तस्बिरमा : हर्षोल्लाससहित भित्रियो नयाँवर्ष २०२६
विश्वभरि नयाँवर्ष २०२६ लाई हर्षोल्लासपूर्वक स्वागत गरिएको छ। सन् २०२५ लाई बिदा गर्न र नयाँवर्षलाई स्वागत गर्न ठाउँठाउँमा विशेष कार्यक्रमहरू आयोजना भए।
प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्र किरिबासको किरिस्मा टापुमा नयाँवर्ष सबैभन्दा पहिला आरम्भ भयो। उक्त टापुबाट एक पर्यटकले आफूले त्यहाँ प्रविधि र मानिसहरूको कोलाहलबाट टाढा "पूरै अन्धकारमा, असङ्ख्य गँगटाहरू भएको समुद्री तटमा" नयाँवर्ष मनाएको बीबीसीलाई बताए।
विभिन्न देशमा मानिसहरूले कलात्मक आतसबाजीसँगै नयाँवर्षलाई स्वागत गरे।
अस्ट्रेलियामा नयाँवर्षलाई स्वागत गर्न मध्यरातमा सिड्नी ओपरा हाउस र सिड्नी हार्बर ब्रिजमा विशेष आतसबाजी गरियो।
गत १४ डिसेम्बरमा बोन्डाइ बीचमा भएको गोलीकाण्डमा १५ जनाको मृत्यु भएको हुनाले सिड्नीमा आयोजित कार्यक्रममा शोकको सङ्केत पनि देखियो।
स्थानीय समयानुसार बुधवार राति ११ बजे सिड्नी हार्बरमा एक मिनेट मौनधारण गरियो। मानिसहरूले बोन्डाइ बीचमा मारिएका मानिसहरूको सम्झनामा बत्ती बालेका थिए। सिड्नी हार्बर ब्रिजका स्तम्भहरूमा नौवटा पानस भएको यहुदी चिह्न 'मनोरा'को आकृति देखाइएको थियो।
सिङ्गापुरको मरिना बे वाटरफ्रन्टमा पनि विशेष आतसबाजी गरियो।
फिलिपिन्सको मनिला महानगरस्थित मकाटीमा विशेष खालको प्रकाशबाट उज्यालो देखिएका अग्ला भवनहरूमाथि रङ्गीन आकृतिहरू बन्ने गरी आतसबाजी गरियो।
ब्याङ्ककमा नयाँवर्षलाई स्वागत गर्न आयोजित कार्यक्रममा सहभागी हुने चाउ प्राया नदीको तटमा हजारौँ मानिसहरू भेला भए।
दुबईस्थित संसारकै अग्लो भवन 'बुर्ज खलिफा'मा रङ्गीचङ्गी बत्ती, सङ्गीत र पानीको फोहराको मनमोहक संयोजनपछि कलात्मक आतसबाजी गरियो।
हङ्कङमा दर्शकहरू नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित विशेष साङ्गीतिक कार्यक्रम र 'लाइट शो'मा सहभागी भए।
बेइजिङमा जुयुङ्वान ग्रेटवाल रङ्गीचङ्गी देखिने गरी उज्यालो बनाइयो।
सोलस्थित दक्षिण कोरियाको सबैभन्दा अग्लो भवन 'लोट्टे वर्ल्ड टावर'माथिको आकाशमा लेजर लाइटबाट रङ्गीचङ्गी प्रकाश प्रक्षेपण गरियो।
सोलस्थित बोशिन्गाकमा कलाकारहरूले विशेष नृत्य देखाए। चिनियाँ पात्रो अनुसरण गर्ने दक्षिण कोरियामा 'रातो घोडाको वर्ष' आरम्भ भएको छ।
डब्लिन कासलमा आयोजित म्याटिनी काउन्टडाउन कन्सर्टमा सहभागी हुन जानुअघि सडकमा एक कलाकारले आगो घुमाउँदै आफ्नो नृत्य प्रस्तुत गरिन्।
विभिन्न देशमा आआफ्नो परम्पराअनुसार नयाँवर्षलाई स्वागत गरियो।
दक्षिण फ्रान्सस्थित ल क्याप डाग्डको तटमा भेला भएका मानिसहरू कोहीले निर्वस्त्र त कोहीले वस्त्रधारण गरेरै समुद्रमा डुबुल्की मारे।
डेन्मार्कको कोपन्हेगनमा मानिसहरूले चिसो पानीमै पौडी खेले।
द नेदरल्यान्ड्सको ओम्मेनमा स्थानीय बासिन्दाहरू नयाँवर्षको पूर्वसन्ध्यामा आयोजित 'कार्बाइड शूटिङ' हेर्न भेला भए।
यहाँ दूधका क्यानलाई तोप र फुटबललाई गोला बनाएर प्रहार गर्ने चलन छ।
जापानको ओसाकामा युवतीहरू परम्परागत पोसाक किमोनो लगाएर वर्षान्तका अवसरमा सुमियोशी ताइशा मन्दिरमा आयोजित शिन्तो अनुष्ठानमा सहभागी भए।
सुमियोशी ताइशा जापानमा भएका पुराना शिन्तो मन्दिरमध्ये एक हो।
पोल्यान्डको क्र्याकोमा नयाँवर्षका अवसरमा आयोजित दौड प्रतियोगितामा धावकहरू चिसोलाई बेवास्ता गर्दै विभिन्न खालका पोसाक लगाएर सहभागी भए।
इन्डोनेशियाको बालीमा सन् २०२२५ मा सूर्यलाई बिदा गर्न र नयाँवर्षको सूर्यलाई स्वागत गर्न बालबालिका र वयस्क मानिसहरूले परम्परागत नृत्य गरे।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: