'सर्भिकल क्यान्सर'बाट विश्वलाई मुक्ति दिलाउने प्रयासको नेतृत्व अस्ट्रेलियाका वैज्ञानिकले कसरी गर्दै छन्

'सर्भिकल क्यान्सर'बाट विश्वलाई मुक्ति दिलाउने प्रयासको नेतृत्व अस्ट्रेलियाका वैज्ञानिकले कसरी गर्दै छन्

bbc.com . ३ घण्टा अघि

गर्भधारणका निम्ति लामो सङ्घर्षपश्चात् पहिलो शिशुलाई जन्म दिएको ६ महिनापछि क्रिसी वाल्टर्सलाई उनकी छोरी सम्भवतः आमाबिनै हुर्किने बताइयो।

उनको घर ब्रिस्बेनबाट दुई घण्टा पर छ। घरमै हुँदा एक पटक उनले ठूलै रक्तस्रावको अनुभव गरेकी थिइन्। केही पटक अस्पताल र डाक्टरको चक्कर तथा बायोप्सीपछि ३९ वर्षीया उनलाई जटिल चरणको पाठेघरको मुखको क्यान्सर भएको भनियो।

"मैले [मेरा पति] नीललाई... जाँचमा कुनै गडबडी भएको हुनुपर्छ भनेँ," वाल्टर्स सम्झिन्छिन्।

त्यसयता एक दशकभन्दा अधिक समयदेखि उनी उपचाररत छिन्। क्यान्सर उनको शरीरका अन्य भागमा फैलिसकेको छ। डाक्टरहरूले उनको स्थितिलाई 'टर्मिनल' (अन्तिम चरणको) भनेका छन्।

"म मेरो सबैभन्दा ठूलो शत्रुका निम्ति पनि यस्तो कामना गर्दिनँ," उनी भन्छिन्।

एस्पिरिनले क्यान्सर लाग्ने जोखिम घटाउन सक्छ - र 'किन त्यस्तो हुन्छ भनेर हामी भर्खर बुझ्न थालेका छौँ'

नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी

आमाको बिमारीसँगै हुर्किएकी उनकी छोरी अहिले १२ वर्षकी भइन्। वाल्टर्स छोरी तीन वर्षकी हुँदादेखि नै घरमा मृत्युबारे खुलेर कुरा हुन थालेको बताउँछिन्।

उनकी छोरी अहिले त्यो उमेरमा पुगेकी छिन्, जुन उमेरमा अस्ट्रेलियामा बालबालिकालाई खोप लगाउन सुरु गरिन्छ। जुन रोगबाट मुक्ति पाउन उनलाई खोप दिइन्छ, अन्ततः त्यही रोगले उनकी आमाको जीवन समाप्त गर्ने छ।

अस्ट्रेलिया उक्त लक्ष्य एक दशकभित्र हासिल गर्ने दिशामा अघि बढिरहेको छ र विश्वमै पहिलो पटक कुनै प्रकारको क्यान्सर उन्मूलन गर्ने दौडमा अन्य देशहरूसँग प्रतिस्पर्धा गरिरहेको छ।

रणनीति

अस्ट्रेलियामा उच्च माध्यामिक तह पढेका धेरैका लागि यो दृश्य परिचित छ : लामो लाइनमा उभिएका १२ र १३ वर्षका चञ्चल विद्यार्थीहरू क्रमशः प्लास्टिकको कुर्सीमा बस्छन्, अनि उनीहरू नर्सले सुई लगाउँदा पलभरका निम्ति मात्रै दुख्नेमा आश्वस्त पार्छन्।

केही मिनेटमै उनीहरू माथिल्लो पाखुरामा गोलाकार प्लास्टर टाँसेको अवस्थामा कक्षाकोठामा फर्किन्छन्।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत उच्च माध्यामिक तहका विद्यार्थीहरूलाई तीन प्रकारका खोपहरू दिइन्छ, जसमा ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) खोप पनि समावेश छ।

एचपीभीले कहिलेकाहीँ कुनै लक्षण नदेखाउन सक्छ र उपचारबिना आफैँ हराउन पनि सक्छ। तर केही उच्च जोखिमयुक्त प्रकारका भाइरस पाठेघरको मुखको क्यान्सरमा विकास हुन सक्छन्। यो विश्वभरि महिलामा हुने चौथो आम किसिमको क्यान्सर हो।

राम्रो कुरा के भने यो भाइरस क्यान्सर गराउने कारणहरूमध्ये त्यस्तो एक हो, खोप लगाएर जसबाट बच्न सकिन्छ।

के हामी स्तन क्यान्सरविरुद्धको खोप नजिक पुगेका हौँ

'मलाई मर्छु जस्तो लागेको थियो': जीन थेरपीले रगतको 'निको नहुने' क्यान्सर निर्मूल पार्‍यो

पाठेघरको मुखको क्यान्सर नियन्त्रणमा विश्वस्तरीय नेतृत्व गरेकी प्राध्यापक केअरिन क्यानफेलले यो समस्याको प्रभाव अस्ट्रेलियाभित्र मात्र नभई बाहिर पनि देखेकी छिन्। यी महामारीविद्ले बीबीसीलाई बताएअनुसार उनलाई "हरेकका आमा, दिदी वा हजुरआमा कोही न कोही यो क्यान्सरबाट प्रभावित भएका हुन्छन्" भन्ने लाग्छ।

तर सन् २००६ मा क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा प्रयोगशालामा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल भयो।

दशकौँ लामो अनुसन्धानपछि अस्ट्रेलियाका वैज्ञानिकहरूले एउटा परिवर्तनकारी नयाँ खोपको विकास गरे, एचपीभीबाट बचाउन सक्ने उक्त खोपलाई 'गार्डासिल' नाम दिइयो र त्यसलाई औषधिसम्बन्धी नियामक निकायले स्वीकृति पनि दियो।

त्यसको एक वर्षपछि अस्ट्रेलिया राष्ट्रिय खोप कार्यक्रम सुरु गर्ने विश्वकै पहिलो देश बन्यो।

किन धेरै युवामा क्यान्सर देखिइरहेको छ?

वृद्धावस्थामा स्वस्थ रहन बेलैमा गर्न सकिने उपाय के के छन्

यो खोपले विश्वका स्वास्थ्य विज्ञहरूलाई भविष्यमा यस किसिमको क्यान्सर समाप्त हुन सक्ने आशा प्रदान गर्‍यो। प्राध्यापक क्यानफेल र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा तयार गरिएको ढाँचाले यसको उन्मूलनतर्फको बाटो देखाएको थियो।

"अस्ट्रेलियाका सार्वजनिक स्वास्थ्यसम्बन्धी नवप्रवर्तनहरूले डब्ल्यूएचओसामु एक किसिमको उदाहरण प्रस्तुत गरे जसलाई ऊ पछ्याउन सक्थ्यो," क्यानफेल भन्छिन्।

भाइरसका वाहक हुन सक्ने भएकाले सन् २०१३ मा खोप कार्यक्रमलाई विस्तार गरी बालकहरूलाई पनि समेटियो। त्यसका साथै अस्ट्रेलियामा उच्चस्तरीय स्क्रिनिङ प्रणाली पनि उपलब्ध छ।

सन् २०१७ मा अस्ट्रेलिया परम्परागत प्याप सिमरबाट अझ उन्नत, एचपीभीमा आधारित पाठेघरको जाँच गर्नेतर्फ प्रवेश गर्ने अग्रणी देशहरूमध्ये एक बन्यो। उक्त परीक्षण प्रत्येक पाँच वर्षमा एकपटक मात्र आवश्यक हुन्छ।

अस्ट्रेलिया महिलाहरूलाई आफैँ नमुना सङ्कलन गर्न विकल्प प्रदान गर्ने पहिलो देशहरूमध्ये पनि एक थियो, जसलाई सरकारले विशेषगरी 'पेल्भिक' परीक्षणप्रति डर मान्नेहरू वा समय र स्वास्थ्य सेवाको पहुँचमा समस्या भएका व्यक्तिहरूका लागि "क्रान्तिकारी" कदमका रूपमा परिभाषित गरेको छ।

अस्ट्रेलिया सही बाटोमा छ?

व्यावहारिक रूपमा हेर्दा अस्ट्रेलियामा पाठेघर मुखको क्यान्सरलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा उन्मूलन गर्नुको अर्थ यसलाई पूर्ण रूपमा समाप्त गर्नु होइन। उन्मूलनलाई वैज्ञानिकहरू प्रति १,००,००० मानिसमध्ये चारभन्दा कम मामिला देखा पर्ने अवस्थाका रूपमा परिभाषित गर्छन्।

मूल्याङ्कनकर्ताहरूले प्रकाशित गरेका एउटा प्रतिवेदनअनुसार अस्ट्रेलिया सन् २०३५ सम्ममा उक्त क्यान्सर उन्मूलन गर्ने लक्ष्यतर्फ सही मार्गमा छ र सम्भवतः उक्त लक्ष्य अझ चाँडै पनि हासिल हुन सक्छ।

सन् १९८२ मा अभिलेख राख्ने चलन सुरु भएयता अस्ट्रेलियामा पाठेघरको मुखको क्यान्सर देखा पर्ने दर र मृत्युदर दुवै आधाले घटेका छन्।

सन् २०२१ को पछिल्लो तथ्याङ्कले त २५ वर्षभन्दा कम उमेरका महिलाहरूमा पहिलो पटक कुनै पनि यस किसिमको क्यान्सरको मामिला पहिचान नभएको देखाएको छ।

"अहिल्यै सबै उमेर समूहका महिलामा यो लागु भएको छैन। तर उन्मूलनको अवधारणा वास्तविकतामा परिणत हुँदै गएको देख्न सकिन्छ," क्यानफेलले भनिन्।

क्यान्सरका वैकल्पिक उपचारविधि केके हुन् र तिनले कति काम गर्छन्

पाठेघरको मुखको क्यान्सर उपचारमा पछिल्लो २० वर्षको 'सबैभन्दा ठूलो प्रगति'

क्यानफेलका अनुसार प्रगति प्रतिवेदनले खोप दरमा हलुका गिरावट देखाएको छ। विशेष गरी एबोरिजिनल र टोरेस स्ट्रेट आइल्यान्डर समुदायमा समस्या देखिएको छ। किनकि उनीहरूले अझै पनि स्वास्थ्य सेवाको पहुँचमा ठूला अवरोध र समग्र जनसङ्ख्याभन्दा खराब स्वास्थ्य परिणाम भोगिरहेका छन्।

आदिवासी महिलाहरूमा पाठेघरको मुखको क्यान्सरको दर दोबरले उच्च छ र यस रोगबाट ज्यान गुमाउने सम्भावना पनि उनीहरूमा तीन गुणाभन्दा बढी हुन्छ।

"उनीहरूमा प्रायः गैरआदिवासी महिलाभन्दा ढिलो चरणमा क्यान्सर पत्ता लाग्छ," आदिवासी समुदायसम्बन्धी रोग रोकथाम विशेषज्ञ तथा महामारीविद् डाक्टर नाताली स्ट्रोबेल भन्छिन्।

हालको गतिमा अघि बढ्दा एबोरिजिनल र टोरेस स्ट्रेट आइल्याण्डर महिलाहरूका लागि पाठेघरको क्यान्सर उन्मूलन सन् २०३५ को राष्ट्रिय लक्ष्यभन्दा १२ वर्ष ढिलो हुने सम्भावना रहेको अनुसन्धानले देखाएको छ।

पाठेघरको मुखको क्यान्सर के हो, कसरी बच्न सकिन्छ?

पाठेघरको मुखको क्यान्सरः नेपालमा सुरु हुन लागेको खोप अभियान किन महत्त्वपूर्ण

स्ट्रोबेल र उनकी अनुसन्धान सहकर्मी जोस्लिन जोन्सका अनुसार कोभिड-१९ महामारीपछि खोपबारे उत्पन्न हिचकिचाहट, स्वास्थ्य सेवाको बढ्दो लागत र बालबालिकाहरूले विद्यालय छुटाउँदा खोप छुट्नु जस्ता कारणहरूले अस्ट्रेलियालाई आफ्नो लक्ष्य हासिल गर्न अवरोध पुर्‍याउन सक्छन्।

"कसैले खोप छुटायो भने उनीहरूलाई फेरि ल्याउनेतर्फ ठोस प्रयास धेरै हुँदैन... बालबालिकाको छुटेको खोप पूरा गराउने अभिभारा धेरै हदसम्म परिवारमै पर्छ," जोन्सले भनिन्।

धेरैलाई यो खोप निःशुल्क हो भन्ने कुरा पनि थाहा नहुने उनले बताइन्।

आवश्यक स्रोत वा स्वास्थ्य प्रणाली नहुन सक्ने भएकाले अस्ट्रेलियाको अनुकरण गर्न कम तथा मध्यम आय भएका देशहरूका निम्ति खर्चको विषय अवरोध बन्न सक्ने अनुसन्धानकर्ताहरू बताउँछन्।

क्यानफेल र उनको टोलीले सरकारहरूलाई सर्भिकल क्यान्सर उन्मूलनमा लगानी गर्नु दीर्घकालीन हिसाबले फाइदाजनक हुनेबारे मनाउन प्रयास गरेका छन्।

जीवन बचाउनु र "अद्भूत सामाजिक प्रभाव" पार्नु बाहेक महिलाहरू कामकाजमा सक्रिय रहिरहन सक्छन् र आर्थिक उत्पादकत्व पनि बढ्छ। असंवेदनशील सुनिने जोखिम भए पनि क्यानफेल यसमा "लगानीको प्रतिफल"का प्रमाणहरू भएको बताउँछिन्।

अस्ट्रेलियाले भानुआटु र पपुवा न्यू गिनी जस्ता आफ्ना छिमेकी देशहरूलाई यो क्यान्सरबाट पार पाउने दिशातर्फ अघि बढ्न सघाइरहेको छ।

तर एचपीभी खोपलाई सघाउनेसहितका विश्वव्यापी सहायता कटौतीले न्यून आय भएका देशहरूमा ठूलो असर परेको छ।

सन् २०२५ को मार्चमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विकासशील देशहरूका लागि आवश्यक खोपहरू खरिद गर्दै आएको गाभी (एउटा गठबन्धन) लाई दिँदै आएको सहयोग अन्त्य गर्ने घोषणा गरेका थिए।

"सबैको पहुँचसहितको व्यापक स्वास्थ्य सेवा उपलब्ध भएको उच्च आययुक्त देशमा रहने भएकाले हामी भाग्यमानी छौँ," क्यानफेल भन्छिन्।

विश्वव्यापी प्रभाव

वाल्टर्सका अनुसार पाठेघरको मुखको क्यान्सरसँग जुध्नु "पूर्णकालीन काम" जस्तै छ र त्यसका निम्ति ठूलो मूल्य चुकाउनु पर्छ।

असङ्ख्य पटक चिकित्सकलाई भेट्नु, शरीरमा पर्ने 'चेर्नोबिलको असरसरीका' विभिन्न दुष्प्रभाव, आफ्नै पक्षमा निरन्तर पैरवी गरिराख्दाको थकान र अस्ट्रेलियाको सार्वजनिक स्वास्थ्य प्रणालीबाट उपलब्ध हुने सहुलियतका बावजुदको ठूलो आर्थिक दबाब आदि सबै उनले भोगेकी छिन्।

तर चाँडै नै उनका अनुभवहरू विगतको कुरा बन्न सक्छन् भन्ने ठूलो आशा पनि छ।

"को पहिले उन्मूलनको स्थितिमा पुग्ने भन्नेबारे विभिन्न देशहरूबीच लगभग मैत्रीपूर्ण किसिमको होडजस्तो अवस्था देखिन थालेको छ," क्यानफेल भन्छिन्।

‘स्तन क्यान्सर हुने मेरो उमेर भएकै छैन भन्ने ठानेकी थिएँ’

रगतबाटै ‘५० भन्दा बढी प्रकारका क्यान्सर पत्ता लाग्न सक्छ’

स्वीडन र रुवान्डा दुवैले सन् २०२७ सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेका छन् र खोप तथा जाँच कार्यक्रमलाई तीव्र बनाएका छन्। यद्यपि दुवै देश केही महत्वपूर्ण लक्ष्यहरूमा पछाडि परिरहेका छन्। यूकेले पनि सन् २०४० सम्ममा यो क्यान्सर समाप्त गर्ने लक्ष्य राखेको छ। तर त्यहाँ पनि त्यस्तै चुनौतीहरू देखिएका छन्।

एचपीभी जस्ता सङ्क्रमण नियन्त्रणका उत्कृष्ट उदाहरणहरू भए पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको प्रयास फरक प्रकृतिको भएको र यो वास्तवमै विश्वव्यापी सहकार्य भएकोमा क्यानफेल जोड दिन्छिन्।

"डब्ल्यूएचओ र सम्पूर्ण विश्वले हामी कुनै क्यान्सरलाई उन्मूलन गर्छौँ भनेर भनेको यो पहिलो पटक हो," उनी भन्छिन्।

"क्यान्सरका हकमा यो वास्तवमै नयाँ अवधारणा हो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.