इजरेलको हवाई हमलामा परी गाजामा कम्तीमा '३२ प्यालेस्टीनीको मारिए'
गाजा स्ट्रिपभरि शनिवार भएका शृङ्खलाबद्ध हमलामा कम्तीमा ३२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार मारिनेमा बालबालिका र महिला पनि रहेका छन्। एउटा हमलामा हतियारसहितको हेलिकप्टरले दक्षिणी सहर खान यूनिसमा विस्थापितहरू रहेको शिविरमा हमला गरेको बताइएको छ।
प्यालेस्टीनीहरूले गत अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्ध विरामको दोस्रो चरणपछि भएको यो सबैभन्दा ठूलो हमला भनी व्याख्या गरेका छन्।
इजरेली सेनाले शुक्रवार भएको सम्झौतालाई हमासले उल्लङ्घन गरेको भन्दै त्यसकै प्रतिक्रियामा हमलाहरू गरिएको पुष्टि गरेको छ।
नेतान्याहूलाई स्वागत गर्दै ट्रम्पले भने अमेरिकाले गाजालाई आफ्नो 'जिम्मामा लिन चाहन्छ'
गाजाको खान यूनिस सहर जहाँ आश्रय लिने मानिसको घुइँचो लागेको छ
इजरेल र हमास दुवैले युद्ध विराम लागु भएदेखि नै उल्लङ्घनको आरोप एक अर्कालाई लगाउने गरेका छन्।
एउटा विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेस आईडीएफले "पूर्वी रफाहमा भूमिगत आतङ्ककारी पूर्वाधारबाट बाहिर निस्कने क्रममा ८ जना आतङ्ककारीको पहिचान भएको" जनाएको छ। अक्टोबर सम्झौता अनुसार इजरेली फौजहरू गाजाको त्यही क्षेत्रमा परिचालित छन्।
आईडीएफले इजरेल सेक्युरिटी एजेन्सी(आईएसए)सँग मिलेर "चार कमान्डर र थप आतङ्कवादीहरू" साथै हतियार भण्डारण सुविधा, हतियार निर्माण स्थल र "गाजा स्ट्रिपको मध्य भागमा हमासको दुई प्रक्षेपण स्थलहरू" सहित विभिन्न स्थानहरूमा निशाना बनाएको बताएको छ।
हमासले आक्रमणको निन्दा गरेको छ र अमेरिकालाई तत्काल कारबाही गर्न आग्रह गरेको छ। हमासले "यी जारी उल्लङ्घन" ले इजरेली सेनाले "गाजा क्षेत्रविरुद्ध नरसंहारको आफ्नो निर्मम युद्ध जारी राखेको छ" भन्ने पुष्टि गरेको बताएको छ।
हमलामा आवासीय भवन, शिविर, वासस्थान र प्रहरी केन्द्रलाई निसाना बनाइएको नागरिक सुरक्षाका एक प्रवक्ताले बताएका छन्।
गाजा सिटीस्थित शिफा अस्पतालका अधिकारीहरूले सहरको एउटा आवासीय भवनमा हमला हुँदा तीन बालबालिका र दुई महिलाको ज्यान गएको बताएका छन्।
"मैले मेरा तीन भतिजीहरूलाई गल्लीमा भेटाएँ। उनीहरूले 'युद्ध विराम' भन्छन्। ती बालिकाहरूले के गरेका थिए? हामीले के गरेका थियौँ?" ती तीन बालिकाका काका समेर अल-अत्बसले रोयटर्स समाचार संस्थासँग भने।
गाजाबाट आएका भिडिओ र तस्बिरहरूमा थुप्रै शवहरू भग्नावशेषबाट निकालिँदै गरेको र कयौँ भवनहरू ध्वस्त भएको देखिन्छ।
आईडीएफले यो साताको सुरुमा इजरेलका अन्तिम बन्धकको शव प्राप्त गरेपछि इजिप्टसँग गाजाको सीमामा पर्ने रफाह आइतवार पुनः खुल्ने क्रममा आक्रमण भएको हो।
इजिप्टको विदेश मन्त्रालयले एएफपी समाचार संस्थाले देखेको एउटा विज्ञप्तिमा आक्रमणको निन्दा गरेको छ र सबै पक्षलाई "अत्यधिक संयम अपनाउन" आग्रह गरेको छ।
ज्यानुअरीमा अमेरिकी विशेष दूत स्टिभ विट्कोफले युद्ध विराम सम्झौताको दोस्रो चरणको सुरु भएको घोषणा गरेका थिए।
सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले दक्षिणी इजरेलमा हमला गरेपछि इजरेल र हमासबीचको युद्ध सुरु भएको थियो। उक्त हमलामा करिब १२ सय मानिसको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरेलले त्यसयता प्रतिक्रिया जनाउँदै सैन्य कारबाही चलाउँदा ७१,६६० भन्दा बढी मारिएका छन्। उसका अनुसार सन् २०२५ को अक्टोबर १० मा युद्ध विराम सुरु भएयता कम्तीमा ५०९ जना प्यालेस्टीनीको ज्यान गइसकेको छ।
इजरेलले बीबीसी सहितका समाचार संस्थाहरूलाई गाजामा स्वतन्त्र रूपमा समाचार बनाउन अनुमति दिँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: