यूएईमा इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन विदेशीको मृत्यु
संयुक्त राज्य एमिरेट्स (यूएई)मा इरानले प्रहार गरेका ड्रोनका कारण एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
उक्त मन्त्रालयका अनुसार ५४१ वटा इरानी ड्रोनमध्ये ५०६ वटालाई आकाशमै निष्क्रिय पारिएको थियो भने ३५ वटा जमिनमा खसेका थिए। ती घटनामा परी नेपाल, पाकिस्तान र बाङ्ग्लादेशका एक-एक जनाको ज्यान गएको हो।
रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत् जारी गरेको एउटा विज्ञप्तिमा ड्रोन आक्रमणमा परी विभिन्न देशका ५८ जनालाई सामान्य चोटपटक लागेको विवरण उल्लेख छ। यूएईमा नेपालीसहित लाखौँ दक्षिण एशियाली कामदार छन्।
इरानका सर्वोच्च नेता खामेनेई मारिएपछि मध्यपूर्वमा तनाव
'विस्फोट भएको सुन्दा डर लाग्छ': लडाइँ चर्किएपछि खाडीमा रहेका नेपालीहरू चिन्तित
यूएईमा मृत्यु भएका नेपाली नागरिकको परिचय खुल्न बाँकी नै छ। यद्यपि उनी त्यहाँ वैदेशिक रोजगारीको सिलसिलामा पुगेको ठानिएको छ।
यूएईका अनुसार इरानले आक्रमण गर्न थालेयता सोमवार साँझसम्म यूएईलाई लक्ष्य बनाई १६५ वटा बलिस्टिक क्षेप्यास्त्र, दुइटा क्रूज क्षेप्यास्त्र र इरानी ड्रोनहरू प्रहार भएका छन्। तीमध्ये केहीलाई वायुसेना र हवाई प्रतिरक्षा फौजले निष्क्रिय पारिदिएका छन्।
संयुक्त राज्य अमेरिका र इजरेलले इरानमाथि शनिवार आक्रमण गरेपछि इरानले इजरेलसहित मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविर र अमेरिकाका साझेदार राष्ट्रमा जबाफी हमला गरेको छ।
तेहरानमा भएको आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित केही वरिष्ठ इरानी अधिकारीहरूको मृत्यु भएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ।
यूएईको रक्षा मन्त्रालयले देशमाथि आइपर्न सक्ने जस्तोसुकै खतरालाई सम्बोधन गर्न आफू तयार रहेको भन्दै नागरिक, त्यहाँ बसोबास गर्ने अन्य व्यक्ति र आगन्तुकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको र त्यसमाथि कुनै सम्झौता नहुने बताएको छ।
आँखाबाट आँसु निकाल्दै इरानी टीभी प्रस्तोताले यसरी गरे खामेनेईको मृत्यु भएको घोषणा
खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?
मध्यपूर्वमा भएका नेपालीलाई सरकारको सुझाव
नेपालमा मन्त्रिपरिषद्को बैठकमा मध्यपूर्वमा विकसित घटनाक्रम र त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाबारे आइतवार छलफल भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले बताएका छन्।
"नेपाली नागरिकलाई परेको असर र त्यसको समाधानबारे छलफल भएको छ," मन्त्री शर्माले पत्रकारहरूलाई बताए।
यसअघि मध्यपूर्वमा विकसित घटनाक्रमबारे परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा भएका नेपालीहरूका लागि शनिवार नै 'एड्भाइजरी' जारी गरेको थियो। त्यहाँको स्थितिलाई आफूले अनुगमन गरिरहेको भन्दै मन्त्रालयले इजरेल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन सुझाव दिएको थियो।
त्यसबाहेक मध्यपूर्वका अन्य देशमा भएका नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न भनेको छ।
आवश्यक परे तल उल्लिखित माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
काठमाण्डूस्थति परराष्ट्र मन्त्रालय
फोनः +977-9862678437
इमेलः [email protected]
तेल अभिभस्थित नेपाली दूतावास
फोनः +972-545582077
इमेलः [email protected]
दोहास्थित नेपाली दूतावास
फोनः +974-66214419
इमेल: [email protected]
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: