थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछाने केको 'हिसाब' खोजी रहेका छन्

थुनामुक्त भएपछि रास्वपा सभापति रवि लामिछाने केको 'हिसाब' खोजी रहेका छन्

bbc.com . २ घण्टा अघि

सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने क्रममा अघिल्लो सरकारप्रति लक्षित गर्दै आक्रामक अभिव्यक्ति दिए।

तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर शुक्रवार थुनामुक्त भएलगत्तै पनि लामिछानेले आफूमाथि परेको अन्यायको हिसाब खोज्ने बताएका थिए।

आफूलाई अघिल्लो सरकारले 'प्रतिशोधपूर्वक मुद्दा चलाएको' दाबी गर्दै आएका लामिछानेले आइतवार पार्टी कार्यालय पुगेर प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा विघटित प्रतिनिधिसभाका संसदहरूको हस्ताक्षर गरिरहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावी मैदानमा आउन चुनौती दिए।

रवि लामिछाने थुनामुक्त, यस्ता छन् उनका अबका योजना

रवि लामिछाने जेलमुक्त भएपछि 'कुलमान र बालेनसँग निर्णायक वार्ता गर्न सहज हुने' दाबी

दल र राजनीतिक शक्तिको नाम उल्लेख नगरी उनले 'भागेका केही शक्ति आफैँ सानोतिनो घटना घटाएर चुनाव बिथोल्न लागिरहेको' आरोप लगाए।

"चुनावको वातावरण बिगार्न पर्दैन। पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भइगयो," हालै पार्टी नेतृत्वमा पुनर्निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै लामिछानेले भने।

'हिसाब मिलाउन बाँकी नै छ'

भदौको विद्रोहमा उत्रिएका जेन जीको माग पूरा गर्न, निर्वाचन गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सुशीला कार्कीलाई साथ दिने बाचा गरेका लामिछानेले थुनामुक्त भएलगत्तै पुराना राजनीतिक शक्तिप्रति लक्षित गर्दै आफूले हिसाब खोजिरहेको बताएका छन्।

"यिनीहरूले यो देशमाथि गरेको अन्यायका अगाडी ममाथि गरेको अन्याय केही पनि होइन त्यो सबै हिसाब गर्नु छ," रिहा भएकै दिन रुपन्देहीमा उनले भने। "हिसाब मिलाउन बाँकी नै छ।"

त्यसको भोलिपल्ट आफ्नो चुनावी क्षेत्र चितवनको भरतपुर पुगेका लामिछानेले कुनै दलप्रति प्रतिशोध नसाँध्ने वाचा गरे। त्यससो भनिरहँदा पनि उनले हिसाबको प्रसङ्ग छुटाएनन्।

"म र मेरो दलमाथि जति अन्याय थिचोमिचो गरेको भए पनि कुनै पनि राजनीतिक पुस्ताका नेता प्रति राजनीतिक प्रतिशोध गर्ने छैनौँ। तर यो देशलाई ३०-३५ वर्षसम्म जसरी राखियो त्यसको हिसाब त गर्नु पर्छ साथी हो। त्यसको हिसाब त माग्छु म," उनले भने।

'थान्कोमा बस्न चेतावनी'

यसअघि सत्ता र शक्तिमा रहेका दलका नेताहरूलाई लक्षित गर्दै इतिहासमा योगदान पुर्‍याएका नेताहरूलाई 'सुरक्षित र सम्मानित ठाउँमा राख्ने' लामिछानेले चेतावनी थियो।

"तर त्यो सम्मानित ठाउँमा बस्ने/नबस्ने भन्ने कुरा उहाँहरूको अभिव्यक्ति र व्यवहारमा फरक पर्छ," उनले भने।

उनी त्यतिमा मात्रै रोकिएनन् पुराना नेताहरूलाई थान्कोमा बस्न चेतावनी समेत दिए।

"भविष्य हामीले बनाउने हो। इतिहास तपाईँले कोर्नुभयो, धन्यवाद! थान्कोमा बस्नुस् है। दुई तिहाइको दम्भ, भिडभाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने त फेरी हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ," उनले भने।

यसअघि भदौ २४ को आन्दोलनमा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कतिपय राजनीतिक नेताहरूमाथि भौतिक आक्रमण समेत भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी ‌ओलीलाई नेपाली सेनाले प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा उद्धार गरेको थियो।

दलका नेता र विश्लेषक के भन्छन्

नेकपा एमालेका सचिव राजन भट्टराईले सहकारी ठगीको मुद्दा खेपिरहेका र धरौटी बुझाएर अदालतबाट तारेखमा छुटेका लामिछानेले दलहरूमाथि प्रहार गरेर आफूमाथि उठेका प्रश्न पन्छाउन खोजेको बताए।

"उहाँ छुटेर आउनुभएको छ त्यसमा हामीलाई केही भन्नु छैन। उहाँका विचाराधीन मुद्दाबारे के भन्नुहुन्छ। उहाँले दुईवटा राहदानी प्रयोग गरेको कुरा हामीले आरोप मात्रै लगाएको होइन होला," प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार समेत रहिसकेका भट्टराई भन्छन्।

"उहाँबारे उठेका यावत् विषयमा जबाफ दिन छोडेर जनतालाई प्रभावित पारेर जे पनि बोल्ने? उहाँ नेता होइन? गृह मन्त्रालय चलाएको मान्छे होइन? जेल तोडेर बाहिर आएको विषयमा भोलि अरू बन्दीलाई के भन्नुहुन्छ?"

रवि लामिछाने, कुलमान घिसिङ, बालेन र हर्क साम्पाङलाई 'मिलाउने' प्रयासमा जेन जी अगुवा

भदौ २३ र २४ मा 'खटिएका' सुरक्षाकर्मीको विवरण बुझाउने प्रहरीको तयारी, जाँचबुझ आयोगले 'तत्काल बयान थाल्ने'

यसअघि भदौ २४ गते जेन जी आन्दोलन उत्कर्षमा पुगेका समयमा लामिछाने ललितपुरको नक्खु कारागारबाट बाहिर निस्किएका थिए। उनका आलोचकहरूले लामिछानेमाथि "कारागारबाट भागेको" आरोप लगाए पनि उनले त्यसको खण्डन गर्दै आफ्नो सुरक्षाका लागि कारागार प्रशासनले नै बाहिर पठाएको दाबी गर्दै आएका छन्।

लामिछानेले आफूमाथि सहकारी र राहदानी प्रकरणमा चलिरहेका मुद्दातर्फ सङ्केत गर्दै शनिवार चितवनको भेलामा त्यसलाई आफूमाथि झुन्ड्याइएका 'तरबार'को संज्ञा दिएका थिए।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको आरोपमा प्रहरीले बुझाएको अनुसन्धानमा मुद्दा नचलाउने महान्यायधिवक्ता कार्यालयले २०७९ सालमा गरेको निर्णयविरुद्ध परेको अर्को रिट सर्वोच्च अदालतमा विचाराधीन छ।

सहकारी प्रकरणमा आफूमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाउने लामिछानेबारेको छानबिन प्रतिवेदन पनि उनकै दलका सांसद समेत संलग्न रहेको संसदीय समितिले तयार गरेको दाबी एमाले नेता भट्टराईको छ।

"उहाँकै सांसद रहेको संसदीय समितिले बनाएको प्रतिवेदन उहाँहरू समेत रहेको संसद्‌ले पारित गरेर अनुसन्धानका लागि पठाएको होइन?," उनले भने।

यसअघि देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार समेत रहेका राजनीतिक टिप्पणीकार अरुणकुमार सुवेदी लामिछानेले अरू दलहरूको पराजय र आफ्नो विजय भएको रूपमा जेन जी आन्दोलनलाई हेरिरहेको आफूलाई लागेको बताए।

"उहाँको शैली त्यस्तै हो त्यसबारे मलाई केही भन्नु छैन। तर उहाँ गालीगलौजको राजनीतिबाट बाहिरिनु पर्छ," उनी भन्छन्।

"उहाँले जे कुरा गरिरहनु भएको छ त्यसले अराजकता थप बढ्छ।"

रवि लामिछानेले कहाँबाट बुझाए २ करोड रुपैयाँभन्दा बढी धरौटी, ब्याङ्क ग्यारेन्टी के हो?

रवि लामिछानेमाथि मुद्दा चलाउनेबाहेक संसदीय समितिका कुनकुन सिफारिस कार्यान्वयन भए?

यसअघिका प्रधानमन्त्री ओलीका आर्थिक र विदेशनीतिबारे आलोचना गर्दै आएका सुवेदी लामिछाने मुद्दाभन्दा व्यक्तिकेन्द्रित देखिएको बताए।

"ओलीले उत्तेजनाको राजनीति पस्किनुभयो। त्यही राजनीतिको प्रतिक्रियाको रूपमा रवि लामिछानेको जन्म भयो," उनी भन्छन्।

"मानिसले तलमाथि गरे स्थापित संस्थाले कारबाही गरिरहेका पनि छन्। अर्काको मानहानि गर्ने भन्दा अबको नीतिमा केन्द्रित हुनुपर्‍यो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.