प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि भारतमा डाक्टर पढ्न चाहनेहरू मर्माहत

प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएपछि भारतमा डाक्टर पढ्न चाहनेहरू मर्माहत

bbc.com . १ घण्टा अघि

मानस शर्माले पछिल्लो दुई वर्षको समय एउटै लक्ष्य पूरा गर्न बिताइरहेका छन्। डाक्टर बन्ने सपना बुनेका उनी मेडिकल कलेजमा भर्ना पाउनका लागि कठिन प्रवेश परीक्षाको तयारीमा जुटे।

तर यो वर्ष प्रश्नपत्र बाहिरिएको विवरणपछि 'नीट-यूजी' भनिने 'न्याश्नल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट' (अन्डरग्र्याजुएट) परीक्षा विवादको केन्द्रमा छ।

मे ३ मा भएको परीक्षामा प्रश्नपत्र बाहिरिएको प्रकरणमा छानबिनका लागि सङ्घीय सरकारको न्याश्नल टेस्टिङ एजेन्सी (एनटीए)ले मङ्गलवार परीक्षा रद्द गर्ने निर्णय गर्‍यो। एनटीएले पुनः परीक्षाको नयाँ मिति आगामी साता घोषणा हुने जनाएको छ।

'सङ्गीतले शल्यक्रियाका बेला बिरामीलाई सजिलो बनाउँछ र छिटो सञ्चो बनाउँछ': अध्ययन

हातले छामेरै १३ घण्टाको जाँच – संसारकै लामो दक्षिण कोरियाको कलेज प्रवेश परीक्षा

"यसले मलाई स्तब्ध बनायो," मे ३ मा परीक्षा दिएका शर्मा भन्छन्।

"अक्टोबर देखि म दैनिक १२ घण्टासम्म पढिरहेको थिएँ। यसबीचमा मैले सिनेमा हेर्नेदेखि साथीभाइसँगका भेटघाट पनि बन्द गरेँ। राम्रो मेडिकल कलेजमा भर्ना पाउन त्यतिको तयारी चाहिन्छ नै," दिल्लीका शर्मा भन्छन्।

कुल ७२० पूर्णाङ्कको परीक्षामा उनले ६१५ नम्बर ल्याउने अपेक्षा गरेका थिए। एउटा निजी कोचिङ सेन्टरले सार्वजनिक गरेको अनौपचारिक उत्तरहरूको सूचीमा उनले लेखेका उत्तर भिडाउँदा त्यति नम्बर आउने शर्माको अपेक्षा थियो।

त्यति अङ्क भारतको सबैभन्दा प्रतिष्ठितमध्येको मेडिकल कलेजमा भर्ना पाउन पर्याप्त हुने उनी बताउँछन्।

परीक्षा रद्द भएपछि स्तब्ध र चिन्तित हुने शर्मा एक्लो चाहिँ होइनन्।

भारतका ५ हजार परीक्षा केन्द्रहरूबाट २२ लाख ८० हजार विद्यार्थीले मे ३ तारीखका दिन परीक्षा दिएका थिए। एनटीएले परीक्षा रद्द गरेपछि उनीहरूमध्ये अधिकांश मर्माहत भएका छन्।

भारतका अधिकांश मेडिकल कलेजमा भर्ना पाउन 'नीट-यूजी' प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्छ।

सरकारी क्याम्पसका सीमित स्थान हुन्छ र केही प्रतिष्ठित निजी क्याम्पसमा भर्ना पाउन लाखौँ विद्यार्थीहरूबीच उच्च प्रतिस्पर्धा हुन्छ।

प्रतिस्पर्धी प्रवेश परीक्षामा नाम निकाल्न भारतका कैयौँ सहरमा विद्यार्थीहरू निजी कोचिङ तथा ट्युसन सेन्टरमा तयारी कक्षा लिन्छन्। विद्यालयको नियमित कक्षाभन्दा यसमा अतिरिक्त पढाइहरू हुन्छ र बिदाका दिन पनि पढाइन्छ।

"मेरो सधैँको योजना नै डाक्टर बन्ने हो," आसामकी २० वर्षीय विद्यार्थी सुमी भन्छिन्।

प्रवेश परीक्षा रद्द भएको सुन्दा सुरुमा उनलाई विश्वास नै लागेन। "अहिले मैले फेरी नयाँ दैनिकी बनाएर तयारी सुरु गरेकी छु," आफ्नो पहिलो नामबाट मात्रै चिनाउन चाहने सुमीले बीबीसीसँग भनिन्।

तर परीक्षा रद्द भएको कुराले उनले पढाइमा राम्रोसँग ध्यान लगाउन सकिरहेकी छैनन्।

नेपालको सीमावर्ती भारतीय राज्य बिहारकी २२ वर्षीय अनामिकाले यो पटक छैठौँ पटक प्रवेश परीक्षा दिएकी थिइन्।

"मैले छैठौँ पटक परीक्षा दिएबाटै यो मेरो लागि कति महत्त्वपूर्ण छ भन्ने तपाईँले बुझ्न सक्नुहुन्छ," उनले बीबीसीसँग भनिन्।

"मेरो सारा जीवन नै क्याम्पस र लाइब्रेरीमा बित्यो। मैले पारिवारिक कार्यक्रम, साथीहरू र सबैथोक नै छोडेर तयारी गरेँ।"

के केही मानिस जन्मजात गणितमा कमजोर हुन्छन्

छोरीलाई पढ्न सघाउँदा ४९ वर्षे आमाले पनि निकालिन् एमबीबीएस प्रवेशपरीक्षामा नाम

उनका अनुसार उनले राजस्थानको कोटास्थित एउटा कोचिङ इन्स्टिट्यूटमा पनि कक्षा लिएकी थिइन्। यो राज्य उच्च प्रतिस्पर्धा हुनेमध्येको एक हो। तर कोभिड महामारीले उनको तयारी बिथोलिदियो। धेरै पटकको प्रवेश परीक्षामा असफल भएपछि उनका आमाबुवाले उनलाई नीटको परीक्षा तयारीसँगै नर्सिङको पढाइ सुरु गर्न सल्लाह दिए।

तर अनामिकालाई यो वर्षको परीक्षा "उत्कृष्ट" भएजस्तो लागेको थियो। उनले ६४० नम्बर ल्याउने अनुमान गरेकी थिइन्। "यो पटक चाहिँ पक्कै पास हुन्छु भन्नेमा म निश्चिन्त थिएँ," उनले सुनाइन्।

परीक्षा रद्द भएपछि तनाव भएपनि परिस्थितिलाई स्वीकार गरेर उनी फेरी तयारीमा जुटेकी छन्।

यद्यपि केही मानिसहरू यो परीक्षा रद्द हुनु जरुरी रहेको ठान्छन्।

"एनटीएले राम्रो निर्णय लिएको छ। किनभने जे भएको थियो त्यसले राम्रो मेहनत गरेका विद्यार्थीहरू अन्यायमा पर्ने थिए,"डाक्टर पढ्ने तयारी गरिरहेका अर्का एक जना युवाले एएनआई समाचार संस्थासँग भनेका छन्। "चिट चोरेकाहरूले त मेडिकल कलेजमा भर्ना पाउनु भएन नि।"

कतिपयले अब हुने पुनः परीक्षामा अझै धेरै नम्बर ल्याउने गरी तयारी गर्ने बताएका छन्।

त्यसमध्येका एक शर्मा पनि हुन्। उनी पुनर्परीक्षालाई अवसरका रूपमा लिने बताउँछन्।

"मैले आशा मारेको छैन। यदि फेरी परीक्षा भयो भने म अझै धेरै नम्बर बढाउँछु।"

पछिल्ला वर्षहरूमा बारम्बार प्रश्नपत्र बाहिरिएको र अनियमितता भएको विवरणहरू आइरहने गरेको अवस्थामा पछिल्लो पटक यो प्रवेश परीक्षा रद्द भएसँगै भारतको परीक्षा प्रणालीमा निगरानी बढेको छ।

नीटले सन् २०२४ मा प्रश्नपत्र चुहाएको, ठगी गरेको र अनियमितता गरेको भन्दै ठूलो विवाद सामना गरेको थियो। हजारौँ परीक्षार्थीले असाधारण धेरै नम्बर पाएपछि देशभरि प्रदर्शन समेत भएका थिए।

"बारम्बार यस्ता प्रकरण दोहोरिनु प्रकाशकीय असफलता मात्रै नभएर लाखौँ मेहनती विद्यार्थीको मनोबलमा ठेस पुग्ने काम पनि हो," आवासीय चिकित्सकहरूको छाता संस्थाकी प्रवक्ता गरिमा शुक्लाले एएनआई समाचार संस्थासँग भनेकी छन्। "परीक्षा प्रणालीको विश्वसनीयतामा प्रश्न उठ्यो भने यसले विद्यार्थीलाई मात्रै प्रभावित पार्ने नभई समग्र स्वास्थ्य प्रणालीको प्रतिष्ठामै असर पुर्‍याउँछ।"

क्यानडा कुनै बेला भारतीय विद्यार्थीको पहिलो रोजाइमा पर्थ्यो तर अहिले त्यस्तो आकर्षण छैन

सर्कसले किन्न खोजे पनि बुवाले बेचेनन्, अहिले डाक्टर बने

भारतीय सञ्चार माध्यमहरूका अनुसार परीक्षाभन्दा केही दिनअघि राजस्थानबाट प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको छ।

भारतको सङ्घीय अनुसन्धान निकाय सीआईबीले यसबारे छानबिन सुरु गरेको छ।

"तर अर्को पटक प्रश्नपत्र बाहिरिँदैन भन्ने के ग्यारेन्टी छ?" दुई वर्षको तयारी गरेर यो पटक परीक्षा दिएकी तेजस्विनी विजय प्रश्न गर्छिन्।

"जहाँजहाँ प्रश्नपत्र बाहिरिएको थियो। तीनै राज्यमा मात्रै परीक्षा रद्द गरेको भए भइहाल्थ्यो नि। सबैलाई यो हदको तनाव त हुँदैन थियो," उनले एएनआईसँग भनेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.