हातले छामेरै १३ घण्टाको जाँच – संसारकै लामो दक्षिण कोरियाको कलेज प्रवेश परीक्षा
दक्षिण कोरियामा प्रत्येक वर्ष नोभेम्बरमा कलेजमा भर्ना हुन लिइने प्रवेशपरीक्षा हुन्छ। निकै लामो र कठिन भएकाले कुख्याति कमाएको उक्त परीक्षाका बेला दक्षिण कोरिया ठप्पप्राय: हुन्छ।
परीक्षा हुने दिन पसलहरू बन्द रहन्छन्, आवाज कम होस् भनेर उडानहरू ढिलो गरिन्छन् अनि विद्यार्थीहरूलाई सहज होस् भनेर बिहानीपख चहलपहल पनि कम हुन्छ। दिन ढल्दै गरेपछि अधिकांश परीक्षार्थीहरू राहतको सास फेर्दै स्कूल गेटबाट बाहिरिन्छन् र बाहिर कुरेर बसेका आफन्त र अभिभावकलाई अङ्कमाल गर्छन्।
तर सबैले त्यही समयमा परीक्षा सिध्याउन सक्दैनन्। अँध्यारो भएर रात परेपछि पनि केही विद्यार्थीहरू परीक्षा कोठामै हुन्छन् - राति १० बजेतिर बल्ल उनीहरूको जाँच सकिन्छ। उनीहरू नेत्रहीन विद्यार्थी हुन् जसले 'सुनुङ' भनिने उक्त परीक्षाको लामो संस्करणअन्तर्गत १२ घण्टाभन्दा लामो समय परीक्षा दिन्छन्।
के केही मानिस जन्मजात गणितमा कमजोर हुन्छन्
आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो
बिहीवार ५.५० लाखभन्दा धेरै विद्यार्थी सुनुङ - कलेज स्कोलास्टिक एबिलिटी टेस्ट (सीएसएटी) - परीक्षामा सहभागी भए। सात वर्षयताकै यो सबभन्दा धेरै परीक्षार्थी सङ्ख्या हो।
यो परीक्षाले विद्यार्थीको विश्वविद्यालयमा जान पाउने सम्भावना मात्र नभई तिनको रोजगारी, आम्दानी, तथा भविष्यको सम्बन्ध पनि निर्धारण गर्छ।
छनोट गरेको विषयका आधारमा विद्यार्थीहरूले कोरियाली भाषा, गणित, अङ्ग्रेजी, सामाजिक वा प्राकृतिक विज्ञान तथा अतिरिक्त विदेशी भाषा, र हान्जा (कोरियनमा प्रयोग हुने शास्त्रीय चिनियाँ लिपि) अन्तर्गत झन्डै २०० वटा प्रश्नको उत्तर दिनुपर्छ।
अधिकांश विद्यार्थीका निम्ति यो भनेको विश्राम नलिई दिइने आठ घण्टा लामो परीक्षा हो। उनीहरू सुनुङ परीक्षा बिहान ८:४० मा सुरु गर्छन् अनि साँझ करिब ५:४० मा सिध्याउँछन्।
दृष्टिमा गम्भीर समस्या भएका नेत्रहीन विद्यार्थीहरूलाई १.७ गुना धेरै समय उपलब्ध गराइन्छ।
अर्थात् यदि उनीहरूले अतिरिक्त विदेशी भाषाको विषय पनि रोजेका छन् भने उनीहरूको परीक्षा सकिँदा लगभग रातिको ९:४८ भइसक्छ - झन्डै १३ घण्टा लामो।
बीचमा खानाको लागि कुनै समय दिइँदैन। निरन्तर परीक्षा दिइरहनुपर्छ।
ब्रेल लिपिका परीक्षा पेपरहरू भद्दा हुन्छन्। प्रत्येक वाक्य, चित्र तथा सङ्केतलाई ब्रेलमा परिणत गर्दा प्रत्येक प्रश्नपत्र सामान्यभन्दा छदेखि नौगुना बाक्लो हुन्छ।
सोलको हान्बिट स्कूल फर द ब्लाइन्डमा पढ्ने १८ वर्षीय हान डङ-ह्यन यो वर्ष सुनुङ प्रवेशपरीक्षाको लामो संस्करण परीक्षामा बस्ने एक विद्यार्थी हुन्।
गत वर्ष देशभरि १११ जना दृष्टिहीन परीक्षार्थी थिए। कोरियाको शिक्षा मन्त्रालय तथा पाठ्यक्रम तथा परीक्षण निकायका अनुसार तीमध्ये ९९ जना न्यून दृष्टि भएका र डङ-ह्यनजस्तै १२ जना गम्भीर दृष्टिदोष भएका परीक्षार्थी थिए।
डङ्-ह्यन जन्मजात पूर्णतः दृष्टिहीन छन्।
बीबीसीले उनलाई उनको स्कूलमा नोभेम्बर ७ मा भेट्दा उनी विगतका परीक्षामा आएका प्रश्नहरूको सँगालो रहेको एउटा ब्रेल लिपिको अभ्यासपुस्तिकामा आफ्ना औँलाहरू छिटोछिटो चलाउँदै थिए।
परीक्षालाई एक सातामात्र बाँकी रहँदा उनी आफ्नो शारीरिक ऊर्जा र अवस्थातर्फ ध्यान केन्द्रित गर्दै थिए। उनले ब्रेल लिपिको प्रश्नपत्र तथा स्क्रीन पढ्ने कम्प्युटर प्रयोग गरेर जाँच दिँदै छन्।
"यो एकदमै थकानपूर्ण हुने छ किनभने परीक्षा निकै लामो छ," उनले भने। "तर यसलाई सिध्याउने कुनै सरल उपाय छैन। मैले आफ्नो पाठ्य रूटिन पछ्याउनु र आफ्नो अवस्थाको व्यवस्थापन गर्नुको विकल्प छैन।"
५० वर्ष पुरानो गणितीय 'गाँठो' एक हप्तामै फुकाइदिइन् यी विद्यार्थीले
गणित: अनावश्यक बोझ कि अत्यावश्यक ज्ञान
डङ-ह्यनका अनुसार उनका निम्ति कोरियाली भाषाको परीक्षा अलि कठिन हुन्छ। उक्त विषयको सामान्य प्रश्नपत्र लगभग १६ पेजको हुन्छ - तर ब्रेल लिपिको प्रश्नपत्र चाहिँ करिब १०० पेज लामो हुन्छ।
स्क्रीन पढ्ने सफ्टवेअर भए पनि बोलेका सूचना एकैछिनमा हराइहाल्छ। लिखतजस्तो घरिघरि पढ्न मिल्दैन। त्यसैले डङ-ह्यनले सुन्नेबित्तिकै कण्ठ पारिहाल्नुपर्छ।
गणित पनि उत्तिकै गाह्रो हुन्छ।
जटिल ग्राफ तथा टेबललाई ब्रेलमा परिणत गरिएका हुन्छन् जसलाई उनले औँलाले छामेर बुझ्नुपर्छ।
तर अहिले पहिलेभन्दा धेरै थोक सुधारिएको उनी बताउँछन्। विगतमा विद्यार्थीहरूले सबै हिसाब मनमनै गर् पर्थ्यो। तर सन् २०१६ देखि चाहिँ नेत्रहीन परीक्षार्थीहरूले ह्यान्सोन भनिने ब्रेल नोट प्रयोग गर्न पाएका छन्।
"आँखा देख्ने परीक्षार्थीहरूले तिनको हिसाब पेन्सिलले नोटकपीमा गरेको जस्तै हामीले ह्यान्सोनमा ब्रेलको उपयोग गरेर हिसाब गर्छौँ," उनले भने।
हान्बिट स्कूल फर द ब्लाइन्डका अर्का विद्यार्थी १८ वर्षीय ओह ज्योङ-वनका अनुसार यो परीक्षाका बेला दिउँसो अबेरको समय 'सबभन्दा कठिन' हुन्छ।
"खाजा खाने समयसम्म ठिकै हुन्छ," उनले भने। "त्यसपछि ४ वा ५ बजेतिर अङ्ग्रेजी सकिएर कोरियाली इतिहास सुरुहुनु अगाडितिर एकदमै गाह्रो हुन्छ।"
"रातिको खानाका लागि कुनै समय हुँदैन," उनले भने। "सामान्यतया हामीले खाना खाने समयमा समस्या समाधान गरिरहनुपर्छ। त्यसैले झन् थकाइ लाग्छ। तैपनि अन्त्यमा मिल्ने काम सिध्याएको अनुभूति सम्झिएर म निरन्तर लागिपर्छु।"
ज्योङ-वनका निम्ति थकान अझ जटिल किन हुन्छ भने उनले दुवै हात तथा श्रवणमा निरन्तर ध्यान दिइरहनुपर्छ।
"जब म औँलाले ब्रेल पढिरहेको हुन्छु अनि श्रव्यसामग्री पनि सुनिरहेको हुन्छु मलाई अरू आँखा देख्ने विद्यार्थीहरूलाई भन्दा झन् थकान हुन्छ," उनले भने।
तर विद्यार्थीहरूका अनुसार परीक्षाको अवधि वा पढ्नका लागि दिनुपर्ने लामो समय मात्र पनि तिनको निम्ति सबभन्दा कठिन काम होइन। त्योभन्दा पनि गाह्रो त पठनपाठनको सामग्रीको पहुँच हुने गरेको ती नेत्रहीन विद्यार्थीहरू बताउँछन्।
चल्तीका पाठ्यपुस्तक तथा अनलाइन लेक्चर जसमा सामान्य विद्यार्थी निर्भर हुन्छन्, उनीहरूको निम्ति पहुँचमा हुँदैन।
ब्रेल संस्करणमा निकै थोरै सामग्री उपलब्ध हुन्छन्। पठनपाठनका सामग्रीलाई श्रव्य सामग्रीमा रूपान्तरण गर्दा धेरै परिमाणमा टेक्स्ट फाइल आवश्यक पर्छ जुन प्राप्त गर्न गाह्रो हुन्छ। कैयौँ मामिलामा कसैले सम्पूर्ण अभ्यासपुस्तिकाहरू हातैले टाइप गरिदिए मात्र उनीहरूलाई उपयोगी हुन सक्छ।
अन्लाइन लेक्चरहरूको पनि आफ्नै चुनौती छ। कैयौँ शिक्षकहरूले दृश्यात्मक नोट, चित्र तथा ग्राफिक्सलाई स्क्रीनमा देखाएर विषयवस्तु बुझाउँछन्। तिनलाई सुनेर मात्र बुझ्न सकिन्न।
सरकारले तयार पार्ने ईबीएस तयारी पुस्तकहरूको ब्रेल संस्करण प्राप्त गर्न हुने विलम्ब उनीहरूका निम्ति सबभन्दा महत्त्वपूर्ण तगारो हो। राष्ट्रिय परीक्षासँग निकै जोडिएको तयारी सामग्रीहरू त्यसमा हुन्छ।
उक्त विलम्बका कारण अरूले भन्दा धेरै महिना पछाडिमात्र नेत्रहीन विद्यार्थीहरूले तयारी पुस्तकहरू पाउँछन्।
"आँखा देख्ने विद्यार्थीहरूले ईबीएस किताब ज्यानुअरीदेखि मार्चसम्म पाइसक्छन् र एक वर्ष पढ्ने समय पाउँछन्," ज्योङ-वनले भने। "तर हामीले ब्रेल संस्करण अगस्ट वा सेप्टेम्बरतिर मात्र पाउँछौँ। अर्थात् हामीले जाँच अगाडि केही महिनामात्रै त्यो पढ्न पाउँछौँ।"
डङ-ह्यनको पनि उस्तै चिन्ता छ।
"जाँच आउनु ९० दिन पनि बाँकी नहुँदा बल्ल ब्रेल सामग्री तयार हुन्छन्," उनले भने। "यसको प्रकाशन समय छिटो होस् भन्ने मैले निरन्तर चाहेको थिएँ।"
यस्तो ढिलाइबारे बीबीसीले कोरियाली शिक्षा अधिकारीहरूलाई सोधेको छ।
यी विद्यार्थीहरूका निम्ति सुनुङ केवल कलेज प्रवेश परीक्षा मात्र होइन, वर्षौँको परिश्रमले तिनलाई जहाँ पुर्याएको छ त्यसको प्रमाण पनि हो।
यो परीक्षालाई ज्योङ-वनले "दृढ परिश्रम" मान्छन्।
"दृढ परिश्रमबिना तपाईँले जीवनमा केही गर्न सक्नुहुन्न," उनले भने।
उनीहरूका शिक्षक काङ स्योक-जु हरेक वर्ष दृष्टिहीन विद्यार्थीहरूले यस परीक्षाका लागि प्रस्तुत गर्ने सहनशक्तिलाई "गजब" मान्छन्।
"ब्रेल पढ्नु भनेको उठेका थोप्लाहरू औँलाले छामेर ठम्याउने काम हो। निरन्तर चलाउँदा औँला दुख्छ," उनले भने। "तर ती विद्यार्थीहरूले घण्टौँसम्म यसो गरिरहन्छन्।"
काङ आफ्ना विद्यार्थीहरूलाई दु:खमनाउ गर्नुको साटो काम सिध्याएकोमा गर्व गर्न सुझाव दिन्छन्।
"पहिलो ग्रेडदेखि पढेका हरेक कुरालाई एकै दिनमा बताउने काम हो यो परीक्षा," उनले भने। "अधिकांश विद्यार्थी परीक्षापश्चात् निराश हुन्छन् तर मलाई लाग्छ उनीहरूले आफूले सकेको गरेको अनुभूति गर्नुपर्छ।"
"परीक्षा नै सबथोक होइन।"
सबैभन्दा कम उमेरमा विश्वविद्यालयको अध्ययन पूरा गरेका नौ वर्षे बालक
आधुनिक गणितको सुरुवात एउटा विलुप्त इस्लामिक पुस्तकालयबाट कसरी भयो
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: