नाइजिरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाले 'शक्तिशाली हमला' गरेको ट्रम्पको भनाइ

नाइजिरियामा इस्लामिक स्टेटविरुद्ध अमेरिकाले 'शक्तिशाली हमला' गरेको ट्रम्पको भनाइ

bbc.com . २ घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नाइजिरियाको उत्तर पश्चिम क्षेत्रमा रहेको इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अमेरिकाले शक्तिशाली र घातक आक्रमण गरेको बताएका छन्।

अमेरिकी नेताले आईएसलाई "आतङ्कवादी बदमाश" भनेर व्याख्या गर्छन् र उक्त समूहले "मुख्य रूपमा निर्दोष इसाईहरूलाई निशाना बनाएर निर्मम हत्या गरेको आरोप लगाएका छन्।"

ट्रम्पले अमेरिकी सेनाले "कैयौँ उत्कृष्ट हमलाहरू गरेको" बताएका छन्, जबकि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले "नाइजिरियाको सरकारको सहयोग र सहकार्यका लागि आफू आभारी रहेको भन्दै मेरी क्रिसमस!" भनेका छन्।

पछि यूएस अफ्रिका कमान्डले सोकटा राज्यमा नाइजिरियासँगको सहकार्यमा हमलाहरू गरिएको जनाएको छ। त्यसबाहेक नाइजिरियाका विदेश मन्त्री युसुफ मेटमा टुगारले बीबीसीसँग बोल्दै त्यो "संयुक्त कारबाही" भएको बताए।

'बोन्डाइ बीच आक्रमणलाई प्रेरित गर्ने' इस्लामिक स्टेट के पुन: बलियो बनेको हो?

तालिबान, अलकायदा र इस्लामीक स्टेट कसरी फरक छन्?

टुगारले थप आक्रमणको सम्भावनालाई अस्वीकार गरेनन् र यो "दुई देशका नेतृत्वले लिने निर्णयमा भर पर्ने" बताए।

गत नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजिरियामा इस्लामिक लडाकु समूहहरूसँग जुध्नका लागि कारबाहीको तयारीमा जुट्न निर्देशन दिएका थिए।

ट्रम्पले के भने?

ट्रुथ सोसलमा बिहीवार अबेर आफ्नो पोस्टमा ट्रम्पले भनेका छन्, "मेरो नेतृत्वमा हाम्रो देशले कट्टरपन्थी इस्लामिक आतङ्कवादलाई समृद्ध हुन दिनेछैन।"

नोभेम्बरमा आफ्नो चेतावनीमा उनले कुन हत्याको सङ्केत गरिरहेका थिए भनेर खुलाएका थिएनन् - तर नाइजिरियाका इसाईहरू विरुद्ध नरसंहारको दाबीहरू हालैका महिनाहरूमा केही दक्षिणपन्थी अमेरिकी वृत्तमा फैलिरहेका छन्।

हिंसाको निगरानी गर्ने समूहहरूले नाइजिरियामा मुस्लिमहरू भन्दा बढी इसाईहरू मारिएका छन् भन्ने कुनै प्रमाण नभएको बताएका छन्। नाइजिरियामा दुवै धर्मका अनुयायीहरू लगभग समान रूपमा विभाजित छन्।

नाइजिरियाका राष्ट्रपति बोला टुनुबुका सल्लाहकारले त्यति बेला बीबीसीलाई जिहादी समूहविरुद्ध कुनै पनि सैन्य कारबाही मिलेर गरिनुपर्ने बताएका थिए।

ड्यानिअल ब्वालाले इस्लामिक विद्रोहीसँग जुध्न नाइजिरियाले अमेरिकी सहयोगको स्वागत गर्ने बताए तर यो एक "सार्वभौम" देश भएको उल्लेख गरे।

उनले जिहादीहरूले कुनै विशेष धर्मका सदस्यहरूलाई निशाना नबनाएका र उनीहरूले सबै धर्मका मानिसहरूलाई मारेको वा कुनै पनि धर्मका मानिसहरूलाई नमारेको पनि बताए।

सन् २०२३ मा इस्लामिक स्टेटलाई के भयो?

अफगानिस्तान: काबुलमा आक्रमण गर्ने 'आईएसआईएस-के' कस्तो समूह हो?

राष्ट्रपति टुनुबुले देशमा धार्मिक सहिष्णुता रहेको बताउँदै सुरक्षा चुनौतीले "विभिन्न धर्म र क्षेत्र"का मानिसहरूलाई असर गरिरहेको बताएका छन्।

ट्रम्पले यसअघि नाइजिरियाको इसाई जनसङ्ख्याको "अस्तित्वमा खतरा" उत्पन्न भएकाले नाइजिरियालाई "विशेष चासोको देश" घोषणा गरेका थिए। उनले कुनै प्रमाण नदिई "हजारौँ" मारिएको बताएका थिए।

यो अमेरिकी विदेश मन्त्रालयले प्रयोग गरेको एउटा नाम हो जसले "धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घनमा संलग्न देशहरू" विरुद्ध प्रतिबन्धको व्यवस्था गर्दछ।

यो घोषणापछि टिनुबुले आफ्नो सरकार सबै धर्मका समुदायहरूको रक्षा गर्न अमेरिका र अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न प्रतिबद्ध रहेको बताए।

बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिकी प्रोभिन्स जस्ता जिहादी समूहहरूले उत्तर पूर्वी नाइजिरियामा एक दशकभन्दा बढी समयदेखि अत्यधिक विनाश गराएका छन्।

विश्वभरको राजनीतिक हिंसाको विश्लेषण गर्ने समूह एक्लेडका अनुसार हजारौँ मानिसहरू मारिएका छन् - तर यीमध्ये अधिकांश मुस्लिम छन्।

मध्य नाइजिरियामा प्रायः मुस्लिम गोठालाहरू र किसान समूहहरूबीच पानी र चरनको पहुँचलाई लिएर बारम्बार झडप हुने गरेको छ।

जस्तालाई तस्तै भन्ने खालका आक्रमणको घातक चक्रमा पनि हजारौँको मृत्यु भएको छ - तर दुवै पक्षबाट अत्याचार गरिएको छ।

मानवअधिकारवादी समूहहरूले इसाईहरूलाई असमानरूपमा निशाना बनाइएको कुनै प्रमाण नभएको बताएका छन्।

गत साता अमेरिकाले सिरियामा पनि आइएसविरुद्ध "व्यापक हमला" गरेको बताएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.