'विपिन जोशी जीवितै रहेको हुन सक्ने आशा', त्यसका आधार के हुन्
हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको हुन सक्ने केही आधारहरू इजरेली पक्षले दिएको नेपाली अधिकारीहरूले बताएका छन्।
गत नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएका केही मानिसमध्ये एक जना नेपाली नागरिक पनि रहेको इजरेली सेनाले जनाएको थियो। अक्टोबर ७ को उक्त भिडिओमा देखिएका व्यक्ति आफ्ना भाइ नै रहेको विपिनका दाजु किशोर जोशीले बीबीसी न्यूज नेपालीसँग बताए।
तर त्यसपछिका दिनहरूमा विपिन जोशीको अवस्थाबारे इजरेल र नेपालका अधिकारीहरूसँग कुनै जानकारी छैन।
हमासको नियन्त्रणबाट विपिन जोशी छुटाउन नेपालले इजिप्टलाई पनि गुहार्यो
इजरेली अधिकारीहरूले जोशी हमासको कब्जामा रहेका केही आधारहरू त्यस बेला पनि नेपाली पक्षलाई दिएका थिए।
पछिल्ला कुराकानीमा पनि इजरेली पक्षले जोशी जीवितै रहेको हुन सक्ने सङ्केत गरेको हालै इजरेलबाट फर्किएकी निवर्तमान राजदूत कान्ता रिजालले बताइन्।
गत अक्टोबर ७ मा हमासले इजरेली सीमा क्षेत्रमा प्रवेश गरेर गरेको आक्रमणका क्रममा बन्धक बनाइएको ठानिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ। हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा बन्धक बनाइएकामध्ये नेपालका जोशी पनि भएको ठानिएको छ।
इजरेल र हमासबीच भएको सङ्घर्षविरामका क्रममा केही बन्धकहरू रिहा भए पनि हमासले जोशीलाई रिहा गरेको थिएन।
देउवा पत्नी आरजुलाई कूटनीति सञ्चालनको जिम्मा, अपेक्षा कस्ता छन्
'केअरगिभर'का रूपमा इजरेल जान आवेदन दिनेको सङ्ख्या मागभन्दा दोबर
परराष्ट्रमन्त्रीले के भनिन्
विपिन जोशीको अवस्थाबारे बुझ्न उनको परिवार कञ्चनपुरबाट काठमाण्डू आएको छ।
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमवार भेट गरेको परिवारले प्रधानमन्त्री केपी ओलीसँग पनि भेटका लागि पहल भइरहेको विपिन जोशीका दाइ किशोर जोशीले बताए।
“भाइको अहिलेसम्म समाचार नआएको कुरालाई आधार मानेर अझैसम्म आशा छ भन्ने कुरा उहाँले [परराष्ट्रमन्त्री आरजु राणा देउवाले] भन्नुभयो,” किशोर जोशीले भने।
“उहाँले प्रयास भइरहेको छ, मैले भ्याएसम्म सबै निकायबाट कूटनीतिक माध्यमको प्रयोग गर्छु भन्नुभएको छ।”
'मेरो छोरा निर्दोष छ, ऊ फर्कने बाटो हेरिरहेका छौँ'
हमासका प्रमुख नेताहरू को हुन्?
जोशीको परिवारका अनुसार अल-शिफा अस्पतालको दृश्यमा देखिएपछिको अवस्थाबारे कसैले बताउन सकेको छैन।
“उहाँसँग पनि त्यही अक्टोबर ७ यताको जानकारी छैन,” उनले भने। परराष्ट्रमन्त्रीले त्यसपछिको अवस्थाबारे कुनै पनि पक्षबाट जानकारी नपाएको जबाफ आफूहरूलाई दिएको जोशीले बताए।
जोशीको परिवारले सोमवार नै हालै इजरेलबाट फिर्ता भएकी राजदूत कान्ता रिजालसँग पनि भेट गरेको थियो।
विपिन जोशीबारे कतारका प्रधानमन्त्रीले भने, ‘ए, अहिलेसम्म रिहा भएका छैनन्?’
हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो
इजरेली पक्षले राखेको आशा
सरकारको निर्णयसँगै इजरेलबाट फिर्ता भएकी निवर्तमान राजदूत रिजालले आफू नेपाल आउनुअघि आफूले उद्धारमा समन्वय गरिरहेका इजरेली अधिकारीहरूसँग भेट गरेको बताइन्।
दुई साताअघि भएको भेटमा इजरेली पक्षले आफूलाई जोशी जीवितै रहेको हुन सक्ने आशा गरेको जबाफ दिएको उनी बताउँछिन्।
“हामी सबैलाई थाहा छ विपिन जोशीलाई अस्पतालको दृश्यमा देखिएको थियो। त्यो भनेको चाहिँ उहाँलाई जीवितै गाजामा पुर्याइएको भन्ने प्रमाण थियो। त्योभन्दा अरू केही प्रमाण थिएन,” रिजालले बीबीसी न्यूज नेपालीसँग भनिन्।
इजरेली प्रहरीले बन्धक छुटाउन गाजास्थित एउटा घरमा गरेको कारबाहीको भिडिओ
इजरेलले गाजाबाट चारजना बन्धक कसरी छुटायो, कति प्यालेस्टिनीले ज्यान गुमाए?
“अस्ति म गएको बेला चाहिँ उहाँहरूले ... विपिनलाई अक्टोबर ७ मा जीवितै र त्यहाँ अस्पतालबाट पनि उहाँलाई राम्रै अवस्थामा बाहिर लगेको भन्ने सूचना छ भन्नुभएको छ।”
“त्यसो भएको भएर म चाहिँ एकदमै धेरै आशावादी छु कि विपिन जोशी एकदमै राम्रो अवस्थामा हुनुहुन्छ र उहाँ एक दिन फर्किनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ।”
अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सोमवार मात्रै सिफारिस भएकी रिजालले विपिन मुक्त नहुँदै इजरेलबाट आफू फर्किनुपर्दा "नरमाइलो" लागेको सुनाइन्।
इजरेलबारे बीपीको त्यो निर्णय जसले नेपाल ‘साँच्चिकै स्वतन्त्र’ रहेको सन्देश दियो
गाजाको अस्पतालभित्र 'नेपाली बन्धक' पनि देखिएको विवरण, के भन्छ नेपाल सरकार
'नराम्रो खबर नआउनु पनि राम्रो हो'
गत नोभेम्बरमा भएको सङ्घर्षविरामपछि पनि इजरेलले केही बन्धकहरूको जीवितै उद्धार गरेको छ भने केही बन्धकको उद्धारका क्रममा मृत्यु भएको पनि विवरण आएका थिए।
“बन्धकहरू विभिन्न अवस्थामा छन्। कसैको अक्टोबर ७ मै मृत्यु भएको पनि पत्ता लगाएर निकालिरहेको छ भने कतिपयलाई जीवितै पनि उद्धार भएको छ,” निवर्तमान राजदूत रिजालले भनिन्।
हमासको हमलामा परेर 'लर्न एन्ड अर्न' कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो।
पछिल्लो समय इजरेलले विदेशी बन्धकहरूलाई पनि आफ्नै देशका नागरिकसरह एउटै श्रेणीमा राखेर उद्धारको पहल गरिरहेको रिजालको भनाइ छ।
आफूले नियमित रूपमा बन्धकहरूको अवस्थाबारे बुझ्ने गरेको र कतिपय अवस्थामा केही जानकारी नआउँदा पनि आफूलाई राहत महसुस हुने गरेको उनले बताइन्।
नेपालीहरू इजरेल जाने 'लर्न एन्ड अर्न' कार्यक्रम के हो
अब नयाँ कामदार पनि इजरेल जान पाउने, कस्ता छन् सुविधा र पूर्वसर्त
“कति समाचारहरू शव फेला पारेका पनि आउँदाखेरि हामीले विपिनबारे खबर नआएको पनि राम्रो समाचार हो भन्थ्यौँ,” उनले भनिन्।
“विपिन जोशीबारे नराम्रो खबर अहिलेसम्म केही छैन, त्यस कारण पनि उहाँ राम्रै अवस्थामा हुनुहुन्छ भन्ने हामीलाई आशा छ।”
हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केही बेर ‘सक्रिय’ रहेको पाइएको अधिकारीहरूले बताएका थिए।
इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारको चित्कार
इजरेल र प्यालेस्टाइनबारे नेपालको विदेश नीति के छ
नेपालको पहल
विपिन जोशी रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए परीक्षण गर्दा कसैको पनि डीएनए मिलेको थिएन।
उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो। इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो।
परराष्ट्रमन्त्रीले सोमवार विपिन जोशीको परिवार र गत साता संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि विपिन जोशीको रिहाइका लागि पहल भइरहेको बताएकी थिइन्।
सरकारले इजरेल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशमार्फत् जोशीको रिहाइका लागि पहल गर्दै आएको थियो।
परराष्ट्रमन्त्री राणाले संसदीय समितिमा अमेरिकासँग पनि यसका लागि पहल गरिने जबाफ दिएकी छन्।
इजरेली गुप्तचर गाजाबाट भीषण आक्रमण रोक्न किन विफल भयो
इजरेलले गाजाबाट चारजना बन्धक कसरी छुटायो, कति प्यालेस्टिनीले ज्यान गुमाए?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: