विश्वप्रकाशले गगनलाई नेतृत्वमा 'अघि सारे', कांग्रेसका दुवै पक्षको अबको योजना यस्तो
मङ्गलवार दिनभरि वार्ता र विमति चलिरहँदा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका आयोजकहरूले पार्टी नेतृत्व बदल्न आफूहरूमाथि सहभागी प्रतिनिधिहरूको चर्को दबाव रहेको बताएका छन्।
भृकुटीमण्डपमा जारी उक्त विशेष महाधिवेशनमा आजै नयाँ पार्टी नेतृत्व चयनका निम्ति भनेर निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको थियो।
तर महाधिवेशनलाई स्वीकार नगरेको सभापति शेरबहादुर देउवापक्षीय नेताहरूसँग वार्ता लम्बिनुका साथै महाधिवेशनका अन्य कार्यक्रम पनि चलिरहेका कारण अब मतदान चाहिँ बुधवारमात्र हुने उक्त महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजकले जानकारी दिएका छन्।
कांग्रेसका दुई पक्षबीच दोस्रो चरणको वार्ता 'नेतृत्व परिवर्तनमा केन्द्रित हुने'
नेपाली कांग्रेस 'फुटको डिलमा' पुग्दा रातभरिमै 'संवाद' हुने कतिपयको दाबी
साँझ बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्रीको रूपमा अघि सार्ने छनक दिए।
'नेतृत्व फेर्न दबाव'
विशेष महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले नेताहरूलाई घेरेर दबाव दिइरहेको संयोजक मनोजमणि आचार्यले बीबीसीलाई बताए।
"साथीहरूले छाड्नुभएको छैन, घेरिरहनुभएको छ। हामी नीति मात्र फेर्न आएका होइनौँ, नीतिसहित नेतृत्व बनाउन पनि आएका हौँ भन्ने महाधिवेशन प्रतिनिधिहरूको माग छ," उनले भने।
"हामी अहिले पर्खिरहेका छौँ। हाम्रा नेता वार्तामा छन्। तर कुनै निष्कर्ष आइसकेको लक्षण अहिले (मङ्गलवार अबेर साँझ)सम्म देखिएको छैन। हामी रातिसम्म पनि कुर्छौँ। पार्टी नेतृत्व आएर यो महाधिवेशनको अपनत्व लिनुपर्छ। साथै यहाँ पारित भएका विषयलाई कार्यान्वयन गर्ने हो भने ढोका खुला छ," आचार्यले आफ्ना पक्षका अडानबारे बताए।
त्यही सहमतिको आशमा मङ्गलवारलाई तोकिएको कैयन् निर्वाचन प्रक्रिया बुधवारलाई सारिएको छ।
साँझ बन्दसत्रको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्व बदल्ने विषयलाई पार्टी विभाजन मान्न नहुने बताए।
"कसैले भन्ला कांग्रेसलाई विभाजित गर्न लागियो। कांग्रेस विभाजित हुँदै छैन। कुनै पनि अधिवेशनहरूबाट नेतृत्व बनाउँदै गर्दा, नेतृत्व बदल्दै गर्दा त्यसले विभाजन गर्ने भन्ने हुँदैन। त्यसले पार्टीलाई अझै तरोताजगी बनाउने भन्ने हुन्छ," शर्माले भने।
उनले त्यसको अझ स्पष्ट छनक दिँदै भने, "नेपाली कांग्रेस, पार्टीको नेतृत्व र मुलुकको प्रधानमन्त्री बन्ने गरी गगन थापालाई अघिल्तिर लिएर आउँदै छ भन्ने कुरालाई तपाईँहामीले जनमानसमा लिएर जान जरुरी छ।"
सोही कार्यक्रममा बोल्दै अर्का महामन्त्री गगनकुमार थापाले अर्को पक्षसँग वार्ता चलिरहेको भएता पनि महाधिवेशनको 'हलले गर्ने निर्णय शिरोधार्य' हुने बताए।
"संवादबाट टुङ्ग्याउन सकिन्छ कि भनेर संवाद पनि भइरहेको छ। तर त्यो छलफलको कुरा यो हलभन्दा बाहिर गएर टुङ्गिँदैन। यो विशेष महाधिवेशनको हलबाट निर्णय गरेर यसो गर्छौँ भनेर गरेको निर्णय दुवै महामन्त्रीलाई शिरोधार्य छ," थापाले भने।
कांग्रेस विशेष महाधिवेशनमा उपस्थित हुने प्रतिनिधिको सङ्ख्याको महत्त्वसँगै वैधताको प्रश्न पनि
कांग्रेसमा महाधिवेशनको नयाँ मिति तोकिँदा 'संस्थापन' र 'इतर' पक्षका आआफ्नै तर्क
सबैको ध्यान वार्तातिर
मङ्गलवार साँझ नेपाली कांग्रेसभित्र उब्जिएका विवाद तीन ठाउँमा छरपस्ट देखिए।
दोस्रो विशेष महाधिवेशन भनेर खास गरी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले डाकेको भेला भृकुटीमण्डपमा चलिरहँदा सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको कार्यसमितिको बैठक सुरु हुने आशमा नेताहरू पर्खिरहेका थिए।
तर दुवै ठाउँका नेताहरूको ध्यान भने काठमाण्डूमै भइरहेको वार्ताले खिचेको थियो, जहाँ संस्थापन भनिएको पक्षका नेताहरू तथा विशेष महाधिवेशन पक्षधरहरूबीच तारन्तार कुराकानी चलिरहेका थिए।
साँझ अबेर बीबीसीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो वार्तामा विशेष महाधिवेशन पक्षधरका तर्फबाट सहभागी प्रदीप पौडेलले वार्ता अझै जारी रहने बताए।
"विशेष गरी नेतृत्वको विषयमा कुरा टुङ्गिएको छैन। अरू विषयमा सहमति नजिक छौँ तर अन्तरिम नेतृत्वमा सहमति भइसकेको छैन," पौडेलले भने।
'संस्थापन' पक्षको भनाइ
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संवादले सकारात्मक परिणाम दिने आशामा अब कार्यसमितिको बैठक बुधवार बिहान ८ बजेका निम्ति सारिएको बताएका छन्।
"अत्यधिक लचकता हामीले देखाइरहेका छौँ। अझै पनि कुराकानीबाट सकारात्मक नतिजा निस्कन्छ कि भन्ने हाम्रो विश्वास छ। जुन हाम्रो पार्टी नेतृत्व छ, त्यसबाट हामी निर्वाचनमा जाऔँ। त्यसपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ भनेर पार्टी पङ्क्तिलाई थाहा छ," उनले भने।
बुधवार बिहानको बैठकअगावै सकारात्मक समाधान निस्कने आशा उनले व्यक्त गरे।
"अहिले विभाजनमा लगेर कसैलाई फाइदा छैन। हाम्रो पार्टीलाई मात्र होइन देश र जनतालाई पनि फाइदा छैन।"
महाधिवेशनमा निर्वाचनको तयारी सँगसँगै
तारन्तार वार्ता चल्दै गर्दा भृकुटीमण्डप चाहिँ नयाँ पार्टी नेतृत्व छान्ने निर्वाचनको विषयले पुसको चिसोमा पनि गर्माएको देखियो।
मङ्गलवार दिउँसो सूचना प्रकाशन गर्दै विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्यो।
उक्त सूचनामा विशेष केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन भृकुटीमण्डपमा हुने भनियो।
त्यसका निम्ति दिउँसो मतदाता नामावली प्रकाशनदेखि मनोनयन पत्र दर्ताको समय तोकिएको थियो भने राति ९ बजेदेखि सुरु भई राति १ बजेसम्म मतदान हुने भनिएको थियो।
तर साँझ अबेर आयोजकहरूले मङ्गलवार मतदान गर्न नभ्याइने निष्कर्ष निकाले।
"अहिले उम्मेदवारी मनोनयनका फारमहरू दिने काम मात्रै भइरहेको छ। दर्ताको प्रक्रिया सुरु भएको छैन। मनोनयनसम्मका काम आज सकिएला। बाँकी उम्मेदवारका अन्तिम नामावली प्रकाशनदेखि मतदानका काम भोलि हुने छन्," आचार्यले बताए।
विशेष महाधिवेशनको परिस्थिति कसरी बन्यो?
कांग्रेसको इतिहासमा यसअघि जम्मा एक पटक विशेष महाधिवेशन डाकिएको थियो।
विक्रम संवत् २०१४ सालमा तत्कालीन पार्टी सभापति सुवर्ण शम्शेर जबराले बीपी कोइरालालाई नेतृत्व हस्तान्तरण गर्न उक्त विशेष महाधिवेशन डाकेका थिए।
अहिलेको दोस्रो भनिएको विशेष महाधिवेशन चाहिँ विद्यमान पार्टी सभापतिको नेतृत्व नरुचाएकाहरूले डाकेका हुन्।
अघिल्लो महाधिवेशन भएको चार वर्ष पुगेकाले यसपालि कांग्रेसको नियमित १५औँ महाधिवेशन गर्ने समय पनि थियो।
तर भदौमा भएको जेन जी आन्दोलनले नेपाली कांग्रेसभित्र पनि प्रशस्तै उथलपुथल ल्याएको देखियो। उक्त आन्दोलन भएको करिब एक महिनापछि नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूमध्ये ५४.५८ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका थिए।
त्यतिखेर हस्ताक्षर बुझाएका प्रतिनिधिहरूले पार्टीको नेतृत्व परिवर्तन, नीतिगत पुनरवलोकन, पछिल्लो राजनीतिक घटनाक्रमको गम्भीर समीक्षा र संरचनागत परिवर्तनका निम्ति विधान संशोधन गरी चारवटा विषयलाई मुख्य 'अजेन्डा' बनाएका थिए। अहिले पनि वार्ता यिनै विषयको सेरोफेरोमा भइरहेको नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट नेतृत्व फेर्ने सम्भावना कति? फेरिए पार्टीको वैधानिकता के हुन्छ?
कांग्रेस महाधिवेशन : 'नीति र नेतृत्व' फेर्न सक्ने सङ्ख्यामा प्रतिनिधिहरू उपस्थित भएको दाबी
पार्टीको केन्द्रीय कार्यसमितिले चाहिँ विशेषभन्दा नियमित महाधिवेशनमै जोड दियो र पुस मसान्तमा नियमित महाधिवेशन गर्ने भन्यो। तर करिब दुई साता गाडि केन्द्रीय कार्यसमितिको बैठकले आमचुनावको मुखमा नियमित महाधिवेशन गर्न नभ्याइने तर्क गर्दै वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय गर्यो।
तर नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनको माग गरिएको विषय स्वत: क्रियाशील हुने भन्दै महामन्त्रीद्वय थापा र शर्माले भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन डाकेका थिए।
दुई दिनलाई भनेर डाकिएको विशेष महाधिवेशन थप दुई दिनलाई तन्किसकेको छ। अनि ५४ प्रतिशतले डाकेको भनिएको सो महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूको सङ्ख्या अर्को ९ प्रतिशत जतिले थपिएको आयोजकहरूको दाबी छ।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिहरूले मागेको खण्डमा विशेष महाधिवेशन हुन सक्छ भने त्यहाँ वैधानिक निर्णय गर्न ५१ प्रतिशतको आवश्यकता पर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: