'> ' /> वैदेशिक रोजगारी वा अध्ययनका नाममा ठगी बढ्दै, कसरी सचेत रहने?

वैदेशिक रोजगारी वा अध्ययनका नाममा ठगी बढ्दै, कसरी सचेत रहने?

bbc.com . ११ घण्टा अघि

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरूलाई 'आकर्षक आम्दानी हुने' देश पुर्‍याइदिने प्रलोभन दिएर पैसा लिएको र पासपोर्ट लिएर ठगी गरेको उजुरीहरू बढेपछि अधिकारीहरूले त्यस्ता घटनाबाट सावधान र सचेत रहनु पर्ने आवश्यकतामा जोड दिएका छन्।

फेसबुक, टिकटक, भाइबर तथा ह्वाटस्यापको प्रयोग गरेर आकर्षक विज्ञापन गर्ने अनि मानिसहरूलाई प्रलोभनमा पार्ने क्रम बढेको देखिएको वैदेशिक रोजगार विभागले जनाएको हो।

खासगरी यूकेसहित युरोपेली देशहरू पठाइदिने नाममा ठगी घटना बढेको पाइएको विभागका निर्देशकले बताएका छन्।

खासगरी यूकेमा विश्वविद्यालयमा पढ्न पठाउने र त्यहीँबाट काम पाइने भन्दै विद्यार्थीलाई युरोपका विभिन्न मुलुक पठाउने गरिएको र त्यसक्रममा नेपालीहरू ठगीमा पर्ने गरेको एकजना श्रम विज्ञले बताएकी छन्।

नेपालबाट पुरुषभन्दा महिला धेरै वैदेशिक रोजगारीमा गइरहेका गन्तव्यहरू

श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षा कोष अनिवार्य, विदेश पुगेपछि पैसा जम्मा गर्न सङ्कोच

लन्डनस्थित नेपाली दूतावासले पनि यूकेमा कामको स्पोन्सर खोजिदिने बहानामा उल्लेख्य सङ्ख्यामा नेपालीहरू ठगीमा परेको भन्दै सचेत रहन आह्वान गरेको छ।

ठगी हुनेमा कम शिक्षितमात्रै नभइ उच्च शिक्षा अध्ययन गर्न जानेहरू नै पनि रहेको भन्दै आफू कुन कन्सलटेन्सीमार्फत जान लागेको, कुन कलेज जाने हो लगायतका विषयमा आफैँ अध्ययन अनुसन्धान गरेर मात्रै जान विज्ञहरूले सुझाएका छन्।

ठगी कसरी भइरहेको छ?

विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पाएका संस्था बाहेकका गिरोहहरू ठगीमा संलग्न भएको पाइएपछि मानिसहरूलाई सचेत गराउनु परेको विभागले जनाएको छ।

देशभित्र र बाहिर बसेर आधिकारिक रूपमा स्वीकृति नलिएकाले पनि वैदेशिक रोजगारीमा पठाउँछु भन्दै मानिसलाई ठग्ने गरेको उजुरी र गुनासाहरू पछिल्लो समय धेरै आएको विभागले जनाएको हो।

रोजगारीका लागि क्यानडा र युरोप पठाउने नाममा ठगी बढ्दै, जोगिन के गर्ने?

क्यानडा पढ्न गएका विद्यार्थीको सपना कसरी चकनाचुर हुन्छ

विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले खासगरी सामाजिक सञ्जालमा देखिने विज्ञापन र त्यहाँमार्फत देखाइने प्रलोभनमा मानिसहरू पर्ने गरेको बताए।

वैदेशिक रोजगारीमा जाने इच्छा भएका कतिपयले व्यक्तिगत खातामा पैसा पठाइसकेर ठगीमा परेको उजुरीसहित विभागमा आएको उनले जानकारी दिए।

"हामीले पनि सामाजिक सञ्जालहरू हेर्दाखेरि अनुगमन गर्न नसक्ने खालका विज्ञापन गरेर मानिसहरूलाई भ्रम सिर्जना गरिरहेको हुनाले सचेत रहनका लागि र प्रलोभनमा नपर्न सूचित गरेका हौँ," प्रवक्ता शिवाकोटीले भने।

"आधिकारिक तवरले स्वीकृति नलिएको ठाउँमा आर्थिक कारोबार पनि नगर्नुस् र तपाईँलाई त्यस्तो गरेर कसैले झुक्याएको छ भने उनीहरूको ठेगानासहित विभागमा उजुरी गर्नुस्, हामी कानुनी दायरामा ल्याउने र कारबाही गर्ने गर्छौँ भनेका छौँ।"

उनले वैध कार्यालय पनि नभएको, ब्याङ्क खाता पनि नभएको तर सामाजिक सञ्जालहरूबाट पैसा बुझ्ने र मानिसलाई अलपत्र पार्ने गरेका कारण आफूहरू सूचना जारी गर्न बाध्य भएको बताए।

विदेशमा काम गर्ने नेपाली युवाको मृत्युको 'तेस्रो ठूलो कारण आत्महत्या', रोक्न भिडिओ कलबाट उपचार

नेपालीलाई 'न करारपत्र न कुनै सुरक्षा': भारतको कामलाई वैदेशिक रोजगारीको मान्यता नदिँदा परेको सकस

यसैबीच लण्डनस्थित नेपाली दूतावासले पनि यसै साता एउटा विज्ञप्ति जारी गर्दै ठगिनबाट बच्न व्यक्ति आफै सचेत हुन र समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

कामको लागि स्पोन्सर खोजिदिने वा वर्क परमिट उपलब्ध गराइदिने नाममा ठगी हुने गरेको भन्दै त्यसबाट सचेत रहन दूतावासले आग्रह गरेको हो।

"यस किसिमका अपराधहहरू नेपाल र संयुक्त अधिराज्य दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्यामा परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरू तथा संयुक्त अधिराज्यमा रहेका स्थानीय प्रहरी तथा न्याश्नल एन्टी फ्रड नेटवर्क यूकेमा उजुरी गर्नुहुन समेत अनुरोध छ," विज्ञप्तिमा भनिएको छ।

समस्यामा परेका व्यक्तिहरूलाई दूतावासको इमेल [email protected] र मोबाइल नम्बर +४४-७४०४९३९२७४ मा सम्पर्क गर्नसमेत उक्त विज्ञप्तिमा अनुरोध गरिएको छ।

विद्यार्थीले ठगीमा नपर्न के गर्ने?

ठगीमा पर्नेमा काम गर्न जाने मानिसहरूमात्रै नभइ पढ्न भनेर जाने विद्यार्थीहरू पनि हुने गरेको विभागका प्रवक्ता शिवाकोटीले बताए।

"पहिला त पढ्न भनेर नै जाने हुन्। विद्यार्थीलाई पहिलो सेमेस्टरको पैसा तिरेर जानुहोला भनिन्छ। त्यसपछि कसरी कन्भिन्स गरिन्छ भने तपाईँ गइसकेपछि ६ महिना पछाडि आफैँले काम पाउनुहुन्छ वा हामी दिलाइ दिउँला भन्ने खालको सूचना दिइएको पाइन्छ," उनले भने।

"काम गर्नका लागि जो मानिस विदेशमा जाँदै हुनुहुन्छ आधिकारिक तवरबाट काम गर्ने कुराको सुनिश्चितता नभएको विज्ञापन र प्रलोभनमा नपर्नुहोस् भन्ने नै हाम्रो उद्देश्य हो।"

श्रमका लागि जानेमात्रै नभइ पछिल्लो समय खासगरी यूके अध्ययनका लागि जाने र त्यहाँबाट काम गर्न युरोपेली देशहरू जाने मानिसहरू पनि ठगिने क्रम बढेको एक श्रम विज्ञ मीना पौडेल बताउँछिन्।

खासगरी अहिले दुई तीन थरीका ठगी हुने गरेको उनले बताइन्।

"बेरोजगार भएर छट्पटाइरहेको मानिसलाई थोरै झुटा आश्वासन दिइसकेपछि मानिस सजिलै विश्वास गर्नसकिने स्थितिमा पुग्दोरहेछ। त्यसले गर्दा रोजगारमै नयाँ सम्भावना छ भनेर हुने ठगी र अर्को भनेको विद्यार्थीमा हुने ठगी धेरै देखिएको छ," उनले भनिन्।

"नयाँ ट्रेन्ड के देखिएको छ भने यूके पढ्न जाने भनेर कुनै कलेजको नामबाट एसेप्टेन्स पत्र लिएर पुग्ने तर त्यहाँ खुट्टा टेकेर त्यसपछि पोर्चुगल, ग्रीस, साइप्रसजस्ता देशहरूमा काम गर्न जाने पनि छन्।"

विदेशमा नेपाली कामदारमा रोग निम्त्याउने मुख्य कारण के, तिनलाई कम गर्न विशेषज्ञले दिएका सुझाव कस्ता

यसरी पुर्‍याइन्छन् म्यान्मार, क्याम्बोडिया, भियतनाम र थाईल्यान्डलगायत देशका 'स्क्याम सेन्टर'मा नेपाली

नेपालबाट खासगरी अध्ययनका लागि यूके, क्यानडा र युरोपेली देशहरू जाने गरेको देखिएको विज्ञहरू बताउँछन्।

खासगरी ठगी गर्ने गिरोहको विभिन्न खाले रणनीतिको फन्दामा पर्दा विद्यार्थी र श्रमका लागि जान चाहनेहरू पर्ने गरेको देखिएको पौडेलले बताइन्।

"ठगी गर्ने गिरोहको कतिबेला कहाँ कुन ठाउँलाई के को लागि के को बहानामा लैजान सकिन्छ भन्ने रणनीति हुन्छ र त्यसै फन्दामा काम गर्दै पढ्ने आकाङ्क्षा भएका विद्यार्थी र पढ्ने बहानामा श्रममा जानेहरू फस्ने हो," उनले भनिन्।

"मुख्य गरी यूकेलाई एउटा गेटवे बनाएको ट्रेन्ड देखिएको छ।"

त्यसैले उनीहरू जानुअगाडि आफैँले कुन विश्वविद्यालय जान लागेको हो, त्यो कति मान्यताप्राप्त विश्वविद्यालय हो, उसलाई बुझाउनुपर्ने शुल्क कति छ, त्यहाँ अध्ययन गरिरहँदा काम गर्न पाइन्छ पाइँदैन, त्यहाँ बस्दा काम पाउने सम्भावना कति छ जस्ता कुराहरू बुझेर मात्रै जान पौडेल अनुरोध गर्छिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.