शीतलहर प्रभावितलाई दाउरा 'अन्तिम विकल्प', राहत कार्ययोजनामा कतिको व्यावहारिक
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले जाडोयाममा शीतलहरको जोखिममा रहेका परिवारहरूलाई प्रदेश सरकार र स्थानीय तहहरूबाट राहत उपलब्ध गराइने र त्यस क्रममा अन्तिम विकल्पका रूपमा मात्रै दाउरा वितरण गर्ने नीति अँगालिएको बताएका छन्।
सरकारले २१ वटा जिल्लाहरूलाई शीतलहरबाट बढी प्रभावित हुने जिल्लाका रूपमा सूचीकृत गरेको छ। अन्य चार जिल्लामा केही कम प्रभाव पर्ने भनिएको छ।
जिल्लास्थित अधिकारीहरूले आफूहरूले सम्भावित जोखिम सम्बोधनका लागि स्थानीय तहहरूसँग छलफल गरेको उल्लेख गर्दै निम्न आय भएका परिवारहरूलाई न्यानो कम्बल र कपडा वितरण अभियानलाई प्राथमिकतामा राखिएको बताएका छन्।
तीन सागरबाट आएका वायु, बादल र ओसले नेपालमा वर्षा र चिसो
मोन्था चक्रवातले 'भारी वर्षा गराउन सक्ने', हुदहुद पनि कात्तिकमै नेपाल आएको थियो
अति विपन्न परिवारहरूका हकमा दाउरा नै वितरण गर्नुपर्ने अवस्था आउन सक्ने पनि उनीहरूले सुनाए।
सामान्यतया नेपालमा मङ्सिरदेखि फागुनसम्म शीतलहरको प्रभाव देखिने गरेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका एक जना मौसमविद्ले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही दिनलाई शीतलहर हुने सम्भावना नदेखिएको बताएका छन्।
दाउरालाई किन 'अन्तिम विकल्प' भनियो?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष स्वीकृत गरेको शीतलहर पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा जोखिम न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहको भूमिकालाई जोड दिइएको छ।
त्यसमा स्थानीय तह तथा सम्बद्ध सङ्घसंस्थाले वडा तथा समुदायसँग समन्वय गरी आफैँ व्यवस्था गर्न नसक्ने संवेदनशील समूहलाई समयमा नै न्यानो कपडा वितरण गर्ने जनाइएको छ।
साथै, सामुदायिक तथा साझेदारी वनहरूले शीतलहरबाट प्रभावित हुन सक्ने घरधुरीलाई न्यानोका लागि सीमित परिमाणमा दाउरा वितरण गर्न सक्ने भए पनि त्यसलाई अन्य विकल्प नभएको अवस्थामा 'वायुप्रदूषणलाई समेत मध्यनजर गरी दाउरा उपलब्ध गराउने' उल्लेख गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसीले भनिन्, "जोखिममा भएकोहरूलाई कम्बल वितरणको कार्यक्रम पनि छ। इलेक्ट्रिक हिटरहरू दिने पनि छ। दाउराका लागि हामीले प्रोत्साहन गरेका छैनौँ।"
"केही सीप लागेन, उहाँहरूलाई त्यस्तोको बानी छैन भने अन्तिम विकल्पका रूपमा दाउरालाई राखिएको छ। सकेसम्म तातो बनाउने आधुनिक सामग्री, न्यानो कपडा र पोषणयुक्त खानेकुरा वितरण गर्ने कुराहरू हाम्रो राहत कार्यक्रममा समेटिएको छ।"
उनले एकद्वार नीतिअन्तर्गत स्थानीय तहहरूमार्फत राहत सामग्रीहरू वितरण गरिने पनि बताइन्।
रसुवामा तीन साताको अवधिमा दुई ठूला बाढी: समानता र फरक
केकति क्षति हुन्छ?
तराईका जिल्लाहरूमा हिउँद याममा अत्यधिक चिसोका कारण मानिसहरूको ज्यान जाने गरेका विवरण प्रायजसो हरेक वर्ष आउने गरेको छ।
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको एउटा तथ्याङ् अनुसार आर्थिक वर्ष ०७८/०७९ सम्मको १० वर्षको अवधिमा शीतलहरका कारण ११६ जनाको ज्यान गएको थियो।
पछिल्लो समयमा शवपरीक्षण प्रतिवेदनमा नै शीतलहरका कारण मृत्यु भएको भन्ने व्यहोरा उल्लेख गरिनुपर्ने प्रावधान राखिएसँगै पछिल्ला वर्षहरूमा शीतलहरका कारण ज्यान गुमाउनेहरूको आँकडा सरकारसँग छैन।
सरकारले शीतलहरका कारण दैनिक जनजीवन र जनस्वास्थ्यबाहेक आर्थिक क्षेत्रमा असर पर्ने र दुर्घटनाको पनि जोखिम बढ्ने गरेको उल्लेख गरेको छ।
बाक्लो हुस्सुका कारण कमजोर 'भिजबिलटी' हुँदा सवारी दुर्घटना बढ्नसक्ने र हवाई उडान प्रभावित हुने गरेको तथ्य सरकारी कार्ययोजनामा उल्लेख छ।
त्यसबाहेक कोठा न्यानो बनाउन आगो, हीटर, मकल र ग्यास आदि बाल्दा मानिसहरूको निसास्सिएर ज्यान जान सक्ने परिस्थितिको पनि उक्त कार्ययोजनामा चर्चा गरिएको छ।
जोखिम न्यूनीकरणको उपायमा शीतलहरको पूर्वानुमानलाई थप भरपर्दो बनाउने र जोखिममा रहेका समुदायको पहिचान र प्राथमिकीकरण गर्ने, तल्लो तहसम्म पूर्वसूचना पुर्याउनेसहितका बुँदा समेटिएका छन्।
सुत्नुअघि अनिवार्य रूपमा नै आगो वा विद्युतीय साधन बन्द गर्ने र चिसो मौसममा निमोनिया, इन्फ्लुअन्जालगायतका सङ्क्रमण बढी हुने हुँदा सावधानी अपनाउनुपर्नेमा पनि उक्त कार्ययोजनामा जोड दिइएको छ।
त्यसबाहेक छाती र टाउकोलाई विशेष रूपमा चिसोबाट जोगाउनुपर्ने, पोषणयुक्त खानेकुरा खानुपर्ने र गर्भवती महिला, वृद्धवृद्धा तथा बिरामीहरूको हेरचाहमा विशेष ध्यान दिनुपर्ने उक्त कार्ययोजनामा उल्लेख गरिएको छ।
जिल्लाहरूमा के भइरहेको छ?
बीबीसीले सम्पर्क गरेका मधेश प्रदेशका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले प्राधिकरणले ल्याएको कार्ययोजना प्राप्त गरेपछि आफूहरूले विभिन्न सरोकारवाला पक्षहरूसँग त्यसको कार्यान्वयनबारे छलफल गरेको बताएका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आर्थिक अवस्था कमजोर भएका गरिब एवं अपाङ्गता भएका व्यक्तिहरूलाई चिसोबाट जोगाउन पालिकाहरूले तत्कालै विशेष व्यवस्था गर्नुपर्ने निर्णय भएको बताए।
उनले विद्युत् आपूर्तिमा समस्या देखा पर्न सक्ने भन्दै अति विपन्न वर्गहरूका लागि आवश्यकताअनुसार सामूहिक रूपमा दाउरा वितरण गर्ने सोचाइ राखिएको उल्लेख गरे।
उनी भन्छन्, "चोकचोकमा हामी दाउरा राखिदिन्छौँ। हरेक ५-७ घरलाई हामी दाउरा उपलब्ध गराउँछौँ। दाउरा बालेर मात्रै हुँदैन, सुत्नु पनि पर्यो, आर्थिक अवस्था कमजोर भएकाहरूलाई मापदण्ड बनाएर पालिकाले नै कम्बल र ब्ल्याङ्केटहरू दिन्छ।"
शीतलहरको प्रभाव बढी देखिने अर्को जिल्ला सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले पनि पालिकाहरूले सहयोगी एवं विकास संस्थाहरूसँग सहकार्य गरेर न्यानो कपडा वितरणमा जोड दिने बताए।
उनले भने, "दाउरामा हामी पनि धेरै जोड दिँदैनौँ किनभने यो वनक्षेत्र थोरै भएको जिल्ला हो। दाउरा प्राप्त गर्न नै पनि गाह्रो छ। एउटै परिवारमा चारपाँच जना सदस्यहरू हुन्छन्, अतिविपन्न परिवारमा सबैलाई न्यानो तथा बाक्लो कपडा पुर्याउन पनि गाह्रो हुन्छ भन्ने कुरा आएको छ। यद्यपि हामी अधिकतम प्रयत्न गर्छौँ।"
उनले हीटरलगायतका सामग्रीबारे पनि आफूहरूले छलफल गरेको उल्लेख गर्दै थपे, "अति विपन्न परिवारहरूमध्ये कतिपयकोमा हीटर जोड्ने ठाउँ पनि नहुने रहेछ। त्यो जोड्न बिजुली चाहियो। बिजुलीको बन्दोबस्त गर्नसक्ने परिवारलाई हीटर नै दिनुपरेन किनभने उसले आफैँ पनि जोहो गर्न सक्छ। अति विपन्नलाई कसरी जोगाउने भन्ने हो।"
अधिकारीहरूले सामान्य कपडा र कम्बलहरू खरिद गर्न सक्ने भन्दा पनि न्यून आर्थिक हैसियत भएका परिवारसम्म पहुँच पुर्याउनु आफूहरूको चुनौती भएको उल्लेख गरेका छन्।
बर्खामा पनि आगलागीका घटना बढ्दो
चीनसँग मौसमसम्बन्धी तत्काल सूचना आदानप्रदानको अभावले निम्त्याएको चुनौती
शीतलहरको समस्या
जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ। तर तराईमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ।
नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि त्यस्तै हुन्छ।
त्यसो हुनुमा तराई-मधेश क्षेत्रको भौगोलिक अवस्थिति र 'रेडिएशनल कूलिङ' भन्ने प्रक्रियाबीचको सम्बन्ध रहेको विज्ञहरू बताउँछन्।
सूर्यको प्रकाशले दिनभरि जमिन तात्ने अनि फेरि त्यो वायुमण्डलमा फर्किने प्रक्रिया पहाड र समथर भूभागमा फरक हुने कारणले गर्दा पनि हिमाल-पहाड र तराईबीच त्यस्तो मौसमी भिन्नता देखिएको कतिपय मौसमविद्हरू बताउँछन्।
यसपालि जल तथा मौसम विज्ञान विभागले गएको मङ्सिर १५ गतेबाट तराईको हुस्सु, कुहिरो र शीतलहरसम्बन्धी बुलेटिन प्रकाशन गर्दै आएको छ।
विभागका मौसमविद् सञ्जीव अधिकारीले हाल पश्चिमी वायुको प्रभाव देखिएकाले तत्कालै केही दिनका लागि शीतलहरको सम्भावना नरहेको बताए।
उनले भने, "पश्चिमी वायु अहिले ठ्याक्कै नआएको भए शीतलहरको सम्भावना अलि बढी थियो। हिजो (आइतवार)देखि आकाशमा बादल बढ्यो र यसले तराईको हुस्सु पनि बढारेर लिएर गएको छ। पश्चिमतिरबाट आएको हावा र बादलहरूले गर्दा यस्तो भएको हो। त्यहीँ भएर अहिले त्यो क्रम टुटेको छ। अहिले केही दिनका लागि शीतलहर हुने अवस्था देखिँदैन।"
उनले निरन्तर केही दिनहरू 'चिसो' हुन थालेपछि आफूहरूले तोकेका मापदण्डलाई ध्यान दिएर त्यसलाई शीतलहरको अवस्था भन्ने गरेको उल्लेख गरे।
यस वर्ष जल तथा मौसम विज्ञान विभागले गएको मध्यमङ्सिरमा हिउँद अवधिको मौसमको आँकलन सार्वजनिक गरेको थियो, जसमा मङ्सिर १५ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको थियो।
त्यसबाहेक मौसमविद्हरूले उक्त अवधिमा देशभर अधिकतम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना रहेको औँल्याएका थिए।
बर्खायाममा राजमार्गका धेरै पुलमा क्षति, 'बेलिब्रिज' र अन्य विकल्पका लागि सरकारको तयारी यस्तो
देशभरि जाडो बढ्न थाल्यो, बिरामी नपर्न के गर्ने
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: