यी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध'

यी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध'

bbc.com . १ घण्टा अघि

लसुन, मदिरा, मासु खाँदा अनि भोकै बस्दा पनि हाम्रो शरीरबाट निस्कने गन्धमा प्रभाव पार्छ – र तपाईँलाई अरूका निम्ति आकर्षक या अनाकर्षक बनाउने वैज्ञानिकहरूले बताएका छन्।

हामी प्रत्येकको एक विशिष्ट शारीरिक गन्ध हुन्छ, औँठाछाप जस्तै। हाम्रो व्यक्तित्वको स्वभाव - बहिर्मुखी, तनाव लिइहाल्ने आदि- देखि लिएर हाम्रो मनस्थिति तथा स्वास्थ्य अवस्थाले पनि हाम्रो शरीरबाट निस्कने गन्ध निर्धारण गर्छ।

"बितेका केही दशकहरूमा भएका अध्ययनबाट हाम्रो गन्ध हाम्रा जीन, होर्मोन, स्वास्थ्य अनि सरसफाइले निर्धारण गर्ने कुरा थाहा भयो," स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका सोसल साइकोलोजीका प्राध्यापक क्रेग रोबर्ट्सले भने। "चाहे हामी पुरुष वा महिला हौँ, युवा वा वृद्ध हौँ, गर्भावस्था होस् वा नहोस्, बिरामी होस् वा सद्दे, खुसी वा दु:खी।"

यीमध्ये कैयन् पक्ष हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन् – तर सबै चाहिँ होइन। हाम्रो शरीरको गन्ध निर्धारणमा उल्लेखनीय भूमिका हामीले खाने कुराको पनि रहन्छ। यसले हाम्रो समग्र गन्धमात्र होइन बरू हामीलाई अरूले कसरी लिन्छन् वा अरूका सामु हामी कति आकर्षक हुन्छौँ भन्ने देखाउने कैयन् अध्ययनहरूले देखाएका छन्।

यी आठ खानेकुरा जसले पेटमा वायु निम्त्याउँछन् – केहीको नाममा तपाईँलाई आश्चर्य पनि लाग्न सक्छ

खानेकुरा बिस्तारै खाँदा यस्तो फाइदा हुन सक्छ

सास र पसिना

जैविक तहमा खानेकुराले हाम्रो स्वास्थ्यको गन्धलाई दुईवटा मुख्य मार्गबाट प्रभावित गर्ने बिङ्गाम्टनस्थित न्यूयोर्क स्टेट युनिभर्सिटीकी हेल्थ एन्ड वेलनेस स्टडिजका असिस्टेन्ट प्रोफेसर लीना बेग्दाचेले भनिन्।

पहलो, आन्द्रा। तपाईँले खाना पचाउँदै गर्दा आन्द्राभित्र ब्याक्टेरियाहरू मेटाबलिजम्‌मा लाग्छन्। खानाको रसायन तथा ब्याक्टेरियाबीचको अन्तर्क्रियाबाट ग्यासहरू उत्पन्न हुन्छन् जो खाना आएकै बाटोबाट बाहिरिन्छन्। यसबाट सासमा दुर्गन्ध वा ह्यालिटोसिस हुन्छ जुन खानेकुराको किसिममा निर्भर हुन्छ। आँकडाहरूका अनुसार विश्वभरि करिब एक तिहाइ मानिस सासको दुर्गन्धको समस्याबाट पीडित हुन्छन्। तर तिनको कारण पाचनबाहेक अन्य पनि हुन सक्छन्।

दोस्रो, छाला। खाना पचेपछि तिनका रासायनिक यौगिक रक्तसञ्चार मार्फत शरीरका विभिन्न तन्तुहरूमा पुग्छन्। कतिपय चाहिँ छालाबाट पसिनाको माध्यमबाट बाहिरिन्छन् जहाँ तिनको अन्तर्क्रिया छालामा रहने ब्याक्टेरियासँग हुन्छ। त्यसबाट गन्ध उत्पन्न हुन्छ। पसिना आफैँमा गन्धहीन हो तर त्यसमा छालाका ब्याक्टेरिया मिसिएपछि दुर्गन्ध उत्पन्न हुन्छ।

विभिन्न खानेकुरामा विभिन्न रासायनिक यौगिक हुन्छन् जसले भिन्न भिन्न तहका गन्ध उत्पादन गर्छन्। तर धेरै गन्ध निकाल्ने खानेकुराहरूमा एउटा साझा दोषी तत्त्व भेटिन्छ – जुन हो गन्धक वा सल्फर। तर रोचक चाहिँ के छ भने केही अध्ययनहरूले केही यस्ता गन्धदायक यौगिकहरूले हामीलाई अरूका सामु आकर्षक बनाउने प्रभाव पनि पार्छन्।

फलफूल र तरकारी

ब्रोकोली, बन्दाकोभी तथा काउली स्वस्थ खानेकुरामा पर्छन् – तर तिनमा टन्नै गन्धकयुक्त यौगिक हुन्छन् जसको गन्ध कुहिएको अण्डाजस्तो हुन्छ। जब यी यौगिकले छालाका ब्याक्टेरियासँग अन्तर्क्रिया गर्छन् तब तपाईँको पसिना गनाउने तरलमा परिणत हुने न्युट्रिसन थेरापिस्ट केरी बिसनले बताइन्।

लसुन तथा प्याजजस्ता तरकारीले पनि हाम्रो गन्धमा प्रभाव पार्छन्। तर अध्ययनहरूका अनुसार लसुनले मानिसहरूको सास दुर्गन्धित बनाएपनि तिनले काखीमा हुने पसिनाको गन्ध चाहिँ आकर्षक तुल्याइदिन्छ। वैज्ञानिकहरूले ४२ जना पुरुषलाई काखीमा १२ घण्टासम्म प्याड राख्न लगाए। तीमध्ये केहीले थोरै लसुन खाए, केहीले अलि धेरै लसुन खाए अनि केहीले लसुनको सप्लिमेन्ट खाए। त्यसपछि ती प्याडमा रहेको गन्धलाई कस्तो लाग्यो भनेर ८२ जना महिलालाई भन्न लगाइयो। उनीहरूलाई गन्ध कत्तिको बासनादार छ वा छैन, आकर्षक छ वा छैन, पुरुषत्वको विशिष्टता छ वा छैन, अनि गन्धको सघनता कतिको छ भन्ने जस्ता मापदण्डका आधारमा परीक्षण गर्न लगाइयो। थोरै लसुन खाएकाहरूको गन्धले धेरै प्रतिक्रिया निम्त्याएन तर धेरै खाएकाहरूको गन्ध चाहिँ यौनाकर्षक मानियो। साथै सप्लिमेन्ट लिनेहरूको गन्ध पनि आकर्षक मानियो।

"हामीले यो अध्ययन तीन पटक दोहोर्‍यायौँ किनभने हामी अलि छक्क परेका थियौँ," उक्त अध्ययन गराएका एकजना वैज्ञानिक ज्यान हाभ्लेचेकले भने। उनी चेक रिपब्लिकको चार्ल्स युनिभर्सिटीमा ह्युमन इथोलोजी तथा केमिकल कम्युनिकेसनबारे अध्ययन गर्छन्। लसुनमा मानिसको स्वास्थ्यलाई राम्रो गराउने एन्टीअक्सिडेन्ट तथा एन्टीमाइक्रोबियल गुण हुन्छ जसका कारण ती पुरुषको गन्ध महिलाहरूलाई आकर्षक लागेको हुन सक्छ।

अन्य तरकारीको हाम्रो शारीरिक गन्धमा विशिष्ट प्रभाव हुन्छन्। कुरिलोको तरकारीले एस्पारागसिक एसिड उत्पन्न गर्छ जुन शरीरले पचाउँदा गन्धकका यौगिक निस्कन्छन्। यसमा हुने मिथाइथिओल र डाइमिथाइल सल्फाइडजस्ता रसायनले तपाईँको पसिना र पिसाबलाई खास गन्ध दिन्छन्। सल्फर वा गन्धकका यौगिकहरू चाँडै नै हावामा फैलन सक्छन्। त्यसैले ट्वाइलेट टाढैबाट गनाउँछ। यस्ता गन्ध पाँच घण्टाभन्दा बढ्ता समयसम्म रहन्छन्।

तर सबैले यस्तो गन्ध उत्पन्न गर्दैनन्। सन् १९५० ताका भएका अध्ययनहरूले करिब ५० प्रतिशत मानिसले मात्र कुरिलो खाएपछिको पिसाबमा हुने खास गन्ध दिने देखियो। तर सन् २०१०मा गरिएको अध्ययनले चाहिँ परीक्षणमा सहभागी ९० प्रतिशतभन्दा धेरैको पिसाबमा त्यस्तो गन्ध पाइएको देखायो। अनि सबैजनालाई उक्त गन्ध थाहा हुन्छ भन्ने पनि छैन। कतिपयको त्यस्तो क्षमता तिनको आनुवंशमा पनि निर्भर हुन्छ।

तर समग्रमा हेर्दा धेरै फलफूल तथा तरकारी खानेहरूको गन्ध बढी आकर्षक हुने पाइन्छ। अस्ट्रेलियामा सन् २०१७ मा गरिएको अध्ययनमा धेरै फलफूल र तरकारी खाने पुरुषहरूको शरीरको गन्ध अलि बढी बासनादार भएको पाइयो।

उक्त अध्ययनले मानिसहरूको मुहारलाई पनि परीक्षण गरेको थियो। गाजर, फर्सी, गोलभेडा र मेवामा पाइने यौगिक क्यारोटिनोइड धेरै हुन्छ र त्यस्ता खानेकुरा धेरै खानेहरूको मुहारको छाला अलिकति पहेँलो हुन्छ जसलाई बढ्ता आकर्षक मानियो। त्यही अध्ययनले थोरै बोसो, मासु, अण्डा, र तोफु खाएकाहरूको पनि गन्ध राम्रो मानिएको देखायो। तर कार्बहाइड्रेट धेरै भएका खानेकुराले चाहिँ सबभन्दा कम आकर्षक गन्ध दिएको पाइयो।

सन् २०५० मा हामी के खान्छौँ होला?

खानेकुराको यौन जीवनमा प्रभाव

मासु र माछा

मासुमाछाले पनि शरीरमा विशिष्ट गन्ध उत्पन्न गराइदिन सक्छन्। तिनलाई पचाउने क्रममा एमिनो एसिड तथा बोसोतत्त्व निस्कन्छन् जसलाई पसिनामार्फत् बाहिर निष्काशन गरिन्छ – जहाँ तिनको भेट छालाका ब्याक्टेरियासँग हुन्छ।

माछा तथा गेडागुडीहरूमा कडा गन्ध भएका ट्राइमिथाइलामिनजस्ता यौगिक हुने हुनाले तिनले शरीरमा गन्ध उत्पन्न गर्छन्।

सन् २००६ मा हाभ्लेचेकको टोलीले वयस्क पुरुषहरूमा गरेको अर्को अध्ययनले मासुको सेवनले हामीलाई आकर्षक बनाउँछ कि बनाउँदैन भनेर हेरेको थियो। दुई सातासम्म ३० जना मानिसलाई एक थरीलाई मासुजन्य अनि अर्को थरीलाई विना मासुका खाना दिइयो। महिलाहरूले तिनको शरीरको गन्धलाई परीक्षण गरे – गन्ध कत्तिको बासनादार छ वा छैन, आकर्षक छ वा छैन, पुरुषत्वको विशिष्टता छ वा छैन, अनि गन्धको सघनता कतिको छ भन्ने जस्ता मापदण्डका आधारमा परीक्षण गरियो।

"हामीलाई के अचम्म लाग्यो भने मासु खानेहरूको भन्दा मासु नखानेहरूको गन्ध अलि बढ्ता राम्रो मानियो," हाभ्लेचेकले भने।

मानव विकास क्रमदेखि नै मासु मानिसहरूको खानपानको महत्त्वपूर्ण हिस्सा रहँदै आएको हुनाले उक्त नतीजा उनको अपेक्षा विपरीत थियो। तर प्राचीन मानवले अहिलेका औद्योगिक समाजका मानवले भन्दा कैयन् गुना थोरै परिमाणमा मासु खान्थे। "हाम्रो जैविक विकास क्रममा हरेक दिन मासु खानु सामान्य थिएन," हाभ्लेचेकले भने।

रक्सी र कफी

धेरै परिमाण अनि नियमित अन्तरालमा रक्सी खाँदा ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट तथा पसिनाको ग्रन्थी दुवैमार्फत दुर्गन्ध उत्पन्न गर्न सक्ने न्यूयोर्क स्टेट युनिभर्सिटीकी हेल्थ एन्ड वेलनेस स्टडिजका असिस्टेन्ट प्रोफेसर लीना बेग्दाचेले भनिन्। जब तपाईँको शरीरले कलेजोभित्र रक्सीलाई पचाउन खोज्छ त्यसबाट एसिटलडिहाइड भन्ने यौगिक निस्कन्छ। स्वास्थ्यलाई खराबी गर्ने अनि छिट्टै उड्ने उक्त यौगिकमा खास रक्सीको गन्ध हुन्छ। अनि रक्सीले शरीरको पानी घटाइदिने र र्‍यालको प्रवाह पनि घटाइदिने हुनाले तपाईँको मुखमा धेरै ब्याक्टेरिया जम्मा हुन पाउँछन् र सासको दुर्गन्ध रहिरहन्छ।

एउटा अध्ययनमा २३५ जना मानिसहरूको परीक्षण गर्दा जसले हरेक दिन रक्सी पिउँथे उनीहरूमा दुर्गन्धित सासको समस्या धेरै देखियो र तिनको सासमा गन्धकका यौगिक धेरै भेटिए। सन् २०१० मा गरिएको अर्को अध्ययनमा सहभागी एकथरी पुरुषलाई बियर पिउन दिइयो भने अर्कोथरीलाई पानी पिउन दिइयो। बियर पिउनेहरू आकर्षक पाइए – तर दु:खका साथ के भन्नु पर्छ भने केवल लामखुट्टेहरूका निम्ति।

कफी र चियामा पाइने क्याफिनले एपोक्राइन ग्रन्थीलाई सक्रिय बनाउँछ जसले काखी तथा कासमा पसिना उत्पन्न गराउँछ। धेरै पसिनाले धेरै ब्याक्टेरिया उत्पन्न हुन्छन् अनि त्योसँगै गन्ध पनि बढ्ने न्युट्रिसन थेरापिस्ट केरी बिसनले बताइन्। साथै अर्को अध्ययनमा क्याफिनका मलिक्युलहरू पसिनामा पनि भेटिए तर तिनले आफैँ शरीरको गन्धमा प्रभाव पार्छन् कि पार्दैनन् भन्ने अझै प्रस्ट भइसकेको छैन।

"हामी स्तनधारी जीव हौँ। अन्य स्तनधारी जीवजस्तै हाम्रा शारीरिक गन्धले हाम्रा सामाजिक अन्तर्क्रियामा महत्त्वपूर्ण प्रभाव पार्छन्," स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका सोसल साइकोलोजीका प्राध्यापक क्रेग रोबर्ट्सले भने।

"मानिसले एकअर्कालाई कत्तिको आकर्षक पाउँछन् भन्ने विषयको निर्धारण गर्ने विविध पक्षहरू हुन्छन् जसमा गन्ध पनि एक हो। मानिस कस्ता देखिन्छन्, तिनको व्यवहार कस्तो छ अनि कसरी कुराकानी गर्छन् भन्ने जस्ता अन्य पक्षबाट अलग्ग्याएर शारीरिक गन्धले मात्रै कति प्रभाव पार्छ भनेर ठोकुवा गर्नु निकै चुनौतीपूर्ण कार्य हो।"

तर पनि विज्ञानले यस्ता विषयको गहन अध्ययन गर्दा थोरै फेरबदल भने पाएको छ।

उदाहरणका लागि हाभ्लेचेकले एक अध्ययन गरे जसमा महिलाहरूको काखीमा राखिएको प्याडको गन्ध पुरुषहरूलाई सुँघ्न दिइयो। तिनलाई गन्ध कत्तिको बासनादार छ वा छैन, आकर्षक छ वा छैन, नारीत्वको विशिष्टता छ वा छैन, अनि गन्धको सघनता कतिको छ भन्ने जस्ता मापदण्डका आधारमा परीक्षण गर्न भनियो। तीमध्ये केही महिलाले सामान्य खानपिन गरेका थिए भने केही ४८ घण्टादेखि भोकै थिए। यस अध्ययनमा भोकै बसेका महिलाहरूको गन्ध बढ्ता आकर्षक भएको ती पुरुषले भने। "यो नतीजा पनि हाम्रा निम्ति अनपेक्षित नै थियो," हाभ्लेचेकले भने।

तर यस्ता नतीजा थप अध्ययनहरूबाट पनि देखियो भने मात्र स्पष्ट चित्र बन्छ। तर एकातिर भोकै बस्दा पसिनाको गन्ध आकर्षक हुन सक्ने भए पनि त्यसो गर्दा सास भने थप गन्हाउने स्वीट्जर्ल्यान्डमा सन् २०१८ मा गरिएको अध्ययनले देखाएको छ।

अध्ययनका नतीजाले निरन्तर अचम्मित बनाएपछि रोबर्ट्स र हाभ्लेचेकजस्ता अनुसन्धानकर्ताहरूलाई शरीरको गन्ध र खानेकुराको बीच स्पष्ट फर्मुला नरहेको विश्वास गरायो। यस विषयमा धेरै जटिलता रहेका छन्।

"कैयन् किसिमका गन्धयुक्त यौगिकहरू हुन्छन्। अधिकांश मामिलामा तिनले हाम्रो शरीरको गन्धलाई कसरी निर्धारण गर्छन् भनेर हामीले बुझ्न सकेका छैनौँ। तर तिनले प्रभाव पार्ने सम्भावना अधिक छ," हाभ्लेचेकले भने।

लसुनको विश्वयात्रा : दासहरूको खानेकुरा र प्राचीन औषधिदेखि आधुनिक परिकारसम्म

मानिसहरूले प्रोटीनप्रति देखाएको मोह कति उपयुक्त, फाइदा र बेफाइदा कस्ता

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.