रवि लामिछाने छुटेपछि कुलमान र बालेनसँग 'निर्णायक वार्ता'को दाबी

रवि लामिछाने छुटेपछि कुलमान र बालेनसँग 'निर्णायक वार्ता'को दाबी

bbc.com . २ घण्टा अघि

सहकारी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले रिहा गर्न आदेश दिएलगत्तै दुई साताअघि नक्खु कारागारमा पुगेर लामिछानेलाई भेटेका सुधन गुरुङ उत्साहित देखिए।

"रवि लामिछाने रिहा भएका छन् ...जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छौँ," गत भदौमा भएको आन्दोलनपछि देशैभरि नवयुवाहरूको सञ्जाल बनाइरहेका गुरुङले फेसबुकमा लेखे।

"हामीले गोरखाको गोरखनाथबाट एकीकरणको जुन यात्रा सुरु गरेका थियौँ, भगवान्‌‌को आशीर्वादजस्तो लाग्यो मलाई। अब सबै जना एकीकृत हुने बाटो पनि भयो," उनले बीबीसी न्यूज नेपालीसँग थप व्याख्या गर्दै भने।

रवि लामिछाने 'सम्भवतः शुक्रवार' रिहा हुने

रवि लामिछाने, कुलमान घिसिङ, बालेन र हर्क साम्पाङलाई 'मिलाउने' प्रयासमा जेन जी अगुवा

अदालतले आदेश दिए पनि प्रक्रियागत कारण लामिछाने सम्भवतः शुक्रवार मात्रै रिहा हुने उनीनिकट रास्वपा नेताले बताएका छन्।

वार्ता सहज हुने अपेक्षा

लामिछाने जेलबाहिर आएपछि ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङसहित काठमाण्डू महानगरका मेअर बालेन शाह समेतलाई एक बनाएर चुनावमा लैजाने आफूहरूको प्रयासले सार्थक रूप लिन लागेको गुरुङजस्तै रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले पनि बताएका छन्।

"हामीलाई गाह्रो के थियो भने कुलमानजी सरकारमै हुँदा नक्खुभित्र जान मिल्ने/नमिल्ने कुरामा द्विविधा थियो," रास्वपाले गठन गरेको संवाद समितिका संयोजक पुकार बम भन्छन्।

"दोहोरो संवाद नहुँदा यो अलिकति कठिन परेको थियो, अब सम्भवतः आमनेसामने नै बसेर यो कुरा टुङ्गोमा पुग्छ।"

ऊर्जामन्त्री घिसिङले यसअघि काठमाण्डूका मेअर शाहसँग भेट गरेको तस्बिर बाहिरिएको थियो। सरकारमा रहेका कारण घिसिङ प्रत्यक्ष नदेखिए पनि उनकै अगुवाइमा बनेको भनिएको उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंहले पनि लामिछाने जेलबाहिर आएपछि उनीसँगको संवाद सहज हुने बताए।

"निर्णयकर्ताको रूपमा उहाँ भएको हिसाबले रास्वपाका साथीहरूलाई छलफल गर्न कारागार जानुपर्ने, केही निर्णय उहाँले लिनुपर्ने भएकाले अब छलफल गहन र खुला रूपमा गर्न सहज भएको स्थितिमा त्यसले सहज निकास दिन्छ कि जस्तो लाग्छ," सिंह भन्छन्।

रवि लामिछानेमाथि मुद्दा चलाउनेबाहेक संसदीय समितिका कुनकुन सिफारिस कार्यान्वयन भए?

रवि लामिछानेसँग 'केबल रु १,१०,००० बचत', तर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान किन

जेन जी अभियानकर्मीहरूसँग सहकार्य गरिरहेका गुरुङ पनि लामिछाने बाहिर आएको अवस्थामा संवाद सहज हुने बताउँछन्।

"उहाँ निस्किएपछि सबै जना एकै ठाउँ बसेर कुरा गर्न हामीलाई सहज पनि भयो। एउटै शक्ति बनेर अघि बढ्न सजिलो पनि भयो," गुरुङ भन्छन्।

नेतृत्वबारेको सकस फुक्ने आशा

लामिछाने बाहिर आएपछि आगामी निर्वाचनमा घिसिङ र बालेनसँगको सहकार्य सहज हुने रास्वपा नेता पुकार बम र गणेश कार्कीले बताए। उनीहरू पछिल्लो समय अन्य शक्तिहरूसँगको कुराकानीमा सक्रिय छन्।

"रवि लामिछानेले यसलाई निर्णायक बिन्दुमा पुर्‍याउनुहुन्छ भन्ने आशा थियो। उहाँ बाहिर आइसकेपछि झन् यसले एउटा गति लिन्छ, हामी धेरै उत्साहित छौँ," रास्वपाको वार्ता समिति संयोजक बम भन्छन्।

यसअघि कतिपयले उज्यालो नेपाल पार्टीको नेतृत्वमा आउने आकलन गरिएका कुलमान घिसिङले रवि लामिछाने जेलमै भएका कारण आफूलाई पार्टी नेतृत्व दिन माग गरिएको विवरण आएका थिए। तर रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले यसको पुष्टि गरेका छैनन्।

उज्यालो नेपालका नेता सिंह सर्वस्वीकार्य नेतृत्व हुने गरी एकता वा सहकार्यका पक्षमा आफूहरू रहेको बताउँछन्।

"उहाँलाई अरूले स्विकार्ने र अरूलाई उहाँले नस्विकार्ने भन्ने भएन। एकमुष्ट वैकल्पिक शक्ति बनाउँदा सर्वस्वीकार्य नेतृत्वलाई अघि बढाउने गरी कुरा हुन्छ," सिंह भन्छन्।

उनले आफूहरूको प्राथमिकता व्यक्तिभन्दा मुद्दा रहेको बताए।

युवा पुस्ताका अगुवाहरूसँग समन्वय गरिरहेको दाबी गर्ने गुरुङले आफूले सबै जना एकै ठाउँ आउने सम्भावना देखेको बताए।

"म त सम्भावना देख्छु। त्यो भयो भने (आगामी निर्वाचनमा त्यस्तो एकीकृत शक्तिको) समानुपातिक (मतपरिणाम) पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। हेरौँ अब," उनले भने।

समानुपातिक उम्मेदवार बन्दसूचीको समयसीमा

उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंह आगामी प्रतिनिधिसभा निर्वाचनअघि समानुपातिक निर्वाचनका लागि उम्मेदवारहरूको बन्दसूची बुझाउनु अघि नै निर्णायक वार्ता हुने बताउँछन्।

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत चयन हुने ११० जना उम्मेदवारका लागि बन्दसूची पेस गर्ने अन्तिम समयसीमा पुस १४ गतेसम्म दिएको छ।

त्यसअघि नै एकता वा तालमेलबारे टुङ्गो लगाउने प्रयासमा आफूहरू रहेको छलफलमा संलग्न नेताहरूले बताएका छन्।

"समानुपातिक सूची बुझाउने समयसीमा अगाडि एउटा निर्क्योलमा पुर्‍याउने गरी गृहकार्य भइरहेको छ," सिंह भन्छन्।

रास्वपाका नेता बमले पनि त्यो समयसीमालाई मध्यनजर गरेर छलफल चलिरहेको बताए। उनले लामिछानेको रिहाइले वार्तालाई निर्णायक टुङ्गोमा पुर्‍याउन भइरहेको अप्ठ्यारो फुकाउने प्रतिक्रिया दिएका छन्।

"हामीले जेन जी आन्दोलनपछिको जुन माग छ, त्यसमा हामी कसरी जान्छौँ भन्नेमा अलिकति सकस भएको थियो। केही दिनमै हामीले गरिहरेको वार्ताको उचाइ गहिराइ र भार छ त्यसले विभिन्न पक्षलाई अझै गहिरो तरिकाले समेटेर जान्छ," बम भन्छन्।

एकताको गृहकार्य गरिरहेका नेताहरूले सम्भव भएसम्म एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने र त्यो सम्भव नभए चुनावी तालमेलसम्म भए पनि हुने दाबी गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.