'विश्वभरि फैलिन सक्छन्' गुप्ताङ्गमा आक्रमण गर्ने परजीवि
यो परजीवि छालाबाट शरीरभित्र पस्छ र रगतमा लुकेर बस्छ। त्यसपछि यसका अण्डा कलेजो, फोक्सो र गुप्ताङ्गमा गएर बस्छन्। वर्षौँसम्म पनि यो पत्ता नलाग्न सक्छ।
वैज्ञानिकहरूले प्राय: बेवास्ता गरिने परजीविसम्बन्धी 'स्नेल फिभर' को समस्या आगामी दिनमा नियन्त्रण गर्न झन् कठिन हुने गरी विकसित हुन सक्ने चेतावनी दिएका छन्।
बर्सेनि २५ करोड मानिसहरूले यो रोगको उपचार गराउँछन्। तीमध्ये धेरैजसो अफ्रिकामा बसोबास गर्छन् जहाँ उक्त परजीवी बोक्ने विशेष प्रकारका शङ्खेकिराहरू पाइन्छन्।
के मानिसहरू प्राकृतिक रूपमै एक जनासँग मात्रै यौन सम्बन्ध राख्ने स्वभावका हुन्छन्?
'महिनावारी बन्द भएका महिलाहरूले पनि कामसुख पाइरहन सम्भव छ'
तर चीन, भेनेजुएला र इन्डोनेसिया लगायत विश्वका ७८ देशहरूमा उक्त परजीवीको सङ्क्रमण देखिएको छ।
अनुसन्धानले उक्त परजीवीमा आएको एउटा परिवर्तनलाई उजागर गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई "विश्वव्यापी चिन्ताको विषय" भनेको छ। उक्त परिवर्तनले यो परजीवी अब नयाँनयाँ क्षेत्रहरूमा समेत फैलिन सक्ने सङ्केत गर्छ।
'वर्ल्ड नेग्लेक्टेड ट्रपिकल डिजिज डे' मनाउँदै गर्दा डब्ल्यूएचओले उक्त चेतावनी दिएको हो। यस दिवसको उद्देश्य भाइरस, ब्याक्टेरिया, परजीवी र फङ्गीका कारण लाग्ने त्यस्ता रोगहरूबारे ध्यानाकर्षण गर्नु हो जसले पिछडिएको क्षेत्रमा बसोबास गर्ने एक अर्बभन्दा बढी मानिसहरूलाई गम्भीर असर गरिरहेको छ।
'स्नेल फिभर' के हो?
मानिस वा जनावरहरू शङ्खेकिराले छाडेका लार्भा भएको पानीको सम्पर्कमा आउँदा 'स्नेल फिभर' हुन्छ। ती लार्भाहरूले निकाल्ने इन्जाइमले छालालाई गलाउँछ र ती शरीरभित्र पस्छन्।
त्यसपछि ती लार्भा वयस्क जुकामा विकसित भई रक्तनलीहरूमा बस्छन् र पोथीहरूले अण्डा पार्छन्। ती अण्डाहरू कहिलेकाहीँ दिसापिसाबमार्फत् बाहिर निस्कन्छन् भने कहिलेकाहीँ तन्तुहरूमा अड्किएर पनि बस्छन्।
ती अण्डाहरू विरुद्ध शरीरको प्रतिरक्षा प्रणालीले जनाउने प्रतिक्रियाले अन्ततः आसपासका स्वस्थ तन्तुहरूलाई नष्ट गर्छ जसले गर्दा अङ्गहरूमा क्षति पुग्न सक्छ।
आकस्मिक गर्भनिरोधक चक्की सेवन गर्दा महिलालाई कस्तो दुष्प्रभाव
बालिकाहरू कलिलैमा महिनावारी हुन थाल्नुका कारण के हुन्
यी अण्डाहरू मानिसको जननेन्द्रीय वरपर पनि अड्कन सक्छन् जसलाई युरोजेनिटल सिस्टोसोमियासिस भनिन्छ। यस रोगले पेट दुख्ने, क्यान्सर हुने र गम्भीर अवस्थामा मृत्युसमेत गराउन सक्छ।
परजीवीनिरोधक औषधिद्वारा 'स्नेल फिभर'लाई निको पार्न सकिन्छ। डब्ल्यूएचओले ससाना बालबालिका वा कृषि र माछापालनका क्षेत्रमा संलग्न कामदारजस्ता जोखिममा रहेका समूहहरूलाई केही वर्षसम्म निरन्तर उक्त औषधि खान भन्छ।
तर मलावी लिभरपुल वेलकम क्लिनिकल रिसर्च प्रोग्रामकी सहनिर्देशक प्राध्यापक जानलिस मुसेयलगायत वैज्ञानिकहरू भने परजीवीका नयाँ प्रकारहरू हाल प्रयोगमा रहेका उपचार विधिबाट पूर्ण रूपमा नियन्त्रण नहुन सक्ने बताउँछन्।
परीक्षणले के देखायो?
त्यसो भए स्थानीय स्तरमा फैलिइराखेको प्रकोपको कारण के हो?
अनुसन्धानले देखाएअनुसार परजीवीका मानव र पशु संस्करणबीच प्रजनन भइरहेको छ र त्यसले नयाँ "हाइब्रिड" संस्करणहरू जन्माइरहेको छ।
यी हाइब्रिडहरूले मानिस र जनावर दुवैलाई सङ्क्रमित गर्न सक्छन्। त्यसले गर्दा यसलाई नियन्त्रण गर्न कठिन बनाएको छ।
वैज्ञानिकहरूलाई पशु र मानव शरीरमा भएका परजीवीका विभिन्न प्रकारहरूबीच प्रजनन भइरहेको पहिले नै थाहा नभएको होइन। तर हाइब्रिड अण्डाहरू सफलतापूर्वक विकास हुने र मूल बाहक शरीर बाहिर जीवित रहने कुरामा उनीहरू पक्का थिएनन्।
यौन संसर्गबाट सर्ने सङ्क्रमण के हो, कसरी जोगिने
गर्भ बस्न नदिन 'पुरुषले सेवन गर्ने चक्की' बनाउने प्रयास
त्यसलाई पुष्टि गर्न उनीहरूले मलावीका केही समुदायका मानिस र जनावरहरूबाट नमुना सङ्कलन गरे। परीक्षण गरिएका परजीवीहरूमध्ये ७% "म्युटेन्ट हाइब्रिड" वा उत्परिवर्तित भएकाहरू भएको पाइयो। त्यो उनीहरूले सोचेभन्दा धेरै थियो।
यसको अर्थ ती म्युटेन्ट परजीवीहरू सफलतापूर्वक बढिरहेका छन् र अन्ततः फैलिनेछन्।
"यसरी नै सङ्क्रमण फैलिरहने हो भने यो धेरै ठूलो सङ्ख्या हो," मुसेयले बीबीसीलाई बताइन्।
उनको टोलीले निश्चित क्षेत्रहरूमा मात्र परीक्षण गरेको हुनाले यो "बाहिर देखिएको थोरै अंश मात्र" हुन सक्ने उनी बताउँछिन्। परीक्षणका क्रममा यो सधैँ पत्ता नलाग्न सक्ने भएकाले पनि उनले यस्तो भनेकी हुन्।
भविष्यमा यी हाइब्रिडहरूले परजीवीको मौलिक संस्करणलाई नै विस्थापित गर्न सक्ने चेतावनी पनि मुसेयले दिएकी छन्।
उनका अनुसार शरीरमा यी हाइब्रिड परजीवी भएका बिरामीहरूको उपचार कसरी गर्ने भन्ने चिकित्सकहरूलाई अझै थाहा नभएकाले यो ठूलो समस्या बन्न सक्छ।
"यो हाम्रो तर्फबाट नीतिनिर्माताहरूका लागि 'जाग्नुहोस्... यो ठूलो समस्या बन्नुअगावै चाँडै केही गर्न सकिन्छ कि?' भन्ने चेतावनी हो।"
गुप्ताङ्गमा असर
अध्ययनले हाइब्रिड परजीवीहरूले मानिसको गुप्ताङ्गमा सङ्क्रमण गराइरहेको पनि खुलासा गरेको छ। तिनका अण्डा माइक्रोस्कोपमा सामान्य परजीवीका अण्डाझैँ नदेखिने भएकाले 'स्नेल फिभर'का बिरामीहरू पहिचान गर्न गाह्रो हुन्छ।
स्वास्थ्यकर्मीहरूले झुक्किएर यसका लक्षणहरूलाई यौनजन्य सङ्क्रमण ठान्न सक्छन्।
उपचार नगरिएको खण्डमा 'युरोजेनिटल सिस्टोसोमियासिस'ले गुप्ताङ्गमा घाउ, बाँझोपन र एचआईभीको जोखिम बढाउन सक्छ। महिलाका लागि यसका स्वास्थ्यसम्बन्धी, सामाजिक र प्रजननसम्बन्धी परिणामहरू अझ खराब मानिन्छन्।
"कुनै महिलाले बच्चा पाउन सकिनन् भने... हाम्रो स्थानीय संस्कृतिमा बच्चा पाउनु धेरै महत्त्वपूर्ण कुरा हो, अन्यथा मानिसहरूले अनेकथरी भन्न थाल्छन्। यो वास्तवमै निकै खराब र दुःखद रोग हो," मुसेय भन्छिन्।
विश्वभरि पुरुषमा शुक्रकीटको मात्रा निरन्तर घट्नुका ५ कारण
हाम्रो अनुहारको छालामा प्रजनन गर्ने एउटा सानो जीव जुन लोप हुन सक्छ
दबावमा प्रगति
वैज्ञानिकहरूले हाइब्रिड परजीवीहरूले यो रोगलाई नयाँ क्षेत्रहरूमा फैलाउन र स्थापित गर्न मद्दत पुर्याउन सक्ने बताएका छन्।
जलवायु परिवर्तन, यात्रा गर्नेहरू तथा बसाइँसराइले पनि 'स्नेल फिभर' फैलाउन सक्छन् र हाइब्रिड प्रकारहरूले यसको नियन्त्रणलाई थप कठिन बनाउँछन्। दक्षिण युरोपका केही भागहरूमा हाइब्रिड सङ्क्रमणका घटनाहरू यसअघि नै देखा परिसकेका छन्।
"यो विश्वव्यापी चिन्ताको विषय हो," डब्ल्यूएचओको सिस्टोसोमियासिस नियन्त्रण कार्यक्रमका प्रमुख डा आमदू गार्ब जिरमे भन्छन्।
यसले रोग उन्मूलनका लक्ष्यहरूलाई प्रभावित गर्न सक्नेबारे उक्त अन्तर्राष्ट्रिय स्वास्थ्यसम्बन्धी निकाय चिन्तित छ।
"मानिसमा यो रोग नसरेका तर जनावरहरूमा यी परजीवि पाइएका देशहरू पनि छन् र त्यसले मानिसहरूलाई जोखिममा पार्न सक्छ," उनी भन्छन्।
तपाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
डब्ल्यूएचओले यो नयाँ खतरालाई रोक्न आफ्नो रणनीति परिवर्तन गर्दैछ। उक्त निकायले यो वर्ष जनावरहरूमा उक्त रोग नियन्त्रण गर्नेबारे नयाँ निर्देशिका जारी गर्ने छ। उक्त हाइब्रिड परजीवीका बारेमा सचेत गराउन अन्तर्राष्ट्रिय स्तरको चेतावनी जारी भइसकेको छ।
ठूलो स्तरमा सञ्चालन गरिएका परजीविप्रतिरोधी औषधि कार्यक्रमहरूका कारण सन् २००६ देखि २०२४ को बीचमा 'स्नेल फिभर'का बिरामीहरूको सङ्ख्या ६०% ले घटेको थियो।
प्रगतिका लागि निरन्तर आर्थिक सहयोगको खाँचो पर्ने तर सन् २०१८ देखि २०२३ को बीचमा ४१% ले 'उपेक्षित ट्रपिकल रोग'सम्बन्धी सहायता घट्दा दबाव परेको डब्लुएचओको भनाइ छ।
मुसेयले उक्त रोगलाई रोक्न सकिन्छ भन्ने आशा मारिसकेकी छैनन्।
"हामी उन्मूलनको स्थितिमा पुग्न सक्छौँ तर यो एकजनाले गर्न सक्ने काम होइन," उनी भन्छिन्, "हाम्रा हिसाबले हामी सक्रिय छौँ। हामी हाम्रो सामु यस्तो समस्या छ, यसलाई अहिल्यै सम्हालौँ भन्दैछौँ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: