स्थानीय निर्वाचनको वीरगञ्जलाई बढी खाँचो छ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / चुनाव २०७४

स्थानीय निर्वाचनको वीरगञ्जलाई बढी खाँचो छ




   Bishwa Raj Adhikari - Jul 10 2017

यति ठूलो आर्थिक इतिहास बोकेको शहर वीरगंज अहिले वाँणशैयामा मृत्यु पर्खिरहेको ‘भीष्म पितामह’ जस्तो भएको छ। मधेस केन्द्रित राजनीतिले वीरगंजलाई भीष्म पितामहको स्थितिमा पुर्याएको छ। वीरगंजभन्दा बढी आफ्नो स्थार्थलाई माया गर्ने केही मधेसी नेताहरूले वीरगंजलाई वाँणशैयामा सुताइदिएका छन्।



वीरगंजलाई स्थानीय निर्वाचनको अन्य शहरहरूभन्दा अझ बढी खाँचो छ। अन्य शहरहरूभन्दा आर्थिक विकासका अत्यधिक सम्भावना बोकेको यो शहरलाई आर्थिक प्रगतिको पथमा द्रुततर गतिमा दौडाउन निर्वाचित जनप्रतिनिधिहरूले महत्वपूर्ण भूमिका खेल्ने हुनाले यो शहरलाई स्थानीय निर्वाचनको बढी खाँचो भएको हो। र यो तथ्य सबैभन्दा बढी वीरगंज र यस वरपरका बासिन्दाहरूले बुझ्नुपर्ने हो। त्यसकारण वीरगंजवासीले आगामी असोज २ गते सम्पन्न हुने स्थानीय तहको चुनावमा अनिवार्यरूपले भाग लिनुपर्छ। यो शहरको निर्माणमा जुटनुपर्छ। यो शहरलाई बर्बाद हुनबाट जोगाउनुपर्छ।

यो पनि हेर्नुहोस् : कस्तो बनेको छ "धनपति"-समीक्षा

आर्थिक विकासको क्षेत्रमा यो शहर सदैव अग्र स्थानमा रहेको जिउँदो इतिहास छ। जुन बेला नेपालको सर्वाधिक ठूलो र देशको राजधानी मानिएको शहर काठमाडौले मन्द गतिमा विकास गर्दै थियो, वीरगंजमा ठूला–ठूला उद्योगहरू सञ्चालन भइसकेका थिए। कृषि औजार कारखाना, चिनी कारखाना, कपडा कारखाना, मोजा कारखाना, सिगरेट फैक्ट्री, कत्था मिला, काठ चिरान (स मिल), बिस्कुट कारखाना, स्टील (स्टीलका भाँडा) कारखाना, राइस मिल, सलाई कारखाना, लोहा कारखानाजस्ता अग्रणी उद्योगहरूको स्थापना वीरगंजमा भइसकेको थियो।

संसारका विभिन्न देशहरूसँग जोडने हवाई, सडक एवं रेल यातायातको विकास वीरगंजमा दशकौं पहिले भइसकेको थियो। आजभन्दा करिब ९० वर्ष पहिले (सन् १९२७ मा) वीरगंजमा रेलसेवा स्थापना भएको थियो। भारतको रक्सौलबाट वीरगंज हुँदै अमलेषगंजसम्म पुग्ने नेपालको पहिलो रेलसेवा (NGR-Nepal Government Railway) ले नेपालका विभिन्न भागहरूबाट आएका व्यक्तिलाई काठमाडौंसम्म पुर्याउने गर्थ्यो। यात्रीहरू वीरगंजबाट अमेलेखगंजसम्म रेलमा, त्यहाँबाट लरी (ट्रक) मा भीमफेदी अनि भीमफेदीबाट हिंडेर काठमाडौं पुग्थे। काठमाडौंसम्म पुग्ने सडक यातायात नहुँदा वीरगंजमा सडक, रेल र हवाई यातायातको निर्माण भइसकेको थियो। यातायात र व्यापारको क्षेत्रमा वीरगंज अग्रणी स्थानमा रहेको हुनाले नै भारतका विभिन्न क्षेत्रवाट विभिन्न समुदायका र मुख्यतः मारवाडीहरू दशकौं पहिले यस शहरमा आएर व्यापारमा संलग्न भएका थिए।

भारतमा शासन गर्ने तत्कालीन अङ्ग्रेज सरकारको पक्षमा दोस्रो विश्वयुद्धमा लडाइँ गर्न नेपालका राणा शासकहरूले वीरगंजमा स्थापित रेलसेवाको प्रयोग गरेर संसारभरि गोरखा पल्टन पठाएका थिए। भनिन्छ अमलेखगंजमा रेल चढेका नेपाली सैनिकहरूलाई आफूहरू नेपालकै कुनै शहरमा रहेको भान परिरहँदा उनीहरू फ्रान्स, जर्मनी, ब्रिटेनलगायत युरोप, एसिया र अफ्रिकाका अनेक शहरमा पुगिसकेका हुन्थे। अर्थात् अमलेखगंजमा रेल चढेका नेपाली सैनिक एकैपटक संसारका अनेक युद्धभुमिमा झर्दा कुन देश र कुन शहर भएर आएँ उनीहरूलाई पत्तोसमेत हुन्थेन। केहीलाई नेपालकै सिमानाभित्र र केहीलाई भारतमा छु भन्ने भान हुन्थ्यो। यसरी वीरगंजले लगभग एक सय वर्ष पहिले नै संसारका विभिन्न देशसम्म पुग्ने बाटो बनाइसकेको थियो जबकि काठमाडौंमा पक्की सकड थिएन, सबारीका लागि घोडा प्रयोग हुन्थ्यो ।

वीरगंजको विकास एउटा व्यवस्थित व्यापारिक एवं औद्योगिक शहरको रूपमा हुँदासम्म पनि अहिलेका जल्दाबल्दा शहरहरू- मुग्लिन, निजगढ, चन्द्रनिगाहपुर, लालबन्दी, लहान, नारायणघाट, बुटबलको पटक्कै विकास भएको थिएन। केहीको त अस्तित्व पनि थिएन। यति ठूलो आर्थिक इतिहास बोकेको शहर वीरगंज अहिले वाँणशैयामा मृत्यु पर्खिरहेको ‘भीष्म पितामह’ जस्तो भएको छ। मधेस केन्द्रित राजनीतिले वीरगंजलाई भीष्म पितामहको स्थितिमा पुर्याएको छ। वीरगंजभन्दा बढी आफ्नो स्थार्थलाई माया गर्ने केही मधेसी नेताहरूले वीरगंजलाई वाँणशैयामा सुताइदिएका छन्। वीरगंजको अर्थ व्यवस्था निरन्तर तल झरिरहेको छ। व्यापारीहरू वीरगंजबाट पलायन भइरहेका छन् भने युवाहरूमा निराशा छाएको छ ।

आजभन्दा करिब ६० वर्ष पहिले (सन् १९५८ मा) वीरगंज (सिमरा) मा हवाईसेवाको स्थापना भइसकेको थियो। नेपाल एवं भारतका विभिन्न शहरहरूबाट काठमाडौं जान यो हवाईसेवाको व्पापक प्रयोग हुन्थ्यो। हवाईसेवाको क्षेत्रमा पनि वीरगंज अगाडि थियो।

दक्षिण एसियाको एउटा आदर्श एवं महत्वपूर्ण उद्योगको रूपमा वीरगंजमा चिनी कारखानाको स्थापना भएको थियो। तत्कालीन रूसी सरकारको सहयोगमा २०२१ सालमा स्थापना भएको ‘वीरगंजमा चिनी कारखाना’ ले एक हजारभन्दा बढी व्यक्तिहरूलाई प्रत्यक्ष र लाखौं व्यक्तिलाई अप्रत्यक्ष रोजगार दिएको थियो। पर्सा, बारा, रौतहट, सर्लाहीका किसानले यस कारखानालाई उखु आपूर्ति गर्दथे भने यस कारखानाबाट उत्पादित चिनी नेपालका विभिन्न शहरहरूलगायत भारत र बङ्गलादेशमा पनि निर्यात हुन्थ्यो। कुनै समयमा वीरगंज चिनी कारखाना रोजगारको प्रमुख स्रोत थियो। यसले कृषकको आम्दानी बढाएको थियो। अहिले कारखाना खण्डहर भएको छ र यसलाई खण्डहर बनाउने काम गरे नेताहरूले

वीरगंजमा जबदेखि नेताहरूको वक्रदृष्टि पर्यो, वीरगंज विस्तारै कश्मीर हुन थाल्यो। वीरगंज अहिले व्यापार र उद्योगका लागि अति अनुकूल होइन, आन्दोलनका लागि अति उपयुक्त भूमिमा रूपान्तरित हुन पुगेको छ। मधेसवादी दलहरूले मधेसीहरूलाई अधिकार दिलाउने नाममा वीरगंजलाई लडाइँ, झगडाको ‘इपी सेन्टर’ बनाएका छन्। यस्तै हो भने भने वीरगंज पनि छोटो समयमा नै कश्मीर बन्नेछ। कश्मीर कुनै समयमा दक्षिण एसियाको स्वर्गको रूपमा परिचित थियो। कश्मीरमा कलह शुरु हुनुभन्दा पहिले, वा सन् १९७५ भन्दा पहिले, बम्बईमा निर्माण भएका हिन्दी फिल्महरूमा धेरै नभए सानो अंश भए पनि कश्मीरको दृश्य हुन्थ्यो नै। अर्थात् धेरै फिल्मको सुटिंग कश्मीरमा गरिएको हुन्थ्यो। एक फिल्ममा त गीत पनि यस्तो थियो- हर चेहरा यहाँ चाँद तो हर जर्रा सितारा, ए वादिए कश्मीर है जन्नत का नजारा….. । तर जन्नत (स्वर्ग) झैं रहेको त्यो कश्मीर अति राजनीतिले गर्दा आज मुसिबत हुन पुगेको छ। कश्मीरका सडकहरूमा हरपल जीवन होइन, मृत्युहरूले मार्च गरिरहेको हुन्छ। भयको साम्राज्य छाएको हुन्छ। ‘कुनै स्थानलाई स्वर्गझैं तुल्याउन लामो समय लाग्छ तर बरबाद भने केही दिन वा महिनामा नै गर्न सकिन्छ’ भन्ने भनाइको ज्वलन्त उदाहरण काश्मीर हुन पुगेको छ। वीरगंज पनि कश्मीर हुने स्थितिमा छ। तर त्यस्तो हुनबाट जोगाउन सकिन्छ। वीरगंजका बासिन्दा फुटेर होइन जुटेर, अति राजनीतिबाट अलग रहेर र बाहिरबाट आउने फोहर (राजनीति) लाई वीरगंजभित्र छिर्न नदिएर, केवल वीरगंजको आर्थिक विकासमा लाग्ने हो भने यो शहर नेपालकै ठूलो (आर्थिक कारोबारको लागि) शहर हुनेछ। वीरगंजको माया वीरगंजवासीलाई मात्र हुन्छ, बाहिरबाट राजनीति गर्न आउनेहरूलाई हुँदैन। उनीहरू त केवल वीरगंजको उपयोग गर्छन्।

वीरगंजलाई नेपालको ठूलो शहर हुन यसको भौगोलिक अवस्थितिले सहयोग पुर्याउँछ । यो शहर भारतको नजिक रहेकोले उद्योगका लागि आवश्यक पर्ने कच्चा सामाग्री वीरगंजमा सञ्चालित उद्योगहरूसम्म ल्याउन सजिलो हुन्छ। यसैगरी वीरगंजमा उत्पादित सामग्रीहरू नेपालका अनेक बजारहरूमा आपूर्ति गर्न पनि सजिलो हुन्छ। देशको मध्य भागमा वीरगंजको अवस्थिति रहेकोले यहाँबाट विभिन्न सामग्रीहरू आपूर्ति गर्न यातायात र अन्य लागत सस्तो पर्छ। वीरगंजबाट भारत मात्र होइन, समुद्रपारिका देशहरूमा सामग्रीहरू निर्यात गर्न पनि सजिलो हुन्छ। यसैगरी वीरगंजलाई विश्वका अनेक मुलुकहरूबाट सामग्रीहरू आयात गर्न, एक विशाल बन्दरगाहको रूपमा पनि प्रयोग गर्न सकिन्छ, जुन भइरहेको छ।

पहाडका शहरहरूमाजस्तो रोजगारको समस्या वीरगंजमा कहिले पनि भएन। यस शहरमा सञ्चालित थुपै उद्योगले वीरगंजलगायत वरवरका लाखौं बासिन्दालाई रोजगार दिएको थियो। चिनी कारखानालगायत अन्य उद्योगहरूले लाखौं व्यक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगार दिएका थिए। यहाँसम्म कि वीरगंजका विभिन्न टोल, घरमा बसेर बीडी बनाएर, विभिन्न परिवारले सजिलै जीवनयापन गरेका थिए। रिक्सा चालकहरूले रक्सौलसम्म रिक्सा चलाएर जीवन धानेका थिए। यस क्षेत्रमा रोजगार पाउन सजिलो भएको हुनाले नै वीरगंज र यस वरपरका व्यक्तिहरू सरकारी जागिर (लोकसेवा) तिर आकर्षित भएनन्। जागिरका लागि काठमाडौं धाएनन्। सेना र प्रहरीमा पनि रुचि देखाएनन्। यो कारणले गर्दा पनि सरकारी जागिर, सेना र प्रहरीमा पहाडमा बसोबास गर्नेहरूको सङ्ख्या धेरै हुन पुगेको हो। मधेसमा खेती बढी हुने, व्यापार र उद्योगहरू पनि ठूलो सङ्ख्यामा सञ्चालित रहनेजस्ता कारणले गर्दा मधेसबाट नेपालीहरू ब्रिटिश सेना वा भारतीय सेनामा भर्ना हुन नगएका हुन्। तर पहाडमा मधेसको जस्तो स्थिति थिएन। रोजगारको लागि काठमाडौं वा विदेश (सेनामा भर्ना हुन) जानुको विकल्प पहाडका युवाहरूसँग थिएन। तर यो यथार्थलाई मधेसका केही नेताहरूले मधेसीहरूमाथि गरिएको विभेदको रूपमा अर्थ्याए। सेना र सरकारी सेवामा राज्यले अति विभेद गरेको प्रचार गरे। यथार्थ के हो भने मधेस तुलनात्मकरूपमा आर्थिक क्षेत्रमा बलियो रहेकोले यहाँका युवाहरूले ब्रिटिश वा भारतीय सेना वा नेपाली सेनामा भर्ना हुन चाँसो नलिएका हुन्।

मधेसी नेताहरूले युवाहरूलाई सत्य कुरा भन्नुपर्छ। मधेसका युवाहरूलाई ‘राज्यले हामीमाथि अन्याय गरेको छ’ भन्नुको सट्टा हामीले हाम्रो क्षेत्रको विकास स्वयं गर्नुपर्छ भन्नु उपयुक्त हुन्छ। मधेसमा विद्यमान कुसंस्कार– दहेज वा तिलक लिने दिने, कुरीति- जादु, टोना, मन्तर, झाडफुक, अज्ञानता, अशिक्षाजस्ता समस्या समाप्त पार्न नेताहरूले मधेसका बासिन्दालाई उत्प्रेरित गर्नुपर्छ। यी समस्या मधेसका वास्तविक शत्रु हुन् भनी नेताहरूले मधेसका युवाहरूलाई भन्नुपर्छ। यी कुराहरूले मधेसका नागरिकहरूलाई गरिब तुल्याएको हो, पछाडि पारेको हो भन्नुपर्छ। मधेसले इमानदार र कर्मठ नेतृत्व पाउने हो भने यो क्षेत्रले पहाडको तुलनामा छिटै र दिगो किसिमले आर्थिक विकास गर्न सक्छ। मधेसले आर्थिक विकास गर्ने पर्याप्त सम्भावनाहरू छन्। तर मधेसका नेताहरूले यहाँका नागरिकलाई आफ्नो स्वार्थको लागि उपयोग गर्ने हो भने वीरगंज मात्र होइन, सम्पूर्ण मधेस नै बरबाद हुनेछ। यो तथ्य वीरगंजवासीले मनन गर्नु अत्यावश्यक छ। त्यसकारण अब आउने स्थानीय तहको चुनावमा प्रतिनिधि छनोट गरेर वीरगंजका बासिन्दा यस शहरको विकासमा लाग्नु अत्यवश्यक छ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.