जेफ्री एप्स्टीनको शवका तस्बिर र पोस्टमोर्टम प्रतिवेदन सार्वजनिक, तिनमा के छ
चेतावनीः यसमा समाविष्ट सामग्रीले केही पाठकलाई विचलित पार्न सक्छ
अमेरिका सरकारले जेफ्री एप्स्टीनको मृत्यु भएपछि खिचिएका केही नयाँ तस्बिर सार्वजनिक गरेको छ। तिनमा उनलाई स्ट्रेचरमा राखिएको र सँगै स्वास्थ्यकर्मीहरू पनि भएको देखिन्छ। ती तस्बिर यसअघि सार्वजनिक भएका थिएनन्।
एप्स्टीनको मृत्यु हिरासतमा भएको विषयमा अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईको यसअघिको गोप्य प्रतिवेदनलाई सार्वजनिक गर्ने कानुनी कदमको एक भागका रूपमा शवपरीक्षण र जेलका आन्तरिक अभिलेखहरूका साथै २० वटा तस्बिर सार्वजनिक गरिएको हो। तीमध्ये अधिकांश तस्बिर देखाउन नसकिने खालका बीभत्स छन्।
एपस्टीनसँग सम्बन्धित लाखौँ नयाँ फाइलहरू सार्वजनिक जसमा ट्रम्प र बिल गेट्सको नाम पनि उल्लेख
शक्तिशाली अमेरिकी लगानीकर्तामाथि यौन दुराचारको आरोप
अमेरिकाको कानुन मन्त्रालयले शुक्रवार एप्स्टीनसँग सम्बन्धित थप लाखौँ दस्तावेज सार्वजनिक गरेको हो।
एप्स्टीन १० अगस्ट २०१९ मा कारागारभित्र मृत फेला परेका थिए। त्यस बेला उनीविरुद्ध यौन गतिविधिका लागि महिलाहरूको तस्करी तथा षड्यन्त्र गरेको अभियोगमा मुद्दा चल्दै थियो। उनी न्यूयोर्कस्थित मेट्रोपोलिटन करेक्शनल सेन्टरको हिरासतमा थिए।
एफबीआईको प्रतिवेदन के भन्छ
अहिले सार्वजनिक भएको एफबीआईको "जेफ्री एप्स्टीन डेथ इन्भेस्टिगेशन" शीर्षित प्रतिवेदन सो निकायको न्यूयोर्कस्थित फील्ड कार्यालयले एप्स्टीनको मृत्युबारे गरेको छानबिनको भए जस्तो देखिन्छ। उक्त प्रतिवेदन २३ पृष्ठ लामो छ र प्रत्येक पृष्ठमा "अन्क्लासिफाइड" (अर्थात् गोप्य नरहेको) भन्ने छाप लगाइएको छ।
सार्वजनिक भएका र नछोपिएका दस्तावेज बीबीसी भेरिफाइले हेरेको छ। तिनमा नजिकैबाट खिचिएका जेफ्री एप्स्टीनका तस्बिरहरू छन्, तिनमा चोट लागेको स्पष्ट सङ्केत देखिन्छ। ती दस्तावेजमा एप्स्टीनको पोस्टमोर्टम रिपोर्ट अर्थात् शवपरीक्षणको प्रतिवेदन र आत्महत्या गर्नुअघिका दिनमा उनको मानसिक स्वास्थ्य कस्तो थियो भन्ने विवरणहरू समाविष्ट छन्।
एप्स्टीन फाइल सार्वजनिक गर्ने पक्षमा अमेरिकी संसद्मा अत्यधिक बहुमत
केही तस्बिरमा एप्स्टीनलाई स्ट्रेचरमा राखिएको र स्वास्थ्यकर्मीहरूले उनलाई बिउँताउने प्रयास गरेको देखिन्छ। ती तस्बिरमा १० अगस्ट २०१९ को मिति र ०६:४९ बजेको समय अङ्कित छ। त्यो समय कारागारमा उनी अचेत अवस्थामा फेला परेको झन्डै १६ मिनेटपछिको हो। तस्बिर खिचिएको स्थान स्पष्ट छैन तर एप्स्टीनलाई ०६:३९ बजे नजिकैको अस्पतालमा लगिएको थियो। त्यहाँ नै उनलाई मृत घोषणा गरिएकाले ती तस्बिरहरू त्यहीँ खिचिएको हुन सक्छ।
अरू तीनवटा तस्बिरमा भएका टिपोटले ती कुनै अस्पतालमा खिचिएको सङ्केत गर्छन्। एप्स्टीनको टाउको नजिकै देखिने गरी खिचिएको तस्बिरमा घाँटीमा एउटा चोट स्पष्ट देखिन्छ। प्रत्येक तस्बिरमा उनको नाम लेखिएको छ, तर केही तस्बिरमा अङ्ग्रेजीमा उनको नामको हिज्जे अशुद्ध हुने गरी "Jeffery" लेखिएको छ। उनको नाम "Jeffrey" हो।
भर्खरै सार्वजनिक गरिएका एप्स्टीनको शवका तस्बिरहरूको बीबीसी भेरिफाइले रिभर्स इमेज सर्च गरेर हेरेको छ। त्यसो गर्दा ३० ज्यानुअरीभन्दा अघि ती तस्बिरहरू कुनै अनलाइन मञ्चमा प्रकाशित भएको प्रमाण फेला परेन। हामीले ती फाइलमा पुष्टि गर्ने अन्य सामग्री पनि फेला पार्यौँ। तीमध्ये कानुन मन्त्रालय र न्यूयोर्कका मुख्य चिकित्सा परीक्षकको कार्यालय ओसीएमईले पेस गरेको ८९ पृष्ठ लामो शवपरीक्षणको प्रतिवेदन र एफबीआईको न्यूयोर्कस्थित फील्ड कार्यालयले पठाएका इमेलहरूसँगै पठाइएका माथि उल्लिखित तस्बिहरू 'रिड्याक्टेड' अर्थात् केही भाग छोपिएको अवस्थामा छन्।
ओसीएमईको प्रतिवेदनमा एप्स्टीनको घाँटीमा रुद्रघण्टी दुई ठाउँमा फुटेको देखिने स्क्यानहरूसहित शवपरीक्षणको प्रतिवेदनका अंशहरू छन्।
एफबीआईको प्रतिवेदनमा एप्स्टीन यौन गतिविधिका लागि महिलाहरूलाई तस्करीको गरेको अभियोगमा सङ्घीय निकायद्वारा ६ जुलाई २०१९ मा पक्राउ परेदखि उनको मृत्यु हुँदासम्म न्यूयोर्कस्थित कारागारमा भएका घटनाक्रमको विवरण मिति र समयसहित उल्लिखित छ। उक्त विवरण छ पृष्ठ लामो छ।
'एप्स्टीन नोट'लाई लिएर ट्रम्पले मर्डोक र वाल स्ट्रीट जर्नलविरुद्ध हाले १० अर्ब डलरको मुद्दा
एप्स्टीन मुद्दासँग सम्बन्धित हुन सक्ने १० लाखभन्दा बढी कागजातहरू फेला परे
आत्महत्या नगरून् भनेर 'निगरानी'
उनले २३ जुलाई २०१९ मा आत्महत्या गर्ने प्रयास गरेपछि एप्स्टीनलाई निगरानीमा राखिएको एफबीआईको प्रतिवेदनले खुलाएको छ। त्यतिबेला एप्स्टीनले आफूसँगै जेलमा राखिएका निकोलस टार्टग्ल्लिओनले ज्यान मार्न खोजेको आरोप लगाएका थिए। टार्टग्ल्लिओन हत्याको अभियोगमा कारागारमा थिए।
एप्स्टीनले भोलिपल्ट एक मनोविद्सँगको भेटमा "आत्महत्या गर्ने कुनै मनसाय नभएको" र त्यसो गर्नु "मूर्खता" भएको बताएका थिए। ती मनोविद्को प्रतिवेदनका अनुसार उनले २३ जुलाईमा आफू "मुद्दा लड्न लागिपरेको छु" र "मेरो आफ्नो जिन्दगी छ र म फेरि आफ्नो जीवनमा फर्किन चाहन्छु" भनेका थिए।
अमेरिकी कानुन मन्त्रालयले सार्वजनिक गरेका अन्य दस्तावेजमा कारागारका प्रमुखले एप्स्टीनलाई एक्लै राख्न नहुने सुझाव दिएको र उनको कक्षमा "३०-३० मिनेटमा जाँच" गर्नुपर्ने र "घोषणा नगरीकन निरीक्षण" गर्नुपर्नेमा जोड दिएको देखिन्छ।
कारागारको कक्षमा उनीसँगै राखिएका व्यक्तिलाई एप्स्टीनको मृत्यु भएको अघिल्लो दिन छोडिएको थियो। कारागारको अभिलेखले ९ अगस्टको राति कारागारका सुरक्षाकर्मीहरूले ३ः०० देखि ५ बजेसम्म गर्नुपर्ने निर्धारित चेकजाँच नगरेको र उक्त भागमा निगरानी गर्ने क्यामराको प्रणाली निष्क्रिय भएको देखाएको छ। कर्मचारीहरूले बिहान जाँच गर्दा उनी मृतावस्थामा फेला परेका थिए।
एप्स्टीन फाइलअन्तर्गत एफबीआईको सोही प्रतिवेदन आंशिक रूपमा छोपेर सार्वजनिक गरिएको छ। त्यो १७ पृष्ठ मात्र लामो छ। त्यसमा मनोविद्को प्रतिवेदन र कारागारमा हिरासतमा रहँदाको समयक्रमसहितको विवरण समाविष्ट छैनन् भने तस्बिरहरू छोपिएका छन्। ती फाइलमा किन आंशिक रूपमा छोपिएको प्रतिवेदन र यथारूपको पूर्ण प्रतिवेदन समावेश गरियो भन्ने स्पष्ट छैन।
प्रतिक्रियाका लागि अमेरिकी कानुन मन्त्रालयसँग सम्पर्क गरिएको छ। एफबीआईले भने टिप्पणी गर्न अस्वीकार गर्यो।
जोश चीटमको अतिरिक्त रिपोर्टिङ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: