सीसँग निकट मानिएका वरिष्ठतम चिनियाँ जेनरललाई पदमुक्त गरिएपछि अप्ठ्यारोमा सेना
चीनको जनमुक्ति सेना पीएलएका वरिष्ठ अधिकारीहरू अहिले अन्योलमा छन्।
केही दिनअघि वरिष्ठतम जेनरल जाङ योशिया र अर्का वरिष्ठ सैन्य अधिकारी जेनरल लिउ जेन्लीलाई पदबाट हटाइएपछि सेनाभित्र के कारणले शक्ति सङ्घर्ष चर्कियो र त्यसबाट ताइवानसहित अन्य क्षेत्रीय द्वन्द्वमा युद्ध गर्न सक्ने चीनको क्षमतामा कस्तो प्रभाव पर्ला भन्ने गम्भीर प्रश्नहरू उठेका छन्।
पचहत्तर वर्षीय जाङ केन्द्रीय सैन्य आयोग सीएमसीका उपाध्यक्ष थिए। सीएमसी राष्ट्रपति सी जिन्पिङकै नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीको एउटा अङ्ग हो र चीनको सेना त्यसैअन्तर्गत रहन्छ।
यूनाइटेड फ्रन्ट : जासुसीको विवादमा फसेको चिनियाँ कम्युनिस्ट पार्टीको 'चामत्कारिक अस्त्र'
चीनको खतरा सामना गर्न भारतीय वायु सेना कुन हदसम्म तयार छ?
सीएमसीमा प्रायजसो सात पदाधिकारी हुन्छन्। तर अहिले त्यसमा केवल दुई जना बाँकी छन् - राष्ट्रपति सी जिन्पिङ र जेनरल जाङ शेङ्मिन। बाँकी पाँच जनालाई "भ्रष्टाचारविरुद्ध"को अभियानमा कारबाही गर्दै पदबाट हटाइएको छ।
सीएमसीको काम चीनका लाखौँ सैनिकहरूलाई नियन्त्रण गर्नुहो। कुनै बेलाका प्रभावशाली नेता दङ शिआओपिङ सीएमसीका अध्यक्ष थिए र यसलाई निकै शक्तिशाली निकाय मानिन्छ।
अभूतपूर्व अवस्था
सीएमसीमा सी र अर्का एक जेनरल मात्र बाँकी रहनुलाई एशिया सोसाइटी पोलिसी इन्स्टिट्यूटका लाइल मोरिस अभूतपूर्व अवस्था मान्छन्।
"पीएलए अस्तव्यस्त अवस्थामा छ," उनले बीबीसीसँग भने, "चिनियाँ सेनाको नेतृत्वमा अहिले एउटा ठूलो रिक्तता छ।"
उच्चपदस्थ सैन्य जेनरलहरूलाई किन हटाइयो भन्ने प्रश्नमा उनले भने, "थरीथरीका अफवाहहरू फैलिएका छन्। अहिले हामीलाई के सत्य हो र के असत्य हो भन्ने कुरा थाहा छैन। ... तर यो पक्कै पनि सी जिन्पिङका लागि, उनको नेतृत्व र पीएलएमा उनको नियन्त्रणका लागि राम्रो कुरा होइन।"
न्याश्नल यूनिभर्सिटी अफ सिङ्गापुरका सहप्राध्यापक चोङ जा इअन पनि जेनरल जाङविरुद्ध कारबाही गरिनुको वास्तविक कारण स्पष्ट नभएको तर त्यसबारे अनेकौँ अनुमान भएको बताउँछन्।
"आणविक अस्त्रसम्बन्धी गुप्त सूचना अमेरिकालाई उपलब्ध गराएकोदेखि कू गर्ने षड्यन्त्र गरेको र गुटगत सङ्घर्षसम्मका कुराहरू आएका छन्। बेइजिङमा गोली हानाहान भएको भन्ने खालका अफवाहहरू पनि छन्," उनले भने।
सी जिन्पिङः चीनको विगत जसबाट राष्ट्रपतिले बाँकी विश्व हेर्ने दृष्टिकोण बनाए
अमेरिकी सैनिकद्वारा चीनलाई गोप्य सूचना बेचेको स्वीकार
"तर जाङ र लिउको पतन र सबैतिर फैलिएको अडकलबाजीले दुइटा कुरा उजागर गर्छन् - सीलाई अरूले चुनौती दिन सक्दैनन् अनि बेइजिङबाट प्रवाह हुने सूचना सीमित छ जसका कारण अन्योल बढ्छ र यस खालको अनुमानले स्थान पाउँछ।"
जेनरल जाङ र जेनरल लिउबारे "अनुसन्धान" थालिएको औपचारिक घोषणामा उनीहरूमाथि "अनुशासन र कानुनको चरम उल्लङ्घन" गरेको आरोप लागेको उल्लेख थियो। त्यो पदावली प्रायजसो भ्रष्टाचारका लागि प्रयोग गरिन्छ।
त्यसपछि पीएलए डेलीले आफ्नो सम्पादकीयमा उक्त कारबाहीले कम्युनिस्ट पार्टीले "भ्रष्टाचारलाई दण्डित गर्न... [व्यक्ति] जो सुकै भए पनि जतिसुकै ठूलो पदमा भए पनि" शून्य सहनशीलताको नीति अवलम्बन गरेको स्पष्ट पारेको लेखेको छ।
चीनको सैन्य परेडमा विभिन्न नयाँ अस्त्र प्रदर्शित
चीन अमेरिकासँग 'जस्तोसुकै युद्ध'का निम्ति तयार
भ्रष्टाचार र शक्तिको राजनीतिसँग कस्तो सम्बन्ध
ती दुई वरिष्ठ सैन्य अधिकारीहरूमाथि लागेको आरोप औपचारिक रूपमा सार्वजनिक गरिएको छैन र कहिल्यै नगरिन पनि सक्छ। तर उनीहरूमाथि छानबिन भइरहेको भनेर नाम सार्वजनिक गरिएकाले उनीहरू हिरासतमा छन् भन्ने बुझिन्छ।
पीएलए डेलीको सम्पादकीयमा जाङ र लिउ दोषी नै भए जसरी उनीहरूले "कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विश्वास र अपेक्षामाथि कुठाराघात गरेको" अनि "केन्द्रीय सैन्य आयोगलाई कुल्चिएको र बेवास्ता गरेको" लेखिएको छ।
जाङ र लिउ भ्रष्टाचारसँग सम्बन्धित कारणले कारबाहीमा परेका हुन सक्छन् तर विगतमा भएका घटनाहरूलाई विचार गर्दा यो विषय शक्तिकेन्द्रित राजनीतिसँग जोडिएको पनि हुन सक्छ।
चिनियाँ रक्षामन्त्री बेपत्ता हुँदा अमेरिकाले उठायो प्रश्न
चिनियाँ विदेशमन्त्री नियुक्त भएको सात महिनापछि नै पदमुक्त
सी जिन्पिङ सत्तामा आउँदा चीनमा पक्कै पनि भ्रष्टाचारको समस्या थियो। तर आफ्ना सम्भावित राजनीतिक प्रतिद्वन्द्वीहरू वा आफूप्रति पूर्ण निष्ठा नराख्ने पदाधिकारीहरूलाई बाटोबाट हटाउन भ्रष्टाचार नियन्त्रण अभियानलाई आफूअनुकूल प्रयोग गरेको र अनुशासन अनुगमन टोलीहरूलाई परिचालन गरेको आरोप सी माथि लागेको छ।
अध्यक्ष माओपछि यसरी सी चीनमा निकै शक्तिशाली बनेका छन्।
यद्यपि यस प्रकारको नेतृत्व प्रत्युत्पादक बन्न पनि सक्छ। उदाहरणका लागि, सेनामा शङ्का उपशङ्का गर्ने अवस्था उत्पन्न हुँदा सतर्कता बढ्छ तर निर्णय गर्ने क्षमता कमजोर हुन पनि सक्छ।
चीनबाट भागेर अमेरिका गएका एक व्यक्तिमाथि चीनकै लागि जासुसी गरेको आरोप
चिनियाँ राष्ट्रवादी ब्लगरहरू जो मिलेर पश्चिमा देशमाथि खनिन्छन्
जाङ योशिया र सी जिन्पिङको सम्बन्ध
जाङ योशियाका बुवा र सी जिन्पिङका बुवा क्रान्तिका बेला सहकर्मी थिए। जाङ र सीबीच निकै पुरानो सम्बन्ध छ। जाङलाई सीका निकट सहयोगी मानिन्थ्यो।
पीएलएभित्र लडाइँको अनुभव भएका सीमित पदाधिकारीमध्ये जाङ पनि एक थिए। उनी पदच्युत भएकाले सेनाले ठूलो घाटा बेहोर्नुपर्छ।
मोरिसका अनुसार जाङ पदमुक्त हुँदा सी जिन्पिङलाई भविष्यमा चुनौतीहरू निम्तिन सक्छन्।
सीले फेरि आफ्नो अधिकार प्रयोग गरेका हुन सक्छन् तर यो उथलपुथलबाट सङ्घर्ष जारी छ भन्ने बुझिन्छ।
"पक्कै पनि यो सीका लागि राम्रो होइन। मलाई पीएलएमा अझै ठूलो उथलपुथल हुन्छ जस्तो लाग्छ -- सी र अन्य नेताहरूका लागि आगामी वर्षहरूमा, विशेष गरी पीएलएमा।"
चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङको ऐतिहासिक तेस्रो कार्यकाल सुरु
नयाँ उत्तराधिकारी चयन गर्दै सी जिन्पिङ, यो किन महत्त्वपूर्ण छ?
वरिष्ठतम सैन्य अधिकारीहरूलाई पदच्युत गरिँदा अब को कारबाहीमा पर्ला भनेर चिन्ता गर्ने त्यसपछिको तहमा भएका अधिकारीहरूमाथि पनि निगरानी बढ्न सक्छ। आफूमाथि भएकाहरूको दुर्गति देखेर उनीहरू सीको भ्रष्टाचार नियन्त्रणको अभियान आफूमाथि खनिन सक्ने भएकाले बढुवा पाएर जोखिमयुक्त पदमा पुग्ने इच्छा नदेखाउन सक्छन्।
चीनले ताइवानलाई आफ्नो नियन्त्रण गर्ने उद्देश्यसहित दबाव बढाइरहेको बेला चिनियाँ सेनामा यो घटनाक्रम अघि बढेको छ।
विश्लेषकहरूले अहिलेको कारबाहीले चीनको सम्भावित योजनामाथि कस्तो दुष्प्रभाव पारेको छ भनेर केलाउने छन्। तर केही विश्लेषकहरू चाहिँ बेइजिङको उद्देश्यमा निकै कम असर पर्ने ठान्छन्।
"यसरी पदच्युत गर्दा ताइवानलाई कब्जामा लिने चीनको उद्देश्यमा कुनै फरक पर्दैन। त्यो समग्रमा चिनियाँ कम्युनिस्ट पार्टी र विशेष गरी सीको उद्देश्य हो," प्राध्यापक चोङले भने।
"त्यसमा पदबाट हटाउने कार्य सञ्चालनगत निर्णय हो। उच्च सैन्य अधिकारीहरू नहुँदा वा डराएको अवस्थामा हुँदा ताइवानप्रति आक्रामक हुने विषय सी, उनका रुचि र झुकावमा बढी केन्द्रित हुने देखिन्छ।"
बीबीसीकी इभेट टानको थप रिपोर्टिङ
यसरी बने सी जिन्पिङ कसैले चुनौती दिन नसक्ने चिनियाँ नेता
यस्तो छ चीन र ताइवानबीचको सम्बन्ध र शत्रुता
चीनले कसरी अमेरिकी प्रविधिका गोप्य कुरा थाहा पाउँछ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: