Lakshmi puja Barta/ Lakshmi prasad janma jayanti/Kukur Tihar/Narak Chaturdashi/World Diabates Day/Sukha Ratri | लक्ष्मी पुजा व्रत/ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/विश्व मधुमेह दिवस/सुखरात्री | २०७७ कार्तिक २९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2020
    २०७७ कार्तिक
    २९
    शनिवार
    Nov 14, 2020
    कार्तिक कृष्ण चतुर्दशी
    लक्ष्मी पुजा व्रत/ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्म जयन्ती/कुकुर तिहार/नरक चतुर्दशी/विश्व मधुमेह दिवस/सुखरात्री ( Lakshmi puja Barta/ Lakshmi prasad janma jayanti/Kukur Tihar/Narak Chaturdashi/World Diabates Day/Sukha Ratri )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    लक्ष्मीपूजा | लक्ष्मी जयन्ती | कुकुर तिहार | नरक चर्तुदशी | विश्व मधुमेह दिवस | सुखरात्री




    लक्ष्मीपूजा | लक्ष्मी जयन्ती विशेष अडियो सामग्री

    हरियो घाँस खाएर गाईले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्गको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फुलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो ।

    आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्ण रुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभकार्यमा अनिवार्य जस्तै केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । यि द्वारहरु बाट वर्षभरि खुशी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !

    "भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
    हे औँशीको बारो, गाईतिहारो भैलो...."


    टोलछिमेकका चेलीबेटीहरू आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरूले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रे मौलिक स्वाद लिन पाइने यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो । औँशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरू, आजको दिन घर अनि टोललाई दुलही झै सिँगारिएको हुन्छ । दलान, पीढी, अँगेनो, मूलखाँबो लगायत हरेक झ्याल, ढोकाहरूमा आज बत्ती बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरू राखिनुको साथै विभिन्न प्रकारका झिलमिल विद्युतीय बत्तीहरू पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तीहरुको झिलमिल प्रकाश भित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

    यो लेखलाई अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

    नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा २९ गते रहेको छ, नरक चतुर्दशीका दिन बिहानै उठेर तीर्थमा स्नान गर्नाले यस लोकमा सुख शान्ति मिल्नुका साथै नरक जानु नपर्ने जनविश्वास रहेको छ । २९ गते शनिबार श्रद्धा एवं भक्तिले लक्ष्मीजीको पूजा जतिबेला पनि गर्न सकिन्छ । लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रिका लागि कुनै साइतको आवश्यकता नपर्ने भएपनि गोधूली स्थिर लग्न (वृष) र सूर्यास्तको बीचमा अर्थात् लक्ष्मीपूजाको लागि साँझ ०५:१२ बाट ०७:०८ सम्मको समय उत्तम रहेको छ भने सिंह लग्नको शुभ समय रात्री ११:४३ देखि १:५५ को समय उत्तम छ । यसै दिन भलो होस् भनी भैलो खेल्ने परम्परा रहेको छ । कार्तिक ३० गते आइतबार गाईपूजा, गोवर्धन पूजा र नेवार समुदायको म्ह(आत्म)पूजा गरिन्छ । 

    आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माताको' सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्बीहरूले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरू पूजायोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यिनै गौमाताको गौँत अभिषेक सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाईको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारकै छ ।



    आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।

    रङ्गहरू, बत्तीहरू अनि पर्वीय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तीका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तीहरुझै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलेनीका आशिषहरू हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । यसपाला कोरोना त्रासले दशैं पनि दशैं जस्तो भएन र तिहार पनि अनेक ठाँउमा निष्पट्ट अँध्यारो मात्र हुनेछ होला, तर आगामी वर्षहरुको आशा अनि विगतका याद का साथै यस वर्ष पनि तिहारको रौनक कायम राख्दै सुरक्षित बस्ने हाम्रो प्रतिवद्धता रहनेछ । रङ्गोलीका उमङ्गहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

    ----
    लक्ष्मी जयन्ती


    कालो बादलबाट खसेको
    अन्धकारमा भित्र पसेको,
    ईश्वर हो कि भिखारी ?


    ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।
    माग्दछ करुणा भाइहरूमा
    आई पृथ्वी वारि,
    माग्दछ भिक्षा ईश्वर मेरो
    आँगनको एक भिखारी ?


    समाजको छर्लङ्ग चित्रलाई बडो चित्ताकर्षक ढङ्गले पस्कने महाकविका कृती अनि अन्तराष्ट्रिय लेखकहरू सँगै अब्बल ढङ्गले पौँठेजोरी खेल्न सक्ने उनका कृतीहरु कै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफीक मिस्टेक' भनेर समेत चित्रण गरेका छन् । स्वर्गभूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् । आज तिनै महाकवीको १११औं जन्मजयन्ती ।

    आजको दिन नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङ्गमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृतीले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

    "क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन"


    मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उतिबेलाको नेपाली समाजका लागि यो एउटा ठूलो क्रान्ति नै हुनुपर्छ । सायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।

    तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।

    "के नेपाल सानो छ र!" भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विद्यालय पाठ्यक्रममै पनि हामी मध्ये धेरैले पढेका छौं । निबन्ध स्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिनसक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतिहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता संग्रहहरु नेपाली साहित्य अनुरागीका लागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भूत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।

    भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।

    देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले ने लेखेका हुन भनेर पत्याउँथेनन् । शुरुवातकालिन दिनहरूमा कवि शिरोमणि लेखनाथ पौड्यालका कृतिहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरु वर्डस्वर्थ र सेलीका अंग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएससी त्रिचन्द्र कलेज वाट गरेका हुन् भने बिए बिएल चाँहि पटना विश्वविद्यालयबाट गरेका हुन् ।

    बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एकदिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भएपनि आकर्षक शब्दहरूको माला र बहुआयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रुपमा नेपाली बाङ्मयको प्रगतिका लागि आएका हुन् ।

    वर्तमान त्रिभूवन विश्वविद्यालयको ब्यवस्थापन अनि बढोत्तरीकालागि पनि महाकवि आफू शिक्षा मन्त्रीहुँदा गरेका दूरगामी कदमहरु प्रशंसनीय छन् ।

    चिताग्नि तापी जल डाल्न फाली
    संस्कार आफ्नो सब नै गुमाएँ
    म शून्यमा शून्य सरी बिलाएँ
    जन्मेँ म यो स्वर्ग विषे पलाएँ
    आखिर भै खाक त्यसै बिलाएँ।


    वि. सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्धन्य साहित्यकार तथा श्रष्टाहरू उहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल रहिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।

    कुकुर तिहार


     

    दिपावली अर्थात् उज्यालोले भरिएको खुशियाली यूक्त तिहार, एउटा विशेष उर्जा सहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रुपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रित वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ । 

    हिजोको दिन कागको पूजा गरियो र मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।



    ऋग्वेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूको आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।



    महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्गका प्रतिनिधिका रुपमा लिइन्छ । तन्त्र साधक निडर भगवान भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रुपमा उल्लेख गरिएको छ ।



    यी त भए शास्त्रका कुरा तर आधुनिक युगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरी सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारिताको दृष्टान्त स्वरुप बनाइएको चलचित्र "हाछिको" आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् ।



    आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।



    आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ । आज नरके चतुर्दशी पनि र आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्कार्इ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलार्इ नरके बगाउने भनिन्छ।



    आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।



    तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी-भार्इ, दाजू-बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो । साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको आजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।



    नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।



    मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितिकी तन्त्र (Eco-System) का रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ ।



    माया दिऔ, माया बाँडाैं अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधूर सम्बन्धको यो यात्रा जूगाै जूग चलिरहोस् । शुभकामना !

    नरक चर्तुदशी
    यो वर्ष सन् २०२० मा करिब ४९९ वर्षपछि एउटा गज्जबको संगम परेको छ, १४ नोभेम्बर शनिबारका दिन अर्थात आज नै यस वर्ष लक्ष्मीपूजा र नरक चतुर्दशी दुबै परेको हो । लक्ष्मीपूजा औँशीका दिनमा पर्दछ तर यसवर्ष चतुर्दशी र औँशीको दुर्लभ संयोग रहेको पाइन्छ, यसवर्षको ग्रहगोचर अन्य वर्षहरू भन्दा फरक छ, शायद । कोरोना त्रासले विश्व नै वर्षदिन देखि आक्रान्त भएको यस वर्षले लक्ष्मी माताको कृपाले चाँडै साम्यावस्थामा फर्कने अवसर पाओस् । 

    ग्रहगोचर हेर्न हो भने आज बृहस्पति, शुक्र र शनिको दुर्लभ संयोग रहेको छ । भूमिदेवताका पुत्र र ब्रह्माको आशीर्वाद पाएको नरकासुरले एकदिन भगवान कृष्णलाई आक्रमण गर्दछ । आफ्नी आमाको हातबाट मात्र मारिने वरदान पाएका यि राक्षसलाई कृष्णकी तेश्रो पत्नी स्वरुप सत्यम्भाले भूमिदेवीको अंशका रुपमा वध गरेपछि आजको दिन मनाउन थालियो । नरकासुरले मृत्युका वखत आफ्नी आमाको पुकारा गरेको र आफ्नो सम्झना युगयुगान्तर होस् भनी कृष्णलाई आग्रह गरेपछि, नरकासुरको नाममा नरक चतुर्दशी दियो बालेर मनाउन थालिएको हो । 

    विश्व मधुमेह दिवस
    मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउने गरिन्छ । फ्रेडरिक सन् १८८१ मा जन्मिएर सन् १९४१ मा बितेका हुन्, क्यानडाका नागरिक यिनले आफ्नो जीवनकालमा मधुमेहको ओखतीका रुपमा इन्सुलिन हर्मोन बनाउन ठूलो योगदान गरेका छन् । 

    विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । 

    यसवर्ष त झन कोरोना त्रासले मान्छेहरू घरभित्रै बसेकाले अनि व्यायामको कमीले मधुमेहको सम्भाव्यता बढेको र कोरोना लागेकाहरुमा पनि मधुमेह जस्ता अन्य दीर्घरोगहरूले थप जटिल बनाएको विभिन्न अध्ययनहरूले देखाएको छ । यसअर्थमा सन् २०२० को विश्व मधुमेह दिवसको संघार अलिक फरक छ । 

    अहिले विश्वभर ४२ करोडभन्दा बढी जनसंख्या मधुमेहको खतरामा छन् भने नेपालमा मात्र पनि कम्तिमा करिब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । जीवनशैली सम्बन्धी रोगका रुपमा लिइएको मधुमेह एउटा सरुवा रोग नभए पनि यसलाई पारिवारिक रोगको रुपमा लिइन्छ । परिवारका एकजना सदस्यलाई मात्र मधुमेह भएमा सम्पूर्ण परिवारलाई नै असर गर्न सक्दछ । परिवारका सम्पूर्ण सदस्यको जीवनशैली, खानपान, आपसको सम्बन्ध, आर्थिक तथा मानसिक पक्षसम्म प्रत्यक्ष असर देखिन्छ ।

    दैनिक खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउने गर्दा मधुमेहबाट बच्न सकिने चिकित्सकहरूको सुझाव छ । खानामा कार्बोहाइड्रेटको मात्रा बढि, चिल्लो र गुलियो पदार्थ बढि हुँदा पनि मधुमेहको सम्भावना हुन्छ ।

    स्क्रिन भित्रको पुस्ता प्रकृतिमा आउन जरुरी छ, फुटबललाई रिमोटबाट हैन मैदानमा खेलिन जरुरी छ, तनाव व्यवस्थापनका उपायहरू जरुरी छ अनि मधुमेहलाई जीवनबाट भगाउन जरुरी छ । स्वास्थ्य नै धन हो । 

    सुख रात्री 
    आजको दिनलाई सुख रात्रि पनि भनिन्छ, लक्ष्मीपूजालाई सुख रात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मीमाताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरुको पदचापहरू, यस सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिन मध्य एक हो । कोरोना त्रासले दैउसी, भैलेहरुको रमाइलो यस वर्ष सायद लेखेको छैन तर आँउदा वर्षहरूमा सुख अनि समृद्दि बढ्दै जाओस्, शुभकामना । 
    -----
    हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार गर्नुभएको हो ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.