'> ' /> तपाईँको स्वास्थ्यलाई अझ राम्रो गर्न सक्ने दाबी गरिएका 'प्राचीन अन्नहरू'

तपाईँको स्वास्थ्यलाई अझ राम्रो गर्न सक्ने दाबी गरिएका 'प्राचीन अन्नहरू'

bbc.com . २ घण्टा अघि

'प्राचीन अन्न' भनेका त्यस्ता वस्तु हुन् जो सयौँ वर्षदेखि अपरिवर्तित छन्, न कि गहुँजस्ता अन्न जसलाई मानवजातिले हजारौँ वर्षदेखि विविध शैलीमा उत्पादन गरेका छन्।

प्राचीन अन्नले त तिनका जङ्गली पुर्खाकै आनुवंशिक गुण कायम राखिरहेका हुन्छन्।

अचेल तिनको लोकप्रियता चाहिँ बढेको छ। तिनले स्वास्थ्यलाई कैयन् किसिमका फाइदा गर्ने दाबी गरिएका छन्।

तपाईँको भान्सामा हुनुपर्ने सात खानेकुरा

नदेखिने चिनी: तपाईँले कति खाइरहनुभएको छ?

उदाहरणका लागि, आधुनिक वा परिष्कृत अन्नभन्दा तिनमा ज्यादा पोषक तत्त्व रहने ठानिन्छ।

तर के ती प्राचीन अन्न अहिलेका प्रचलित अन्नबालीभन्दा साँच्चिकै फाइदाजनक हुन्?

प्राचीन र आधुनिक अन्नबाली

पोषणसम्बन्धी अनुसन्धानहरूले अहिले मानिसको खानाको ठूलो हिस्सा बनेको आधुनिक अन्न तथा अलि कमै उपलब्ध प्राचीन अन्नबीच अन्तरहरू रहेको देखाएका छन्।

ती अधिकांश अप्रशोधित वा प्रशोधित दुवै किसिमले उपभोग गर्न सकिन्छ। तर आधुनिक अन्नलाई चाहिँ समयक्रममा अपनाइएका कृषि अभ्यासमार्फत् धेरै उत्पादकत्व हुने वा मिठो स्वाद हुने प्रजातिका रूपमा विकास गरिएका हुन्छन्।

हामीले अचेल खाने गहुँ वा मकैलाई हजारौँ वर्षदेखि किसानहरूले 'क्रसब्रीड' गरेका अर्थात् फरक प्रजाति मिसाएर विकास गरेका छन्।

मकैको उदय मेक्सिकोमा पाइने 'टिओसिन्टे' भनिने जङ्गली घाँस प्रजातिबाट भएको मानिन्छ, जसको बियाँ सानो हुने गर्थ्यो न कि अहिलेका घोगाजत्रा। त्यस्तै आधुनिक गहुँको विकास 'एमर' र 'स्पेल्ट'जस्ता प्राचीन गहुँ प्रजातिको हजारौँ वर्षदेखि गरिएका 'ब्रीडिङ'मार्फत् भएको हो।

मानिसले प्राचीन कालमा सबैभन्दा पहिले खेती गर्न थालेको अन्नबालीमा 'एमर' पनि एक भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। त्यसको खेती लेभान्ट क्षेत्र (हाल भूमध्यसागरको पूर्वमा पर्ने पश्चिम एशियाका भूभाग)मा इसापूर्व ९,७०० वर्ष अगाडिदेखि भएको बताइन्छ। निओलिथिक कृषिको विकाससँगै त्यसको विस्तार बाँकी विश्वमा भएको मानिन्छ।

प्राचीन अन्न भन्नाले मानिसले हस्तक्षेप नगरेका र प्राचीन गुणसहितका अन्न हुन्। अनुसन्धानबाट के देखिएको छ भने स्पेल्टको खेती निओलिथिक कालदेखि नै करिब १२ हजार वर्ष अगाडिदेखि हुँदै आएको छ र त्यसमा जानाजान कुनै परिवर्तन गराइएको छैन।

मानिसले लेखेका प्राचीन ग्रन्थहरूमा जौबारे उल्लेख गरिएको भेटिन्छ – मेसोपोटामिया क्षेत्रमा चार हजार वर्षअगाडि लेखिएका दस्ताबेजमा पनि। लगभग सोही समयमा मेक्सिकोबाटै सुरु भएको 'चिआ सीड'लाई आज्टेकहरूले खेती गर्दै थिए।

आधुनिक मानवले १९औँ शताब्दीको अन्त्यतिर तथा २०औँ शताब्दीको सुरुतिर ती प्राचीन अन्नबारे फेरि सोधखोज गर्न थालेको यूकेको अक्स्फोर्ड स्कूल अफ आर्केओलजीको युरोपिअन आर्केओलजीका प्राध्यापक एमी बोगार्डले बताइन्। पुरातात्त्विक उत्खननका फेला कतिपय प्राचीन अन्न फेला परे, जुन अहिले त्यही रूपमा खेती गरिँदैनन्।

ती अन्न डढेका हालतमा फेला परेका थिए अर्थात् हाम्रा पुर्खाले ती पकाउँथे, उनले भनिन्।

उनी तथा सहकर्मीहरूले त्यसरी फेला परेका प्राचीन अन्नका हजारौँ नमुनाको अध्ययन गरेर प्राचीन खेती कर्म तथा माटोको अवस्थाबारे जानकारी बटुले।

पुनरुत्थानको सम्भावना कति?

अहिले ती कैयन् अन्नलाई पुन: आधुनिक थालीमा फर्काइँदै छ। कतिपय त्यस्ता प्रजातिलाई संरक्षित हैसियत दिइएको छ ।

तथापि कृषकहरूका निम्ति ती आकर्षक छैनन्। न्यूक्यासल यूनिभर्सिटीका खाद्य तथा मानव पोषणका इमेरिटस प्रोफेसर क्रिस सीलले बताएअनुसार उनीहरू आधुनिक प्रजाति नै खेती गर्न रुचाउँछन् किनकि तिनको उत्पादकत्व धेरै हुन्छ।

"आधुनिक कृषि परिस्थितिमा प्राचीन अन्न राम्ररी सप्रँदैनन्," उनले भने।

गहुँका कतिपय प्राचीन प्रजाति अलि अग्ला हुन्छन् जब कि आधुनिक प्रजाति छोटा हुन्छन्। सीलका अनुसार अग्ला प्रजातिहरू हावा लाग्दा ढल्ने तथा भाँचिने हुँदा उत्पादनमा कमी आउँछ।

साथै रोटी बनाउने काममा ती प्राचीन प्रजाति उति उपयोगी नहुने अमेरिकाको सेन्ट क्याथरिन यूनिभर्सिटीकी खाद्य तथा पोषणकी इमेरिटस प्रोफेसर जुली मिलर जोन्सले बताइन्।

कुनै पनि किसानले पहिलो प्राथमिकता उत्पादकत्व अनि दोस्रो चाहिँ त्यसबाट कति राम्रो रोटी बन्छ भन्नेमा दिने उनले बताइन्।

पकाउनुअघि कुखुराको मासुलाई पखाल्न पर्छ कि पर्दैन? सोशल मिडियामा भइरहेको प्रश्न

यी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध'

के प्राचीन अन्न आधुनिकभन्दा साँच्चिकै स्वास्थ्यकर हुन्?

प्राचीन अन्नको एक प्रमुख फाइदा भनेको तिनमा थोरै वा शून्य 'ग्लूटन' हुनु हो। कोदो गहुँभन्दा भिन्नै घाँसे प्रजातिमा पर्छ जब कि किनोआचाहिँ पालुङ्गोजस्ता साग समूहमा पर्ने एक किसिमको बीउ हो। अर्थात् ग्लूटनले नसहने मानिसहरूले किनोआ खान सक्ने सीलले बताए।

केही अनुसन्धानले किनोआको उपयोगले टाइप टू डाइबिटिजको सुरुवाती लक्षण देखिएकाहरूमा सुधार आएको देखाएको उनले बताए।

उदाहरणका लागि, एउटा अध्ययनमा ३७ जना पुरुषलाई चार सातासम्म प्रत्येक दिन किनोआको पिठोबाट बनाइएको पाउरोटी खान दिइयो भने अर्को समूहका मानिसलाई सेतो पाउरोटी खान दिइयो। पछि जाँच्दा किनोआ खानेहरूको रगतमा सूगरको स्तर सेतो पाउरोटी खानेहरूको तुलनामा कम पाइयो।

सन् २०२० मा अनुसन्धानकर्ताहरूले अन्नका आधुनिक प्रजातिहरूको पोषण गुण खस्किएको प्रमाण भेटेनन्। केही अनुसन्धानमा चाहिँ सन् १९६० पछाडि अन्नमा आइरन, जिङ्क र म्याग्नेसिअमजस्ता खनिज तत्त्व निकै कम भेटिएको थियो।

"प्राचीन अन्नलाई लिएर बढाइँचढाइ चर्चा भएका छन्," मिलर जोन्सले भनिन्। उनका अनुसार ग्लूटनले नसहने वा 'एलर्जी' हुने मानिसहरूका निम्ति सायद ती फाइदाजनक होलान् तर त्योभन्दा बढ्ता चर्चा अनावश्यक हो।

तथापि प्राचीन अन्न र त्यसको स्वास्थ्यमा प्रभाव विषयमा पर्याप्त अनुसन्धान नै नभएको सीलले बताए।

उनका अनुसार प्राचीन अन्नको सेवन बढ्ता फाइदाजनक हुन सक्ने एउटा कारण चाहिँ त्यसलाई हामीले बिनाप्रशोधन नै उपयोग गर्ने धेरै सम्भावनाले गर्दा हो।

"प्रशोधित गहुँभन्दा यसमा धेरै फाइबर हुन्छ र धेरै खनिज तथा भिटामिन हुन्छन्," उनले भने।

जलावायु परिवर्तनसँग सम्बन्ध

आजको दुनियाँमा अन्न उत्पादनलाई प्रभाव पार्ने एक मुख्य पक्ष भनेको जलवायु परिवर्तन नै रहेको र प्राचीन अन्नको पुनरोदयका पछाडि पनि यो एउटा कारण रहेको सीलले बताए। कतिपय प्राचीन अन्नप्रजाति विषम वातावरणमा पनि हुर्कन सक्ने क्षमता भएको हुने र तिनलाई कम कीटनाशक आवश्यक पर्ने बताइन्छ। त्यसैले भविष्यमा हामीलाई भरपर्दो खाद्य आपूर्ति सुनिश्चित गरिरहन तिनको भूमिका महत्त्वपूर्ण हुन सक्छ।

"किसानहरूले कुन चाहिँ प्रजातिले सुक्खा अवस्था बढ्ता झेल्न सक्छ भनेर हेरिरहेका हुन्छन्," सीलले भने। टर्कीको एउटा क्षेत्रमा जलवायुका कारण सुक्खाग्रस्त क्षेत्रमा कसरी प्राचीन गहुँका प्रजाति उपयोग गरेर माटो सुधार्न सकिन्छ भनेर साना किसानहरू लागिपरेका छन्। त्यस्तै पश्चिम अफ्रिकामा सुक्खा झेल्न सक्ने प्राचीन फोनियो अन्नलाई पुनर्स्थापित गर्न अनुसन्धानकर्ताहरू प्रयासरत छन्।

पोषणको मामिलामा प्राचीन अन्न भन्नेबित्तिकै बढाइँचढाइ गरिरहन आवश्यक नहुन सक्छ। बरु सबै किसिमका अन्नको मिश्रण, सकेसम्म प्राचीन कालमा जस्तै अप्रशोधित, प्रयोग गर्नु महत्त्वपूर्ण हुने विज्ञहरूले बताएका छन्।

"हामीले बेवास्ता गरेका थुप्रै अन्नबालीका प्रजाति छन्," बोगार्डले भनिन्। "प्राचीन खेतीपातीमा अन्नलाई अन्य खानासँग सन्तुलित पारिन्थ्यो।"

मिलर जोन्स पनि प्राचीनसहित थुप्रै प्रकारका अन्न खाँदा तिनमा उपलब्ध हुने सबै खालका सूक्ष्म पोषणतत्त्वबाट फाइदा पुग्नेमा सहमत छिन्। "यदि तपाईँ सबै किसिमका अन्न खानुहुन्छ भने तपाईँ सबै खालका भिटामिन पाउनुहुन्छ," उनले भनिन्। "विविधता नै उत्तम रणनीति हो।"

सन् २०५० सम्म विश्वका 'आधा वयस्कमा मोटोपन हुने, नेपालको अवस्था पनि उस्तै'

'स्न्याक्स'ले हाम्रो खाने तौरतरिका यसरी बदले

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.