शान्ति योजनामा अमेरिकासँग सहमति भएको युक्रेनको भनाइ
रुससँगको युद्ध अन्त्यसम्बन्धी शान्ति योजनामा अमेरिकासँग 'साझा सहमति' बनेको युक्रेनले बताएको छ।
सो योजना गत साता अमेरिकाले किएभलाई दिएको २८-बुँदे मस्यौदामा आधारित छ।
तर त्यसमा गत सप्ताहान्त स्वीट्जर्ल्यान्डको जिनिभामा अमेरिकी तथा युक्रेनी अधिकारीहरूले छलफल गरेका थिए।
सुरुमा रुसको स्वार्थतर्फ धेरै ढल्किएको भनिएको उक्त मस्यौदा पछि जिनिभामा भएको छलफलमा संशोधित भएको बताइएको थियो।
अमेरिकी शान्ति योजनामा गरिएका संशोधनको जेलेन्स्कीद्वारा स्वागत
युक्रेन शान्तिवार्तामा 'ठूलै प्रगति' भएको भन्दै अमेरिकाद्वारा प्रशंसा
'मस्यौदा परिष्कृत गरिएको छ'
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै पुरानो मस्यौदा "दुवै पक्षले राखेका अतिरिक्त सुझावका साथ परिष्कृत गरिएको," जनाए।
उनले भने: "मैले मेरा विशेष दूत स्टिभ विट्कफलाई मस्कोमा गएर राष्ट्रपति पुटिनसँग भेट्न अह्राएको छु भने सोही समयमा आर्मी सेक्रेटरी ड्यान ड्रिस्कलले युक्रेनीहरूसँग भेट्ने छन्।"
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चीफ अफ स्टाफले ड्रिस्कल यसै साता किएभमा आइपुग्ने अपेक्षा गरिएको बताए।
क्रेम्लीन के भन्छ?
यसअघि क्रेम्लीनले चाहिँ नयाँ मस्यौदा योजनाबारे रुससँग परामर्श नगरिएको भनेको छ – गत सप्ताहान्त गरिएका संशोधन उसले नमान्न सक्ने चेतावनी दिएको छ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले अमेरिकाले प्रस्तुत गरेको प्रारम्भिक मस्यौदाप्रति रुस सकारात्मक भएतापनि त्यसमा यदि उल्लेखनीय फेरबदल गरिएको छ भने अवस्था 'आधारभूत रूपमै फरक' हुने बताए।
मङ्गलवार बिहानसम्म क्रेम्लीनमा संशोधित मस्यौदा नपुगेको भन्दै लाभ्रोभले अमेरिकी शान्ति प्रयासलाई युरोपले बिथोलिरहेको आरोप लगाए।
अमेरिकी अधिकारीहरूले रुसी चिन्ताको प्रत्यक्ष सम्बोधन गरेका छैनन् तर अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कल र रुसी प्रतिनिधिहरूले आबु धाबीमा सोमवार र मङ्गलवार भेटघाट गरेका थिए।
जटिल मुद्दा सम्बोधन भए?
रुस र युक्रेनबीच चर्को मतभेद रहेका कतिपय विषय अझै पनि नयाँ योजनामा सम्बोधन नभइसकेको बताइएको छ। जसमा किएभलाई दिइने भनिएको सुरक्षा ग्यारेन्टी तथा पूर्वी युक्रेनका कैयन् युद्धग्रस्त इलाकाको नियन्त्रणजस्ता विषय रहेका छन्।
मङ्गलवार जेलेन्स्कीले त्यस्ता 'सम्वेदनशील विषय'मा ट्रम्पसँग सोझै छलफल गर्न उनी तयार रहेको बताए। यो महिनाभित्रै त्यस्तो बैठक गर्न जेलेन्स्कीको प्रशासनले चाहिरहेको छ।
"थप सक्रिय सहयोगका लागि म अमेरिकी पक्ष र राष्ट्रपति ट्रम्पको साथको निम्ति उत्सुक छु। धेरैथोक अमेरिकामा निर्भर छ किनभने रुसले धेरै ध्यान दिने भनेको अमेरिकी शक्तिलाई नै हो," जेलेन्स्कीले भने।
ह्वाइट हाउसले त्यस्तो द्विपक्षीय बैठकको सम्भावनाबारे टिप्पणी गरेको छैन। तर ट्रम्पले सामाजिक सञ्जालमा राष्ट्रपति जेलेन्स्की र राष्ट्रपति पुटिनसँग छिट्टै भेट्ने आशा गरेको तर त्यस्तो भेट युद्ध अन्त्यको सम्झौता अन्तिम विन्दुमा पुगेपछि मात्रै हुने जनाएका छन्।
ह्वाइट हाउसले आशा प्रकट गरिरहे तापनि युरोपेली नेताहरूले चाहिँ अझै शङ्का गरिरहेका छन्।
करिब चार वर्षको युद्धपश्चात् अझै 'युद्धविरामबारे रुसको रुचि नदेखिएको' फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले बताए।
त्यस्तै ब्रिटेनले पनि शान्तितर्फको 'बाटो अझै लामो र कठिन' रहेको भनेको छ।
मस्कोले निरन्तर युक्रेनले पूर्वी डोनबास क्षेत्र पूरै छाड्नु पर्ने माग राख्दै आएको छ। दोनेत्स्क र लुहान्स्क सोही क्षेत्रमा पर्छन्।
रुसी फौजले क्राइमिया कब्जा गरेका छन् भने खेअरसन र जापोरिज्या क्षेत्रका पनि ठूलै भूभाग नियन्त्रणमा लिइराखेका छन्।
सन् २०२२ को फेब्रुअरीमा रुसले अतिक्रमण गरेपछि सुरु भएको रुस-युक्रेन युद्ध निरन्तर जारी छ।
युद्ध अन्त्यसम्बन्धी छलफलअगावै आफूले 'युक्रेन शान्ति योजना' तयार पारेको अमेरिकाको दाबी
ट्रम्पले कतिवटा युद्ध साँच्चै अन्त्य गराए? नोबेल पुरस्कारको 'आश'मा गरिएका दाबीको तथ्यजाँच
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: