शेरबहादुर देउवा: 'अन्तिम पटक उठ्ने' मन मार्दै ३४ वर्षदेखिको अटुट संसदीय यात्रामा विराम
नेपालमा २०४६ सालमा प्रजातन्त्र आएपछिका हरेक संसदीय चुनावमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेपालको प्रजातान्त्रिक आन्दोलनका एक 'हेभी वेट' राजनीतिज्ञ शेरबहादुर देउवालाई जेनजी आन्दोलनले संसद् र पार्टीको शीर्षस्थान दुवैबाट विस्थापित गरिदिएको छ।
उनको पार्टीले उनको निर्वाचन क्षेत्रबाट चुनावका लागि सधैँ झैँ उनको एकल नाम सिफारिस गरेको थियो र उनले 'अन्तिम पटक संसदीय चुनाव लड्ने' मनसुवा प्रकट गरेका पनि थिए।
तर देशमा र उनकै पार्टीभित्र उठेको युवामुखी लहरले उनलाई किनाराका साक्षी बनाइदिएको छ।
कांग्रेसका उम्मेदवारहरूको सूचीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि उनकी पत्नी आरजु राणा देउवा, रमेश लेखक, कृष्ण सिटौला लगायतका नेता समेटिएका छैनन्।
सो अवस्थामा पुग्न कांग्रेस पार्टीभित्रका सबै पक्षले आआफ्नो तर्फबाट "सम्झौता गरेको" नेताहरूको दाबी छ।
गगन थापा चुनिए सभापति, महामन्त्रीमा पौडेल र घिमिरे
डडेल्धुराबाट देउवाको विश्राम
डडेल्धुराबाट तीन दशकभन्दा बढी समय संसद् पुगेका देउवाले विसं २०४८ सालदेखि २०७९ सम्म भएका सबै प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्दै आएका थिए।
गन्यापधुरा गाउँपालिका-१ मटेला गाउँ डडेलधुरामा जन्मिएका देउवाले डडेल्धुराबाट विसं २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा भएका निर्वाचन प्रभावशाली मतसङ्ख्याले जितेका थिए।
विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुराका साथै कञ्चनपुर-४ र कैलाली-६ बाट निर्वाचित भए।
'विश्राम लिनु ठीकै'
देउवाले संसदीय यात्राबाट विश्राम लिनु स्वाभाविक नै भएको स्थानीय मतदाताले बताएका छन्।
नवदुर्गा गाउँपालिका-५ का स्थानीय गम्भीरसिंह साउद देउवा विश्राम लिनु राम्रो भएको र युवाहरू राजनीतिमा आउनुपर्ने बताउँछन्।
"उहाँको उमेर पनि अब ढल्किँदै गयो। अब युवापुस्ताले नेतृत्व गर्नुपर्छ। देउवाजीले जिल्लाका लागि राम्रै गर्नुभएको छ," साउद भन्छन्।
जेन्जी युवा गौरव ऐर पनि देउवाले चुनाव नलड्नु स्वाभाविक नै ठान्छन्।
उनले भने, "देउवा डडेल्धुराका लागि मात्रै नभई देशकै लागि धरोहर हुनुहुन्छ। यहाँको विकासमा पनि उहाँको योगदान महत्त्पूर्ण छ। युवाहरूलाई ल्याउनुपर्छ भन्ने उहाँको मान्यता जायज छ र अब युवाहरू नै राजनीतिमा आउनुपर्छ।"
पार्टीको तर्फबाट उम्मेदवारहरूको टुङ्गो लागेसँगै मनोनयन दर्तापछि अब मिलेर चुनावी प्रचारप्रसारमा जाने दुवै पक्षका नेताले बीबीसीलाई बताए।
देउवा पक्षधर के भन्छन्?
देउवानिकट मानिएका नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रका सबै विचार समूहलाई समावेश गर्ने गरी र स्थानीय तहमा जित्ने सम्भावना भएका लोकप्रिय उम्मेदवारलाई छानीछानी टिकट दिइएको बताए।
"यो पक्षको यति प्रतिशत, यति सङ्ख्या भन्ने भएन। न्यायोचित नै भयो भन्ने लाग्छ। रूख चुनाव चिह्नभन्दा बाहिर गएर मतदानमा जाने परिस्थिति आयो भने पार्टी एकता हुँदैन," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"त्यसो भएको हुनाले रूख चिह्नमै मतदान गर्ने वातावरण बनाउनबका लागि सबै पक्षले एउटा कम्प्रोमाइज गर्यौँ र एउटा सहमतिको बिन्दुमा पुग्यौँ। अनि टिकट वितरण सहज ढङ्गले भयो। अब कहीँ पनि बागी, विद्रोही बन्ने अवस्था रहँदैन।"
उनका अनुसार विशेष महाधिवेशनका बेला विशेष महाधिवेशन पक्षधर नेताहरूसँग वार्ताकै बेला चुनावमा नउठ्न तयार भएका थिए।
"तपाईँहरू जेजे भन्नुहुन्छ ती सबै मान्न म तयार छु, पार्टी नफुटाइदिनूस् भनेर उहाँले भन्नुभएको थियो। तर त्यो भन्दाभन्दै उहाँहरूले नेतृत्व घोषणा गर्नुभयो। त्यो घोषणासँगै चुनाव चिह्न गगनजीहरूको भएपछि अरू साथीहरू बागी विद्रोही हुने खतरा भयो," विश्वकर्माले भने।
"अब रूख चिह्नभन्दा बाहिर गएर भोट माग्न सकिँदैन। ठीक छ म लड्दिनँ, म उठ्दिनँ भनेर देउवाजीले भन्नुभयो। अहिलेको अन्योलग्रस्त र विवादास्पद अवस्थामा म उम्मेदवार बन्न उपयुक्त पनि हुँदैन। तपाईँहरू उम्मेदवार बन्नूस्, चुनाव लड्नूस् भनेर उहाँल् भन्नुभयो।"
"सबै साथीहरूलाई अपील पनि गर्छु भनेर उहाँले त्यागको भावना राख्नुभयो र त्यहाँ आफूनिकट नैनसिंह महरलाई टिकट दिने कुरा गर्नुभयो," विश्वकर्माले अगाडि थपे।
'अदालतको निर्णय मान्य'
योसँगै अब आधिकारितासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्ने उनले बताए।
"देउवा नेतृत्वले रूख पाउने भयो भने पनि त्यसलाई स्वीकार्ने वा गगनजीहरूकै नाम गयो भने पनि त्यसलाई स्वीकार गरेर जाने हो। जे परिणाम आउँछ त्यसलाई हामीले मान्ने भनेका छौँ," विश्वकर्माले भने।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी मनोनयन सकिनासाथ प्रचारप्रसारको विषयमा केन्द्रित हुने उनले उल्लेख गरे।
"हामी अब सँगसँगै हुन्छौँ। रूख चिह्नबाट एक ठाउँमै हुन्छौँ। एउटै मञ्च र्याली झण्डा लिएर एकसाथ हुन्छौँ। मनोनयनपछि चुनावी रणनीति तर्जुमामा लाग्छौँ," विश्वकर्माले थपे।
आरजु देउवलाई टिकट नदिइएको विषयमा थाहा नभए पनि नेता रमेश लेखक र आफूले पार्टी एकतालाई महत्त्व दिएर दाबी नगरेको उनले बताए।
गगन पक्षधर के भन्छन्?
निर्वाचन आयोगले आधिकारिता दिएको गगन थापा पक्षधर नेता देवराज चालिसेले अब लगभग सबै विषय मिलेको बताए।
"धेरै कुरा मिलिसक्यो। सहमतिमै टिकट बाँडिएको हो। सबै कुरा सहमतिमै सल्लाह गरेरै भएको हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।
आफूहरूले परिवर्तनको मुद्दालाई स्थापित गर्नुपरेको भन्दै चालिसेले अभिभावकीय भूमिकामा बस्न आग्रह गरेको बताए। "त्यसलाई उहाँले स्वीकार्नुभयो," उनले भने।
पार्टीको चुनाव प्रचारप्रसार समितिलाई सशक्त रूपमा परिवर्तनका नयाँ मुद्दाका साथ अगाडि बढ्ने भन्दै उनले थपेः "अब कांग्रेस पक्ष मात्रै हुन्छ। बाँकी कुनै पक्ष हुँदैन। मिलेर हामी चुनाव प्रचारप्रसारमा जान्छौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: