एआईबाट धेरैभन्दा धेरै फाइदा कसरी लिने: आफैँलाई सोध्नुहोस् यी ४ प्रश्न

एआईबाट धेरैभन्दा धेरै फाइदा कसरी लिने: आफैँलाई सोध्नुहोस् यी ४ प्रश्न

bbc.com . २ दिन अघि

यसले तपाईँको गणित गृहकार्य गरिदिन्छ। अन्तर्वार्तामा सोध्ने प्रश्नका जबाफ दिन्छ। यसले तपाईँको थेरापिस्टको भूमिका समेत निर्वाह गर्न सक्छ। एउटा बटन थिचेको भरमा आर्टिफिशल इन्टलिजेन्स (एआई)ले सबै थोक गर्न सक्ने देखिन्छ।

कीर्तिमानी गतिमा प्रविधिको विकास भइरहँदा विविध प्ल्याटफर्मले एकभन्दा अर्को नयाँ र अत्याधुनिक फिचरहरू ल्याएर प्रतिस्पर्धा गरिरहेका छन्।

च्याटजीपीटी इतिहासमै सर्वाधिक तेज गतिमा विकास भइरहेको प्रविधिमध्ये एक हो। सुरु भएको पाँच दिनभित्रै यसका दश लाखभन्दा धेरै प्रयोगकर्ता भएका थिए। दुई महिनामा सो सङ्ख्या १० करोड पुगेको ३० देशका सरकार अनि संयुक्त राष्ट्रसङ्घ, युरोपेली युनियन तथा ओइसीडीका सदस्यहरूले तयार पारेको इन्टर्न्याशनल एआई सेफ्टी रिपोर्टमा उल्लेख छ।

सन् २०२३ मा माइक्रोसफ्टले को-पाइलट नामक उसको एआई असिस्टेन्ट सुरु गर्‍यो। सन् २०२५ को दोस्रो त्रैमासिकभित्र उसको एआई व्यापार १० अर्ब डलर नाघ्ने उसको अपेक्षा छ। उसले विश्वभरि ६० क्षेत्रमा डेटा सेन्टर विस्तार गरेको छ।

गुगलको एआई ओभरभ्युजले सर्च गर्दा देखिने परिणामहरूको सबभन्दा माथि एआईबाट जेनरेट भएका सारांश प्रस्तुत गर्छ। दुई सयभन्दा धेरै देश तथा क्षेत्रहरूमा उसका प्रतिमहिना डेढ अर्ब प्रयोगकर्ता भएको गुगलको सञ्चालक कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी सुन्दर पिचाइले बताएका छन्।

विज्ञहरूका अनुसार यो प्रविधि अब लामो समय रहिरहने छ। त्यसैले हामीले एक विज्ञलाई यसको बढीसे बढी फाइदा कसरी लिन सकिन्छ भनेर सोधेका छौँ।

क्यानडेली कम्प्युटर वैज्ञानिक साशा लुचिओनी हगिङ् फेस नामक ग्लोबल स्टार्ट अपकी क्लाइमेट लिड हुन्। उनको कम्पनीले ओपन सोर्स एआई मोडलहरूबाट काम गर्छ र उनी 'उचित मशिन लर्निङ्को प्रजातान्त्रीकरण होस्' भन्ने चाहन्छिन्।

"म एआईलाई हामीले गर्ने कार्यलाई वृहत् आकार दिने औजारको रूपमा लिन्छु - दुवै राम्रा र नराम्रा मानवीय पक्षको - तर यसमाथि हाम्रो नियन्त्रण भइरहोस् भनेर हामीले निश्चित गर्नु पर्छ," बीबीसी हन्ड्रेड विमिनसँग उनले भनिन्।

एआईको प्रयोग गर्नु अगाडि तपाईँले आफैँलाई निम्न ४ प्रश्न सोध्नु पर्ने उनले सुझाव दिएकी छन्।

भविष्यमा धेरै रोजगारी उपलब्ध हुने पाँच क्षेत्र र त्यसमा 'जम्न' तपाईँलाई आवश्यक सीप

चिनियाँ एआई डीपसीक के हो र यसले अमेरिकी पुँजी बजारमा कस्तो असर गर्दै छ

१. तपाईँको आवश्यकता पूरा गर्न के यो उत्तम एआई औजार हो?

लुचिओनी भन्छिन्, एआई प्रणालीहरू एकदम विविध कामका निम्ति निपुण हुन्छन्।

"कहिलेकाहीँ हामी कुनै निकै चलेको एआई टुल प्रयोग गर्छौँ किनभने त्यसकाबारे हामीलाई थाहा छ र त्यसले थुप्रै काम गर्न सक्छ। तर त्यस्ता एआई टुल पनि छन् जसको निर्माण विशिष्ट काम गर्न भएका छन् - उदाहरणका लागि विज्ञानसम्बन्धी प्रश्नहरूको उत्तर दिने - जसले तपाईँको काम अझ राम्ररी गर्न सक्छन्।"

सानाठूला विभिन्न आवश्यकता पूरा गर्नका लागि कैयन् एपहरू निरन्तर आइरहेका छन्।

एउटा एप यस्तो छ जसले तपाईँले कुनै गणितको समस्याको फोटो खिच्नु भयो भने त्यसलाई समाधान गरिदिन्छ। अर्को विशिष्ट एपले तपाईँले प्रयोग गर्न सावरडो पाउरोटीको परीक्षण गर्छ ताकि तपाईको रेसिपी सुध्रियोस् अनि अर्कोले विभिन्न पवित्र ग्रन्थहरूमा आधारित भएर तपाईँका लागि विशिष्ट मन्त्र बनाइदिन्छ।

स्ट्यान्फोर्ड युनिभर्सिटीको २०२५ एआई इन्डेक्स रिपोर्टका अनुसार अमेरिकी संस्थाहरूले गत वर्षमात्रै ४० वटा उल्लेखनीय एआई मोडल बनाएका छन्। तुलनात्मक रूपमा चीनले १५ अनि युरोपले ३ त्यस्ता मोडल निर्माण गरे।

के के उपलब्ध छन् भनेर जान्नुहोस् अनि आफ्नो आवश्यकताअनुसार छनोट गर्नुहोस्।

२. के एआईले दिएका जबाफमा तपाईँ भर पर्न सक्नुहुन्छ?

एआईले तपाईँलाई जबाफ त देला तर त्यो एकदम सही वा साँचो होला भन्ने चाहिँ छैन, भन्छिन् लुचिओनी।

" सुन्दा ती हो कि जस्तो लाग्ने तर हुँदै नभएको कुरा पनि एआई मोडलले दिन सक्छन्। काममा वा स्कूलमा त्यसको प्रयोग गर्दा विभिन्न समस्या आइपर्न सक्छन्," उनले भनिन्।

यसबाट जोगिन एआई प्रणालीको जबाफलाई परीक्षण गर्न उनी सुझाउँछिन्।

"जबाफलाई दोहोर्‍याएर पढ्नु होस् अनि त्यसबारे अलि विचार पुर्‍याउनु होस्। के त्यो सही हो? एआईले विश्वासपूर्ण जबाफ दिन्छ — तर गलत पनि हुन सक्छ।"

'विद्यार्थीबाटै आपत्तिजनक डीपफेक तस्बिर' : दक्षिण कोरियाली महिला शिक्षकहरू पनि पीडित

वैज्ञानिकलाई सुल्झाउन वर्षौँ लागेको 'सुपरबग' समस्या एआईद्वारा दुई दिनमै समाधान

३. म कस्तो जानकारी दिँदैछु?

प्रयोगकर्ताहरूले एआई मोडलबाट आफूलाई कस्ता सूचना प्राप्त हुन्छन् भन्ने मात्र होइन कि आफूले तिनलाई आफ्ना कस्ता व्यक्तिगत जानकारी दिनु हुन्छ भन्ने बारे पनि सोचविचार गर्नु पर्छ।

ठूलो परिमाणको डेटा बटुलेर एआई प्रणालीले काम गर्छ। ती डेटालाई उसले आफ्नो मोडल प्रशिक्षित गर्न प्रयोग गर्छ। यसको अर्थ के हो भने तपाईँले दिने सूचना, चाहे त्यो कुनै फोटो होस् वा लेख, लाई उसले भण्डारण गर्नेछ, विश्लेषण गर्नेछ र भावी दिनमा उसले दिने जबाफ परिष्कृत बनाउन उपयोग गर्ने छ।

प्रत्येक प्ल्याटफर्मको आफ्नै गोपनीयतासम्बन्धी नीति हुन्छन्। त्यसैले प्रयोग गर्नु अगाडि तिनको त्यस्तो नीतिका सर्तहरू बुझ्नु होस्।

"यदि कुनै नितान्त व्यक्तिगत वा संवेदनशील वा लज्जाबोध गराउने किसिमका जानकारी छन् भने तिनलाई एआई मोडललाई नदिनुहोस् किनभने त्यो कुनै हिसाबमा इन्टरनेटमा उपलब्ध भइदिन सक्छ," लुचिओनीले भनिन्।

उनले मेटा एआई एपतर्फ औँल्याइन् जसमा केही प्रयोगकर्ताहरूले सोधेका प्रश्नहरू पछि 'डिस्कभर' फीडमा सार्वजनिक भएको उनीहरूले पत्तो पाएनन्।

मानिसहरूले स्कूल वा विश्वविद्यालयका परीक्षाका प्रश्नहरू अपलोड गरेको, यौनजन्य तस्बिरहरू हेर्न मागेको अनि आफ्नो यौनिक पहिचानबारे सोधेका उदाहरणहरू बीबीसीले फेला पारेको छ।

गोपनीयतासम्बन्धी चिन्ता अनि जेनरल डेटा प्रोटेक्सन नियमको पालनाका विषयलाई लिएर सन् २०२३ मा परिष्कृत च्याटबट च्याटजीपीटीलाई रोक्ने इटली पहिलो पश्चिमा देश बन्यो।

चिनियाँ च्याटबट डीपसीकले प्रयोगकर्ताहरूको डेटा के कसरी भण्डारण तथा उपयोग गर्छ भन्ने चिन्ता दक्षिण कोरिया, अस्ट्रेलिया तथा अमेरिकाले जनाएका छन्।

४. के मलाई साँच्चै एआई आवश्यक छ?

लुचिओनी भन्छिन्, एआईलाई कुनै औजारको रूपमा प्रयोग गर्नु पर्छ न कि तपाईँको मस्तिष्कको विकल्पको रूपमा।

सोच्नु होस् के यो काम तपाईँ आफैँ गर्न सक्नु हुन्छ वा यदि जटिल गणितका समस्या छन् भने के तिनलाई क्यालकुलेटरजस्ता अन्य उचित औजारमार्फत् फत्ते गर्न सकिन्छ?

साथै कुनै नैतिकता सम्बन्धित वा व्यक्तिगत प्रश्न छन् भने आफ्ना वरपरका मानिसहरूको मद्दत लिन उनी सुझाउँछिन्।

"एआईले मानवीय मूल्यमान्यताका आधारमा निर्णय लिन सक्दैन। के सही हो, के गलत हो अनि विशिष्ट परिस्थितिमा के युक्तिसङ्गत हो भन्ने बारेको निर्णय लिन हामीले उसको सहारा लिनु हुन्न," उनले भनिन्।

साथै विद्यमान सर्च इन्जिनहरूभन्दा एआईले निकै बढी ऊर्जा र स्रोत खपत गर्छ। एआईले प्रयोग गर्ने सर्भरहरू राखिएका डेटा सेन्टर चिस्याउन ठूलो परिमाणमा पानीको उपयोग गरिन्छ। यसले विश्वभरि पानी आपूर्तिको समस्या झन् खराब बनाइदिन सक्छ।

"निश्चय नै एआईका टुलहरू लामो समयसम्म रहिरहने छन् - खासगरी हामी झन् झन् इन्टरनेट र सामाजिक सञ्जालमा उपस्थित र सक्रिय हुँदै गर्दा," लुचिओनीले भनिन्।

"तर त्यसो भन्दैमा जीवनका हरेक पक्षका लागि हामीले एआई प्रयोग गर्नु पर्छ भन्ने होइन। यसले हामी मानव भएको महत्त्व नै गुम्न सक्छ - हाम्रा सृजनशीलता, सम्पर्क, समुदाय।"

प्रविधिको क्षेत्रमा सन् २०२५ मा केके नयाँ आउला

यी महिलालाई नजिकका साथीले धोका दिएर डीपफेक भिडिओ बनाए: 'मेरो प्रत्येक क्षण अश्लील बन्न पुग्यो'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.