भारतको तमिलनाडुमा 'ठट्यौला' अभिनेताले राजनीतिमा दिएको धक्का

भारतको तमिलनाडुमा 'ठट्यौला' अभिनेताले राजनीतिमा दिएको धक्का

bbc.com . १ घण्टा अघि

चलचित्र अभिनेताको पहिचानबाट राजनीतिमा फड्को मारेका सी जोसेफ विजय दक्षिणी भारतको तमिलनाडु राज्यमा नयाँ सरकारको नेतृत्वनजिक पुगेका छन्।

उनको पार्टी तमिलगा वेत्री कजगम (टीभीके)ले आलोचकहरूको अनुमान गलत साबित गर्दै सोमवार भएको राज्यसभाको निर्वाचनमा करिब एकल जित हासिल गर्‍यो। उनको जितले स्थापित राजनीतिक व्यवस्थामा ठूलो हलचलको सङ्केत गरेको छ।

विजयको राजनीतिक उदयलाई लोकप्रिय अभिनेताबाट यो राज्यको मुख्यमन्त्री बनेका एमजी रामचन्द्रनसँग तुलना गरिएको छ।

प्रशान्त किशोर : भारतमा किन नयाँ राजनीतिक दल बिरलै सफल हुन्छन्?

भारतमा राष्ट्रपतीय प्रणाली स्थापना गर्ने इन्दिरा गान्धीको विफल प्रयास

सन् १९७७ मा द्रविड मुनेत्र कजगम (डीएमके) छोडेर आफ्नै पार्टी गठन गरेका रामचन्द्रन मुख्यमन्त्री बनेका थिए।

विजयको जितले समर्थक र प्रशंसकहरूलाई उत्साहित बनाएको भए पनि राज्यको मुख्यमन्त्री बन्न उनका सामु अझै केही अवरोधहरू छन्।

कुल २३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार गठन गर्न ११८ सीट आवश्यक पर्छ। विजयको पार्टीले हालसम्म १०८ सीट जितेको छ। यो सङ्ख्या बहुमतका लागि भन्दा १० सीट कम हो।

यसको अर्थ अब विजयले आफूलाई भिडलाई आकर्षित गर्ने व्यक्तिबाट गठबन्धन जुटाउने नेतामा रूपान्तरण गर्नुपर्ने छ। उनले साना पार्टी तथा स्वतन्त्र सांसदहरूसँग छलफल गर्दै बहुमतका लागि आवश्यक सङ्ख्या जुटाउनुपर्ने छ। त्यसपछि मात्रै उनी राज्यमा सत्ताको नेतृत्वका लागि दाबेदार बन्न सक्छन्।

राजनीतिभन्दा व्यक्तित्वको जित?

दशकौँदेखि दुई स्थापित क्षेत्रीय पार्टीहरू डीएमके र उसको प्रतिद्वन्द्वी अखिल भारतीय अन्ना द्रविड मुनेत्र कजगम (एआईएडीएमके)मध्ये एउटाले जित हासिल गर्दै आएको यो राज्यमा टीभीकेको प्रदर्शन आफैँमा महत्त्वपूर्ण राजनीतिक हलचल हो। कतिपयले उनको जितलाई राजनीतिभन्दा व्यक्तित्वसँग जोडेर चर्चा गरेका छन्।

"विजयसँग फरक किसिमको जोस छ," सामाजशास्त्री शिव विश्वनाथन भन्छन्।

"उनी रमाइलोपन, आत्मविश्वास र व्यक्तिगत क्षमतामा आधारित दक्षताको भाव प्रदर्शन गर्छन्, जसले उनलाई फरक किसिमको ऊर्जा दिन्छ।"

मतदान सकिएपछिका साताहरूमा विजयले आफ्नो सार्वजनिक छवि होसियारीपूर्वक निर्माण गर्दै आएका छन्। चलचित्रको दुनियाँबाट उदाएका उनले मन्दिर र चर्चहरूमा पुगेर सम्बोधन गरिरहेका छन्।

उनका भ्रमणका तस्बिरहरू टेलिभिजन स्क्रीन र मोबाइल फोनमा बारम्बार आइरहन्छन्। आधुनिक राजनीतिको तर्कसहितको विचार र स्वाभिमानको आन्दोलनको पहिचान बोकेको यो राज्यमा चुनाव जितेको दलका नेता यसरी सार्वजनिक रूपमा धार्मिक आस्थातर्फ फर्कनु रणनीतिक देखिन्छ।

बाँकी रहेको परीक्षण

तमिलनाडु लामो समयदेखि नाटकीय राजनीतिक मोडहरूसँग परिचित छ। यहाँ सिनेमा र सत्ता बेलाबखत एउटै धारमा मिसिन्छन्। रामचन्द्रनदेखि उनका उत्तराधिकारी जयराम जयललितासम्म चलचित्रका कलाकारबाट राजनीतिमा प्रवेश गरेर राज्यको नेतृत्वमा पुगेका नेताहरू हुन्।

विजयले त्यही बाटो समातेका छन्, तर उनको राजनीतिक अभियान फरक छ। विश्लेषकहरूका अनुसार उनी प्रवेश गरेको राजनीतिक परिवेशमा अझै पनि डीएमके र एआईडीएमकेको प्रभाव कायम छ।

विजयजस्ता व्यक्तिहरूले आफ्नो नायकी प्रभावलाई कसरी दिगो राजनीतिमा रूपान्तरण गर्न सक्छन् भन्ने परीक्षण हुनै बाँकी छ।

भारतमा तमिल अभिनेता विजयको राजनीतिक कार्यक्रममा कसरी भागदौड मच्चियो?

के बाङ्ग्लादेशका युवा भारतविरोधी हुँदै छन्?

विजयको राजनीतिक जितपछि अबको यात्रा सहज भने छैन।

गत वर्ष उनको पार्टीको र्‍यालीमा भएको भिडभाडमा च्यापिएर दर्जनौँ मानिसको मृत्यु भएपछि उनलाई ठूलो धक्का लाग्यो। तर तत्कालीन आलोचनाका बाबजुद मतदाताहरूले उनलाई माफ गरेको देखिन्छ।

उनले पूर्णकालीन राजनीतिमा प्रवेशको घोषणा पछि अन्तिम हुने भनेको चलचित्र 'जननायगन' (जनताको नेता) ज्यानुअरीमै प्रदर्शनमा आउने भनिए पनि भारतीय चलचित्र प्रमाणीकरण बोर्डले त्यसमा रोक लगाएका कारण अनिश्चित बनेको छ।

लामो तयारी

विजयले टीभीके पार्टी औपचारिक रूपमा २०२४ मा मात्रै घोषणा गरे पनि उनका राजनीतिक पाइलाहरू धेरै अघिदेखि सुरु भएका थिए।

सन् २००९बाटै उनले आफ्ना 'फ्यान क्लब'हरूको पुनर्गठन गर्दै स्थानीय स्तरमा राहत, शिक्षा र अन्य सहायताका काममा लगाउने कल्याणकारी सञ्जालमा रूपान्तरण गरेका थिए।

सन् २०११मा उनले तत्कालीन एआईएडीएमके गठबन्धनलाई समर्थन गर्दै आफ्नो लोकप्रियता मतमा रूपान्तरण भए नभएको परीक्षण गरेका थिए।

त्यसपछिका दशकमा विजयका चलचित्रका कार्यक्रमहरू थप राजनीतिक बन्दै गए। उनले युवा दर्शकहरूसँग परीक्षाको समयमा हुने तनाव, बेरोजगारी र भ्रष्टाचारका विषयमा अन्तर्क्रिया गरे। सन् २०१९ मा विवादित नागरिकता संशोधन कानुनको उनले आलोचना गरे।

करिब ७० वटा चलचित्रपछि अभिनय छोडेर पूर्णकालीन राजनीतिमा प्रवेश गर्दा उनको सन्देश स्पष्ट थियो। उनले आफ्नो नायकको छविलाई राजनीतिक पुँजीमा रूपान्तरण गरेको सन्देश दिएका थिए।

तमिलनाडुका मतदाताहरूलाई आकर्षक भाषा बुझ्न कठिन छैन। विजयलाई फरक देखाउने पक्ष नै उनले निर्माण गर्न खोजिरहेको फरक राजनीतिको आधार हो।

युवा र महिलाको समर्थन

एक्सिस माई इन्डियाका मतसर्वेक्षण विश्लेषक प्रदीप गुप्ता विजयप्रतिको झुकाव विशेष गरी युवा मतदाता र महिलामाझ देखिएको बताउँछन्।

विजयप्रति १८ देखि ३९ वर्षको उमेर समूहको बलियो समर्थन देखिएको छ। यो उमेर समूह तमिलनाडुको कुल मतदाताको करिब ४२ प्रतिशत हो र उनीहरूमध्ये कैयौँ पहिलो पटक मतदान गर्नेहरू पनि हुन्।

महिलाहरू पनि उनको पार्टीतर्फ आकर्षित देखिएका छन्। उनलाई समर्थन गर्नेहरूमा पछाडि पारिएका वर्ग पनि छन्।

राजनीतिक रणनीतिकार प्रशान्त किशोर विजयबारे भन्छन्, "उनी तमिलनाडुको नयाँ आशा हुन्।"

अहिलेका लागि उनीप्रतिको आकर्षण उनले अघि सारेका नीतिभन्दा परिवर्तन दिलाउने वाचामा आधारित छ।

चर्चित भारतीय गायक, लेखक र सामाजिक अभियन्ता टीएम कृष्ण भन्छन् "चुनाव भनेको कल्पनालाई झक्झक्याउने प्रक्रिया हो… विजयले नयाँ कल्पना दिलाएका छन्।"

बेचैन र अस्थिर मतदाता

तमिलनाडुमा सामाजिक न्याय र कल्याणमा आधारित राजनीतिले परिणाम पनि दिएको छ। सन् २०२४/२५ को आर्थिक वर्ष राज्यले ११.२ प्रतिशतको आर्थिक वृद्धि गर्‍यो।

तर यस उपलब्धिले परिवर्तनको चाहनालाई कम गरेको छैन। स्थिरताले पनि विशेष गरी परम्परागत कथनभन्दा नवीनतामा आकर्षित युवा मतदातामाझ बेचैनी जन्माउन सक्छ।

राजनीतिमा प्रवेश गरे पनि प्रभाव पार्न नसकेर बीचैमा छोडेका रजनीकान्त र पार्टी स्थापना गरे पनि प्रभाव जन्माउन नसकेका कमल हसनभन्दा विजयमा धेरै अन्तर छ।

भारतमा जातीय जनगणनाको पक्ष र विपक्षमा बहस हुनुको अर्थ

भारतको राजनीति तताइदिने 'भोट चोरी' विवादबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

तमिलनाडुले आफ्ना चलचित्र नायकलाई केवल प्रशंसा मात्र गर्दैन, उनीहरूमा लगानी गर्छ र उनीहरूलाई न्यायको आदर्शका रूपमा पनि हेर्छ।

तमिलनाडु भारतकै सबैभन्दा स्थिर र राम्रो उपलब्धि हासिल गरिरहेका राज्यहरूमध्येको एक हो। तर त्यो स्थिरतामा पनि युवा मतदाता बेचैन हुँदै गइरहेका छन्।

उनका समर्थकहरूले मानिसहरू दुवै ठूला पार्टीबाट दिक्क भएका र परिवर्तनको चाहना राखिरहेको बताउने गरेका थिए। "मानिसहरूले टीभीकेलाई परिवर्तनको रूपमा हेरेका छन्," पार्टी प्रवक्ता फेलिक्स जेराल्ड भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.