विद्युतीय गाडीको भाडा अरूको भन्दा छुट्टै हुनुपर्ने माग कति उपयुक्त?

विद्युतीय गाडीको भाडा अरूको भन्दा छुट्टै हुनुपर्ने माग कति उपयुक्त?

bbc.com . २ घण्टा अघि

विद्युतीय सवारीसाधनको छुट्टै भाडादर निर्धारणका लागि वैज्ञानिक अध्ययन गर्नुपर्ने भएका कारण समय लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ।

बिजुलीबाट चल्ने सार्वजनिक सवारीसाधनको प्रयोग बढिरहेका बेला भाडा निर्धारणको विषय लामो समयदेखि उठ्दै आएको छ।

हालसम्म बिजुलीबाट चल्ने सवारीसाधनको भाडा डीजल र पेट्रोलबाट चल्ने गाडीसरह नै रहँदै आएको छ।

नेपालको सडकमा बिजुली कार: भारतभन्दा अघि चीन, तर बिक्री पछि बेवास्ताको चिन्ता

बिजुली गाडी: सङ्ख्या बढ्दै, 'रिचार्ज' गर्न उचित पूर्वाधारको माग

यात्रुहरूले बिजुलीबाट चल्ने सवारीसाधनमा दैनिक खर्च तुलनात्मक रूपमा कम लाग्ने भए पनि भाडा डीजल/पेट्रोलबाट चल्ने सवारीसाधन रह नै तिर्नु परिरहेको भन्दै विभागले भाडा निर्धारण गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

यातायात व्यवसायीहरूले भने बिजुली गाडीको दैनिक सञ्चालन खर्च कम देखिए पनि पछि ब्याटरीका लागि कति खर्च हुन्छ भन्ने अन्योल रहेको बताएका छन्।

त्यस्तै एक वातावरणविद्ले भने बिजुली गाडी किन्दा आर्थिक, प्राविधिक र सामाजिक रूपमा जोखिम उठाउनुपर्ने भएका कारण भाडा कम गर्दा त्यसले बिजुली गाडी किन्नेहरू निरुत्साहित हुन सक्ने बताएका छन्।

विभागले सवारीसाधनका विभिन्न १३ वटा सूचकहरूलाई आधार बनाएर प्रत्येक वर्ष भाडादर समायोजन गर्ने गर्छ।

विभागले विक्रम संवत् २०८१ सालको पुस २२ गते पछिल्लो पटक सार्वजनिक सवारीसाधनको भाडा निर्धारण गरेको थियो।

विभाग अहिले के गर्दै छ?

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले भाडा निर्धारण गर्न आवश्यक रहेको महसुस भए पनि त्यसो गर्न समय लाग्ने बताएका छन्।

"भाडा निर्धारण गर्ने वैज्ञानिक मापदण्ड रहेको छ र त्यसका लागि कमिटीले काम गर्छ। भाडा निर्धारण गर्न आवश्यक छ भन्ने कुरा सही हो तर समय लाग्छ," महानिर्देशक पोखरेलले भने।

"त्यसका लागि वैज्ञानिक अध्ययन गर्नुपर्छ। त्यसपछाडि मात्रै त्यो सम्भव हुने कुरा हो।"

विभागकै प्राविधिक निर्देशक श्रीकान्त यादवले भाडा निर्धारण गर्नेबारे विभागमा तयारी भइरहेको बताएका छन्।

पछिल्लो पटक भाडा निर्धारण गरिएको १३ महिनाभन्दा बढी भइसकेका कारण अहिले नयाँ भाडा समायोजनका लागि काम भइरहेको उनले बताएका हुन्।

सार्वजनिक यातायातका लागि विद्युतीय बस कति सहज

कर घट्दा समेत विद्युतीय सवारी साधन महँगो हुनुको कारण के हो?

तर अहिलेका लागि बिजुलीबाट चल्ने र पेट्रोल तथा डीजलबाट चल्ने सवारीसाधनलाई छुट्टै भाडा भनेर काम भइनसकेको उनले बताए।

"भाडादर समायोजनको तयारी भएको छ तर बिजुली गाडीको छुट्टै र पेट्रोल-डीजलको छुट्टै भन्ने होइन।यसलाई अलग गर्नुपर्छ भनेर विभिन्न ठाउँबाट कुरा उठेको छ," प्राविधिक निर्देशक यादवले भने।

"तर बिजुली सवारीसाधनको भाडादर छुट्टै निर्धारण गर्ने विषयमा हामीले त्यस्तो अहिले नै तयारी गरेका छैनौँ। त्यसबारे अध्ययन गर्ने आवश्यकता महसुस भएको हो। तर त्यसमा घट्छ, बढ्छ भनेर अहिले नै भन्न सकिँदैन।"

सार्वजनिक सवारीसाधनको भाडा निर्धारणका लागि बजार अध्ययन गर्ने, सम्बन्धित निकायसँग सहमति लिने, सरोकारवालासँग छलफल गर्ने लगायतका प्रक्रियाहरूमा आफूहरू लागिरहेको उनले बताए।

व्यवसायी र विज्ञको भनाइ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीसाधनको भाडाबारे स्पष्टता हुनुपर्ने भन्दै विभागले सबै सरोकारवालासँग छलफल गरेर निर्धारण गर्नुपर्ने जनाएको छ।

महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले गाडीको मापदण्डअनुसारको भाडालाई सबै सरोकारवालाहरूसँग छलफल गरेर एकै पटक सवारीसाधनको भाडा समायोजन गर्नुपर्ने बताए।

"बिजुलीबाट चल्ने सवारीसाधनमा दैनिक रूपमा कम खर्च भएको देखिन्छ तर त्यसको ब्याटरी महँगो हुन्छ। ब्याटरीको वारेन्टी सकिएपछि फेर्नुपरेको अवस्थामा ठूलो खर्च लाग्न सक्छ," सिटौलाले भने।

"त्यसैले सवारीसाधनको भाडा घटी हुन्छ वा बढी हुन्छ, तर त्यो समायोजन एकै पटक गर्नुपर्छ। त्यसले उपभोक्तालाई एउटा स्पष्टता दिन्छ।"

साझा यातायातका प्राविधिक सल्लाहकारसमेत रहेका वातावरणविद् भूषण तुलाधरले बिजुली गाडीको भाडा अहिले नै कम गर्नुपर्ने आवश्यकता नरहेको धारणा व्यक्त गरेका छन्।

उनले बिजुलीका सवारीसाधनमा मानिसहरूले आर्थिक, प्राविधिक र सामाजिक जोखिम मोलेर लगानी गरेका कारण भाडामा फरक गर्नु ठिक नहुने बताएका हुन्।

"बिजुली गाडीको ब्याटरी कति चल्छ भनेर पनि थाहा छैन। कतिको मर्मतसम्हार गर्नुपर्छ भनेर पनि थाहा छैन। कम्पनीहरू कति गुणस्तरीय हुन् भनेर थाहा छैन। तैपनि फाइदा होला कि भनेर मानिसहरूले जोखिम उठाउनुभएको छ," तुलाधरले भने।

"तर तत्कालै यिनीहरूलाई फाइदा भइरहेको छ भनेर भाडा घटाउने हो भने उहाँहरूलाई त नोक्सान हुने भयो। लगानीको प्रतिफल लिने बेलामा त्यो तिमीहरूले पाउँदैनौँ भन्न मिल्दैन।"

बजेटपछि नेपालमा ‘बढी विक्री हुने’ विद्युतीय सवारी कति महँगो पर्छ

विद्युतीय गाडीको प्रभाव 'सेकेन्डह्यान्ड' बजारमा पनि: के प्रयोग भएका डीजल, पेट्रोल गाडीको मूल्य घटेको हो?

बिस्तारै बिजुलीका सवारीसाधनहरू बढ्दै गएपछि हुने प्रतिस्पर्धाबाट भाडा आफैँ घट्ने उनले बताए।

उनले यात्रुहरूले भाडा कति भन्दा पनि बिजुली गाडीले दिने सेवाको गुणस्तर हेर्नुपर्ने बताए।

उनका अनुसार निजी क्षेत्रका विद्युतीय गाडीमा दुईपाङ्ग्रेमा भन्दा चारपाङ्ग्रेमा बढी लगानी भएको देखिन्छ।

त्यस्तै लामो दूरीमा विद्युतीय माइक्रोबसहरूको सङ्ख्या बढेको भए पनि ठूला गाडीहरू भने नबढेको उनले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.