भूतपूर्व ब्रिटिश मन्त्री ट्यूलिप सिद्दिकलाई बाङ्ग्लादेशी अदालतद्वारा 'जेल सजाय'
ब्रिटिश सांसद तथा पूर्वमन्त्री ट्यूलिप सिद्दिकलाई बाङ्ग्लादेशको एउटा अदालतले सोमवार भ्रष्टाचारको मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको छ। अन्य १६ व्यक्तिसहित उनलाई उनको अनुपस्थितिमै मुद्दा चलाइएको थियो।
उनलाई ढाकाको बाह्य भागमा आफ्नो परिवारलाई जग्गा दिलाउन बाङ्ग्लादेशकी सत्ताच्युत प्रधानमन्त्री तथा आफ्नी ठूलीआमा शेख हसिनालाई प्रभावित पारेको कसुरमा दोषी ठहर गरिएको हो। यद्यपि सिद्दिकले उक्त आरोप खण्डन गर्दै आएकी छन्।
लन्डनमा बस्ने सिद्दिकले उक्त सजाय भोग्ने सम्भावना देखिँदैन। उनीविरुद्ध बाङ्ग्लादेशमा विभिन्न अभियोगमा अझै मुद्दाहरू बाँकी छन्।
बाङ्ग्लादेशमा भूतपूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिने फैसला
शेख हसिनाका कारण अप्ठ्यारोमा बाङ्ग्लादेश-भारत सम्बन्ध, दिल्लीले अब के गर्ला
बाङ्ग्लादेशमा शेख हसिनाको सत्ता ढलेपछि सरकारी अभियोजनकर्ताहरूले उनी, उनका सहयोगी र परिवारका सदस्यहरूविरुद्ध मुद्दा हालेका छन्।
सिद्दिक शेख हसिनाकी बहिना रेहाना सिद्दिक की छोरी हुन्। सत्ताच्युत नेत्रीसँगको व्यक्तिगत सम्बन्धबारे प्रश्न उठेपछि उनले गत ज्यानुअरीमा प्रधानमन्त्री किअर स्टार्मरको मन्त्रिपरिषद्बाट राजीनामा दिएकी थिइन्।
बाङ्ग्लादेशको अदालतमा पेस गरिएको कागजमा सिद्दिकले "आफ्नी आमा रेहाना सिद्दिक, बहिनी अज्मिना सिद्दिक र दाइ रद्वान सिद्दिकलाई ढाकामा [एउटा जग्गा] उपलब्ध गराउन आफ्नी ठूलीआमा तथा पूर्वप्रधानमन्त्री शेख हसिनालाई उनमा निहित विशेष शक्ति प्रयोग गर्न बाध्य बनाइन् र प्रभावित गरिन्" भनिएको छ।
यसअघि बाङ्ग्लादेशको भ्रष्टाचारविरोधी आयोग एसीसीले सिद्दिकको बाङ्ग्लादेशी राहदानी, परिचयपत्र र कर प्रणालीमा दर्ता भएको नम्बर अधिकारीहरूले फेला पारेकाले उनलाई बाङ्ग्लादेशी नागरिकका रूपमा मुद्दा चलाइएको बताएको थियो।
सिद्दिकका वकिलहरूले उनी बाङ्ग्लादेशी नागरिक हुन् भन्ने दाबीको प्रतिवाद गरेका छन्। उनीहरूले 'फाइनान्शल टाइम्स'लाई उनले "कहिल्यै बाङ्ग्लादेशको परिचयपत्र वा मतदाता परिचयपत्र नलिएको" र "बाल्यकालदेखि नै [बाङ्ग्लादेशको]राहदानी पनि नलिएको" बताएका छन्।
शेख हसिनालाई मृत्युदण्डको फैसला सुनाउँदा अदालतभित्रै हर्षोल्लास
न्यायाधीश रबिउल आलमले सिद्दिकलाई दुई वर्षको कारागार सजयसँगै एक लाख टाका (८२१ अमेरिकी डलरजति) जरिवाना पनि सुनाए। जरिवाना नतिरे उनको जेल सजाय छ महिनाले थपिने छ।
आफूविरुद्ध बाङ्ग्लादेशमा मुद्दा सुरु भएपछि लेबर सांसद सिद्दिकले अभियोजनकर्ताहरूले "सञ्चारमाध्यममा मिथ्या र कष्टकारक आरोपहरू फैलाएको" तर "अनुसन्धानकर्ताहरूले त्यसबारे मसँग कहिल्यै औपचारिक रूपमा ती प्रस्तुत नगरेको" बताएकी थिइन्।
"आफूले केही गल्ती नगरेकोमा म सुरुदेखि नै स्पष्ट छु अनि मलाई दिइएको जुनसुकै विश्वसनीय प्रमाणबारे म बोल्छु। राजनीतिक लाभका लागि मेरो दुर्नाम गर्ने काम आधारहीन र हानिकारक छ," उनको नाममा सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको थियो।
मुद्दाको फैसला सार्वजनिक भएपछि भने उनले सार्वजनिक टिप्पणी गरेकी छैनन्।
गत साता वरिष्ठ वकिलहरूको एउटा समूहले यूकेस्थित बाङ्ग्लादेशी प्रतिनिधिसँग उक्त मुद्दामा सुनुवाइ भएको शैलीबारे चासो व्यक्त गरेका थिए।
उक्त समूहको विज्ञप्तिमा पूर्वकानुनमन्त्री रोबर्ट बक्ल्यान्ड, पूर्वमहान्यायाधिवक्ता डोमिनिक ग्रीभ र मानवाधिकावादी वकिल शरी ब्लेअरले पनि हस्ताक्षर गरेका थिए। लेडी ब्लेअर ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री टोनी ब्लेअरकी पत्नी हुन्।
उक्त विज्ञप्तिमा सिद्दिकले उक्त मुद्दाको सुनुवाइका लागि उपयुक्त कानुनी प्रतिनिधित्व हासिल गर्न नपाएको औँल्याइएको थियो। "त्यस्तो प्रक्रिया कृत्रिम अनि बलपूर्वक र अन्यायपूर्ण तरिकाले मुद्दा चलाउने प्रयास हो।"
शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय
शेख हसिनाले आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको सुनिने अडिओ रेकर्ड
गत वर्ष जुलाईमा भएका विरोधप्रदर्शन दमन गर्न तात्कालिक प्रधानमन्त्रीको भूमिकाबारे चलेको एउटा छुट्टै मुद्दामा शेख हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको दुई सातापछि हसिनाकी निकट नातेदार ट्यूलिप सिद्दिकको मुद्दामा पनि फैसला आएको हो। शेख हसिना गत वर्ष सत्ताच्युत हुँदै भारत पलायन भएकी थिइन्।
गत वर्ष बाङ्ग्लादेशमा आन्दोलन चर्किँदा सरकारले गरेको कारबाहीमा परी झन्डै १,४०० जनाको मृत्यु भएको थियो।
हसिनाविरुद्ध उनको अनुपस्थितिमै मुद्दा चलेको थियो। उनले आफूविरुद्ध लागेका सबै आरोपको खण्डन गर्दै आएकी छन्।
बाङ्ग्लादेशमा शेख हसिनाको सत्ता ढाल्न आन्दोलन गर्ने महिलाहरू
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्
अरू मुद्दा बाँकी नै
बाङ्ग्लादेशमा सिद्दिकविरुद्ध परेका अरू मुद्दामा सुनुवाइ चलिरहेको छ। तीमध्ये दुइटा मुद्दा सोमवारको फैसलासँग जोडिएका अभियोगहरूसँग सम्बन्धित छन्।
ढाकाको एउटा महँगो इलाकास्थित एउटा फ्ल्याट आफ्नी बहिनीलाई नामसारी गरेको भन्ने आरोपबारे पनि उनीमाथि अनुसन्धान जारी छ।
ढाकाको एउटा जग्गा प्रकरणमा शेख हसिना र उनका छोराछोरीविरुद्ध मुद्दा परेको थियो। गत साता उक्त मुद्दामा हसिनालाई दोषी ठहर गर्दै अदालतले उनलाई २१ वर्षको जेल सजाय सुनाएको थियो।
रुसी लगानी भएको परमाणु ऊर्जा प्लान्टसँग सम्बन्धित सन् २०१३ को एउटा सहमतिमा ३.९ अर्ब पाउन्ड हिनामिना गरेको आरोपमा पनि सिद्दिक र उनको परिवारमाथि अनुसन्धान भएको छ।
हसिनाका राजनीतिक प्रतिद्वन्द्वी बबी हज्जाले गरेका दाबीपछि उत्पन्न ती आरोपहरूको सिद्दिकले बारम्बार खण्डन गरेकी छन्।
यूकेले बाङ्ग्लादेशसँग सुपुर्दगी सन्धि गरेको छैन। यूकेमा भएका आरोपित व्यक्तिलाई बाङ्ग्लादेशलाई बुझाउन उक्त पक्षले ब्रिटिश वकिल र न्यायाधीशहरूसमक्ष स्पष्ट प्रमाण पेस गर्नुपर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: