जेन जी आन्दोलनले विस्थापित भएका केपी ओली एमाले नेतृत्वमा स्थापित
पार्टी अध्यक्षमा नवनिर्वाचित नेकपा एमालेका केपी शर्मा ओली गएको भदौ २३ र २४को जेन जी आन्दोलनले सत्ताबाट बाहिरिन बाध्य गराएको एक प्रमुख पात्र हुन्। त्यसबेला पुराना अन्य राजनीतिक दलका नेता जस्तै केपी ओली ओलीको बालकोट र झापाको घरमा आगजनी र तोडफोड भयो।
नेपाली सेनाको संरक्षणमा एक साताभन्दा बढी समय बसेर मात्रै ओली ब्यारेकबाट बाहिर फर्किन सकेका थिए। प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिएका ओलीका लागि जेन जी आन्दोलनपछि बालकोटस्थित घर फर्कन सक्ने अवस्थामा थिएन। उनी भक्तपुरको गुण्डूस्थित एउटा घरमा बसेर राजनीतिक गतिविधिमा संलग्न भैरहेका छन्।
त्यसबीचमा केही नेताहरूले एमालेमा तत्काल महाधिवेशन र नेतृत्व पुस्तान्तरणको बहस सुरु गरिसकेका थिए।
सार्वजनिक जीवनमा फर्किएदेखि नै ओलीले जेन जी आन्दोलनको आलोचना गर्न सुरु गरे।
राजनीतिक टिप्पणीकार डम्बर खतिवडा 'एमालेको महाधिवेशन प्रतिनिधिमा ओली समूहकै वर्चस्व रहेका' कारणले पनि हिंसात्मक आन्दोलनले सत्ताबाट हटाएका ओली पार्टी महाधिवेशन मार्फत नेतृत्वमा कायमै रहन सकेको धारणा राख्दछन्।
"ओली गुटले नै कब्जा गरेको र त्यही अनुसार महाधिवेशन प्रतिनिधिहरू छनौट भएर आएको हुनाले उनको जीत अस्वाभाविक भएन," खतिवडा भन्छन्।
एमाले महाधिवेशन के भदौको परिवर्तनपछि पार्टीमा परेको प्रभाव हेर्ने अवसर हो
अघिल्लो महाधिवेशनबाट चुनिएका यी पाँच जना अहिले दौडमा छैनन्
एमालेमा मतदान स्थगित हुनुको कारण अनि नतिजा थप ढिला गराउन सक्ने अरू कुरा
राजनीतिक टिप्पणीकार खतिवडा भन्छन्, "उनले पार्टीलाई चाहिँ आफ्नो सोच अनुसार ढालिसकेका रहेछन् भन्ने बुझ्नु पर्ने भयो। एमाले पार्टी परिवर्तन र जेन जी आन्दोलनका मुद्दाको सम्बोधन चाहनेहरूको विरुद्धको शक्तिका रूपमा उभिने भयो भन्ने यसले देखाउँछ," खतिवडा भन्छन्।
महाधिवेशनको केही दिन अघि काठमाण्डूमा सम्पादकहरूसँग बोल्दै ओलीले जेन–जी र सरकारबीच भएको सम्झौतालाई 'कलाविहीन भद्दा नाटक' भनेका थिए र सरकारलाई 'कसैले गोबर लगाएर टाँसेको' भनेर टिप्पणी गरेका थिए।
अधिवेशनमा उनलाई चुनौती दिने गरी प्यानल खडा गरेर दुई धारको प्रतिस्पर्धा भयो। तर पार्टीको आन्तरिक संरचनामा आफ्नो पक्षमा नेता कार्यकर्ताको समर्थन रहेको ओलीले महाधिवेशनबाटै पुष्टि गराउने गरेको प्रयासमा उनी सफल भएको निर्वाचनको परिणामले देखाएको छ।
एमालेमा केपी ओलीले तोडेको मदन भण्डारी र माधवकुमार नेपालको इतिहास
झण्डै ५६ वर्ष अघि कम्युनिस्ट पार्टीको सदस्यता लिएका केपी शर्मा ओली नेकपा एमालेको नेतृत्वमा तीन पटक निर्वाचित हुने पहिलो नेता बनेका छन्।
कुनै समय पार्टीमा ओली निकट रहेर वरिष्ठ उपाध्यक्ष र महासचिव रहिसकेका उनका प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष निर्वाचित भएका हुन्।
एमालेमा बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका नेता मदन भण्डारी र माओवादी सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्म अनि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका दौरान सबैभन्दा लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल पार्टी नेतृत्वमा दुई-दुई पटक मात्रै चुनिएका थिए।
सिरहामा भएको तत्कालीन नेकपा मालेको चौथो महाधिवेशनबाट २०४६ भदौमा पार्टीको कार्यकारी पद महासचिवमा चुनिएका मदन भण्डारी २०४७ पुसमा माले र नेकपा मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्दा पनि महासचिव नै रहेका थिए।
संसद् पुनर्स्थापना माग गर्दै ओलीले एमाले महाधिवेशन उद्घाटनमा चर्चा गरेको 'गम्भीर षड्यन्त्र'
एमाले महाधिवेशनमा जेन जी आन्दोलनको जगबाट केपी ओलीलाई चुनौती
त्यसको दुई वर्षपछि विसं २०४९ साल माघमा काठमाण्डूको दशरथ रङ्गशालामा भएको पाँचौँ महाधिवेशनमा भण्डारी दोस्रो पटक पार्टीको महासचिवमा चुनिएका थिए। तर त्यसको चार महिनामै चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा उनको निधन भयो र माधव नेपाल कार्यवाहक महासचिव भए।
त्यसपछि नेपाल २०५४ साल माघमा नेपालगन्जमा भएको छैटौँ अधिवेशनबाट उनी पार्टीको महासचिव चुनिएका थिए। माओवादी सशस्त्र द्वन्द्वका बीच २०५९ साल माघमा जनकपुरमा भएको सातौँ महाधिवेशनमा नेपाल दोस्रो कार्यकालका लागि महासचिवमा निर्वाचित भए। ओलीले त्यस बेला अध्यक्षमा दाबी गरे पनि अन्तिममा नेपाललाई समर्थन गरेको एमाले राजनीतिका जानकारहरू बताउँछन्।
एमालेमा ओलीले बनाउन सक्ने अर्को इतिहास
माओवादी शान्तिपूर्ण राजनीतिमा आएसँगै भएको संविधानसभाको निर्वाचनमा नेपाल पराजित मात्रै भएनन् एमाले तेस्रो दल बनेपछि उनले २०६५ वैशाखमा नेतृत्वबाट राजीनामाको घोषणा गरे। देशमा गणतन्त्र घोषणापछि भएको पहिलो अधिवेशनमा नेपालले उम्मेदवारी पनि दिएनन्।
त्यही बीचमा एमालेले पार्टीको विधान संशोधन गरेर महासचिव कार्यकारी हुने व्यवस्था हटाएर अध्यक्षात्मक व्यवस्था अपनाउने निर्णय गर्यो। त्यसअघि पनि एमालेमा अध्यक्ष रहने व्यवस्था भए पनि त्यो पद कार्यकारी थिएन।
२०६५ फागुनमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा प्रतिस्पर्धा गरे पनि केपी ओली झलनाथ खनालसँग पराजित भएका थिए। त्यसको छ वर्षपछि २०७१ असारमा भृकुटी मण्डपमै भएको नवौँ महाधिवेशनयता ओली निरन्तर पार्टी नेतृत्वमा निर्वाचित भइरहेका छन्।
"एमालेमा कुनै पनि नेता तेस्रो कार्यकालका लागि निर्वाचित भएको यो नै पहिलो इतिहास हो," एमाले नेता विष्णु रिजाल भन्छन्।
केपी शर्मा ओली: १४ वर्ष जेलदेखि चौथो पटक प्रधानमन्त्रीसम्म
चुनावअघि 'नेतृत्व परिवर्तनको दबाव'मा दलहरू
एमाले राजनीतिका जानकारहरूका अनुसार ओलीले अबको कार्यकाल पूरा अवधि नेतृत्व गरे अर्को पनि इतिहास बनाउन सक्छन्।
"कार्यवाहक र पूर्ण महासचिव भएर नेपालले १५ वर्ष पार्टी नेतृत्व गर्नुभयो। अहिलेसम्म ११ वर्ष नेतृत्व गर्नुभएका ओलीले यो कार्यकाल पूरा गर्दा १६ वर्ष पार्टीको नेतृत्व गर्दै सबैभन्दा लामो नेतृत्वको कीर्तिमान बनाउनु हुन्छ," रिजाल भन्छन्।
तत्कालीन मालेको पहिलो महाधिवेशनबाट महासचिव बनेका मनमोहन अधिकारीपछि एमालेको दुई कार्यकाल अध्यक्ष भएका थिए। तर उनी अध्यक्ष रहँदा पार्टी नेतृत्व महासचिवले नै गर्ने व्यवस्था रहेको एमाले राजनीतिका जानकारहरू बताउँछन्।
पार्टीमा नटिकेका ओलीका प्रतिस्पर्धी
एमाले नेतृत्वका लागि यसअघिका तीन वटै महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका नेताहरू पार्टीबाट अलग भएका छन्।
आठौँ महाधिवेशनमा ओलीलाई पराजित गरेका झलनाथ खनाल, नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका माधव नेपाल र दशौँमा चुनौती दिएका भीम रावल अहिले एमालेमा छैनन्।
आठौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका खनाल र नवौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका नेपाल दशौँ महाधिवेशन अघि नै पार्टीबाट अलग भएका थिए।
एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपाल र पूर्व अध्यक्ष झलनाथ खनाल अहिले प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्ने एमालेको निर्णय उल्टाउने बाटो छ?
एमालेको नेतृत्व गर्ने 'उद्देश्य' राखेकी भण्डारीका लागि विधान महाधिवेशनमै पुग्न चुनौती
विसं २०७८ मङ्सिरमा चितवनको सौराहामा भएको दशौँ महाधिवेशनमा ओलीले सर्वसम्मत चुनिने प्रयास गरे पनि चुनावको अडान राखेर चुनौती दिएका भीम रावल पनि ११औँ महाधिवेशनसम्म आइपुग्दा एमालेबाट अलग भइसकेका छन्।
एमालेबाट कारबाहीमा परेपछि मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका रावल पनि अहिले पुष्पकमल दाहाल नेतृत्वको नेकपामै समाहित भएका छन्।
कक्षा नदोहोर्याउने वाचा
दशौँ महाधिवेशनका बेला बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो स्वास्थ्यले लामो समय साथ दिनेमा आशङ्का व्यक्त गरेका थिए।
"म धेरैपल्ट जीर्ण स्वास्थ्य अवस्थाबाट, धेरै जटिल अप्रेसनहरूबाट गुज्रिएर आएको हुँ। भन्न सक्दिनँ, म कति बाँच्छु । तर, मलाई आज सन्तोष लागेको छ, किनभने म तपाईँहरूलाई आफ्नो अगाडि देखिरहेको छु," आफ्नो वेबसाइट केपी शर्मा ओली डट कममा ओलीले यो भनाइ सङ्ग्रह गरेका छन्।
त्यसको दुई वर्ष अघि मात्रै ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका थिए।
ओलीले त्यसअघिको नवौँ महाधिवेशनमा उम्मेदवारी दिने क्रममा नै आफू "कक्षा दोहोर्याएर नपढ्ने" घोषणा गरेका थिए।
तर दोस्रो पटक अध्यक्ष बन्ने घोषणा गरेपछि ओलीले आफ्नो पुरानै घोषणाबारे प्रस्टीकरण दिनु परेको थियो।
"क्लास छउन्जेल दोहोर्याएर पढ्दिनँ क्लास सिद्धिएपछि के गर्ने," ओलीले २०७८ सालमा भनेका थिए।
"अध्यक्षभन्दा माथि जाने ठाउँ भए माथि जान्थेँ योभन्दा माथि जाने ठाउँ छैन के गर्ने।"
रामनाथ दाहालले बनाएका थिए नेता
झापा आन्दोलनको जगमा राजनीति सुरु गरेका ओली झापा आन्दोलनकै अगुवाहरू पुग्न नसकेको ठूलो कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्ने नेता बनेको लेखक तथा अध्येता निरोज कट्टेल बताउँछन्।
तेह्रथुमको ईवा गाउँमा २००८ साल फागुन ११ गते साधारण किसान परिवारमा जन्मिएका ओलीले चार वर्षकै उमेरमा आमा गुमाएका थिए।
उनका पिता मोहनप्रसाद ओली २०२० सालमा पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट झापा बसाइँ सरे। त्यहीँ ओलीलाई झापा आन्दोलनबारे नजिकबाट बुझ्ने अवसर मिलेको बताइन्छ।
"रामनाथजीले नै उहाँको घर छेउको स्कुलबाट आफ्नो घरछेउको घैलाडुब्बा विद्यालयमा पढ्न ल्याउनु भएको रहेछ। म २०२५ सालमा विवाह गरेर जाँदा उहाँ हाम्रै घरमा बसेर पढ्नु हुन्थ्यो," झापा आन्दोलनका शहीद रामनाथ दाहालकी श्रीमती तथा पूर्व राष्ट्रिय सभा सदस्य विशेश्वरा दाहाल भन्छिन्। झापा विद्रोहका अगुवा दाहाललाई तत्कालीन राज्य पक्षले जेल सार्ने क्रममा २०२९ सालमा हत्या गरेको बताइन्छ।
दाहालकै सङ्गतमा हुर्किएका ओली १५ वर्षको उमेरमै २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा आबद्ध भएको आफ्नो वेबसाइटमा राखेको संक्षिप्त जीवनीमा ओलीले उल्लेख गरेका छन्।
एमालेबाट निष्कासनमा परेका भीम रावलले नयाँ पार्टी गठन गर्दै
https://www.bbc.com/nepali/articles/c7veyl7n05mo
कार्यक्रम प्रस्तोतादेखि उपप्रधानमन्त्रीसम्म ‘बनाएका’ ओलीसँग किन रिसाए रवि
ओलीले २०२६ साल माघमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाएका थिए। त्यसको ४५ वर्षपछि उनी पहिलो पटक पार्टी नेतृत्वमा पुगे।
झापामा कथित सामन्तहरूको हत्या गरेर विद्रोह सुरु गरेका कम्युनिस्ट नेताहरूको खोजी सुरु भएपछि केपी ओली पनि भागेर भारत पुगे।
पहिलो पटक ओलीले २०६५ सालमा बुटवलमा भएको आठौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए।
त्यस बेला उनी झलनाथ खनालसँग पराजित भए। त्यसको करिब छ वर्षपछि काठमाण्डूमा भएको नवौँ महाधिवेशनमा ओली माधव नेपाललाई पराजित गर्दै पार्टी अध्यक्ष बने।
त्यसपछि २०७८ मङ्सिरको सौराहा महाधिवेशनमा ओली दोस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भए।
रौतहटमा पक्राउ पर्दा नाम ढाँटेको प्रसङ्ग
निरोज कट्टेलले आफ्नो पुस्तक झापा विद्रोहको अन्तर्कथामा ओली पक्राउ हुँदा नाम ढाँटेको प्रसङ्ग उल्लेख गरेका छन्।
झापा विद्रोह लगत्तै आफ्ना राजनीतिक गुरु रामनाथ दाहाल पक्राउ परेपछि ओली भारत गएर लुकेका थिए। केही समय भारत बसेर नेपाल फर्कने क्रममा २०३० साल असोज २३ गते उनी रौतहटमा पक्राउ परे।
मोहनचन्द्र अधिकारीसँगै पक्राउ परेका ओलीले सुरुमा आफू झापा विद्रोहका आरोपी खड्गप्रसाद ओली नभएको देखाउने प्रयास गरेका थिए।
"उनले नाम वतन फरक पारेर असोज २८ गते जिल्ला प्रहरी कार्यालय गौरमा बयान दिए," कट्टेलले पुस्तकमा लेखेका छन्।
त्यस बेला ओलीले आफ्नो नाम नरप्रसाद ओझा भएको बताएका थिए। तर उनले नाम र ठेगाना ढाँटेको पत्ता लगाएपछि प्रहरीले उनीसँग कार्तिक १३ गते फेरि बयान लिएको कट्टेलले लेखेका छन्।
उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
तबला उपहारदेखि सार्वजनिक जुहारीसम्म केपी ओली र बालेन शाहको सम्बन्धको उतारचढाव
विसं २०३० असोजमा पक्राउ परेका ओली १४ वर्ष जेल बसेपछि २०४४ साल असार ११ गते रिहा भएका थिए। पक्राउ गरेर उनलाई मङ्सिरमा काठमाण्डूको भद्रगोल जेलमा राख्दा कठोर यातना दिइएको उनले बताउँदै आएका छन्। जेलबाट रिहा भएपछि ओली नेकपा मालेको केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। त्यसपछि कुनै पनि पदाधिकारी नभई ओली एकै पटक पार्टीको अध्यक्षमा निर्वाचित भए।
"उहाँ पार्टी पदाधिकारी नभए पनि नेतृत्वसँग नजिक भएर काम गर्नुभयो। मदन भण्डारी हुँदा पनि र पछि माधव नेपाल हुँदा पनि उहाँ संस्थापन निकट नै रहनुभयो," लेखक कट्टेल भन्छन्।
"उहाँ आफैँ नेतृत्वमा नआउँदासम्म चाहिँ पार्टीमा लोकतन्त्र र सामूहिक नेतृत्वको पक्षधर छवि भएको नेता पनि हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: