहरूको मृत्युमा हृदयरोगको भूमिका ३० प्रतिशत छ। त्यस्तै ब्रिटिस हार्ट फाउन्डेशनको सन् २०२१ को तथ्याङ्कले उक्त वर्ष उक्त रोगका कारण विश्वभर ९० लाख महिलाको मृत्यु भएको खुलासा गरेको थियो। उक्त सङ्ख्या स्विट्जरल्यान्डको जनसङ्ख्याभन्दा अधिक हो।
"यो कुनै बूढो पुरुषको रोग होइन। यो असाध्यै खतरनाक अवधारणा हो," पर्भन भन्छिन्।
हृदयरोगबाट कसरी जोगिन सकिन्छ
पर्भनले बताएअनुसार केट्लिनको जस्तो मुटुको वंशानुगत स्थितिको हृदयरोगका कारण समयअगावै हुने मृत्युका घटनामा २० प्रतिशत जति भूमिका हुन्छ।
हृदयरोगसम्बन्धी जागरुकताको कमीले जोखिमलाई थप बढाउन सक्ने उनी बताउँछिन्। त्यसैले आफ्नो पारिवारमा त्यस्तो समस्याको विगत भए नभएको जान्न जरुरी हुन्छ।
खानपानमा सुधार गरेर, शारीरिक गतिविधि बढाएर, मदिरा सेवन सीमित गरेर र धूमपान नगरेर समयअगावै हुने बाँकी ८० प्रतिशत मृत्युका घटनाबाट जोगिन सकिन्छ।
"तर यसको एउटा ठूलो हिस्सा सामाजिक र प्रणालीगत पनि हो, यो केवल एउटा व्यक्तिको खानपान वा किनमेलसम्बन्धी छनौटसँग निर्भर हुने होइन," पर्भन भन्छिन्।
डिप्रेसनको औषधिले अन्य शारीरिक स्वास्थ्यमा पर्ने असर
धेरै पसिना आउँदा के गर्नुपर्छ? विज्ञका सुझाव यस्ता
महिलाहरूमा चिकित्सकीय परीक्षणको कमी, निम्न शिक्षा र स्वास्थ्योपचारमाथिको सीमित पहुँच आदिले पनि जोखिम बढाइदिन्छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर हुने हृदयरोगसँग सम्बन्धित लगभग ८० प्रतिशत मृत्युका घटना निम्न र मध्यम आय भएका देशमा हुन्छन्। प्रारम्भिक चरणमै पहिचान गर्ने कार्यक्रमहरूको कमीका कारण त्यस्तो हुने गरेको डब्ल्यूएचओको ठम्याइ छ।
धेरैजसो ठाउँमा हृदयरोगका कारण महिलाको तुलनामा पुरुषको मृत्यु हुने दर अधिक रहे पनि कतार, माली र कङ्गोजस्ता मध्यपूर्व, उत्तर अफ्रिका तथा सब–सहारा अफ्रिकाका केही भागहरूमा अवस्था उल्टो छ। त्यहाँ महिलाहरूले पुरुषभन्दा उच्च मृत्युदर भोगिरहेका छन्।
जाँच किन जरुरी
केटलिनको शरीरमा अहिले आन्तरिक 'कार्डिओभर्टर डेफिब्रिलटर' जडान गरिएको छ। त्यसले उनको मुटुको निगरानी गर्छ। चालमा खतरनाक गडबडी देखिएमा यसले उनको मुटुमा झट्का दिएर सामान्य अवस्थामा फर्काउँछ।
जीवनकै खराब दिनको अनुभवबाट बाँच्न सफल भएसँगै उनी अहिले अन्य नेटबल खेलाडीहरूलाई त्यस्तै अनुभवबाट जोगाउन प्रतिबद्ध छन्।
'नेटबल प्लेअर्स असोसिएशन' र परोपकारी संस्था 'कार्डियाक रिस्क इन द यङ' को संयुक्त अभियानसँगै यूकेको 'नेटबल सूपर लीग' आफ्ना खेलाडीहरूको हृदयसम्बन्धी जाँच सुरु गर्न सहमत भएको छ।
आफ्नो अनुभवले युवाहरू यस विषयमा सचेत हुन आवश्यक छ भन्ने कुरा सिकाएको केट्लिन बताउँछिन्। "किनकि यसबारे पर्याप्त कुरा गरिँदैन।"
यदि कसैले तीव्र धड्कन महसुस गरेमा, मुटु नै बाहिर निस्केलाझैँ गरी धड्किएमा वा बिनाकारण बेहोस भएमा सबैभन्दा पहिले मुटु जँचाउन पर्ने उनी बताउँछिन्।
"यो त्यो मांसपेशी हो, जसले तपाईँलाई जीवित राख्छ। त्यसैले यसको जाँच गराउन जरुरी छ," उनले थपिन्।
गर्भावस्थामा सिटामोल खाँदा बच्चालाई अटिजम् हुन सक्ने दाबी कति सही वा गलत
महिलाहरूलाई किन पुरुषभन्दा धेरै पिसाबको सङ्क्रमण हुन्छ, रोकथामका उपाय के हुन्
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: