'> ' /> क्याम्बोडियामा रहेका र जान चाहने नेपालीलाई अधिकारीहरूले सचेत गराउनुको कारण

क्याम्बोडियामा रहेका र जान चाहने नेपालीलाई अधिकारीहरूले सचेत गराउनुको कारण

bbc.com . २ घण्टा अघि

क्याम्बोडियाले 'अनलाइन स्क्याम'लगायत अवैध गतिविधिमा संलग्न हुने व्यक्तिहरूविरुद्ध कडा कानुन लागु गरेसँगै नेपाली अधिकारीहरूले त्यहाँ रहेका र जान खोज्ने नेपाली नागरिकहरूलाई सचेत गराएका छन्।

थाईल्यान्डको ब्याङ्ककस्थित नेपाली दूतावासका नियोग उपप्रुमख मोतीबहादुर श्रीसका अनुसार कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र दुई वर्षदेखि आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित क्याम्बोडिया सरकारले गत सातादेखि नयाँ कानुन कार्यान्वयनमा ल्याएको हो।

नेपालीहरू समेत त्यस्ता गतिविधिमा संलग्न हुँदै आएका र भिसा अवधि सकेर बस्ने गरेका पाइएको पृष्ठभूमिमा दूतावास र नेपाल प्रहरीको काठमाण्डूस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोले नेपाली नागरिकहरूलाई सचेत गराएका हुन्।

यसरी पुर्‍याइन्छन् म्यान्मार, क्याम्बोडिया, भियतनाम र थाईल्यान्डलगायत देशका 'स्क्याम सेन्टर'मा नेपाली

म्यान्मारका 'स्क्याम सेन्टर'बाट नेपालीसहित २५० भन्दा बढी विदेशी कामदार मुक्त

अधिकारीहरूका अनुसार सन् २०२३, २०२४ र २०२५ गरी विगत तीन वर्षको अवधिमा २१ हजार नेपालीहरू पर्यटक भिसामा क्याम्बोडिया गएका तथ्याङ्क छ।

"ती सबै नेपाली नागरिकहरू अहिलेसम्म क्याम्बोडियामै नभए पनि धेरै त्यहीँ रहेका आकलन छ," नियोग उपप्रुमख श्रीसले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भने।

फर्काइँदै छन् नेपाली

नियोग उपप्रमुख श्रीसका अनुसार सन् २०२६ कै ज्यानुअरीयता क्याम्बोडियाबाट अहिलेसम्म ५७६ जना नेपालीलाई स्वदेश फर्काइएको छ।

"हामीले सात लट पठाएका छौँ। गत मार्च १० तारिखदेखि मात्र २७७ जनालाई नेपाल पठाएका छौँ," उनले अगाडि थपे।

भिसा अवधि सकिएर बसेको पाइएमा क्याम्बोडिया सरकारले दैनिक १० अमेरिकी डलर जरिवाना तिर्न लगाउने गरेकामा अनुरोध गरेर जरिवाना मिनाहा गराई नेपालीहरूलाई स्वदेश फर्काउने गरिएको श्रीसले सुनाए।

"तर नयाँ कानुन आएपछि अब त्यो पनि कठिन हुने देखिन्छ। त्यसैले भिसा अवधि सकेर क्याम्बोडियामा बसिरहेका नेपाली नागरिकहरूलाई तुरुन्त सम्पर्कमा आउन हामीले अनुरोध गरेका छौँ," उनले भने।

आफ्नो परिवारका सदस्य, आफन्त वा साथीभाइ क्याम्बोडियामा श्रम स्वीकृतिबिना पर्यटक भिसामा गई लामो समयदेखि बसिरहेका भए वा कुनै अप्ठ्यारोमा परेको भए जानकारी गराउन समेत दूतावासका साथै काठमाण्डूस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ।

‘म त उम्केर आएँ, फिरौती नतिरे अरू नेपाली साथीहरू बेचिन सक्छन्’

नेपालबाट कस्तो सीप भएका कामदार वैदेशिक रोजगारीमा गइरहेका छन्

नियोग उपप्रमुख श्रीसले जानकारी गराएअनुसार पछिल्लो समय ७२ जना नेपाली नागरिक पक्राउ परेर क्याम्बोडियाली डिटेन्शन सेन्टरमा राखिएका छन्।

"तीबाहेक यसअघि विभिन्न चरणमा पक्राउ परेका ५९ जनालाई हामी फर्काउने क्रममा छौँ। केही दिनभित्रै उहाँहरूलाई नेपाल फर्काइने छ," श्रीसले भने।

नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले क्याम्बोडियामा रहेका नेपाली नागरिकहरूको तथ्याङ्क तथा सूचना अनलाइन माध्यममार्फत्‌ सङ्कलन गरिरहेको छ।

भिसा अवधि सकेर जरिवाना गराइएका अर्का १०२ जना पनि उक्त रकम मिनाहा भई नेपाल जानका लागि तयार रहेको उनले जानकारी गराए।

"हत्या र अपहरणको आरोपमा हाल २७ जना नेपालीमाथि मुद्दा चलिरहेको अवस्था छ। सेक्युरिटी गार्डमा गएकाहरू धेरैजसो त्यस्तो मुद्दामा परेका पाइएको छ," श्रीसले भने।

प्रलोभनमा पर्नेहरू पढेलेखेकै

अधिकारीहरूका अनुसार राम्रो तलब पाउने प्रलोभनमा क्याम्बोडिया पुग्नेहरूमा पढेलेखेकै मानिसहरू हुने गरेका पाइएको छ।

"मासिक ८०० देखि १,००० अमेरिकी डलर तलब पाउने प्रलोभनमा क्याम्बोडिया पुग्ने नेपालीहरू पढेलेखेकै धेरै हुनुहुन्छ। आईटी पढेर नेपालमा जागिर गरेकाहरू पनि भेटिनुभएको छ," सम्पर्कमा आएकाहरूको पृष्ठभूमिबारे श्रीसले उल्लेख गरे।

क्याम्बोडियाबाट उद्धार गरी नेपाल फर्काइने व्यक्तिहरूसँग प्रहरीको मानव बेचबिखन ब्यूरोले सोधपुछ गर्ने गरेको छ।

"दूतावाससँग समन्वय गरी हामी विमानस्थलबाट सीधै हाम्रो कार्यालय ल्याएर आवश्यक सोधपुछ गर्ने गर्छौँ। त्यसरी प्रलोभनमा परेर क्याम्बोडिया पुग्नेमा इन्जिनिअरसमेत रहेको हामीले पाएका छौँ," ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक राजन लिम्बूले बीबीसी न्यूज नेपालीसँग भने।

उनका अनुसार साथीभाइ वा एजेन्टको प्रलोभनमा परी नेपालीहरू त्यसरी क्याम्बोडिया पुग्ने गरेका देखिएको छ।

"कुनै निश्चित रूट भएर जाने गरेका हुँदैनन्। श्रम स्वीकृति नलिई जाने भएकाले कतिपय चाहिँ भारतबाट थाईल्यान्ड हुँदै जाने गरेको पाइएको छ। कोहीकोहीले अर्कै मार्ग पनि प्रयोग गरेका पाइएको छ," प्रवक्ता लिम्बूले अगाडि थपे।

नेपाली महिलालाई खाडीमा बन्धक बनाएर 'बलात्कार र जबरजस्ती गर्भपतन'

विदेशमा काम गर्ने नेपाली युवाको मृत्युको 'तेस्रो ठूलो कारण आत्महत्या', रोक्न भिडिओ कलबाट उपचार

ब्याङ्ककस्थित नेपाली दूतावासका अधिकारीहरू पनि एउटै ठाउँ भएर नेपालीहरू क्याम्बोडिया पुग्ने नगरेका बताउँछन्।

"मलेशिया, दुबईबाट पनि कतिपय नेपालीहरू त्यसरी प्रलोभनमा परेर क्याम्बोडिया पुग्ने गरेको पाइएको छ," नियोग उपप्रमुख श्रीसले भने।

प्रतिव्यक्ति सातआठ लाख रुपैयाँसम्म तिरेर क्याम्बोडिया गएको बयान फर्काइएपछि नेपालीहरूले दिएको उनले जनाए।

अधिकारीहरूका अनुसार कुक र टाइपिस्टलगायतका काममा भनेर बोलाउने गरिएको र त्यहाँ पुगेपछि अवैध 'अनलाइन स्क्याम सेन्टर'हरूमा काम गराउने गरिएको पाइएको छ।

"अनि निश्चित क्षेत्रमा सञ्चालित अवैध स्क्याम सेन्टरहरूमा नेपालीहरूलाई काममा लगाउने गरिएको उनीहरूको बयानबाट पाइएको छ," प्रहरी उपरीक्षक लिम्बूले भने।

'बुझेर रोजागरीमा जानूस्'

वैदेशिक रोजगारीका नाममा ठगिन सक्ने भएकोले रोजगारदाताबारे राम्ररी बुझेर मात्र जान अधिकारीहरूले पटकपटक आग्रह गर्दै आएका छन्।

धेरै तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटक भिसामा क्याम्बोडियालगायत अन्य मुलुकमा रोजगारीका लागि नजान ब्याङ्ककस्थित नेपाली दूतावासले पुनः अनुरोध गरेको छ।

"नेपालमा वैदेशिक रोजगार विभाग छ भने विदेशमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग बुझेर रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान हाम्रो अनुरोध छ," नियोग उपप्रमुख श्रीसले भने।

"श्रम स्वीकृत नलिई जाँदै नजानुहोस्, आफू ठगिएको थाहा भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी गर्नुहोस्," उनले अगाडि थपे।

यद्यपि ठगीमा पर्ने धेरै मानिसहरूले उजुरी नगर्ने गरेको श्रीसको गुनासो छ। "ठगीमा पर्ने सबैले उजुरी गर्ने हो भने पछि अरू व्यक्ति ठगिनबाट जोगिन सक्नुहुन्छ।"

श्रम स्वीकृतिलगायत आधिकारिक प्रक्रिया पूरा गरेर मात्रै वैदेशिक रोजगारीका लागि जाने गरिए धेरै हदसम्म ठगीबाट जोगिन सक्ने प्रहरी उपरीक्षक लिम्बूको तर्क छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.