यात्रुवाहक रेलमाथि रुसले गरेको घातक ड्रोन हमलाको राष्ट्रपति जेलेन्स्कीद्वारा निन्दा
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वोत्तर खार्किभ क्षेत्रमा एउटा यात्रुवाहक रेलमाथि रुसले गरेको ड्रोन हमलामा चारजना मारिएका बताएका छन्।
उनका अनुसार मङ्गलवारको उक्त रुसी हमलापश्चात् अरू थुप्रै व्यक्ति हराइरहेका छन्।
हमलालाई "आतङ्कवादी कार्य"को सङ्ज्ञा दिँदै जेलेन्स्कीले रेलमा यात्रा गरिरहेका सर्वसाधारणलाई मार्ने कार्यको औचित्य पुष्टि गर्न नसकिने बताए।
युक्रेन युद्धमा बढी क्षति बेहोर्दै रुस, अहिलेसम्म '२.५ लाख रुसी सैनिकको मृत्यु'
पुटिनको एउटा घरमा ड्रोन हमला गरेको भन्ने रुसको आरोप युक्रेनद्वारा अस्वीकार
स्थानीय अधिकारीहरूका अनुसार दुईवटा ड्रोन रेलहरूनजिकै बज्रिएका थिए भने तेस्रोले रेलको डिब्बामाथि प्रहार गर्दा आगो लागेको थियो।
जेलेन्स्कीका अनुसार रेलमा यात्रा गरिरहेका झण्डै दुईसयजना यात्रुहरूमध्ये १८ जना हमलाबाट प्रभावित भएका थिए।
हमलामा तीव्रता
आक्रमणबाट रेलको एउटा डिब्बा नराम्ररी क्षतिग्रस्त भएको र बाँकीमा आगोले असर पुर्याएको तस्वीरहरूमा देखिन्छ।
त्यसअघि रुसले राति गरेको एउटा ड्रोन हमलामा ओडेसाको दक्षिणी भागमा तीनजना व्यक्तिको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका थिए।
रुसले अहिलेसम्म त्यसबारे प्रतिक्रिया जनाइसकेको छैन। मस्कोले युक्रेनका ऊर्जा तथा यातायात पूर्वाधारहरूलाई निशाना बनाई पछिल्ला महिनाहरूमा ड्रोन तथा क्षेप्यास्त्र हमलाहरू तीव्र पारेको छ।
युक्रेनले पछिल्ला वर्षमध्येका निकै कष्टकर जाडोको सामना गरिरहँदा त्यस्ता हमलाले तीव्रता पाएका बताइन्छ।
रुसी आक्रमणपछि देशभरि लाखौँ युक्रेनीहरू घर तातो बनाउने व्यवस्था , बिजुली र पानी आपूर्तिको अभावबीच बाँच्न बाध्य भएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरमा हमला शुरू गरेका हुन् र हाल मस्कोले युक्रेनको करिब २० प्रतिशत भूभागमाथि नियन्त्रण गरेको बताइन्छ।
'विशुद्ध आतङ्कवाद'
सामाजिक सञ्जालमा मङ्गलवार गरेको एउटा पोस्टमा जेलेन्स्कीले लेखेका छन्, "जुनसुकै देशमा सर्वसाधारण नागरिकहरू सवार रेलमाथि गरिएको ड्रोन हमलालाई ठ्याक्कै यस्तै मानिने छ- विशुद्ध रूपमा आतङ्कवाद।"
आक्रमणमा परेको रेलको डिब्बामा १८ जना यात्रु परेको भन्दै उनले सर्वसाधारणलाई निशाना बनाउने कार्यको "सैनिक औचित्य" पुष्टि गर्न नसकिने बताए।
खार्किभको क्षेत्रीय अभियोजनकर्ताको कार्यालयका अनुसार याजिकोभ गाउँनजिक रेल हमलामा परेको थियो।
उसका अनुसार उक्त रेल पश्चिमी सीमावर्ती नगर चोपबाट खार्किभको क्षेत्रीय राजधानी हुँदै बार्भिनकोभतर्फ गइरहेको थियो।
उक्त रेल्वे लाइन डोनेस्त्कसम्म जान्छ। आउजाउ गर्नका लागि त्यो मार्गको प्रयोग स्थानीय बासिन्दाका साथै युक्रेनी सैनिकहरूले पनि गर्दै आएका छन्।
युद्ध अन्त्य गराउने अनि युक्रेन-रुस शान्ति सहमति गराउने प्रयासमा संलग्न वार्ताकारहरू को हुन्
पश्चिमा विश्वले रुसलाई सम्मानजनक व्यवहार गरे अरु युद्ध नगर्ने पुटिनको वाचा
ओडेसामा रुसले ५० वटाभन्दा बढी ड्रोन प्रयोग गरी रातिको समयमा छुट्टै आक्रमणबाट ऊर्जा तथा गैरसैनिक पूर्वाधारहरूलाई निशाना बनाएको अधिकारीहरूले बताएका छन्।
उक्त हमलामा तीनजना मारिएका र २५ जना घाइते भएका त्यहाँका सैनिक प्रमुखले बताए।
आक्रमणबाट आवासीय भवनका थुप्रै तलाहरू ढलेका र अरू कैयौँ भवनमा क्षति पुगेका बताइएको छ।
युद्ध अन्त्य गराउने प्रयासमा गत साता नयाँ चरणको वार्ता शुरू भए पनि रुसले दैनिक हवाई आक्रमण जारी राखेको छ।
संयुक्त अरब एमिरेट्समा भएको अमेरिकी वार्ताकारहरू समेत संलग्न वार्ता सकारात्मक रहेको सबै पक्षले बताएका थिए।
यद्यपि भूभागसम्बन्धी विषयबारे अझै कुरा मिल्न सकेको छैन र यसै सप्ताहान्त थप वार्ताहरू हुने अपेक्षा गरिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: