नेपाली सेनाबारे पछिल्लो समय के कस्ता विषयमा सार्वजनिक टिप्पणी व्यक्त भैरहेको छ?

नेपाली सेनाबारे पछिल्लो समय के कस्ता विषयमा सार्वजनिक टिप्पणी व्यक्त भैरहेको छ?

bbc.com . १ घण्टा अघि

नेपालमा आम निर्वाचनपछि गठित सरकारले कार्यभार सम्हालेयता नयाँ सरकारको कार्यको गति र शैलीको विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहँदा नेपाली सेनाका पछिल्ला गतिविधि र उक्त निकायबाट व्यक्त प्रतिक्रियाहरूप्रति पनि चासो प्रकट भैरहेको छ।

सार्वजनिक बहस र टिप्पणी निम्त्याएका सेनाका पछिल्ला गतिविधिहरूबारे खासमा दुई थरी कोणबाट विचारहरू व्यक्त भइरहेका देखिन्छ।

एकाथरीले सेनाले अनावश्यक विवादबाट मुक्त रहन आफ्ना गतिविधिहरू सञ्चालन गर्नुपर्ने धारणा राख्ने गरेका छन्।

अर्का थरीले चाहिँ देशका विभिन्न राजनीतिक परिवर्तनहरूलाई बारम्बार स्वीकार गरेको राष्ट्रिय सेनालाई अनावश्यक विवादमा तान्न नहुने तर्क गरिरहेका छन्।

सेना, न्यायालय र कूटनीतिक नियोगप्रति 'कठोर' जस्तो देखिने भ्रष्टाचारविरोधी योजनाको मस्यौदा

भदौ २४ गतेका घटनाहरूमा ९३३ वटा मुद्दा दर्ता, १९१ जना थुनामा

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाण्डू उपत्यकाका केही सुकुम्बासी बस्तीका अनधिकृत घर टहरा हटाइरहँदा देशका विभिन्न जिल्लामा सैनिक गणहरूले त्यहाँ रहेका सुकुम्बासीहरूका विवरण माग्दै स्थानीय तहहरूलाई पत्राचार गरेका विवरणहरू हालै सार्वजनिक भएका थिए।

त्यसको केही समयअघि सेनाले आफ्नो सङ्गठन र यसको नेतृत्वलक्षित 'तथ्यहीन सूचना एवं अभिव्यक्ति' सम्प्रेषित भएका भन्दै 'नियमित निगरानी भइरहेका' र 'त्यस्ता कार्य गर्नेहरू प्रचलित कानुनको दायरामा रहने' उल्लेख गरेर सार्वजनिक विज्ञप्ति प्रकाशित गरेको थियो।

सेनाको यी दुई पछिल्ला कदमबारे सार्वजनिक रूपमा विभिन्न चर्चा भैरहँदा सेनाका प्रवक्ताले संविधान र कानुनका व्यवस्था अनुसार सङ्गठनले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको भन्दै सुकुम्वासीको विवरण सङ्कलन सम्भावित विपद्को पूर्व तयारीलाई ध्यान दिएर गरिएका भनेर स्पष्ट पार्ने प्रयास गरेका छन्।

पछिल्लो विवाद के हो?

सरकारले देशका विभिन्न ठाउँमा अनधिकृत घर टहरा भत्काउने कार्य जारी राख्दा सुकुम्वासी बस्तीको विवरण उपलब्ध गराइदिन भन्दै नेपाली सेनाले विभिन्न निकायहरूलाई लेखेका पत्रहरू सार्वजनिक भएका छन्।

उक्त कदमको पक्ष र विपक्षमा सामाजिक सञ्जालहरूमा धारणा व्यक्त भइरहँदा सरकारकोतर्फबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया आइसकेको छैन।

बुधवार नेपाली सेनाले एउटा विज्ञप्तिमार्फत नेपाली सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी रहेको क्षेत्रमा हुनसक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यलाई सहज बनाउने उद्देश्य लिएर 'सम्भावित जोखिम नक्साङ्कन'का लागि ती तथ्याङ्क अद्यावधिक गरिएको जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले 'विशुद्ध विपद् व्यवस्थापन र सम्भावित विपद् जोखिम पहिचानका लागि तथ्याङ्क सङ्कलन गरिएको' बीबीसीलाई प्रतिक्रिया दिएका छन्।

'सत्य तथ्य' के हो?

प्रधानमन्त्री वालेन्द्र शाह स्वयं अहिले रक्षा मन्त्री छन् र उनको दलले झन्डै २ तिहाइ एकल बहुमतसहित शक्तिशाली सरकारको नेतृत्व गरिरहेको छ।

यस्तो शक्तिशाली सरकार रहेको अवस्थामा देशको राष्ट्रिय सेना विवादमा पर्नु उपयुक्त नहुने रक्षा मामिलाका केही विज्ञहरूको मत छ।

रक्षा मन्त्रालयका पूर्व कायममुकायम सचिव देवेन्द्रप्रसाद सिटौलाले बीबीसीसँग भने, "अहिले झन्डै दुई तिहाईको यत्रो बलियो सरकार छ, भर्खरै चुनिएको संसद् छ। नेपाली सेनाले संविधान र कानुन, प्रणाली र परम्परालाई हेरेर अघि बढ्नुपर्छ। विवादमा आउने काम कसैले पनि गर्नुहुँदैन।"

सुकुम्वासीहरूको विवरण सङ्कलन गरिएका भन्ने निर्णयको 'सत्य तथ्य' आफूलाई जानकारी नभएको बताएका उनले भने, "त्यस्तो विवरण सङ्कलन गर्ने अन्य निकाय र मन्त्रालयहरू छन्। त्यो नेपाली सेनाको क्षेत्राधिकार हो कि होइन राम्रोसँग हेर्नुपर्ने हुन्छ। सुरक्षा जोखिम बढेर जाने भयो, राष्ट्रिय सेनाले आफै सुरक्षा जोखिम महसुस गर्‍यो भने कसरी गर्‍यो? यस्ता कुराहरू पनि छन्। जुन कुराहरू आइरहेको छ, त्यो के हो? तिनको सत्य तथ्य मैले पनि बुझ्न सकेको छैन।"

'सेनाले आवश्यकताको सिद्धान्तअनुसार भूमिका निर्वाह गर्‍यो': जाँचबुझ आयोगमा प्रधानसेनापतिको बयान

'जेन जी' आन्दोलनपछि सरकार बन्दासम्म सेनाले यसकारण प्रशंसा र आलोचना दुवै कमायो

नेपाली सेनाका पूर्व रथी के भन्छन्?

नेपाली सेनाका एकजना पूर्व रथी सी बी गुरुङले विवाद गर्नुको सट्टा नेपाली सेनाको खास 'उद्देश्य' के हो भनेर हेरिनुपर्ने बताउँछन्।

उनले भने, "जिल्ला जिल्लामा कति सुकुम्बासी आएर बसेको छ, त्यो खबरले उसलाई के भयो? खबर त जिल्ला सुरक्षा समितिबाट पनि आइहाल्छ, केन्द्रीय सुरक्षा समितिबाट पनि आइहाल्छ नत्र राष्ट्रिय सुरक्षा परिषद्मा यो त्यसै पनि आउँछ। तथ्याङ्कको प्रयोगबाट नकारात्मक कुराहरू आयो भने कुरा उठाउने हो। यसले के गर्न लाग्यो भन्दा पनि सम्बन्धित संस्थाहरूले सकारात्मक रूपमा लिनुपर्‍यो। नत्र शङ्काले लङ्का डढाउँछ।"

गुरुङ नेपाली सेनाले देशमा भएका राजनीतिक परिवर्तनहरूलाई आत्मसात् गरेको र संविधान र कानुनको परिधिभित्र रहेर भूमिका खेलेको भन्दै यसको भूमिकाबारे अनावश्यक विवाद गर्न नहुने तर्क गर्छन्।

उनले थपे, "यो संस्थाले २०४८ सालमा पनि लोकतन्त्र प्रति प्रतिबद्धता देखायो। २०६२-२०६३ मा पनि प्रतिबद्धता जनायो। यसपाली पनि उसले त्यो देखायो। अग्निपरीक्षा भनेको त घरी घरी दिइरहनु पर्दैन नी।"

नेपाल र भारतका सेनाले एकअर्काका प्रमुखलाई मानार्थ महारथी मान्ने 'दुर्लभ सम्बन्ध'सँग जोडिएको अर्थ

इजरेल र लेबननको ‘ब्लू लाइन’मा तैनाथ नेपाली : ‘अचेलको अवस्था खतरनाक, हाम्रो काम झन् झन् कठीन’

नेपाली सेना र वालेन्द्र शाहबीचको सम्बन्ध

'जेन जी' आन्दोलनका समयमा केही घण्टा भित्रै स्थिति नियन्त्रण बाहिर गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

उक्त आन्दोलनका बेला प्रधानमन्त्रीसहित कैयौँ नेता र मन्त्रीहरूलाई हेलिकोप्टरमा उद्धार गरेको नेपाली सेनाले सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन र प्रधानमन्त्री कार्यालयजस्ता संरचना जोगाउन नसकेको भन्दै आलोचना पनि खेप्ने गरेको छ।

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले 'मानवीय क्षति न्यून राख्न अत्यन्त संवेदनशीलता अपनाइएको' भन्दै आफूले भौतिक संरचना भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिएको उल्लेख गरेका थिए।

नेपाली सेना स्पष्ट कार्यादेश र संवैधानिक प्रावधान बिना परिचालित हुननसक्ने उल्लेख गरेका उनले आयोगलाई भनेका थिए, "सेना परिचालनसम्बन्धि आलोचनालाई तत्कालीन संवैधानिक बाध्यता र परिस्थिति सापेक्ष मूल्याङ्कनका आधारमा हेर्नुपर्ने भन्ने मेरो धारणा छ।"

पूर्व प्रधानमन्त्री ओलीको राजीनामापछि नेपाली सेनाका प्रधानसेनापति सिग्देल र राष्ट्रपति रामचन्द्र पौडेलले अलग अलग आन्दोलनकारीहरूलाई वार्तामा आउन अपिल गरेका थिए।

नेपाली सेनाको सहजीकरणमा केही दिन चलेको वार्ताबाट सुशीला कार्की नेतृत्वको सरकार बनाउने सहमति जुटेको थियो।

काठमाण्डूको स्वतन्त्र मेअरमा निर्वाचित भएपछि पहिलो भेट नेपाली सेनाका तत्कालीन प्रधानसेनापतिसँग गरेर आफ्नो कार्यकालको सुरुवात गरेका शाहले नवयुवा पुस्ताको आन्दोलनका बेला सामाजिक सञ्जालबाट आन्दोलनकारीहरूलाई सेनासँग वार्ता गर्न आह्वान गरेका थिए।

निर्वाचनमा विजयपश्चात सत्ताको नेतृत्व गरेपछि उनले खासै सार्वजनिक कार्यक्रममा भाग लिएका छैनन् तर उनी नेपाली सेनाका अधिकृतहरूको 'ग्र्याज्युएशन' मा सहभागी भए र त्यहाँ उनले छोटो मन्तव्य पनि दिएका थिए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेत संविधानले तोकेको बाहेक कुनै पनि गतिविधिमा सङ्गठन प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी नभएको भन्दै विषयवस्तुहरूलाई कतिपय अवस्थामा सही ढङ्गले व्याख्या नगरिएको बताउँछन्।

उनले भने, "हामीले संविधानले दिएको जिम्मेवारी भन्दा बाहिरको कार्यहरू गरेको छैन। संविधानको धारा २६७ को उपधारा ४ मा नेपाली सेनालाई सङ्घीय कानुन अनुसार विपद् व्यवस्थापन, विकास निर्माण र अन्य कार्यमा खटाउनसक्ने भन्ने जुन प्रावधान छ, त्यो बाहेकका काममा हामी प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छैनौँ।"

संविधानमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृखंलताका कारणले गम्भीर सङ्कट उत्पन्न हुने परिस्थितिमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रीपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने उल्लेख गरिएको छ।

अमेरिकासँग गर्ने संयुक्त सैन्य अभ्यासबाट नेपाललाई कस्तो फाइदा

संसदीय समितिमा प्रधानसेनापति: कहिले झोक्किँदै, कहिले सम्हालिँदै, कति स्वाभाविक?

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.