सन् २०२३ आरम्भ/ टोपी दिवस/ राष्ट्रिय पोशाक दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

सन् २०२३ आरम्भ/ टोपी दिवस/ राष्ट्रिय पोशाक दिवस




सन् २०२३ आरम्भ विशेष अडियो सामग्री


सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।

अर्थात् सबै सुखी होउन्, सबै रोगमुक्त रहुन्, सबै मनुज मंगलकार्यको साक्षी बनुन्, रिस राग त्याग गरुन्, कसैलाई पनि दुःख नहोस् ।

सन् २०२३ को हार्दिक शुभकामना
नयाँ वर्ष २०२३ को शुभकामना । सन् २०२२ लाई बिदाइ र सन् २०२३ लाई स्वागत गरिदैछ ।

जीवनलाई अनुभव र सम्झनाको झोलाको रूपमा लिन सकिन्छ, हरेक वर्ष नयाँ अनुभव थपिन्छ र पुरानो वर्ष बित्छ र नयाँ वर्ष आउँछ ।

हाम्रो पात्रोको धेरैजसो चाडपर्व र कार्यालयका कामहरू विक्रम संवतमा आधारित भए पनि अन्नो डोमिनीलाई नेपालमा पर्यटक र विदेशी संवतका रूपमा लिइन्छ । तर यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेहरूले यो पर्व विश्वभर मनाउने गर्छन् । यो संवतको छुट्टै प्रतिष्ठा र विश्वव्यापी उपयोगिता छ ।

हाम्रो पात्रो आफ्ना प्रयोगकर्ताहरूलाई २०२३ सालको विशेष शुभकामना व्यक्त गर्न चाहन्छौं । विक्रम संवत्, ५७ वर्ष अगाडि रहेको र जनवरी-फेब्रुअरी महिनाहरू ईस्वी वर्षको रूपमा मनाउने वर्ष हो, जबकि विक्रममा वैशाख र जेठ जस्तै १२ महिनाहरू छन् ।

प्रत्येक नयाँ वर्षमा, हामी केहि परिवर्तन गर्न चाहन्छौं, तर ती धेरै इच्छाहरू र वाचाहरू परिपक्व भए वर्षसँगै हराउँछन् । यो वर्षको उपलब्धि, सकारात्मक सोच र प्रगति हजुरको आगामी वर्षसम्म रहरिहोस् । पछाडि हेर्नुहोस्, र तपाईंले बनाएका योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोस् । यो तपाईंको वर्ष हो र यो तपाईंको लागि शुभ हुनेछ ।

महारानी एलिजाबेथ द्वितीयको मृत्यु ले वर्ष २०२२ लाई पीडादायी बनायो भने अर्कोतर्फ इङ्गल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री भारतीय मूलका चुनिदिएको वर्ष २०२२ ले समानता र समावेशीताको एउटा उदहारण पनि दिएको छ । यो वर्ष विश्वको जनसंख्या ८ अरब नाघेको वर्ष पनि हो ।

वर्ष २०२२ को समीक्षा पढ्नका लागि क्लीक गर्नुहोस्
जीवन उतार चढावले भरिएको छ । यस वर्ष २०२२ मा नेपालमा पनि केहि घटनाहरूले हामीलाई जीवनको यो मूल्य पनि सिकाएको छ । बलेन्द्र शाह, हर्क साम्पाङ जस्ता नयाँ नामहरू आएपछि हामीले स्थानीय चुनावमा केही आशा देखेका छौं । संसदीय निर्वाचन र प्रादेशिक निर्वाचनले पनि नेपालको राजनीतिक परिदृश्यमा रवि लाम्मीछाने, तोशिमा कार्की, शोभिता गौतम, आदिजस्ता नयाँ व्यक्तित्वहरू आएपछि नयाँ अपेक्षा बढेको छ । डेंगुको महामारी र ‘सताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनबाट नेपालले वर्ष २०२२ मा ठूलो क्षति व्यहोरेको छ ।

पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ वर्षका शुभकामनाहरू साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्सैपिच्छे प्रविधि अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका वर्षमा पुराना अनि नयाँ दुवै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिउँ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरूमा नेपालीपनाको महत्त्व झल्किरहोस् । २०२३ सालमा, सपनाहरू साँच्न पाईयोस अनि तिनलाई पूरा गर्न अगाडी बढ्ने अवसरहरू पाइयोस्, पसिनाको मूल्य पाइयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरू शोभायमान बनाई रहोस् है ।

सन् २०२३ का हरेक दिन मङ्गलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् ।

टोपी दिवस

सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौँ ।

विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौँ, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा नेपाली जनले मनाउँदै आएका छन् ।

ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । "ढाका "नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ ।

नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोसाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।

जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौँ

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
नेपालै नरहे

पहाड या हिमाल हैन तराई अनि विदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्त्वपूर्ण छ । जाँदाजाँदै सोध्न चाह्यौँ, के तपाईँसँग नेपाली टोपी छ र?

राष्ट्रिय पोशाक दिवस

कस्तो संयोग परेको छ भने यसवर्ष, टोपी दिवस र राष्ट्रिय पोशाक दिवस एकै दिन पर्न गएको छ । पुस १७ गतेका दिन “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि।सं। २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन्। नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्त्व छ ।

राष्ट्रिय पोशाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो।

विगतका विभिन्न क्रान्तिहरूमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोशाक,रीतिरिवाज समाप्त भए त्यसै गरी नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोशाकको रूपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोशाक (दौरा सुरुवाल,टोपी,गुन्यू चोली) लाई सरकारले औपचारिक पोशाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो।

जनस्तरमा देखिएको पहिचानको यस स्वस्फुर्त योगदानमा सरकारको चासोको जरुरी हैन र ?
विदेशी पोसाकको फेशन र प्रयोगमा चुर्लुम्म डुबेको नेपाललाई आजको यस दिवसको मौलिकताको विशेष महत्त्व छ । नेपाली पोसाक लगाउँदाको गौरव र ठाँटको पूर्नब्याख्या गर्न र यसको प्रयोगलाई युवाहरू माझ थप व्यवहारिक बनाउन आजको निको महत्त्व निकै छ ।
राष्ट्रिय पोसाक दिवसको मूल लक्ष्य भनेको नेपालको औपचारिक पोसाक सरकारले घोषणा गरी सिङ्गो नेपालीहरूको पहिचान विश्वसामु पुर्‍याउनु हो। राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोसाक संरक्षणको पहल गरियोस् भन्दै विगत ८ वर्ष देखी निरन्तर सम्बन्धित निकायहरूमा पैरवी गर्दै आएका छन्।

आजको दिन विभिन्न जिल्लाहरूका अभियान्ताहरु को सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै हरेक नेपालीहरूको मानसपटलमा पोसाकको सम्मान,आवश्यकता र संरक्षणमा युवाहरूलाई समेट्दै जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

हरेक देशको आफ्नो पोसाक हुन्छ तर प्रायः देशहरू कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउँछन् । जसरी हरेक देशले पहिचानमा झन्डा देखाउँछ त्यसैसरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोसाकलाई पनि प्रदर्शित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मूल्य हुँदैन त्यसैले देशको राष्ट्रिय पोसाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिक कार्यक्रम तथा भेटवार्तामा पनि देशको राष्ट्रिय पोसाक लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।

हाम्रो नेपाली पोसाक विश्वमा नै पृथक्,ऐतिहासिक र बेग्लै पहिचान बोकेको पोसाकको रूपमा रहिआएको छ । हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्मचारी तथा उच्च ओहदाका व्यक्तित्वहरूको आचरण तथा शिष्टतामा सम्पूर्ण देशको शान तथा इज्जत जोडिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रूपमा विशिष्ट दर्जाका व्यक्तित्वहरूले राष्ट्रिय पोसाक लगाई वैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला।

नेपालीपना झल्काउनका लागि के हुनपर्दछ ?
ढाका टोपी, नेपाली लवज र भाषा, राष्ट्रिय पोसाक आदि आदि धेरै कुराहरू छन् । तर के यी सबै कुराहरू हामीले जोगाउन सकेका छौँ त ? आगामी पुस्ताका लागि हामीले यी कुराहरुको धरोहर अर्थपूर्ण रूपमा जोगाएका छौँ त ?
नेपालीमा विदेशी लवज मिसाएर बोल्छौँ, ढिँडो र गुन्द्रुक त हराइहाले, नेपाली टोपी र पोसाक एक जोर सम्म छ कि छैन ?
याद गरौँ, मौलिक पहिचान बिना राष्ट्रियताको जराहरु अलमलाउन सक्छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे र?
राष्ट्रिय पोसाक दिवसको शुभकामना

हाम्रो पात्रोको लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.