ट्रम्प प्रशासनले १९ देशका 'ग्रीनकार्ड' धारकहरूको किन पुन: परीक्षण गर्दै छ
ट्रम्प प्रशासनले भनेको छ- १९ वटा देशहरूबाट अमेरिका पुगेका स्थायी बसोबास अनुमतिपत्र वा 'ग्रीनकार्ड' प्राप्तहरू सबैको उक्त हैसियत अब पुन: परीक्षण गरिने छ।
यूएस सिटिजनशिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोले उनलाई राष्ट्रपतिले "हरेक (सूचीकृत) देशका प्रत्येकलाई जारी गरिएका प्रत्येक ग्रीनकार्डको सम्पूर्ण रूपमा, गहन पुन: परीक्षण" गर्न आफूलाई निर्देशन दिएको बताए।
ती सूचीकृत देशहरू कुन कुन हुन् भनेर बीबीसीले सोध्दा उक्त निकायले गत जुन महिनामा ह्वाइट हाउसले जारी गरेको घोषणातर्फ औँल्यायो जसमा अफगानिस्तान, क्युबा, हेइटी, इरान, सोमालिया र भेनेजुएला समेत थिए।
ट्रम्पले एच-वानबी भिसा शुल्क १ लाख डलर पुर्याउँदा भारतमा किन धेरै चिन्ता
अमेरिकी अदालतद्वारा नेपालीसहित तीन देशका नागरिकको टीपीएस सुविधा खारेज गर्ने बाटो खुला
किन भयो यस्तो आदेश?
बुधवार वाशिङ्टन डीसीमा एकजना अफगान नागरिकले दुईजना न्याशनल गार्ड सैनिकलाई गोली हानेपछि यस्तो आदेश दिइएको छ।
ती दुवै गम्भीर घाइते भएका थिए। तीमध्ये एकजनाको निधन भएको राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्।
गोली हान्ने संदिग्ध रहमानुल्लाह लकनवाल सन् २०२१ मा अमेरिका आएका थिए। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिएपछि लागु गरिएको विशेष आप्रवासन योजनाअन्तर्गत उनी अमेरिका पुगेका थिए।
सो गोलीकाण्डले राष्ट्रिय सुरक्षा खतरा देखाएको राष्ट्रपति ट्रम्पले बताएका छन्।
एड्लोले सामाजिक सञ्जालमा बिहीवार गरेको पोस्टमा ग्रीनकार्डको वृहत् समीक्षालाई उक्त घटनासँग सोझै जोडेका थिएनन्।
"यो देश र अमेरिकी जनताको सुरक्षा सर्वाधिक महत्त्वपूर्ण हो। विगतका प्रशासनका लापरबाहीपूर्ण पुनर्वास नीतिको लागत अमेरिकी जनताले बेहोर्ने छैनन्," एड्लोले भने।
कस्तो हुनेछ पुन: परीक्षण?
ग्रीनकार्डको पुन: परीक्षण कस्तो हुने छ भनेर थप जानकारी दिइएको छैन।
जुनको घोषणामा एड्लोको एजेन्सीले बीबीसीसँगको कुराकानीमा उसको लक्ष्य "विदेशी आतङ्ककारी तथा अन्य राष्ट्रिय सुरक्षा र सार्वजनिक सुरक्षा खतरा"लाई अमेरिका भित्रन नदिने रहेको जनाएको थियो।
सुरक्षा चिन्ताका साथै बिजिनेस, विद्यार्थी एवं पर्यटक भिसामा तोकिएकोभन्दा धेरै समय अमेरिका बस्ने मानिसको सङ्ख्या धेरै भएका देशहरू उक्त सूचीमा परेको प्रशासनले बताएको थियो।
"स्पेसली डेजिग्नेटेड ग्लोबल टेररिस्ट समूह भनेर तोकिएको तालिबानको नियन्त्रणमा अफगानिस्तान छ," जुनको घोषणामा उल्लेख छ। "अफगानिस्तानमा पासपोर्ट वा नागरिक दस्ताबेज जारी गर्ने सक्षम र सहयोगी केन्द्रीय निकाय छैन र त्यहाँ उचित परीक्षणका प्रक्रियाहरू पनि छैनन्।"
सो सूचीमा परेका अन्य देशहरूमा म्यान्मार, चाड, रिपब्लिक अफ कङ्गो र लिबिया छन्।
बुधवार वाशिङ्टन डीसीमा ह्वाइट हाउस नजिकै भएको गोली काण्डपश्चात् ट्रम्पले कडा प्रतिक्रिया जनाए।
"यो हमलाले हाम्रो देशले सामना गरिरहेको सबभन्दा ठूलो राष्ट्रिय सुरक्षा खतरा जनाउँछ," उनले भने। "विगतको प्रशासनले अन्जान र अपरीक्षित २ करोड विदेशीलाई संसारभरिबाट भित्रन दियो, त्यस्ता ठाउँबाट समेत जसको तपाईँलाई थाहा पाउन पनि मन हुने छैन। आफ्नै अस्तित्वको त्यस्तो खतरालाई कुनै पनि देशले सहन सक्दैन।"
गत साता यूएस सिटिजनशिप एन्ड इमिग्रेशन सर्भिसेजले पूर्व राष्ट्रपति जो बाइडनको पालामा भित्र्याइएका सबै शरणार्थीहरूको समीक्षाको घोषणा गरेको थियो।
बुधवार अमेरिकाले अफगानहरूको सम्पूर्ण आप्रवासन निवेदनमाथिका प्रक्रिया स्थगित गरिदिएको छ।
बस्ने कि जाने? 'हिँडेर' अमेरिका छिरेका चिनियाँको सपना ट्रम्पको शासनमा धमिलिँदै
चार देशका पाँच लाख आप्रवासीलाई अमेरिका छोड्न आदेश हुँदै
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: