बिहारमा निर्णायक जितसँगै मोदीको गठबन्धनमा खुसियाली
भारतको उत्तरी राज्य बिहारमा सम्पन्न विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन एनडीएले निर्णायक जित हासिल गरेसँगै समर्थकहरूले खुसियाली मनाइरहेका छन्।
राज्यका कुल २४३ सीटमध्ये एनडीएले २०२ सीटमाथि विजय हासिल गरेको छ। विपक्षीहरूको महागठबन्धनले ३५ सीट मात्र ल्याउन सक्यो।
मोदीले यो उनको गठबन्धनको जित मात्रै नभई "लोकतन्त्रकै जित" भएको बताएका छन्।
भारतको निर्वाचन आयोगलाई विश्वासको सङ्कट किन परिरहेको छ
भारतको मतपरिणामबाट नेपाली नागरिक समाज उत्साहित हुन जरुरी छ?
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए।
सर्वाधिक मत खस्यो
सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए।
निर्वाचन आयोगका अनुसार नोभेम्बर ६ र ११ तारिखमा मतदान सम्पन्न भएकामा कीर्तिमान स्तरमा अर्थात् ६६.९१ प्रतिशत मत खसेको थियो।
उक्त प्रतिशत बिहारमा सन् १९५१ मा पहिलो पटक मतदान भएयताकै सबैभन्दा उच्च भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानपछि गरिएका थुप्रै जनमत सर्वेक्षणहरूले प्रमुख साझेदारका रूपमा रहेको जनता दल (यूनाइटेड)सहितको बीजेपी नेतृत्वको गठबन्धनले जित हासिल गर्ने देखाएका थिए।
ती दुई दलले अहिले बिहारमा शासन गरिरहेका छन्, जहाँ जेडी (यू) का नीतिश कुमार मुख्यमन्त्री रहेका छन्।
मुख्य प्रतिद्वन्द्वीका रूपमा भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस, राष्ट्रिय जनता दल (आरजेडी) र अरू साना दलहरू सम्मिलित महागठबन्धन रहेको थियो।
रणनीतिको प्रशंसा
बीजेपी र उसका वरिष्ठ नेताहरूले चुनावी नतिजाको प्रशंसा गरेका छन् र बिहारका मतदाताहरूलाई धन्यवाद दिएका छन्।
बिहारमा भएको चुनावले आगामी वर्ष बङ्गाल, केरला र तमिलनाडुमा हुने चुनावका लागि पूर्वसङ्केत गर्ने छ, जहाँ सत्ताबाहिर रहेको बीजेपीले आफ्नो प्रभाव देखाउन सङ्घर्ष गर्नुपरेको छ।
बिहार भारतका सबैभन्दा गरिब राज्य हो, जहाँका लाखौँ जनता कामका लागि अरू राज्यहरूमा जाने गर्छन्।
बिहार भारतका त्यस्ता थोरै राज्यहरूको सूचीमा पर्छ, जहाँ बीजेपी आफैँले मात्र सरकार गठन गर्न सकेको छैन।
राजनीतिक विश्लेषकहरूले बिहारमा बीजेपी नेतृत्वको गठबन्धनको रणनीतिको प्रशंसा गरेका छन्।
"बीजेपीले यो चुनावमा राम्ररी प्रतिस्पर्धा गर्यो। चिराग पासवानले गठबन्धनभित्र असहजता निम्त्याउने गरी कहीँ कतै पनि अभिव्यक्ति दिएनन्। गठबन्धन एकढिक्का रह्यो। त्यसले मतदातामा विश्वास जगायो," राजनीतिक विश्लेषक मनीषा प्रियमले भनिन्।।
अर्कोतर्फ सीट बाँडफाँटको सन्दर्भमा विपक्षीहरूको महागठबन्धन एकमत देखिएनन्। "कङ्ग्रेसले तेजस्वी यादवमाथि समय छँदै विश्वास व्यक्त गर्न सकेन। यो गठबन्धनको शुरूवात नै गडबड थियो। कङ्ग्रेस निकै कमजोर सहयोगी दल साबित भयो," अर्की राजनीतिक विश्लेषक शेफाली रायले भनिन्।
नीतिश कुमारले सहानुभूति मत पाएको कतिपय जानकारहरूले बताएका छन्। "नीतिश कुमारका लागि यो बिदाई चुनाव थियो र बिहारका मतदाताहरूले उनलाई राम्रोसँग बिदा गरे," वरिष्ठ पत्रकार सन्तोष सिहंले भने।
खास गरी महिलाहरूले नीतिश कुमारप्रति सहानुभूति राखेको प्राध्यापक राकेश रन्जन बताउँछन्।
"मानिसहरूमा एउटा सन्देश थियो कि शायद नीतिश कुमारको यो अन्तिम चुनाव हुने छ। नीतिश कुमारप्रति महिलाहरूको विशेष झुकाव रहिआएको छ। त्यसैले उनीहरूले राम्ररी बिदाइ भोट दिए," उनले भने।
भारतमा झन्डै ९७ करोड मतदाता, संसदीय चुनाव कहिले र कसरी हुन्छ
भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: