कतारस्थित अमेरिकी सैन्य शिविरबाट सैनिकहरूलाई अन्यत्र सारिँदै
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्न सक्ने ठानिएको बेला अमेरिका र यूकेले कतारस्थित अल-अदेद सैन्य आधारशिविरमा रहेका आफ्ना सैनिकहरूको सङ्ख्या घटाउन थालेका छन्।
इरानमा जारी सरकारविरोधी प्रदर्शनमा २,४०० भन्दा बढी मानिसको मृत्यु भएको मानवाधिकारवादी समूहहरूले बताएका छन्। ट्रम्पले इरानविरुद्ध कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।
अमेरिकी अधिकारीहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएअनुसार आंशिक सैन्यफिर्ती "पूर्वसावधानीको उपाय"का रूपमा गरिएको हो। बीबीसीले यूकेले पनि केही सैनिकहरूलाई उक्त स्थानबाट अन्यत्र सार्न थालेको थाहा पाएको छ।
आयातोल्लाह अली खामेनेई को हुन्, कसरी इरानको सत्तामा पुगे
इरानको झण्डा हटाएर सिंह र सूर्य अङ्कित झण्डा किन राख्दै छन् प्रदर्शनकारीहरू
कतार सरकारको एउटा विज्ञप्तिमा अहिले अमेरिकाले चालेको भनिएका कदमहरू "विद्यमान क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप हुन्" भन्ने उल्लेख गरिएको छ।
यूकेको विदेश मन्त्रालयले तेहरानस्थित ब्रिटिश दूतावास अस्थायी रूपमा बन्द गरेको र अन्त्यबाटै दूतावासको काम सञ्चालन हुने ब्रिटिश सरकारका एक प्रवक्ताले बताएका छन्।
दोहास्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीहरूलाई अझ सतर्क रहन र अल-अदेद शिविरतिर काम नपरी नजान सुझाव दिएको छ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि इरानमा बस्दै र काम गर्दै आएका नेपाली नागरिकहरूलाई इरानका अधिकारीहरूले सुरक्षाका लागि जारी गर्ने निर्देशन पालना गर्न, घरभित्रै बस्न र सतर्क रहन तथा अरूलाई स्थिति सामान्य नभएसम्म इरानको यात्रा नगर्न सुझाव दिएको छ।
इटली र पोल्यान्डले आफ्ना नागरिकहरूलाई इरान छोड्न आह्वान गरेका छन्।
मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य आधारशिविर
सैनिकहरूलाई अन्यत्र सारिएको विषयबारे प्रतिक्रिया व्यक्त गर्दै कतार सरकारले कतारी नागरिक र कतारमा बसोबास गर्ने मानिसहरूको सुरक्षा सुनिश्चित गर्नु तथा महत्त्वपूर्ण भौतिक संरचनाहरू र सैन्यस्थलहरू जोगाउनु आफ्नो "पहिलो प्राथमिकता" भएको जनाएको छ।
"सुरक्षाको कारण" भन्दै यूकेको रक्षा मन्त्रालयका एक प्रवक्ताले ब्रिटिश सैनिकहरूलाई स्थानान्तरण गर्न थालिएको विषयमा प्रकाशित विवरणबारे प्रतिक्रिया व्यक्त गर्न मानेनन्।
अल-अदेद मध्यपूर्वस्थित सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर हो। त्यहाँ झन्डै १०,००० अमेरिकी र १०० जनाजति ब्रिटिश सैनिकहरू छन्। यद्यपि तीमध्ये कति जनालाई अन्यत्र लगिन्छ भन्ने स्पष्ट छैन।
कूटनीतिज्ञहरूलाई उद्धृत गर्दै रोएटर्सले केही सैनिकहरूलाई अल-अदेद शिविर छोड्न भनिएको तर गत वर्ष इरानले आक्रमण गरेको बेलामा जस्तो ठूलो सङ्ख्यामा सैनिकहरूलाई बाहिर निकालिएको सङ्केत अहिले नदेखिएको जनाएको छ।
इरानमा जारी विरोधप्रदर्शन 'अभूतपूर्व' मानिनुका पाँच कारण
इरानमा दुई हजार प्रदर्शनकारीको मृत्युबीच ट्रम्पले भनेः 'सहायता पुग्दै छ'
सैन्य कारबाहीको सम्भावना टरेको छैन
केही दिनअघि ट्रम्पले इरानविरुद्ध "निकै ठूलो कारबाही" गर्ने चेतावनी दिएका थिए। इरानले प्रत्याक्रमण गर्ने जनाएको थियो।
यद्यपि बुधवार ट्रम्पले इरानमा "मान्छे मारिने क्रम रोकिएको र मृत्युदण्ड दिने योजना नभएको" विश्वासिलो सूचना आफ्नो प्रशासनले पाएको बताएका छन्।
पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै ट्रम्पले "उतापट्टि भएका निकै महत्त्वपूर्ण स्रोतहरू"ले त्यस्तो जानकारी दिएको र त्यो सत्य हो भन्ने आफ्नो आशा रहेको बताए।
के सैन्य कारबाहीको सम्भावना अब टरेको हो भन्ने प्रश्नमा उनले भने, "[अबको] प्रक्रिया के हुन्छ भन्ने हामी निगरानी गर्ने छौँ।"
यद्यपि उनले सैन्य कारबाहीको सम्भावना अझै रहेको कुरा अस्वीकार भने गरेनन्।
इरानसँग व्यापार गरिरहेका देशमाथि २५ प्रतिशत ट्रम्प ट्यारिफ
पदच्युत इरानी राजाका निर्वासित छोरा रेजा पह्लवी को हुन्?
विमानहरूले इरानी आकाशमार्ग प्रयोग नगर्ने
अमेरिकी उड्डयन निकायको वेबसाइटमा प्रकाशित जानकारीअनुसार इरानले बिहीवार बिहान स्थानीय समयानुसार २ः४५ बजेदेखि आफ्नो आकाशमा कुनै पनि विमानलाई उड्न नपाउने गरी रोक लगाएको थियो।
सुरुमा त्यस्तो रोक दुई घण्टाका लागि थियो तर पछि ८ः०० बजेसम्म लम्ब्याइएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
एअर इन्डिया र लुफ्ट्हान्जासहित केही विमानसेवा कम्पनीहरूले इरानको आकाश प्रयोग गर्नुनपर्ने गरी उडानमार्ग परिवर्तन गर्ने घोषणा गरेका छन्।
एअर इन्डियाले उक्त क्षेत्रमा उडानमार्ग परिवर्तन गरिएकाले उडानहरू ढिलो वा स्थगित हुन सक्ने जनाएको छ। लुफ्ट्हान्जाले एउटा विज्ञप्तिमार्फत् आफ्ना विमानहरूले "अर्को सूचना प्रकाशित नभएसम्म" इरान र इराकमाथिको आकाशमार्ग प्रयोग नगर्ने जनाएको छ।
जर्मनीले मध्यपूर्वमा द्वन्द्व बढेको र विमानभेदी अस्त्रहरू प्रयोग हुन सक्ने जोखिम पनि बढेको भन्दै वायुसेवा प्रदायकहरूलाई तेहरानको आकाशमा प्रवेश नगर्न सूचित गरेको छ।
भेनेजुएलापछि ट्रम्पले 'आँखा लगाउन सक्ने' पाँच देशहरू
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई को हुन् र उनको परिवार कति प्रभावशाली छ?
इरानको योजना
इरानी अधिकारीहरूले इरानमा सैन्य हस्तक्षेप गर्न अमेरिकाले "बहाना खोजेको" आरोप लगाएका छन्।
इरानी संसद्का सभामुखले यदि अमेरिकाले आक्रमण गरे इरानले मध्यपूर्वमा अवस्थित इजरेली र अमेरिकी सैन्य तथा जलमार्गकेन्द्रहरूलाई निसाना बनाउने चेतावनी दिएका छन्।
फक्स न्यूजसँग बुधवार कुराकानी गर्दै इरानका विदेशमन्त्री अब्बास अराग्चीले ट्रम्पलाई "जुन महिनामा गरे जस्तो गल्ती नदोहोर्याउन" चेतावनी दिए।
"विफल भएको कुरा फेरि दोहोर्याए तपाईँले पाउने परिणाम त उही हो," उनले भने।
एक २६ वर्षीय प्रदर्शनकारीलाई मृत्युदण्ड दिन लागिएको विवरणबारे प्रतिक्रिया दिँदै अराग्चीले "त्यस्तो सम्भावना नरहेको" र "आज वा भोलि कसैलाई पनि फाँसी नदिइने" बताए।
इरानमा चर्को मूल्यवृद्धि र देशको मुद्रा रिआलको अवमूल्यनका कारण डिसेम्बर महिनाको अन्तिमतिरबाट मानिसहरूले विरोधप्रदर्शन गर्न थालेका हुन्।
त्यसले चाँडै राजनीतिक रङ्ग लियो र सन् १९७९ मा इस्लामिक क्रान्तिपछि स्थापित धर्मगुरुको शासन अन्त्य हुनुपर्ने माग चर्कियो।
मानवाधिकारवादी संस्था ह्यूमन राइट्स वाचका अनुसार अहिलेसम्म १२ बालबालिकासहित २,४०३ प्रदर्शनकारीको मृत्यु भएको छ भने १८,४०० जनाभन्दा बढी पक्राउ परेका छन्।
एम्नेस्टी इन्टर्न्याश्नलले "आधिकारिकता पुष्टि भएका भिडिओहरू र प्रत्यक्षदर्शीहरूबाट प्राप्त विश्वसनीय सूचना"का आधारमा इरानमा "अभूतपूर्व सङ्ख्यामा गैरकानुनी रूपमा सामूहिक हत्याहरू" गरिएको दाबी गरेको छ।
उक्त संस्थाले राष्ट्रसङ्घका सदस्यराष्ट्रहरूलाई विरोधप्रदर्शनका क्रममा "सुरक्षा निकायहरूले गरेका अपराधहरू" चिन्न आह्वान पनि गरेको छ।
अमेरिकाले आक्रमण गरे प्रत्याक्रमण गर्ने इरानको चेतावनी
इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: