'अमेरिकाबिनाको नेटो'को विश्वसनीयतामा उठेको प्रश्न र सम्भाव्य जवाफ

'अमेरिकाबिनाको नेटो'को विश्वसनीयतामा उठेको प्रश्न र सम्भाव्य जवाफ

bbc.com . २ घण्टा अघि

इरानविरुद्ध अमेरिका र इजरेलले हालै गरेका हमलामा सहभागी हुन युरोपेली देशहरूले निरन्तर अस्वीकार गरेपछि अमेरिका-युरोप सम्बन्धमा ताजा तनाव उत्पन्न भएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सञ्चारमाध्यमहरूसँगको अन्तर्वार्ता तथा सामाजिक सञ्जालमा बारम्बार युरोपेली साझेदारहरूविरुद्ध दिक्दारी प्रकट गर्दै लामो समयदेखिको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)बाट अमेरिकालाई अलग्ग्याइदिने धम्की समेत दिएका छन्।

उक्त गठबन्धनभित्र रक्षा खर्च तथा अत्याधुनिक सैन्य प्रविधिमा अमेरिकाको हिस्सा अत्यधिक छ। यदि उसले गठबन्धनबाट हात झिक्यो भने के युरोपेली देशहरूले विश्वसनीय स्तरको सामूहिक रक्षाको सामर्थ्य प्रदर्शन गर्न सक्लान्?

अमेरिकी विदेशमन्त्रीको भाषणपछि युरोपेलीहरूले किन फेरे राहतको सास

ग्रीनल्यान्ड ट्यारिफको धम्कीबाट पछि हटे ट्रम्प, भने 'भविष्यको सम्झौताको ढाँचा' तयार

नेटो के हो र कहिले गठन भएको थियो?

अमेरिका, यूके, क्यानडा र फ्रान्ससहित १२ देशहरू मिलेर सन् १९४९ मा नेटोको स्थापना गरेका हुन्।

सो सैन्य गठबन्धनका सदस्य राष्ट्रहरूबीच कुनै एकमाथि आक्रमण भए सबै मिलेर उसको रक्षा गर्ने प्रतिबद्धता छ।

यसको उद्देश्य सोभियत यूनिअन अर्थात् वर्तमान रुसको वर्चस्वमा रहेका कम्युनिस्ट गणराज्यहरूको तात्कालिक समूहको युरोपमा विस्तार रोक्नु रहेको थियो।

सन् १९९१ मा सोभियत यूनिअनको विघटन भएपछि कैयन् पूर्वी युरोपेली देशहरू उक्त गठबन्धनमा सामेल भए : आल्बेनिया, बल्गेरिया, हङ्गेरी, पोल्यान्ड, चेक रिपब्लिक, स्लोभाकिया, रुमेनिआ, लिथुएनिआ, लाट्भिया र एस्टोनिया।

दशकौँसम्म तटस्थ रहँदै आएका स्वीडन र फिन्ल्यान्डले पनि युक्रेनमा रुसी अतिक्रमणपश्चात् सन् २०२२ मा नेटोमा सामेल हुने आवेदन दिए।

अहिले उक्त सैन्य गठबन्धनमा युरोप र उत्तर अमेरिकाका गरी ३२ सदस्य राष्ट्र छन्।

नेटो के हो, यसले रुसविरुद्ध अब कस्तो अभियान चाल्न सक्छ

नेटो देशहरूले युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बलियो पार्ने

नेटोको आफ्नै सेना छैन तर अन्तर्राष्ट्रिय सङ्कट आइपरे सदस्य देशहरूले सामूहिक सैन्य कारबाही गर्न सक्छन्।

नेटो फौजले पहिलोपटक सन् १९९४ मा सैन्य कारबाही गरेको थियो। अमेरिकी लडाकू विमानले बोस्नियामा बमबारी गरिरहेका सर्बियन विमानलाई खसालिदिएपछि भएको। कारबाहीको नाम 'अपरेशन डिनाइ फ्लाइट' राखिएको थियो।

नेटोका विद्यमान कारबाहीहरूमा भूमध्यसागरको गस्ती गर्ने अपरेशन सी गार्डिअन तथा इराकमा उसको मिशन हुन्। (हुन त सो क्षेत्रको वर्तमान सुरक्षा स्थितिका कारण यो मिशन अहिले इटलीको नेपल्सबाट सञ्चालित छ।)

नेटोमा सामेल हुने युक्रेनको निवेदन अहिले विचाराधीन छ।

युक्रेन युद्धमा नेटोले उसका फौज पठाएको छैन। परमाणु महाशक्ति रुससँगको युद्धमा तानिने डरका कारण उसले युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गरेको पनि छैन।

तथापि सदस्य राष्ट्रहरूले युक्रेनलाई हतियार तथा सैन्य सामग्री उपलब्ध गराइरहेका छन्।

युरोपको रक्षा र अमेरिकी भूमिका

सैन्य गठबन्धनका रूपमा नेटो शक्तिशाली समूह हो तर अमेरिकाको संलग्नताबेगर शक्तिशाली दुस्मनलाई टाढै राख्ने नेटोको क्षमतामा उल्लेखनीय ह्रास आउने विज्ञहरूले बताएका छन्।

सन् २०२५ को डिसेम्बरको आँकडा हेर्दा करिब ६८ हजार अमेरिकी सेना ३१ सैन्य अखडा तथा १९ सैन्य स्थलहरूमा स्थायी रूपमा तैनाथ भएको रोयटर्स समाचारसंस्थाले जनाएको छ।

"आजको दिनमा नेटोप्रति अमेरिकी प्रतिबद्धता परम्परागत वा परमाणु दुवै किसिमको सैन्य क्षमताका निम्ति अपरिहार्य छ," अमेरिकी शोधसंस्था एट्लान्टिक काउन्सिलको ट्रान्सएट्लान्टिक सिक्युरिटी इनिशटिभका निर्देशक डा टोरे टाउसिगले बताइन्।

अमेरिकी सहभागिताबिना "लामो दूरीमा सैन्य तथा बन्दोबस्ती ढुवानी क्षमता, खुफिया जानकारी, सर्वेक्षण, रेकी क्षमता तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली" जस्ता महत्त्वपूर्ण क्षेत्रमा युरोपलाई भरथेग गर्न कठिन हुने उनले बीबीसीसँगको इमेल अन्तर्वार्तामा भनिन्।

ग्लास्गो, यूकेस्थिति यूनिभर्सिटी अफ स्ट्राथ्क्लाइडमा अन्तर्राष्ट्रिय सुरक्षा अध्यापनमा संलग्न डा ग्याभिन हल अमेरिकाले हात झिकेमा युरोपेली सुरक्षामा धक्का लाग्नेमा सहमत छन्।

"नेटो सदस्य देशहरूमाझ अमेरिकाको क्षमता सबैभन्दा धेरै हो," हलले बीबीसीलाई भने।

सैन्य परिचालन तथा तैनाथीका सुरुवाती चरण युरोपमै निर्भर रहेकोबारे युरोपेली देशहरू जानकार नै छन्। अमेरिकाको मद्दतबिना पनि नेटो सदस्यहरूले उल्लेखनीय सैन्य क्षमता कायम गरेका छन्।

"बाल्कन क्षेत्रमा हवाई मिशन अनि भूमध्यसागरमा सामुद्रिक गस्तीजस्ता नेटो कारबाहीहरू अमेरिकाको प्रत्यक्ष संलग्नताबिना पनि भइरहेका छन्।"

नेटो सदस्यहरूले रक्षामा कति खर्च गर्छन्?

नेटो गठबन्धन अनि गठबन्धनभित्र अन्य देशले रक्षा खर्च बढाउन नसकेकोप्रति ट्रम्पको मनमा गहिरो अविश्वास रहँदै आएको छ।

सन् २०२४ मा दोस्रो राष्ट्रपतीय कार्यकालका निम्ति निर्वाचन अभियानताका ट्रम्पले विवादित टिप्पणी गर्दै आफ्नो रक्षा खर्च जीडीपीको २% नपुर्‍याउने नेटो देशमाथि रुसलाई आक्रमण गर्न हौस्याउने बताएका थिए।

सन् २०१४ मा नेटोले उसका सबै सदस्य देशहरूलाई तिनको रक्षामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कम्तीमा २% खर्च गर्न भनेको थियो।

सन् २०३५ सम्म त्यसलाई ५% पुर्‍याउने उसको ताजा लक्ष्य छ।

स्टक्होम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार सन् २०२४ मा नेटो देशहरूको कुल रक्षा खर्चमध्ये अमेरिकाको हिस्सा ६६% थियो।

अब युरोपेली देशहरूको रक्षा बजेट बढ्ने विषय किन निश्चित छ भनेर टाउसिगले बताएकी छन्।

"अमेरिकाले नेटोको मुख्यालय, सैन्य कमान्ड तथा संरचनाहरू चलाउन आवश्यक साझा बजेटको १५% बेहोर्छ। साझेदारहरूले रक्षा खर्च बढाउँदै गर्दा यदि अमेरिकाले वित्तीय योगदान नदिने हो भने भरथेग गर्न निकै धेरै स्रोत आवश्यक पर्छ।"

रुसविरुद्ध नेटोले आफ्नो प्रतिरक्षा क्षमता कसरी बढाइरहेको छ?

सन् २०१३ मा नेटो कमान्डरहरूले आर्क्टिक तथा उत्तर एटलान्टिक, मध्ययुरोप र भूमध्यसागर क्षेत्रमा सम्भावित रुसी हमलाको प्रतिरोध गर्ने विस्तृत योजनामा सहमति जनाए।

अघिल्लो वर्ष उनीहरूले उच्च सतर्कतामा रहने फौजको सङ्ख्या ४० हजारबाट ३ लाख पुर्‍याउने योजना घोषणा गरेका थिए।

प्रत्येक तीन वर्षको एकपटक नेटोले स्टेड्फास्ट डिफेन्डर नामक सैन्य अभ्यास गर्छ, जसमा सबै ३२ देशका ९० हजार फौज सामेल हुन्छन्। अब अर्को अभ्यास सन् २०२७ मा हुने छ।

"अलि सानो नेटोले अरूलाई रोक्ने सामर्थ्य त राख्छ तर त्यसलाई स्पष्ट नेतृत्व र मार्गदर्शन आवश्यक पर्छ," हलले भने।

साथै नेटोले उसको परमाणु क्षमता सुधार्नुपर्नेमा उनले जोड दिए।

फ्रान्स र यूकेसँग परमाणु अस्त्र छन् तर रुसको तुलनामा उनीहरूसँग भएका त्यस्ता अस्त्रको सङ्ख्या निकै कम छ।

प्रारम्भिक आक्रमण झेल्न तथा द्रुत गतिमा परिचालन गर्नेबारे युरोपेली देशहरूले सैन्य योजना बनाइरहेका छन् तर दीर्घकालमा यसलाई निरन्तरमा मिल्नेमा हल ढुक्क छैनन्।

दोस्रो विश्वयुद्धपछि यसकारण बनाइयो सेनालाई बढी घातक

दोस्रो विश्वयुद्ध समाप्त भएको दिन नाजी जर्मनी ढल्दाका तस्बिरहरू

'विनाशकारी' विभाजन?

युद्ध कौशलको विकास अनि सँगसँगै लड्ने क्षमता सुधारका निम्ति अमेरिकी सेनाले बारम्बार युरोपेली देशहरूसँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास गर्ने गर्छ।

नेटोमा सहभागी हुँदा युरोपका कैयन् सैन्य अखडाहरूमा अमेरिकालाई सहज पहुँच मिल्छ।

"नेटोबिना ती देशहरूमा क्रियाशील हुनाका निम्ति अमेरिकाले उनीहरूसँग रक्षा सहयोग सम्झौता गर्नुपर्ने हुन्छ," टाउसिगले भनिन्।

कतिपय युरोपेली देशहरूसँग अमेरिकाको भिन्नै सहमति पनि रहेको तर त्यस्तो सहमति नभएका देशहरूसँग भने उसले नयाँ सम्झौता गर्नु पर्ने उनले बताइन्। तर यदि ट्रम्पले नेटोबाट फिर्ता हुने धम्की कार्यान्वयन गरे भने त्यसको सैन्य तथा राजनीतिक परिणाम हुने उनले बताइन्।

"राजनीतिकहरूमा गठबन्धनसँग अमेरिकाको विभाजनका कारण अमेरिका-युरोप एकतामा तथा रुस र अन्य विपक्षीहरूको सामु नेटो प्रतिरोधको क्षमतामा विनाशकारी प्रभाव पर्छ," टाउसिगले चेतावनी दिइन्।

अमेरिकाको नयाँ दीर्घकालीन सुरक्षा रणनीतिप्रति रुस किन खुसी

'नेटो' के हो र यसले आफ्नो प्रतिरक्षा कसरी बढाउँदै छ

सुरक्षाको ग्यारेन्टीका अतिरिक्त सो गठबन्धनले युरोपमा अमेरिकाका निम्ति प्रशस्त सद्भाव समेत सिर्जना गरेको उनी बताउँछिन्।

"हामीले के बिर्सनुहुँदैन भने नेटोको सामूहिक प्रतिरक्षासम्बन्धी धारा ५ एक पटक मात्र क्रियाशील भएको थियो - अमेरिकाको प्रतिरक्षाको निम्ति।"

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतङ्ककारी हमला हुँदा धारा ५ क्रियाशील गरिएको थियो।

हलको विचारमा नेटोबाट फिर्ता हुने धम्की दिएर ट्रम्पले ग्रीनल्यान्ड (जसलाई उनले राष्ट्रिय सुरक्षाका निम्ति अमेरिकाले अधिग्रहण गर्नुपर्ने भन्दै आएका छन्) वा व्यापारजस्ता अन्य विषयमा फाइदा उठाउने कोसिस गर्न सक्छन्। अमेरिका नेटोबाट अलग्गिएमा दुवै पक्षलाई नराम्रो हुने उनले बताए।

"त्यसो भएमा दोस्रो विश्वयुद्धपश्चात् स्थापित युरो-एटलान्टिक सुरक्षाको स्वीकार्यता भत्किन्छ। यसको सन्देश युरोपको सुरक्षामा अमेरिकी चासो नरहेको तथा युरोपेली सुरक्षा संयन्त्रमा हुने परिवर्तनले अमेरिकी स्वार्थमा प्रभाव नपार्ने हुन जान्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.