नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो
पश्चिम नेपालको रोल्पाको सुनछहरी गाउँपालिकाका केही वडामा प्रत्येक वर्ष हिउँदमा स्थानीय खोलाहरूमा सुन खोज्ने चलन दशकौँ पुरानो रहेको त्यहाँका गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगर बताउँछन्।
उनका अनुसार केही वर्षअघि एक व्यक्तिले तीन तोलासम्मको डल्लो फेला पारेका थिए।
देशभरि बालुवा चालेर सुन निकाल्ने काम चमेलिया, महाकाली, लुङ्ग्री, फागुम, कालीगण्डकी, मर्स्याङ्दी, मोदी, त्रिशूलीजस्ता नदीको तटमा हुने गरेको खानी विभागले बताएको छ।
के अचेल बढेको बजार भाउमा सहजै सुन बेच्न सकिन्छ?
सुनको भाउले आकाश छोएपछि संस्कार र स्वभावमा परिवर्तन आइरहेको हो?
अहिले विश्वभरि सुनको मूल्य निरन्तर उकालो लागेको छ। नेपालमा सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नाघिसकेको छ।
विज्ञहरूका अनुसार नेपालमा विभिन्न स्थानमा सुन पाइन्छ। के ती स्थानमा व्यावसायिक रूपमै सुन उत्खनन गर्न सकिन्छ?
सम्भावना
नेपालमा सुन खास गरेर 'प्लेसर गोल्ड'को स्वरूपमा खोलाको बगरमा बालुवामा कणका रूपमा भेटिने गरेको खानी तथा भूगर्भ विभागका प्रवक्ता एवं खनिजभूगर्भविद् धर्मराज खड्काले बीबीसीलाई बताए।
"खोलाहरूमा, खोलाछेउको 'टेरेस' भनिने स्थानहरूमा, खोलाले छाडेका ठाउँ 'फ्लडप्लेन'हरूमा त्यसरी सुन पाइने गरेको छ। अहिले पनि ठाउँठाउँमा मानिसहरूले बालुवा चालेर सुन निकालेको पाइन्छ," उनले भने।
खानी विभागले 'प्लेसर गोल्ड' फेला परेका स्थान पहिचान गरेर नक्साङ्कन पनि गरेको छ।
विगतमा स्थानीय मानिसहरूले आफूखुसी त्यसरी सुन झिक्ने गरेको भए पनि हिजोआज खानी विभागको अनुमतिमा मात्र त्यसरी सुन झिक्न पाइने उनले बताए।
उनका अनुसार बालुवामा मिसिएका स्वर्णकणहरू थुप्रै ठाउँमा भेटिए पनि 'हार्डरक' तथा 'बेडरक' भनिने चट्टानमा सुनखानीकै स्वरूपमा रहेको चाहिँ रोल्पामा विभागले पहिचान गरेको छ।
"प्रारम्भिक अध्ययनहरूमा त्यहाँ सुन भेटिएका छन्। तर उत्खनन गरेर व्यापारिक प्रयोगमै ल्याउन सकिने हो कि होइन भन्ने बारे विस्तृत अध्ययन हुन बाँकी छ।"
विश्वभरि सुनको मूल्य बढ्नुका कारण अनेक
चीनले किन धेरै सुन खरिद गरिरहेको छ
बालुवामा सुनका कण भेटिनुको अर्थ
खानी तथा भूगर्भ विभागका प्रवक्ताका अनुसार रोल्पामा जस्तै चमेलिया खोला आसपासको बाङ्गाबगर तथा गोराङजस्ता ठाउँका चट्टानमा सुन भेटिएको छ।
नेपालमा सुन पाइने सम्भावित ठाउँ चाहिँ ठूलाठूला हिमाल बन्ने क्रममा बनेका 'शिअर जोन' भनिने ठूला दरार भएका क्षेत्र हुन्।
कम्तीमा रोल्पामा सुनको खानी नै रहेको पहिचान भएको भूगर्भविद् चुर्णबहादुर वलीले पनि बताए।
"तर त्यो उत्खनन गर्न आर्थिक रूपमा सम्भाव्य हो कि होइन भन्ने चाहिँ स्पष्ट भएको छैन," उनले भने।
पृथ्वीका खानीमा अब कति सुन बाँकी छ?
जब २.६ केजी सुन भएको पत्थर फेला पर्यो
"सुन तथा अन्य खनिज पदार्थको सम्भावना नेपालमा धेरै छ। 'प्लेसर डिपोजिट'का रूपमा सुन भेटिनु भनेको पनि कतै त्यसको खानी छ र त्यहाँबाट बग्दैबग्दै खिइँदैखिइँदै बालुवामा मिसिएको कणको रूपमा बाँकी रहेको भनेर बुझ्न सकिन्छ," वलीले भने।
विगतमा प्रतिटन चट्टानमा पाँच ग्राम सुन भेटियो भने उत्खनन गर्न त्यसलाई आर्थिक रूपमा उपयुक्त मानिने गरेको थियो। हिजोआज सुनको भाउ धेरै बढेकाले १-२ ग्राम अनुपातमा भेटिए पनि व्यापारिक उत्खनन गर्न योग्य मान्न सकिने खड्काले बताए।
नेपालमा कहाँकहाँ पाइन्छ 'रणनीतिक खनिज' युरेनीअम
नेपालमा कस्ताकस्ता खनिज पदार्थ छन्, के युक्रेनमा जस्तै 'रेअर अर्थ' तत्त्वहरूको खानी पनि छ
रोल्पाको एउटा गाउँ जहाँ सुन खोज्ने चलन अझै छ
रोल्पाको सुनछहरी गाउँपालिकामा सुन खोज्ने प्रचलन पुरानै रहेको अध्यक्ष धनबहादुर पुन मगर बताउँछन्।
"यहाँ बग्ने लुङ्ग्री खोला र जलजला खोलामा बर्खामा ठूलाठूला ढुङ्गाहरू ठोक्किँदै आउँदा सुनका ससाना कण पाइन्छ। हिउँदभरि पुरानो ग्रामीण प्रविधिबाट गाउँलेहरूले सुन खोज्ने चलन छ," उनले भने।
"कोहीकोहीले एक मासा, दुई मासा भेट्छन्। कहिले कसो एउटै डल्लो पनि तीन तोलासम्म पाएका छन्। गत वर्ष मात्र हाम्रै गाउँपालिका छेउका एकजना भाइले ठूलै डल्लो पाएछ र त्यसलाई सुनपसलमा लगेर प्रशोधन गर्दा ९४,००० रुपैयाँ पाएको थियो," उनले भने।
परापूर्वकालदेखि स्थानीयवासीहरूले त्यसरी बालुवामा चालेर सुन खोज्ने भएकाले आफूहरूले कुनै अवरोध नगरेको तर बाहिरबाट कैयौँ मानिस आएर त्यहाँका ढुङ्गा लैजाने क्रम पनि बढेको उनले बताए।
"मैले उनीहरूलाई ढुङ्गा लगेर परीक्षण गर्न त दिएको छु तर उत्खनन गर्न पाइँदैन भनेको छु।"
उनका अनुसार औसतमा त्यहाँका दुईवटा खोलाबाट मानिसहरूले वर्षको डेढ किलो जति सुन निकाल्छन्।
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण
अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?
उक्त गाउँपालिकामा तीनवटा सुनखानी दर्ता भएको त्यहाँका अध्यक्ष धनबहादुर पुन मगरले बताए।
"यहाँको वडा नम्बर २, ३ र ७ को एक-एक ठाउँ गरी तीनवटा सुन खानी २०५१/५२ सालबाटै दर्ता छन्। वडा २ र ३ को हकमा आर्थिक वर्ष २०७९/८० मा सरकारले टेन्डर खोलेको थियो। व्यवसायीहरूले टेन्डर पारेका थिए तर पछि उत्खनन गर्न सकेनन्," मगरले भने।
खानी विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार पोहोर फेरि अर्को लगानीकर्ताले त्यहाँ काम गर्ने भनेर विभागसँग सम्झौता गरेका छन्।
भूगर्भविद्हरूका अनुसार सामान्यतया सुनको कण चाँदी वा अन्य सल्फाइड यौगिकसँग मिश्रित रूपमा भेटिन्छ।
विज्ञहरूले खास गरी उच्च हिमाली भेगमा सुनखानी भेट्न सकिने बढ्ता सम्भावना औँल्याएका छन्।
अचेल सुनजस्तै तीव्र गतिमा भाउ बढिरहेको चाँदीको चाहिँ उल्लेखनीय खानी हालसम्म नभेटिएको विभागका अधिकारीहरूले बताए।
अध्ययनहरूबाट गणेश हिमालमा रहेको लेड-जिङ्क डिपोजिटमा केही परिमाणमा चाँदी भेटिएको देखिएको छ।
सुनको उत्खननलाई निकै चुनौतीपूर्ण तथा जटिल मानिन्छ। यसका निम्ति निकै धेरै समय, वित्तीय स्रोत तथा विशेषज्ञता आवश्यक पर्ने बताइन्छ।
सम्भावित स्थलहरूमध्ये ०.१ प्रतिशत मात्र उत्पादनशील खानीका रूपमा परिणत हुने वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।
उसका अनुसार चीन विश्वकै सबभन्दा धेरै सुन उत्पादक देश हो। सुन धेरै उत्पादन गर्ने अन्य देशहरूमा रुस, अस्ट्रेलिया तथा क्यानडा पर्छन्।
सुनको मूल्य बढेको बढ्यै, मानिसहरू यो धातुप्रति किन हुरुक्क हुन्छन्
अस्ट्रेलियामा लाखौँ डलर पर्ने सुन भएका चट्टान
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: