इरानमा प्रदर्शनकारीहरू मारिएपछि त्यहाँ हमलाबारे सोचविचार गर्दै ट्रम्प
अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणअनुसार राष्ट्रपति डोनल्ड ट्रम्पलाई इरानमा सैन्य हमलाका नयाँ विकल्पहरूबारे बताइएको छ।
इरानमा भएका सरकारविरोधी प्रदर्शनका क्रममा कैयन् प्रदर्शनकारीहरू मारिएपछि राष्ट्रपति ट्रम्पले कुनै कदम लिनेबारे गम्भीरतापूर्वक सोचविचार गरिरहेको तर कुनै अन्तिम निर्क्योलमा पुगिनसकेको न्यूयोर्क टाइम्सले जनाएको छ।
शनिवार सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरानले स्वतन्त्रतातर्फ हेरिरहेको अनि अमेरिका त्यसका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरे।
गत जुन महिनामा इजरेलसँगको युद्धका बेला अमेरिकाले इरानका परमाणु स्थलहरूमा बमबारी गरेको थियो।
पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?
इरानको तेहरान र अन्य सहरमा पनि सरकार विरोधी विशाल प्रदर्शन
इरानमा प्रदर्शन फैलँदै
इरानबाट प्राप्त विवरणहरूमा त्यहाँ बितेको तीन दिनमा सुरक्षाकर्मीको कारबाहीमा सयौँ मानिसहरू मारिएका वा घाइते भएका उल्लेख गरिएको छ।
देशभरि सरकारविरोधी प्रदर्शनहरू निरन्तर भइरहेको जनाइएको छ।
इन्टरनेट अवरुद्ध गरिएको भएतापनि त्यहाँ भइरहेका हिंसाका विवरणहरू बाहिर आउन थालेका छन्।
इरानका तीनवटा अस्पतालका कर्मचारीहरूले आफूहरूकहाँ घाइतेहरू खचाखच भरिएको बताएका छन्।
बीबीसी पर्सिअन सर्भिसले शुक्रवार रातिमात्रै रश्त सहरको जम्मा एउटा अस्पतालमा ७० वटा शव ल्याइएको पुष्टि गरेको छ।
अधिकारीहरूले प्रदर्शनकारीहरूलाई 'ईश्वरका दुस्मन'को व्यवहार गरिने चेतावनी दिएका छन् – अर्थात् तिनलाई मृत्युदण्डसम्म हुनसक्छ।
तेहरानको एउटा अस्पतालका स्वास्थ्यकर्मीले 'युवाहरूको टाउकामा अनि मुटुमा सोझै गोली हानिएको' पाइएको बताए। राजधानीको एउटा आँखा अस्पतालका चिकित्सकले उनीहरू आपत्कालीन अवस्थामा पुगेको बताए।
गोली तथा छर्राहरू लागेका घाइतेहरूको उपचार आफूहरूले गरेको बीबीसीसँग कुरा गरेका दुईजना स्वास्थ्यकर्मीहरूले बताए।
बीबीसी तथा अधिकांश अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरूले इरानभित्र काम गर्न पाउँदैनन्। बिहीवार बेलुकीदेखि देशभरि इन्टरनेट लगभग पूर्ण अवरुद्ध छ। त्यसले सूचना पाउन र पुष्टि गर्न अप्ठेरो भइरहेको छ।
अमेरिकाको चेतावनी
शुक्रवार अमेरिकाले प्रदर्शनकारीहरूलाई मारेमा सैन्य प्रतिक्रिया जनाइने चेतावनी दोहोर्याएको थियो।
इरानले चाहिँ शान्तिपूर्ण प्रदर्शनहरूलाई 'हिंसात्मक देशद्रोही कार्य तथा व्यापक विध्वंसमा' परिणत गरेको दोष अमेरिकालाई थोपरेको छ।
पछिल्ला गतिविधिहरूको प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्: "इरानले स्वतन्त्रतातर्फ हेरिरहेको छ, सायद यसघिभन्दा भिन्न रूपमा। संयुक्त राज्य अमेरिका सहयोगका लागि तयार छ !!!"
इरानबाट प्राप्त केही फुटेजहरूमा तेहरानमा शुक्रवार राति मानिसहरू हुल बाँधेर सडकमा निस्किएका थिए र तिनले गाडीहरूमा आगजनी गरेका थिए। राजधानी नजिकैको कराज इलाकामा एउटा सरकारी भवन पनि जलाइएको थियो।
त्यसयता इरानी सेनाले सार्वजनिक सम्पत्ति जोगाउन सुरक्षाकर्मीहरूलाई साथ दिने बताएको छ। देशभरि अशान्ति फैलिएका कारण सबै ठाउँमा सुरक्षाकर्मीको परिचालन बाक्लो हुन नसकेका विवरणपश्चात् सेनाको सो भनाइ आएको हो।
इरानी अधिकारीहरूले विभिन्न चेतावनी पनि दिइरहेका छन्। त्यहाँको राष्ट्रिय सुरक्षा परिषदले 'सशस्त्र विध्वंसकारी'हरू विरुद्ध 'निर्णायक' कानुनी कारवाही गरिने चेतावनी दिएको छ।
बिहीवार र शुक्रवार राति भएका प्रदर्शनहरूमा भाग लिएका एक प्रत्यक्षदर्शीले बीबीसी पर्सिअन टेलिभिजनसँग कुरा गर्दै आफ्ना अभिभावक तथा पाका मानिसहरूलाई नडराइकन विरोध प्रदर्शनमा भाग लिनका निम्ति हौस्याउने कार्यमा जेन जी पुस्ताका इरानीहरू सक्रिय भएको बताए।
युरोपेली युनियनकी प्रमुख ऊर्जुला फन डेर लेयनले शनिवार बोल्दै युरोपहरू इरानका विरोध प्रदर्शनकारीहरूको पक्षमा रहेको भन्दै तिनको 'हिंसात्मक दमन'को निन्दा गरिन्।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफान डुजारिकले त्यहाँ भइरहेको मृत्युले उक्त संस्था चिन्ति भएको बताए।
"संसारका जहाँसुकैका मानिसहरूसँग शान्तिपूर्ण प्रदर्शनको अधिकार रहन्छ अनि सरकारहरूसँग त्यस्तो अधिकार रक्षा गर्ने तथा सम्मान गर्ने दायित्व रहन्छ," उनले भने।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेइले शुक्रवार टेलिभिजन सन्देश दिँदै भने: "लाखौँ सम्मानित मानिसहरूको रगत बगेका कारण इस्लामिक गणतन्त्र शक्तिमा आएको हो। यसलाई अस्वीकार गर्नेहरूको सामु यो पछि हट्ने छैन।"
उनले 'विध्वंसकारी तत्त्वहरूलाई ठेगान लगाउनबाट' आफ्नो सत्ता नपन्छिने भन्दै तिनले 'अमेरिकाको राष्ट्रपतिलाई खुसी पार्न खोजिरहेको' आरोप लगाए।
यसबीच इरानका अन्तिम शाहका छोरा रेजा पहल्वीले प्रदर्शनहरूलाई 'सुन्दर' भन्दै सप्ताहान्तमा त्यसलाई निरन्तरता दिन इरानीहरूलाई आह्वान गरे। उनका बुबाको सत्तालाई सन् १९७९मा भएको इस्लामिक क्रान्तिले पल्टाइदिएको थियो।
"अब हाम्रो लक्ष्य केवल सडकमा उत्रनु मात्रै होइन। हाम्रो लक्ष्य सहरका केन्द्रहरूलाई कब्जा र नियन्त्रणका लागि तयार रहनु हो," सामाजिक सञ्जालमा प्रसारित भिडिओमा रेजा पहल्वीले भनेका छन्।
हाल अमेरिकामा रहेका उनले स्वदेश फर्कने तयारी गरिरहेको बताएका छन्।
तर इरानका लागि यूकेका एकजना पूर्व राजदूत सर साइमन ग्यासले बीबीसी रेडिओ फोरको टुडे कार्यक्रममा बोल्दै सत्ता पलटबारेका कुरा गर्न अलि हतारो हुने बताए।
इरानभित्र हाल सङ्गठित विरोधी पक्षको अभाव रहेको भन्दै मानिसहरूका सामु गोलबन्द हुने कुनै वैकल्पिक नेता नभएको उनले बताए।
तथापि मानिसहरूलाई परेको चर्को आर्थिक सङ्कटका कारण यसपालिका प्रदर्शन विगतका भन्दा विस्तारित देखिएको उनले स्वीकारे।
इरानमा सर्वोच्च नेताविरुद्ध प्रदर्शन जारी, १० दिनमा 'कम्तीमा ३५ जनाको मृत्यु'
इरानमा महँगी बढ्दा देशभरि आक्रोश, अमेरिका र पूर्वयुवराजको समर्थन
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: