राष्ट्र ब्याङ्कको नयाँ नीतिले आइटी क्षेत्र फस्टाउन कसरी मद्दत पुर्‍याउँछ

राष्ट्र ब्याङ्कको नयाँ नीतिले आइटी क्षेत्र फस्टाउन कसरी मद्दत पुर्‍याउँछ

bbc.com . २ घण्टा अघि

आईटी क्षेत्रका कम्पनीले अमेरिकी डलर २० हजारसम्मको रकम विदेशमा लगानी गर्न पाउनेलगायतका व्यवस्था सरकारले गरिदिएसँगै त्यसले लगानीकर्ताहरूमा उत्साह थपेको र सहज वातावरण बनाइदिएको आईटी विज्ञहरूले बताएका छन्।

अर्थतन्त्र उकास्न आईटी क्षेत्रले असाध्यै राम्रो सम्भावना बोकेको अध्ययनहरूले देखाएका बेला विदेशीलाई सेवा दिन र आफ्नो लगानी विदेशमा गर्ने दुवै कारणले यो सकारात्मक भएको उनीहरूले बताएका हुन्।

गत मङ्गलवार राष्ट्र ब्याङ्कले विदेशी लगानी तथा ऋणसम्बन्धी व्यवस्था थप लचिलो बनाइदिएपछि त्यसले अब नेपाललाई विदेशी आइटी बजारमा आफ्नो उपस्थिति बढाउन पनि सहज हुने आइटी क्षेत्रकै एक उद्यमीले बताएकी छन्।

प्रविधिको क्षेत्रमा सन् २०२५ मा केके नयाँ आउला

बिटकोइन कसले बनायो र पहिलो कारोबार कसरी भयो

सन् २०२३ मा प्रकाशित आईआईडीएस(इन्स्टिट्यूट फर इन्टिग्रेटेड डिभिलेप्मन्ट स्टडीज)को एउटा अध्ययन अनुसार नेपालमा करिब ८०,००० युवाहरू आइटी क्षेत्रमा काम गर्छन्।

त्यो सङ्ख्या बढेर अहिले करिब १ लाखको हाराहारीमा पुगेको अनुमान गरिएको यस क्षेत्रका जानकारहरू बताउँछन्।

उक्त अध्ययनले आइटी क्षेत्रले नेपालमा आधा अर्ब अमेरिकी डलरभन्दा बढी राजस्वमा टेवा पुग्ने देखाएको थियो।

राष्ट्र ब्याङ्कले गरिदिएको नयाँ व्यवस्था के हो?

राष्ट्र ब्याङ्कका गभर्नर विश्व पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफूहरूले आईटी क्षेत्रलाई साथ दिने बताएका छन्।

उनले नेपालले आइटी क्षेत्रमा दुई वर्ष अघिको तुलनामा एक वर्षअघि धेरै विस्तार गरिसकेको उल्लेख गर्दै आफ्नो स्टेटसमा युवाहरूलाई नयाँ उत्पादन निकाल्न र त्यसमा बैङ्किङ क्षेत्रले साथ दिने बताएका छन्।

"अर्थमन्त्रालयले कम्पनीहरू खोल्न सहज गर्ने, वैदेशिक लगानी(एफडीआई)मा सीमा संसोधन गर्ने, करको दर विश्वसनीय बनाउने जस्ता सुधारको आंशिक फलस्वरूप दुई वर्षअघि वैदेशिक लगानीमा ४० वटा जति आइटी कम्पनी खुलेकामा एक वर्षअघि लगभग ४०० कम्पनी खुलेका थिए," उनले लेखेका छन्।

"म राष्ट्र ब्याङ्क आएपछि यी सुधारभन्दा अघि बढेर नेपाली निर्यातकर्ता कम्पनीहरूलाई विदेशमा १ मिलियन डलरसम्म लगानी गर्न अनुमति दिइएको छ। हाल निर्यात नगरेका कम्पनीहरूलाई पनि २० हजार डलरसम्म लगानी गर्न दिइएको छ।"

उनले परिणाम हेरेर अहिलेका सीमाहरू संशोधन गर्दै जाने पनि उल्लेख गरेका छन्।

वैदेशिक लगानीकर्ताहरूले कागजी काम धेरै भयो भनेर गुनासो गरिरहँदा नाफा लैजानका लागि पनि राष्ट्र ब्याङ्कको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको उनले उल्लेख गरेका छन्।

आइटी क्षेत्रमा सेवा निर्यात गर्ने विषयमा विगतदेखिकै सरकारहरू लचिलो रहँदै आएको अर्थविद् डाक्टर पोषराज पाण्डे बताउँछन्।

अब के कुरामा राहत मिलेको हो?

राष्ट्र ब्याङ्कबाट हालसालै अवकास पाएका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्टले लगानीका लागि राष्ट्र ब्याङ्कले वातावरण अनुकूल बनाइदिँदा त्यसले खासगरी तीनवटा सन्देश दिएको बताए।

"पहिलो नेपाल लगानीका लागि उपयुक्त देश हो भन्ने सन्देश अन्तर्राष्ट्रिय लगानीकर्तालाई दिएको छ। दोस्रो, नेपाली लगानीकर्ताले नै अन्तर्राष्ट्रिय बजारबाट लाभ लिनसक्ने हुन्छन्," उनले भने।

"तेस्रो, अन्तर्राष्ट्रिय सञ्जाल बढ्दै जाँदा सरकारको राजस्व वृद्धि हुने रोजगारी बढ्ने कुराहरू पनि हुँदा यो एकदम सकारात्मक हो।"

ब्याङ्कमा थुप्रिएको पैसा राष्ट्र ब्याङ्कले खिच्ने प्रक्रिया र त्यो पैसाको प्रयोगबारे तपाईँले थाहा पाउनुपर्ने कुरा

डिजिटल अर्थतन्त्रको तीव्र विस्तार, क्यूआरबाट महिनाकै १ खर्बभन्दा धेरै कारोबार तर सुरक्षा कस्तो

आइटी क्षेत्रमा नेपालको अवस्थाबारे अनुसन्धान गरेकी डाक्टर अमृता शर्मा नेपालमा आइटीको क्षेत्रले असाध्यै सम्भावना बोकेको अध्ययनबाट देखिएका बेला यो एउटा 'कोसेढुङ्गा' भएको बताउँछिन्।

"यसअघि यताको पैसा लगानीको रूपमा उता लैजान गैरकानुनी जस्तै थियो। तर अब नेपाली युवाले जन्माएको एउटा कम्पनी नेपालमा मात्रै नभइ विश्वव्यापी सेवा र उत्पादन दिन सक्छ भन्ने स्थापित गर्नु नै एउटा माइलस्टोन हो," शर्माले भनिन्।

"५०० सय कामदार भएको कम्पनीले अब पाँच हजार वा त्योभन्दा बढी राख्ने सोच बनाउन सक्ने भयो। त्यसबाहेक अब हाम्रो सिर्जनात्मकता र क्षमता पनि फस्टाउन सक्ने भयो।"

आइटी उद्यमी कर्विका थापाले सरकारको पछिल्लो सहुलियतले आफूहरूलाई विदेशीलाई नेपालमै आइटीमार्फत् दिइने सेवा विस्तार गर्न तथा सञ्जाल विस्तार गर्न सहयोग पुग्ने बताएकी छन्।

"यो उत्साहजनक किन छ भन्दा अब नेपाल संसारभरि जहाँ पनि प्रतिनिधित्व गर्न पाउने भयो। नेपालको उत्पादन तथा सेवा संसारमा देखाउन र बिजनेस नेपाल ल्याउन बाटो खुल्यो," उनले भनिन्।

"तर यसमा धेरै कामहरू गर्नुपर्ने छ। धेरै सानो सानो नीतिहरू हुन्छ तर कम्तीमा एउटा कदमचाहिँ अगाडि बढेर हामीले बाटो खोल्यौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.