के नेपालले विश्वकप जित्ने लक्ष्य बोकेको इङ्ग्ल्यान्डलाई रोक्न सक्ला

के नेपालले विश्वकप जित्ने लक्ष्य बोकेको इङ्ग्ल्यान्डलाई रोक्न सक्ला

bbc.com . २ घण्टा अघि

राजस्थान रोयल्सका बलर इङ्ग्ल्यान्डका जोफ्रा आर्चरले फालेको बलिङको गतिको सामना नेपाली ब्याटरहरूले कसरी गर्लान्?

इङ्ग्लिश ओपनर जोस बट्लरको ब्याटिङ 'रन मेशिन'लाई रोक्न नेपाली बलरहरूले कस्तो उपाय लगाउलान्?

नेपाली क्रिकेट समर्थकहरूका लागि सोच्दै रोमाञ्चक लाग्ने यो रोचक भिडन्तको पर्खाइको नजिक नेपाली राष्ट्रिय टोली पुगिसकेको छ।

एउटा कुरा सबै नेपाली समर्थकहरूलाई थाहा छ, टी-२० विश्वकपको यो संस्करण नेपालका लागि सजिलो प्रतिस्पर्धा हुने छैन।

विश्वकप क्रिकेट पछ्याउँदै मुम्बईको माहौलमा रातो-नीलो जर्सी

टी२० विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई समेत हराउन सक्ने एन्ड्रू लिओनार्डको दाबी

नेपाली क्रिकेट समर्थकहरूका बुझाइमा इङ्ग्ल्यान्डसहित वेस्ट इन्डिज अनि असोसिएट राष्ट्रहरू इटली र स्कटल्यान्डसँग खेल्दै सुपर-८ मा पुग्ने सपना 'अत्यन्त कठिन' जस्तो देखिन्छ।

तीन खेल जित्नुपर्ने यो कठिन यात्रामा नेपाली खेलाडीहरूको बलियो मनोबल नेपालको प्रमुख हतियार हुने देखिन्छ।

नेपाली कप्तान रोहित पौडेलले 'क्याप्टेन मिट्स'मा आत्मविश्वासका साथ भनेका छन्, "हाम्रो लक्ष्य सुपर-८ मा पुग्ने हो।"

उनको यो भनाइले सन् २०१४ को पहिलो विश्वकप सहभागितामा सारा प्रतिद्वन्द्वीहरूको ध्यान तान्ने गरी तत्कालीन कप्तान पारस खड्काले देखाएको आत्मविश्वासको झल्को दिएको छ।

बाङ्ग्लादेशमा सन् २०१४ को क्याप्टेन मिट्समा खड्काले भनेका थिए, "हामी यहाँ सहभागिता मात्र जनाउन आएका होइनौँ।"

हङकङ र अफगानिस्तानलाई हराएर पारसले आफ्नो भनाई पुष्टि गरिदिए। अब नतिजा दिलाउने पालो रोहितको टोलीको हो।

पहिलो र ऐतिहासिक खेल

तीन दशकको अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा नेपाल र इङ्ग्ल्यान्ड पहिलो पटक आमनेसामने हुँदै छन्।

त्यसैले विश्वकपको सुरुआतमा नै हुने यो खेल नेपालको लागि विशेष हुने छ।

विश्व क्रिकेटका लागि यो खेल असोसिएट राष्ट्रविरुद्ध टेस्ट टोलीको प्रतिस्पर्धा हुन सक्ला, नेपाली टोलीको लागि भने यो आफ्नो क्षमता अन्तर्राष्ट्रिय क्रिकेटमा वृद्धि भइसकेको प्रमाणित गर्ने अवसरको रूपमा हुने छ।

एक समर्थक प्रसन्न लामिछाने भन्छन्, "यदि नेपालले यो विश्वकपमा केही हलचल मच्चाउनु छ भने त्यसको सुरुआत इङ्ल्यान्डलाई हराएर गर्नुपर्छ। अनि आउने छ खास मज्जा।"

विश्वकप जित्ने लक्ष्य लिएर भारत आएको इङ्ग्ल्यान्डलाई हराउने सम्भावना कति छ त?

नेपालको खेल हेर्न मुम्बई आएका जनकपुर बोल्ट्सका कार्यकारी निर्देशक निरोज खतिवडा भन्छन्, "खेलको दौरान पाउने खासखास 'मोमेन्ट' को उपयोग गर्न सक्यो भने असम्भव हुँदैन।"

टी२० विश्वकपको 'टाई शीट' नेपालका लागि कति सहज वा कठिन

नेपाल विश्वकप क्षेत्रीय छनोटको शीर्ष स्थानमा, पछिल्लो खेलका उतारचढाव यस्ता

टेस्ट वा एकदिवसीय क्रिकेटमा टोलीको स्तर छुट्टिने गर्छ। तर छोटो फर्म्याटको क्रिकेटमा उलटफेर बारम्बार हुने गर्छ।

'१/२ ओभरले खेलले नाटकीय मोड लिन सक्नेछ' भन्ने सिद्धान्त यो विश्वकपमा नेपाली दर्शकहरूका लागि प्रिय छ।

कार्यकारी निर्देशक खतिवडा थप्छन्, "नेपाली टोलीमा सकारात्मक मानसिकता धेरै छ। त्यसले नतिजा दिन सक्छ। त्यसका लागि गल्तीविनाको उपल्लो दर्जाको क्रिकेट चाहिँ खेल्नै पर्छ।"

इङ्ग्लिश खेलाडी विल ज्याक्सले पनि क्याप्टेन्स मिटमा भनेका थिए, "पहिलो खेल जहिले पनि गाह्रो हुने गर्छ।"

इङ्ग्ल्यान्डलाई 'गाह्रो' हुन सक्ने समय नेपालका लागि भने जित खोस्ने 'सजिलो' अवसर नबन्ला भन्न सकिन्न।

कस्तो छ नेपाली टोली

यूएई र क्यानडाविरुद्धको 'वार्म अप' खेल जित्दा मुख्य खेलअगाडि नेपाली टोलीमा सकारात्मक मानसिकता बढेको देखिन्छ।

ब्याटरलाई सहयोग पुग्ने वाङ्खेडे रङ्गशालाको बाउन्सी पिचमा यसले नेपाली ब्याटिङमा हौसला थपिदिनेछ।

अर्कोतर्फ विगत लामो समयदेखि एउटै खेलाडीहरू लगातार नेपाली टोलीमा छन् र टोलीको सुझबुझ क्षमता बलियो बनेको छ।

ओपनर आशिफ शेख फर्ममा देखिएका छन् भने उनका दाजु आरिफ शेखले उम्दा खेल खेलिरहेकोले मध्य क्रममा नेपाल अझ बलियो बनेको देखिन्छ।

मुख्य कुरा भने नेपाली टोलीका सदस्यहरूमा देखिएको ऊर्जा नै हो।

नेपालको मुख्य कमजोरी भने 'डेथ ओभर' को बलिङमा देखिएको छ, जुन अत्यन्त चिन्ताको विषय बनिरहेको छ।

क्यानडा र यूएई जस्तो असोसिएट राष्ट्र सँग पनि 'वार्म अप' मा बलरहरूले रन रोक्न सकेनन्।

नेपालका अस्ट्रेलियाली बलिङ प्रशिक्षक इयान हार्भेले यसमा मेहनत गर्नुपर्ने छ।

इङ्ग्ल्यान्ड कस्तो टोली

इङ्ग्ल्यान्ड उपाधि दाबेदार टोली हो।

जोश वटलर जस्ता अनुभवी कप्तान हुँदाहुँदै युवा खेलाडी हेरी ब्रुकलाई कप्तानीको जिम्मा दिएको इङ्ग्लिश टोली उच्च फर्ममा देखिन्छ।

भारत आउनु अगाडि श्रीलङ्कासँग खेलेको तीनवटा शृङ्खला जितेर ढुक्क टोलीले एशियाली वातावरण बुझेका छन्।

फेरि भारतीय फ्रेञ्चाइज लीग आइपीएल खेल्ने खेलाडीहरूको अनुभवले टोलीका लागि थप मद्दत पुग्ने ठानिएको छ।

विल ज्याक्स त वाङ्खेडे रङ्गशाला घरेलु मैदान रहेको मुम्बई इन्डिअन्सबाट आईपीएल खेल्छन्।

साम करण, फिल सल्ट, लियन लिभिन्स्टोन, जाकोब बेथेल, जेमी ओभेर्टोन र ह्यारी ब्रुक्स सबै आईपीएलका अनुभवी खेलाडीहरूको सूचीमा छन्।

टी-२० विश्वकपका लागि बनेको नेपाली प्रारम्भिक टोलीमा एनपीएलको छाप

बाङ्ग्लादेश टी२० विश्वकप खेल्न 'भारत नजाने', नेपाललाई केही फरक पर्छ?

उनीहरूको लक्ष्य ठूलो छ। यति मात्र हो की उनीहरू नेपाल जस्तो असोसिएट राष्ट्रले पनि उलटफेर गर्न सक्छ भन्नेमा सचेत छन्।

समग्रमा भन्ने हो भने आइतबारको खेल 'अन्डर डग' छवि बनाएको नेपाल र विश्वकप जित्ने लक्ष्य बोकेका दुई टिमबीचको खेल हुने छ, जहाँ नेपाली दर्शकहरू 'सरप्राइज जित' को विश्वासमा हुनेछन् भने इङ्ग्लिश टोली 'सहज जित' को अपेक्षामा।

एउटा कुरा भने पक्का के छ भने नेपाल एकपक्षीय हार स्विकार्ने टोली हुने छैन, बरु दुई वर्षअगाडि दक्षिण अफ्रिकासँग एक रनले हारेको भन्दा बलियो हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.