इरानमा दुई हजार प्रदर्शनकारीको मृत्युबीच ट्रम्पले भनेः 'सहायता पुग्दै छ'

इरानमा दुई हजार प्रदर्शनकारीको मृत्युबीच ट्रम्पले भनेः 'सहायता पुग्दै छ'

bbc.com . २ घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी जनताका लागि सहयोग "आउन लागेको" बताइरहँदा त्यहाँ प्रदर्शनहरूका क्रममा सुरक्षाकर्मीले दमन गर्दा दुई हजार जनाभन्दा व्यक्तिको ज्यान गएको एउटा मानव अधिकारवादी संस्थाले जनाएको छ।

संयुक्त अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) ले १७ दिनको अवधिमा १,८५० जना प्रदर्शनकारी, सरकारसँग सम्बद्ध १३५ जना, नौजना असंलग्न नागरिक तथा नौजना बालबालिका मारिएका पुष्टि गरेको हो।

एक इरानी अधिकारीले पनि दुई हजार व्यक्ति मारिएका समाचार संस्था रोएटर्सलाई बताएका छन्, तर त्यसका लागि "आतङ्कवादीहरू" नै जिम्मेवार रहेको आरोप लगाए।

इरानसँग व्यापार गरिरहेका देशमाथि २५ प्रतिशत ट्रम्प ट्यारिफ

इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू

इरानबारे एउटा बैठकमा मङ्गलवार साँझ ट्रम्प उपस्थित हुँदै छन् र इरानमा मारिएका व्यक्तिहरूको "यकिन" विवरण दिने प्रतिबद्धता जनाएका छन्।

"उल्लेख्य सङ्ख्यामा मान्छे मारिएका जस्तो देखिन्छ, तर निश्चित रूपमा अझैसम्म कति भन्ने हामीलाई थाहा छैन," ह्वाइट हाउस फर्कने क्रममा पत्रकारहरूसँग ट्रम्पले भने।

'ठूलो मूल्य चुकाउनुपर्ने'

आफूहरूसँग यकिन सङ्ख्या भएपछि उनले भनेः "हामीले सोहीअनुरूप कदम चाल्ने छौँ।"

मङ्गलवार नै ट्रम्पले ट्रूथ सोसलमा लेख्दै हत्याका लागि इरानी अधिकारीहरूले "ठूलो मूल्य चुकाउनुपर्ने" र मानिसहरूलाई प्रदर्शन "जारी राख्न" आग्रह गरे।

"प्रदर्शनकारीहरूको अविवेकपूर्ण हत्या नरोकिएसम्म मैले इरानी अधिकारीहरूसँग सबै बैठकहरू रद्द गरेको छु। सहयोग पुग्दै छ। इरानलाई फेरि महान् बनाऊँ!!!," उनले लेखेका छन्।

'इरानलाई फेरि महान् बनाऊँ' भन्ने नारा विपक्षी प्रदर्शनकारीहरूले लगाउँदै आएका छन्।

प्रदर्शनकारीविरुद्ध इरानी सुरक्षाकर्मीहरूको दमनलाई लिएर ट्रम्पले सैन्य हमला र अरू विकल्पको लेखाजोखा गरिरहेका छन्।

इरानसँग व्यापार गरिरहेका देशहरूमाथि २५ प्रतिशत ट्यारिफ चाहिँ उनले घोषणा गरिसकेका छन्।

इरानका ३१ प्रान्तका १८० वटा शहर तथा नगरमा सरकारविरोधी प्रदर्शन फैलिइसकेको बताइन्छ।

इरानी मुद्राको अवमूल्यनलाई लिएर देखिएको आक्रोशले डिसेम्बर महिनाको अन्त्यतिर प्रदर्शनहरू निम्त्यायो, जसले अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको वैधतामाथि सङ्कट उन्पन्न गराएको छ।

पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?

इरानको तेहरान र अन्य सहरमा पनि सरकार विरोधी विशाल प्रदर्शन

शासन अन्त्यको माग

महँगीविरुद्ध शुरू भएका प्रदर्शनहरूले अहिले खामेनेईको शासन अन्त्य हुनुपर्ने माग गरिरहेका छन्।

एचआरएएनएले मङ्गलवार अपराह्न बताएअनुसार इरानमा प्रदर्शनका क्रममा कम्तीमा २, ००३ जना व्यक्ति मारिएका उसले पुष्टि गरेको छ। अरू ७७९ वटा मृत्युका घटनाको विश्लेषण गरिरहेको उसले जनाएको छ।

नर्वेमा अवस्थित अर्को अधिकारवादी संस्था इरान ह्युमन राइट्स (आईएचआर) ले कम्तीमा ७३४ जना प्रदर्शनकारी मारिएका पुष्टि गरेको छ।

समाचार संस्था रोएटर्सका अनुसार इरानी अधिकारीले विस्तृत विवरण नदिई करिब दुई हजार व्यक्ति मारिएका बताएका छन्।

यद्यपि उनले प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ ज्यान जानुको कारण "आतङ्कवादीहरू" भएको आरोप लगाए। प्रदर्शनका क्रममा हजारौँ व्यक्तिलाई गिरफ्तार गरिएको बताइएको छ।

यद्यपि इरान सरकारले गत बिहीवारबाट इन्टरनेट बन्द गराउँदा सूचना लिन र तिनको पुष्टि गर्न मुश्किल भएको छ।

बीबीसी र अरू अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरान भित्रैबाट समाचार दिन सकिरहेका छैनन्।

राजधानी तेहरानका अस्पतालहरूमा मृतकको सङ्ख्या निकै बढेका विवरणहरू आएका छन्।

"दुईदेखि तीनवटा अस्पतालका" चिकित्सकहरूले सयौँका सङ्ख्यामा घाइतेहरूको उपचार गरेको बताएका छन्।

तेहरानका अधिकांश अस्पतालहरू युद्धमैदान जस्तै भएका आफ्ना एक सहकर्मीले बताएको लन्डनस्थित एक इरानी क्यान्सरविज्ञ प्राध्यापक शाहरम कोर्दस्तीले बीबीसी न्यूजडे कार्यक्रमसँग भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.