इरान युद्धका कारण किन फैलिए 'बादल चोरी'का मिथ्या दाबीहरू
इरानसँग अमेरिका र इजरेलको युद्धका कारण मध्यपूर्वमा "बादल चोरी"का गतिविधिहरू अवरुद्ध भएको मिथ्या दाबीहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्।
एक साताअघितिर इरानका सांसद अब्दुल्लाह अल-खैकानीले अल-रशीद टीभीलाई दिएको अन्तर्वार्तामा अमेरिकाले "बादल टुक्रा पार्न र चोर्न" प्रयास गरेपछि त्यसविरुद्ध टर्की र इरानले "उजुरी दिएको" दाबी गरे।
कुनै प्रमाण प्रस्तुत नगरी उनले अमेरिका युद्धमा व्यस्त भएकाले "केही समययता इराकमा फेरि वर्षा हुन थालेको" बताए।
के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ?
अमेरिकी उपकरणले टर्की र सिरियामा 'भूकम्प ल्याएको' दाबी भाइरल, के हो वास्तविकता
तर वैज्ञानिकहरू मानिसले बादल "चोर्न" सक्ने प्रविधि बनेको जानकारीमा नआएको बताउँछन्।
इराकी मौसम विज्ञान प्राधिकरणका प्रवक्ता अमिर अल-जाबिरीले उक्त दाबी "न त वैज्ञानिक, न त तर्कसङ्गत" भएको बताए। उनका अनुसार इरान युद्ध सुरु हुनुभन्दा महिनौँअघि गत वर्ष सेप्टेम्बरमा यो वर्ष इराकमा वर्षा हुने पूर्वानुमान गरिसकिएको थियो।
बीबीसीले सम्पर्क गर्दा अल-खैकानीले आफ्नो दाबी दोहोर्याए। उनले इराकमा "योजनाबद्ध खडेरी निम्त्याउन वायुमण्डलीय परिमार्जनको अस्त्र" प्रयोग गरिएको आरोप लगाए। तर उनले कुनै प्रमाण दिएनन्।
कतै खडेरी, कतै भीषण वर्षा
उनको भनाइ केही सातायता सामाजिक सञ्जालमा फैलिँदै आएका दाबीहरूको प्रतिध्वनि हो।
टर्कीमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो देशमा भइरहेको भीषण वर्षाको सम्बन्ध इरान युद्धसँग हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
टर्कीको पर्यावरण, सहरीकरण र जलवायु परिवर्तन मन्त्रालयलले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्षको फेब्रुअरी महिनामा ६६ वर्षमै सर्वाधिक पानी परेको थियो।
दशौँ लाख मानिसले हेरेको एउटा पोस्टमा एक जनाले युद्धका कारण आकाशमार्ग बन्द भएकाले अमेरिकाले बादल "चोर्न" नसकेको र त्यसै कारण टर्कीमा "अविरल" वर्षा भइरहेको दाबी गरेका छन्।
इरानले मध्यपूर्वस्थित अमेरिकी स्वामित्वमा रहेका स्थानहरूमा आक्रमण गरेपछि इरानको खडेरी "पाँच दिनमै टुङ्गिएको" मिथ्या दाबी अरू केही प्रयोगकर्ताहरूले गरेका छन्। इरानमा दशकौँ नराम्रो खडेरी परेको छ।
"यसो हुनुको ठूलो कारण चाहिँ अविश्वास, जलचक्र र जलवायु प्रणालीबारेको अज्ञान हो," संयुक्त राष्ट्रसङ्घको जल, पर्यावरण तथा स्वास्थ्य संस्थानका निर्देशक कावे मदानी भन्छन्।
सामाजिक सञ्जालमा त्यस्ता आधारहीन दाबीहरू शेअर गर्ने व्यक्तिहरू चाहिँ 'क्लाउड सीडिङ' भनिने प्रक्रिया राजनीतिक उद्देश्यसहित अस्त्रका रूपमा प्रयोग गरिनु समस्याको केन्द्रमा भएको दाबी गर्छन्।
कृत्रिम वर्षाः चीनले कसरी मौसम फेर्ने प्रविधि प्रयोग गरिरहेको छ
तेहरानमा 'धारा बन्द': १ करोड मानिस बस्ने इरानी राजधानीमा पानीको हाहाकार कसरी निम्तियो
क्लाउड सीडिङ र कृत्रिम वर्षा
क्लाउड सीडिङ धेरै वर्षा वा हिमपात गर्न सघाउने गरी मौसम परिमार्जन गर्ने विधि हो।
यो विधिमा विमानहरूबाट सिल्भर आयोडाइडजस्ता लवणका कणहरू बादलमा छर्किइन्छ। त्यसो गर्दा बादलमा भएको ओसबाट पानीका थोपाहरू बन्छन् र वर्षा हुन सक्छ।
गत वर्ष इरानमा निकै कम वर्षा हुँदा जलाशयहरू लगभग रित्तिएका थिए। त्यसपछि अधिकारीहरूले वर्षा गराउने प्रयासस्वरूप उर्मिया जलाधार क्षेत्रमा क्लाउड सीडिङ गर्ने निर्णय गरेका थिए।
अमेरिका, चीन र साउदी अरबसहितका दर्जनौँ देशमा यो प्रविधि प्रयोग गरिएको भए पनि वैज्ञानिकहरू यसबाट निकै सीमित प्रतिफल प्राप्त हुने बताउँछन्। उनीहरूका अनुसार यो जुक्ति प्रयोग गर्दा आकाशमा भएका बादलबाट १५ प्रतिशतजति मात्रै बढी वर्षा हुन्छ।
"यो पहिल्यै बनेको बादललाई अलिअलि घचघच्याएजस्तो हो, मौसम नियन्त्रण गरेको होइन," प्रा डायना फ्रान्सिस भन्छिन्। उनी अबुधाबीस्थित खलिफा विश्वविद्यालयअन्तर्गत रहेको पर्यावरणीय तथा भूभौतिक विज्ञान प्रयोगशालाको नेतृत्व गर्छिन्।
इरानसँग प्रशोधित युरेनिअमको भण्डार छ – तर के उसले परमाणु अस्त्र बनाउन सक्छ?
युरेनिअम कसरी अमेरिका र इरानको द्वन्द्वको कारण बन्यो?
'बादल चोरी'बारे यस्तो दाबी
'बादल चोरी' हुन्छ भन्ने मान्यता राख्नेहरू कुनै एउटा स्थानमा 'क्लाउड सीडिङ' गर्दा निकटवर्ती क्षेत्रहरूमा वर्षा हुने सम्भावन हराउने दाबी गर्छन्। तर विज्ञहरूका अनुसार अनुसन्धानले भिन्न कुरा देखाएको छ।
"यसबारे उपलब्ध सीमित प्रमाणले यस्तो प्रभाव निकै सानो हुने देखाउँछ र वर्षामा सामान्य उतारचढाव हुनुबाहेक वास्ता गर्न सकिने खालको हुँदैन भन्ने देखाउँछन्," यूनिभर्सिटी अफ वायोमिङमा वायुमण्डल विज्ञान प्राध्यापन गर्ने डा जेफ फ्रेन्च भन्छन्।
वैज्ञानिकहरू मौसम प्रणालीको मार्ग र सघनता सोझै नियन्त्रण गर्न सकिने प्रविधि नभएको बताउँछन्। बरु उनीहरू जलवायु परिवर्तनका कारण मध्यपूर्वमा चरम मौसम उत्पन्न हुने सम्भावना बढेको औँल्याउँछन्।
कोइला, पेट्रोलिअम पदार्थ र ग्यासजस्ता इन्धन प्रयोगसहितका गतिविधिका कारण विश्वमा तापक्रम बढ्दो क्रममा छ।
केही दशकयता मध्यपूर्वमा तापक्रम विश्वको औसतभन्दा दुई गुनाले बढिरहेको विश्व मौसम विज्ञान सङ्गठन डब्ल्यूएमओले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घको अन्तरसरकारी जलवायु परिवर्तन समिति (आईपीसीसी) का अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण लामा र सघन उष्णलहरहरू निम्तिएका छन्। त्यसो हुँदा उक्त क्षेत्रमा उपलब्ध जलस्रोतहरूमा अझ दबाव परेको छ।
वर्षाको शैलीमा पनि परिवर्तन हुन थालेको छ। प्रायजसो नियमित रूपमा वर्षा हुन छोडेको छ तर कहिलेकाहीँ छोटो समयमा घनघोर वर्षा हुँदा अकस्मात् बाढी आउने सम्भावना बढ्दै गएको छ।
अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य
इरान युद्धका असरबारे शक्तिमा भएकाहरू के सोच्छन्
"यस्तो अवस्थाले जनमानसमा जलसुरक्षाबारे चिन्ता बढाइदिन्छ," जोर्डनस्थित मूटा विश्वविद्यालयमा जल तथा वातावरण इन्जिनिअरिङ प्राध्यापन गर्ना डा इस्रा तरने बताउँछिन्।
विज्ञहरू यस खालका विभिन्न दबाव बढिरहेका बेला मौसम वा जलस्रोतमाथि नियन्त्रण गर्न खोजिएको भन्ने मिथ्या दाबीहरू कायम नै रहने ठान्छन्।
"षड्यन्त्र हुन्छ भनेर आशङ्का गर्नेहरूका लागि जटिलता र अन्योल चुम्बकजस्तै हुन्," यूनिभर्सिटी अफ अक्स्फर्डमा जलवायु भौतिकशास्त्रसम्बन्धी अनुसन्धान गर्ने वैज्ञानिक डा सेरा स्मिथ भन्छिन्।
"मानिसहरू त्यस्तो खाडलमा केही सरल र सन्तोषजनक कुरा भरिदिन्छन्। तर त्यसो गर्दा उनीहरू वास्तविक कुरा छुटाउँछन्।"
बीबीसी मनिटरिङकी नीहान कालेबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: