राष्ट्रपतिको भ्रमण: आर्थिक विकासको मुद्दा | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

राष्ट्रपतिको भ्रमण: आर्थिक विकासको मुद्दा




   Bishwa Raj Adhikari - Apr 24 2017

गत सोमवार वैशाख ४ देखि अति चर्चा, बहस र विवादसहित शुरु भएको राष्ट्रपति विद्यादेवी भण्डारीको चार दिवसीय भारतको राजकीय भ्रमण अहिले पनि जारी छ। भण्डारी भारतको लागि प्रस्थान गर्दा नै उनले प्रस्थान गर्ने र फर्किने दिन नेपालमा सार्वजनिक बिदा दिने भनी सरकारले गरेको निर्णय ज्यादै आलोचित हुन पुगेको थियो। त्यसरी अति नै आलोचित हुने दुईटा कारण थियो। पहिलो–नेपालमा गणतन्त्र आउनु भन्दा पहिले राष्ट्राध्यक्ष विदेश भ्रमणमा जाँदा र फर्कंदा बिदा दिने चलन भए तापनि त्यो चलनलाई नेपालको पहिलो राष्ट्रपति रामवरण यादले तोडेका थिए। यादव भारत, चीन र कतारको भ्रमणमा जाँदा बिदा दिइएको थिएन। दोस्रो– व्यापार–व्यवसायका लागि बिदा उपयुक्त नहुने भएकोले यस क्षेत्रसँग सम्बन्धित पक्ष दुई दिन बिदा दिने सरकारी नीतिबाट रुष्ट भएका थिए। साथै सामान्य नागरिकलाई पनि दुई दिन बिदा दिने निर्णय मन परेको थिएन। तर हालै सरकारले आउने दिन घोषणा गरेको बिदा रद्द गरेको छ।

भण्डारी भारत पुगेपछि पनि उनको राजकीय भ्रमण चर्चा र विवादमुक्त भने हुन सकेन। तर भारत पुग्दा उनको भ्रमण भारतीय पक्षको कारणले गर्दा विवादित हुन पुगेको थियो। नेपालको राष्ट्राध्यक्ष भएर राजकीय भ्रमणमा भारत पुग्दा भण्डारीलाई स्वागत गर्न नयाँ दिल्लीस्थित इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारकी महिला तथा बालबालिका विकास राज्यमन्त्री कृष्णा राज पुगेकी थिइन् र राजले स्वागतको क्रममा केही कूटनैतिक मर्यादा बिर्सेकोजस्तो देखिएको थियो। उनको त्यस्तो व्यवहार जानाजानी थियो वा बिर्सेर भन्ने कुराको जवाफ दिने काम भारतीय पक्षको हो, तर शिष्टाचार र मार्यादा अनुसार कुनै पनि मुलुकमा विदेशी पाहुनाको स्वागतार्थ पाहुनासँग हात मिलाउँदा, एउटा हातमा मोबाइल लिएर अर्को हात मिलाउने काम गर्दैन र देखिएको पनि छैन। राज्यमन्त्री कृष्णाले त्यस्तै गरेकी थिइन्। कृष्णाले भण्डारीसँग हात मिलाउँदा अर्को हातमा मोबाइल फोन बोकेको चित्र सामाजिक सञ्जालहरूमा ‘भाइरल’ भएको थियो। कृष्णाको त्यस्तो व्यवहारलाई भारतीय नेताहरूको ‘हेपाहा’ प्रवृत्ति भनी धेरैले टिप्पणी गरे। यथार्थमा भारतीय नेताहरूमा वर्गीय स्वभावको कारण हेपाहा प्रवृत्ति देखिने पनि गर्छ। यो प्रवृत्ति जवाहरलाल नेहरू, राजीव गाँधी, लालु यादव हुँदै निरन्तर यात्रामा छ। भारतीय नेताहरूमा म मालिक तँ सेवक भन्ने भावना झनै झाङ्गिएर गएको छ र यसको छनक प्रम नरेन्द्र मोदीमा पनि कहिले काहीं देखिने गर्दछ। भारतका प्रायः नेताहरू धनी परिवारबाट आएका हुनाले पनि त्यस्तो भएको हुन सक्छ।

हात मिलाउँदा कृष्णाले गरेको त्यस किसिमको व्यवहारप्रति नेपालीहरूले सामान्य चित्त दुखाए तर भारत सरकारले नेपालको राष्ट्रपतिलाई स्वागत गर्न केवल एक राज्यमन्त्रीलाई विमानस्थल पठाएकोप्रति भने निकै चित्त दुखाए। नेपाल र नेपालीको अपमान भएको भन्दै ‘मेडिया’मा रोष पनि प्रकट गरे।

यो पनि हेर्नुहोस् : आर्थिक विकासका लागि पहिले सोंचमा परिवर्तन गरौ

विदेशी पाहुना भारत आउँदा स्वागत गर्न कसलाई पठाउने भनी निर्णय गर्ने अधिकार भारत सरकारको हो। सो कार्य गर्न भारत सरकारले आफ्नो स्वेच्छा उपयोग गर्न सक्छ। तर प्रचलन र मर्यादाको कुरा गर्ने हो भने कुनै एक देशको भ्रमणमा जाँदा भारतका सरकार प्रमुख वा राष्ट्राध्यक्षले जस्तो किसिमबाट उक्त देशमा सम्मान पाएको हुन्छ, त्यसै अनुसारको सम्मान सो देशको राष्ट्राध्यक्ष वा सरकार प्रमुख भारत आउँदा दिनुपर्छ। नीतिले यही भन्छ। र भारतले यस्तो गर्दैन भने उसले सामान्य शिष्टाचारको पनि ख्याल नगरेको ठहर्छ। भारतका उच्च नेताहरू नेपाल आउँदा कस्तो–कस्तो र को–कोबाट कति सम्मान पाए भन्ने कुराको हेक्का भारतले राख्नुपर्ने हो।

भारतीय राष्ट्रपति (हालै आएका प्रणव मुखर्जी) नेपाल भ्रमणमा आउँदा उनको स्वागतार्थ नेपालका राष्ट्रपति र प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफ्नै आँखाले देखेका नेपालीहरूले भारतले पनि त्यस्तै उच्च सम्मान नेपाललाई पनि देओस् भनी कामना र माग गर्नु के अर्थहीन हो? नेपालको कूटनैतिक क्षेत्रमा यो अहिले, यक्ष प्रश्न बनेको छ।

भारतका उच्च नेता एवं प्रशासकहरूलाई राजनीतिको क्षेत्रमा, उदार मानिंदैन। उदाहरण, कश्मीर र बाबरी मस्जिदको घटनालाई लिन सकिन्छ। अर्को उदाहरण, भारतले नेपालीमुलका भुटानी शरणार्थीहरू प्रति देखाएको व्यवहारलाई पनि लिन सकिन्छ। शरणार्थीहरू सम्बन्धी अन्तरार्ष्ट्रिय मान्यता अनुसार कुनै पनि शरणार्थीले टाँस्सिएको छिमेरकी मुलुकमा प्रवेश गरेर शरण लिन पाउँछ। त्यसै मान्यता अनुसार अहिले सिरियालीहरू टाँस्सिएको छिमेकी मुलुक लेबनान र टर्कीमा प्रवेश गरेर शरण लिइ रहेका छन र लेबनान र टर्कीले शरण दिएका छन्। तर भारतले आफू टाँस्सिएको छिमेकी हुँदा पनि नेपाली मुलका भुटानी शरणार्थीहरुलाई भारतमा शरण लिन दिएन। आफ्नो देशको सिमानाबाट खेदेर नेपाली मुलका शरणार्थीहरूलाई निर्दयी भएर नेपालतिर गाइ गोरू जस्तो गरी धपायो।

अङ्ग्रेजको जमानाको सोच अहिले पनि भारतीय नेताहरूको मस्तिष्कमा ‘ह्याङओभर’ को रूपमा छ। अङ्ग्रेजहरूले जसरी आफूलाई शासक र बाँकीलाई प्रजा मान्दथे, भारतीय नेताहरू अहिले त्यही अङ्ग्रेजी दृष्टिकोण राख्छन् र छिमेकीहरूलाई दबाएर राख्न चाहन्छन्। देशभित्रै आफ्ना राजनैतिक प्रतिद्वन्द्वीहरूप्रति त्यस किसिमको दृष्टिकोण राख्छन्। यस कुराको उदाहरण धेरै पुरानो पनि छैन। गाँधी परिवारकी बुहारी भएर दशकौं पहिले भारत आएकी सोनियाँ गाँधीलाई भारतका अनुदार नेताहरूले कुनै पनि हालतमा भारतको प्रधानमन्त्री बन्न दिएनन्। सोनियालाई प्रम हुन नदिन अभियान नै चलाउनेमा वर्तमान प्रम नरेन्द्र मोदी अग्रपङ्क्तिमा थिए। विदेशी मूलकी भएको कारण सोनिया गाँधीलाई भारतीय काङ्ग्रेसको अध्यक्षको रूपमा हेर्न नरुचाउनेहरूको सङ्ख्या भारतभित्र अहिले पनि ज्यादै ठूलो छ। नेहरू खानदानको विरासत सोनियाले नपाएको भए उनको उठिबास सञ्जय गाँधीको मृत्युसँगै हुन्थ्यो। उनी भारतीय राजनीतिबाट विलुप्त भइसकेकी हुन्थिन्। हुन पनि भारतीय नेताहरूले भारतीय नागरिकता लिएका विदशीहरूलाई राष्ट्रिय राजनीतिमा पटक्कै आउन दिएका छैनन्। साथै विदेशी मूलका तर भारतमा जन्मेकाहरूलाई पनि भारतीय नेताहरूले मूलधारको राजनीतिमा आउन दिएका छैनन्। अर्को महत्वपूर्ण कुरा, भारतको केन्द्रीय राजनीतिमा, सन् १९४७ देखि नै, उत्तर प्रदेश, पश्चिम बङ्गाल, दिल्ली र बिहारको बोलबाला रहँदै आएको छ। आसाम, त्रिपुरा, मणिपुर, नागाल्यान्ड, अरुणाचल प्रदेश, मेघालय, सिक्किम, जम्मु र कश्मीरजस्ता राज्यको भारतको केन्द्रीय राजनीतिमा प्रभाव शून्य बराबर छ।

भारतीय मूलका नागरिकहरूले विदेशी भूमिमा पुगेर सक्रिय राजनीति गरेको उदाहरण भने सयौं होइन, हजारौं छ। भारतीय मूलका नागरिकहरूले सुरिनाम, मलेसिया, सिंगापुर, मरिसस जस्ता मुलकहरूमा पुगेर राजनीति गरेका त छन् नै क्यानाडा र अमेरिकाजस्तो धनी र विकसित देशमा पनि त्यहाँको मूलधारको राजनीतिमा प्रवेश गरेका छन्, उच्च पदमा पुगेका छन्। यस्ता उदाहरण थुप्रै छन्। यहाँ केवल दुई प्रतिनिधि उदाहरण मात्र प्रस्तुत गरौं। संयुक्त राष्ट्र सङ्घका लागि संयुक्त राज्य अमेरिकाको राजदूतको रूपमा नियुक्त निक्की हेली (परिवारिक वा जन्म नाम: नम्रता रन्धवा) भारतीय मूलका अजित सिंह रन्धवा र राज कौर रन्धवाकी छोरी हुन्। निक्की हेलीको जन्म अमेरिकाको साउथ केरोलाइना राज्यमा भए तापनि उनका मातापिता भारतको अमृतसर, पञ्जाबबाट अमेरिका आएका थिए। निक्की हेली अमेरिकाको साउथ केरोलाइना राज्यको गभर्नर (सन् २०११(२०१७) पनि भइसकेकी हुन्।

अर्को उदाहरण, पियुस बबी जिन्दल वा बबी जिन्दल संयुक्त राज्य अमेरिकाको लुजियाना राज्यका गभर्नर (२००८–२०१६) थिए। उनी युयस, काङ्ग्रेसम्यान र रिपब्लिकन गभर्नर एशोसिएशनका उपप्रमुख पनि भइसकेका छन्। लुजियाना राज्यको बेटन रूज शहरमा जन्मेका बबी जिन्दलकी माता रजनी गुप्ता र पिता अमर जिन्दल पञ्जाब, भारतबाट प्रवासीका रूपमा अमेरिका आएका थिए। बबी जिन्दलले अमेरिकी राजनीतिमा गहिरो प्रभाव राख्छन्।

अमेरिका र क्यानडामा राजनीति उदार छ र यो तथ्य माथिको उदाहरणले प्रस्ट पार्छ। भारतका नेताहरू उदार छैनन् र यो तथ्यको थप पुष्टि सोनिया गाँधी प्रकरणले गर्छ। भारतीय नेताहरूको उदारता केवल शब्दमा सीमित छ, व्यवहारमा देखिएको छैन।

यस लेखको उद्देश्य भने राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपालको आर्थिक विकासमा कुन किसिमको प्रभाव पार्नेछ भन्नेबारे चर्चा गर्नु हो। तर भण्डारीको भारत भ्रमणले नेपालको आर्थिक विकासमा पर्ने प्रभावको चर्चा गर्नुपूर्व भारतीय राजनीतिको विश्लेषण गर्नु आवश्यक हुन आउँछ। र सो विश्लेषणले गर्दा राजनीति विषयको केही बढी चर्चा हुन पुगेको हो। भारतीय राजनीतिको छोटो चर्चा गर्न अति आवश्यक किन छ भने नेपालको आर्थिक विकासलाई भारतीय राजनीतिको परम्परा र भारतीय नेताहरूको मनोविज्ञान र त्यसबाट निर्देशित व्यवहारले अत्यधिक प्रभाव पार्ने गर्दछ।

हुनत भारत–भ्रमणको समयमा राष्ट्रपति भण्डारीले त्यहाँका उद्योगपति एवं व्यापारीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न आग्रह गरिन्। आफूले मात्र उच्च आर्थिक विकास गरेर छिमेकीलाई आर्थिक विकास गर्न सहयोग नपुर्याउने कार्य असल छिमेकीले गर्दैन भन्ने कुरा पनि उनले घुमाउरो पाराले भारतीय नेताहरू सामु राखिन्। नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले नेपालमा स्वतन्त्रतापूर्वक जग्गा खरिद गर्न पाउने कानुनी प्रावधान रहेको पनि उल्लेख गरिन्। यस्तो भनेर नेपालमा विदेशीहरूलाई लगानी गर्न सहज पारिदिएको एक किसिमको प्रमाण पनि पेश गरिन्।

भण्डारीले आफ्नो भ्रमणकालमा उठाएको एउटा विषय भने अति नै महत्वपूर्ण थियो। भारत, नेपालको ठूलो व्पापारिक साझेदार हो र यो कारणले पनि भारतले नेपालको (भारतसँगको) व्यापार घाटा कम पार्न खास पहल गर्न आवश्यक छ भन्दै भारतलाई यसतर्फ गम्भीर हुन भण्डारीले आग्रह गरिन्। नेपालले अहिले, सामान्य किसिमले हेर्दा, भारतबाट रु १० खर्ब बराबरको सामग्री आयात गरिरहेको छ भने भारततर्फ केवल रु १ खर्ब बराबरको सामग्री निर्यात गरिरहेको छ। यसरी नेपालको भारतसँग निर्यात–आयात अनुपात १:९.७ रहेको देखिन्छ। व्यापारिक हिसाबले यो नेपालको ठूलो कमजोरी र भारतको ठूलो सबलता हो।

माथि उल्लेख गरिएका आर्थिक मुद्दाहरू नेपालका लागि सामान्य हुन्। भारतसँगको सम्बन्धमा, नेपालका लागि एउटा विषय मात्र अत्यधिक उच्च मुद्दाको रूपमा रहिआएको छ, त्यो के हो भने भूअवस्थितिले गर्दा, नेपालले समुद्रसम्म पुग्न भारतको भूमि प्रयोग गर्नुलाई नेपालको सर्वाधिक कमजोरी र आफ्नो सर्वाधिक ठूलो बल (Bargaining Power) को रूपमा भारतले लिंदै आएको छ। भारतले समुद्री मार्ग हुँदै, नेपाललाई तेस्रो मुलुक सजिलै पुग्न नदिने र बेलाबेला भारतबाट नेपालतर्फ हुने निकासीलाई मधेस आन्दोलनको नाममा नियन्त्रित गर्दै आएको छ। यी दुई कार्य अब उप्रान्त नगर्ने वाचा कोसेलीको रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीको हात भारत सरकारले पठाइदिए नेपालीहरूले भारत साँच्चीकै असल मित्र भएको अनुभव गर्न पाउने थिए।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.